24 Online News
२९ असार २०७७ २०:५१

नेपाली भाषा–साहित्यको समृद्धिका लागि भानुजयन्ती

गोपी मैनाली


नेपाली भाषा साहित्य र कलामा विशेष योगदान गर्ने व्यक्तिहरुको कदर गर्ने, उहाँहरुको खोज अनुसन्धान गर्ने र उनीहरुको योगदानको लागि पुस्ता–पुस्तान्तरसम्म संस्थागत गर्ने काममा चाहिँ केही ह्रास आएको हो कि भन्ने मलाई लाग्छ । विगतका दिनहरुमा हामीले हेर्यौ भने सीमित प्रयासहरु भएका छन् । तर, उनीहरु भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा जस्ता व्यक्तित्वको नामका सन्दर्भमा चाहिँ आफ्नै नाम अगाडि राखेर वा आफ्नै प्रभूत्व स्थापित गराउने र आफ्नै पहिचान फैलाउने गरी अगाडि बढेजस्तो लाग्दछ । विशेषतः जन आन्दोलन २ पछि यो क्रमले बढी महत्व पाएजस्तो लाग्छ ।

वास्तवमा भानुभक्त आचार्यजस्ता विभूति र भाषाको लागि सरकारले जति गर्नुपर्ने हो त्यति गर्न नसकेको जस्तो लाग्छ । भाषा–साहित्य र संस्कृतिको विषयमा चाहिँ विभिन्न प्रतिष्ठानहरु र त्यस्ता प्रतिष्ठानमा गर्ने सहयोग, त्यसमा गर्ने लगानी एकेडेमी, सांस्कृतिक संस्थानजस्ता संघ संस्थाहरु लगायतका ठाउँहरुमा सरकारले सीमित रुपमा लगानी नगरेको भने होइन । वास्तवमा समर्पित र अलिकति बढी कुनै पनि व्यक्तिको योगदानलाई कदर गर्न सक्ने व्यक्तिहरुको यथास्थानमा नियुक्ति नभएको पक्कै हो । किनभने, अलिकति बुझेको र भाषा–साहित्य कला र संस्कृतिप्रति समर्पित व्यक्तिले स्थान पायो भने अलि बढी यस्तो विषयले महत्व पाउने हो । तर, त्यस्तो हुन नसकेकोमा आफ्नो क्षमता र आग्रह अनुसार पनि कामहरु हुने रहेछन् तर, सीमित रुपमा सरकारले यस दिशामा कामहरु गरिरहेको छ । नेपालजस्तो मुलुकहरुमा जहाँ आधुनिक संस्कृतिको नाममा सांस्कृतिक, साहित्यिक विकृतिहरु पनि केही फैलिएको छ । समाज धेरै व्यक्तिवादी पनि भएर गएको छ । सबै सन्दर्भमा हेर्दा सरकारले गरेको सामान्य सम्झना, सामान्य योगदान पूर्ण देखिँदैन ।

अरु विकसित देशहरुमा भाषा साहित्यको लागि सरकारी तवरबाट ठूला ठूला कामहरु भएको पाइन्छ । त्यस्ता देशहरुमा सरकारी र सार्वजनिक तवरबाट थोरै सहजीकरण गरिदिने र नागरिक समाज वा भाषासेवी, संस्कृतिसेवी कलासेवी, कलाप्रेमीहरुबाट धेरै कामहरु गरेको देखिन्छ । साधन र स्रोतहरु को पहिचान गरेको पनि पाइन्छ । जनस्तरसम्म त्यस्ता भाषा–साहित्यका कार्यक्रमहरु चलाएको देखिन्छ । हाम्रो देशमा अहिले तीन तहका सरकारहरु छन् । यहाँ, संघीय सरकारले सीमित रुपमा कामहरु गरेको छ । प्रादेशिक सरकार र स्थानीय सरकारहरुले भानुका बारेमा जति गर्न सक्छ त्यो नगरेको देखिन्छ । भानुभक्त साझा व्यक्ती भएकाले स्थानीय र प्रान्तीय सरकारले केन्द्रको मुख ताकिरहनु आवश्यक छैन ।

