ज्योति लाइफको आइपिओ फागुन २३ गतेदेखि आउने
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ फागुन २३ गतेदेखि आउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ६६ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नछन्। आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो। हाल इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।
आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।