24 Online News
११ मंसिर २०७७ ०८:५६

नेपालमा विहेवारी सम्वन्धी बर्तमान कानुनी ब्यवस्था र उल्लंघनमा सजाय

अधिबक्ता गणेश मान प्रधान


बिवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको स्वतन्त्र सहमतीमा आधारित एक पवित्र समाजिक तथा कानुनी बन्धन हो  । जसलाई कानुन र समाज दुबैले स्विकार गरेको हुन्छ । कानुनले तोकेको मापदण्ड र आफ्नो धार्मिक तथा सास्कृतिक परम्परा भन्दा बाहिर गएर गरिएको बिवाहले मान्यता प्राप्त गर्न सक्दैन । प्रचलित कानुन र आफ्नो धार्मिक तथा सास्कृतिक परम्परा भन्दा बाहिर गएर गरेको विवाह बदरभागी हुन्छ । विवाह गर्नु भनेको जीबनका लागि ठुलो निर्णय लिनु हो । बिवाहले अधिकार र कर्तब्य दुबैको सिर्जना गर्दछ । जव तपाई विवाह बन्धनमा बाँधिनु हुन्छ भने तपाईले अधिकार मात्र स्वीकार गरेको होइन कि तपाइले बिवाहबाट सृजित कानूनी,पारिवारिक तथा सम्पत्तिक दायित्व समेत स्विकार गरेको मानिन्छ । मुलुकी देवानी संहिता, २०७४ मा विवाह सम्बन्धी निम्नानुसारको व्यवस्था रहेकोछ ।

कस्तो अवस्थामा विवाह भएको मानीने ?

मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ मा कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारीक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ भनी परिभाषा गरेको पाइन्छ । यसबाट महिला  र पुरुष विच स्वतन्त्र रुपमा दाम्पत्य तथा पारिवारिक जीवनको प्रारम्भ हुने छ भने जुन समाजिक तथा कानूनी बन्धन हुनेछ । जस्तो सुकै किसीम वा प्रकारले विवाह गरेको भएता पनि सार्वजनिक गर्नु वा गराउनु पर्नेछ भन्ने व्यवस्था दफा ६९(२)मा गरीएको छ  ।

त्यस्तै संहिताको दफा  ७० मा विवाह गर्नको लागि बीस वर्ष उमेर पुरा भएको हुनु पर्नेछ भने हाडनातामा विवाह गर्न पाइने छैन तर जातीय समुदाय वा कुलमा चली आएको चलन अनुसार विवाह गर्न हुने नाता सम्वन्धमा गर्न वा गराउन भने पाउनेछ ।

विवाह गर्न गराउन नहुने अवस्थाहरु :

संहिताको दफा  ७१ मा शरीरमा एच आइ भी, हेपाटाइटीस वि, निको नहुने कडा रोग लागनेमा, यौनाङ्ग नै नभएको, नपुंसक भएमा, पूर्ण रुपमा बोल्न सुन्न बोल्न नसक्ने अवस्था, दृष्टिविहिन, होस ठेगानामा नरहेको, विवाह भैसकेको, गर्भवती आदी भएकालाई झुक्याई विवाह गर्न गराउन हुदैन यसो गरेमा विवाह बदर गराई मनासिव क्षतिपूर्ति समेत दावी गर्न सक्नेछ ।

विवाह बदर हुने अवस्था :

मन्जुरी नभइ गरेको विवाह, हाडनाता विच भएको विवाह र दफा ७० को उपदफा १ को (घ) विपरित भएको विवाह बदर हुने विवाहमा पर्दछन ।

वदर गराउन सक्ने :

त्यस्तै संहिताको दफा  ७३ मा २० वर्ष उमेर पुरा नभई विवाह गरेमा, माथि उल्लेख गरे बमोजिम झुक्याई विवाह गरेमा समेत विवाह वदर गराउन सक्नेछ तर बदर नगराएमा विवाह कायमै हुनेछ ।

शारिरीक सम्पर्कबाट बच्चा जन्मिएमा :

त्यस्तै संहिताको दफा  ७४ मा शारीरीक सम्पर्कबाट गर्भधारण गरी बच्चा जन्मिएमा त्यस्तो महिला र पुरुष विच स्वतः विवाह भएको मानिने छ तर यदि जवरजस्ती करणी र हाडनाता करणीमा शारीरिक सम्पर्कबाट बच्चा जन्मिएमा विवाह भएको मानिने छैन तर त्यस्तो करणीबाट जन्मिएको शिशुको हकमा भने कानून बमोजिम त्यस बच्चाले हक प्राप्त गर्ने छ ।

बैबाहिक सम्वन्ध अन्त्य भएको मानिने अवस्थाहरुः  संहिताको दफा  ८२ मा महिला र पुरुष विच मन्जुरी नभइ भएको विवाह, हाडनाता करणीमा सजाय हुने नाताका ब्यक्तिहरु विच भएको विवाह, कानून बमोजिम पति पत्नीको सम्वन्ध विच्छेद भएमा र पत्नीले कानून बमोजिम सम्बन्ध बिच्छेद नहुदै अर्को विवाह गरेको अवस्थामा बैवाहिक सम्वन्ध कानूनी रुपमा नै सकिएको मानिनेछ ।

