24 Online News
१६ माघ २०७७ २१:०८

थोक फलफूल बिक्री केन्द्रमा नबिलले क्यूआर भुक्तानी सेवा सुरु गर्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौंको कुलेश्वरमा रहेको थोक फलफूल बिक्री केन्द्रमा क्यूआर कोडमार्फत् भुक्तानी दिने सेवा सुरु गरेको छ ।

शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली हो जुन विशेष गरी कोभिडको महामारीको कारणले बढेको छ, पछिल्लो पटक यस्तो डिजिटल बैंकिङ आवश्यक पनि रहेको छ ।’

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए । उनले भने, ‘अझै पनि कारोबारको ठूलो हिस्सा नगदमा नै हुन्छ । आजको डिजिटल युगमा नविनतम टेक्नोलोजीको विकास गर्नु आवश्यक छ जसले डिजिटल भुक्तानीमा सहयोग गर्छ । ’

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सिनियर म्यानेजमेन्ट कर्मचारी, नेपाल फलफूल थोक व्यवसायी संघका कार्यकारी सदस्यहरु र कृषि बजार विकास कम्पनीका अध्यक्षको उपस्थिति रहेको थियो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.