भानुभक्त आम नेपाली भाषा–संस्कृतिको आदिपुरुष भएको हुनाले उनलाई राष्ट्रिय सरकारले प्रचारप्रसार गर्ने उहाँको विषयको योगदानको हाइलाइट गर्ने भन्दा पनि सामाजिक संघ–संस्थाहरु अथवा भाषासेवी, प्रतिष्ठान, अनुसन्धान दाताहरु, विश्वविद्यालय लगायतका प्रतिष्ठानहरुले र विभिन्न तहका सरकारहरुले हातेमालो गर्दै भानुभक्तको र नेपाली भाषा साहित्यको कदर र सम्मानमा आफ्नो दृष्टि पुर्याउनु आवश्यक छ । तर, फेरि पनि यस्तो कुराको लागि एउटा मियोको रुपमा नेपाल सरकार नै रहने हो । सरकार र मातहतका प्रतिष्ठानहरुले नै मार्गदर्शन गर्नु पर्दछ । त्यसमा प्रज्ञा प्रतिष्ठानजस्ता राष्ट्रिय स्तरका साहित्य र भाषाको लागि खोलिएका संस्थाहरुले अग्रसरता लिनु आवश्यक हुन्छ ।

भानुभक्त र नेपाली भाषा साहित्यको विषयलाई राज्यले नै गंभीर ढंगबाट चासो राखेको खण्डमा भानुभक्तको सुकृति जनस्तरसम्म पुर्याउन सहज हुन्छ । तर भानुक्त र नेपाली भाषा साहित्यका गतिविधिहरु दार्जलिङतिर केही देख्ने गरेका छौं भने देश विदेशमा भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटाजस्ता व्यक्तिहरुको चाहिँ योगदानको चर्चा हुने गरेको पाउँछौं । आजकैै दिन चाहिँ भानुजयन्ती छ । सरकारले आजकै दिनलाई सामान्य रुपमा भए पनि भानु जयन्तीका रुपमा मनाउँदै छ । यसलाई हामीले मान्नु पर्दछ । तर, यस्तो महान् भाषासेवीको जन्मजयन्तीलाई जनस्तरसम्म सेलिब्रेसनको रुपमा मनाउन सकिएको छैन । जनस्तरमा राजनीतिक वा चलचित्रका विषयहरु कहिलेकाहीँ पुग्छन् तर, यो भाषा–संस्कृति साहित्यजस्तो विषय वस्तुचाहिँ सेलिब्रेसनका रुपमा जनस्तरमा घर–घरमा पुगेजस्तो लाग्दैन मलाई पनि ।

यस्तो महान् भाषासेवीको जन्मजयन्तीलाई जनस्तरसम्म सेलिब्रेसनको रुपमा मनाउन सकिएको छैन ।

भाषा साहित्य, संस्कृति कलाको प्रवद्र्धन भन्ने कुरा जनस्तरसम्म पुर्याउनको लागि चाहिँस्वतः स्फूर्त रुपमा अभियानमा जानु आवश्यक हुन्छ । त्यसका लागि अहिले आधुनिक प्रविधि, आधुनिका प्रणालीहरु विकसित भइरहेका छन् । यी आधुनिक प्रणालीहरुको सहयोग लिइकन आधुनिक पुस्ताका कुराहरुसँग अब जोडिन सक्नुपर्दछ । त्यसकारणले गर्दा उनले गरेका योगदानका कुराहरुलाई हामीले बहस, पैरवी वा विभिन्न सामाजिक संघसंस्थाहरुलाई यस कुरामा मोटिभेट गर्ने कार्य वर्षको एकदिन भए पनि गर्नु अनिवार्य छ । हामीले वर्षको केही दिचाहिँ भानुभक्तका लागि डेलिकेट गर्ने, सम्पूर्ण व्यक्तिहरुले दशैं, तिहार, क्रिसमस, उदुलफित्र वा ल्होसारजस्तो किसिमले मनाउनु उचित हुन्छ । यसरी राष्ट्रिय चाडका रुपमा मनाउन सकिएको खण्डमा भानुभक्तप्रतिको उचित श्रद्धाञ्जली ठहरिन्छ ।