कस्तो अवस्थामा पुनः विवाह गर्न सक्ने संहिताको दफा  ८३ मा महिला र पुरुष विच मन्जुरी नभइ भएको विवाह, कानून बमोजिम पति पत्नी सम्वन्ध विच्छेद भएमा र पत्नीले कानून बमोजिम सम्बन्ध बिच्छेद नहुदै अर्काे विवाह गरेमा । पति वा पत्नीको मृत्यू भएमा र पति वा पत्नीले कानून बमोजिम अंशबन्डा गरी भिन्न भई वसेको अवस्थामा ।

विवाहको परिणाम के हुन्छ त ?

संहिताको भाग ३ परिच्छेद २ मा विवाहको परिणाम सम्बन्धी व्वस्था गरीएकोछ । को दफा  ८५ मा अव उनीहरु पति र पत्नी मानिने छन, मा  पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिने छ । दफा ८९ मा इज्जत र क्षमता अनुसार एक अर्कालाई खान लागाउन र स्वास्थ्य उपचारको लागि ब्यवस्था गर्नु वा गराउनु पर्ने छ ।  दफा ९० मा सहमतिमा घर ब्यवहार चलाउनु पर्ने, दफा ९१ मा  पेशा वा ब्यावसाय वा काम गर्न रोक्न नहुने ब्यवस्था गरेकोछ । भने संहिताको दफा ९२ मा यदी कसैलाई यसबाट मर्का परेमा त्यस्तो काम कारवाही भए गरेको मितिले तीन महिना भित्र नालिस गर्न सक्नेछ भनी हदम्यादको समेत व्यवस्था गरेकोछ ।

उल्लंघनको सजाय

मुलुकी फौजदारी संहिता २०७४ को दफा १७१ मा मन्जुरी विना विवाह गराएमा ः दुई वर्ष सम्म कैद र बिस हजार सम्म जरीवाना हुनेछ  भन्ने व्यवस्था छ ।

हाडनातामा विवाह गरेमा :

मुलुकी फौजदारी संहिता २०७४ को दफा १७२ मा  थाहा नपाई गरेमा विवाह वदर हुनेछ र जानीजानी गरेको रहेछ भने विवाह गर्नेलाई हाडनाता करणी कसुरको सजाय र गराउनेलाई तीन महिना सम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै हुने छ र त्यस्तो विवाह पनि स्वतः बदर हुने ब्यवस्था रहेको छ ।

बाल विवाह गरेमा :

मुलुकी फौजदारी संहिता २०७४ को दफा १७३ मा वीस वर्ष उमेर नपुगी विवाह गरेमा स्वतः बदर हुनेछ । यस्तो कसुर गर्ने गराउने ब्यक्तिलाई तीन वर्ष कैद र तीस हजार जरीवाना हुनेछ ।

विवाहमा लेन देन गर्न नहुने :

मुलुकी फौजदारी संहिता २०७४ को दफा १७४ मा दाइजोमा चल अचल सम्पत्ति माग गर्ने तथा कुनै शर्त राखी विवाह गरेमा पाँच वर्ष कैद वा पचास हजारसम्म जरिवाना र यदी त्यस्तो सम्पत्ति लिएका भए उक्त सम्पत्ति सम्बन्धित ब्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।

बहुविवाह सम्वन्धी :

मुलुकी फौजदारी संहिता २०७४ को दफा १७५ मा कसैले बहुविवाह गरेमा एक वर्ष देखी पाँच वर्षसम्म कैद र दश हजार देखी पचास हजारसम्म जरिवाना र विवाह स्वतः बदर हुनेछ भन्ने व्यवस्था छ ।

कहिले सम्म उजुर गर्ने (हदम्याद) :

मुलुकी फौजदारी संहिता २०७४ को दफा १७६ मा संहिताको परिच्छेद ११ को विवाह सम्बन्धी  कसुर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना मित्र  यदी तीन महिना नाघेमा उजुर लाग्ने छैन भन्ने व्यवस्था छ ।

निष्कर्षमा भन्नु पर्दा परिवार विवाहबाट सिर्जित कानुनी एवं सामाजिक एकाई हो । यस संगठनमा प्रवेश गर्नु अघि प्रचलित कानुनी तथा सामाजिक, सांस्कृतिक परम्परा समेतलाई मध्यनजर गर्नु पर्दछ । विवाहलाई बन्धन भन्नु भन्दा पनि पवित्र सम्बन्ध को रुपमा लिनु पर्दछ । यसलाई विश्वास, सदभाव र प्रेमपुर्ण वातावरबाट मात्र सुमधुर एवं सार्थक बनाउन सकिन्छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.