पहिलो पक्ष त आम संचारका माध्यमहरु मार्फत् नै जानुपर्ने हुन्छ । दोस्रो पक्ष भनेको अनुसन्धान संस्थाहरु, स्वयंसेवी, नागरिक समाज, प्रवुद्ध वर्गहरुले साझा भानुलाई व्यक्तित्व का रुपमा लिएर भाषा र साहित्यको समृद्धिका लागि उनले दिएको योगदानको उचित कदर गर्न सक्नुपर्दछ । भानुभक्त आचार्य चुँदी रम्भाको एक साधारण व्यक्तित्व पक्कै होइनन् । आजभन्दा करिव २०० वर्ष अगाडि उनले गरेको त्याग तपस्या, नेपाली भाषा, संस्कृति र साहित्यको लागि भानुले तत्कालीन अवस्थामा के देखाए ? समाजलाई कस्तो किसिमको शिक्षा दिए ? उनी एउटा जीवन्त साहित्यकार भएको हुनाले त्यो बेलामा के दिएका थिए ? त्यसको सान्दर्भिकता आज झन् बढ्दै गएको छ ।

अहिलेको पुस्ताले क्रमश आफ्नो भाषा र संस्कृतिलाई भुल्ला कि भन्ने चिन्ता हुन थालेको छ । त्यसकारणले भानुको विषय पाठ्यक्रममा राखिदिने, तालिमहरुमा राखिदिने वा भानुभक्तका नाममा प्रतिष्ठानहरु बनाइदिने, पार्क बनाइदिने उनका नाममा फिल्म तथा डकुमेन्ट्रीहरु बनाइदिने वा शिक्षालय तथा विश्वविद्यालयहरु खोल्ने, उनको इतिहासलाई जीवन्त राखेर भाषामा भएको विकासलाई आत्मसात गर्दै परिवर्तित स्वभाविक प्रणालीको विकास गर्न सक्यौं भने चाहिँ भानुभक्तले गरेको योगदानको पनि उचित कदर हुनुका साथै भाषा–साहित्य, संस्कृतिको सम्मान हुन जान्छ ।

हामीले आफ्नो अपनत्व वा माटो र मुटुलाई जोड्ने प्रकृया हो यो । अपनत्व वा एकत्वको भावनालाई जगाउनको लागि बिस्तारै अबको पुस्ताहरु त्यतातिर लाग्ने एउटा नरम प्रकृया शुरु गर्नुपर्छ । त्यो नरम प्रकृया शुरु गरेनौं भने बिस्तारै यस्ता धरोहरहरु, साहित्यकारहरु, सभ्यताहरु, साहित्यिक योगदानहरु बिलिन हुँदैहुँदै विलोपीकरणको स्थितिमा पुग्लान् कि भन्ने चिन्ता छ । त्यसकारणले त्यस्तो वातावरण बन्न दिनु हुँदैन । किनकि, हाम्रो मौलिकता, हाम्रो संस्कृति, हाम्रो भाषा हाम्रो जीवन जत्तिकै प्यारो अथवा हाम्रो जीवन भन्दा पनि प्यारो हुन्छ । हाम्रो पहिचानलाई उजागर गर्ने कुराहरु, देश विदेशमा भानुभक्तको अथवा महाकवि देवकोटाको सम्मान हुने कुराहरुलाई हामीले गंभीरता पूर्वक लिनुपर्छ । उनीहरुलाई विदेशी भूमिमा कति सम्मान वा पूजा हुन्छ ? यस्तो कुराहरुचाहिँ नेपालमा पनि हुनुपर्छ ।

नी साझा संस्कृतिको सम्बन्धसूत्रको सूत्राधारको रुपमा रहेका व्यक्तित्व हुन् । उनका योगदानलाई संचारका माध्यमहरुबाट, मल्टिमिडियाद्वारा प्रचारमा ल्याउन सकेको खण्डमा मात्र भानुभक्तको योगदानलाई युग, युगान्तरसम्म पनि बचाएरर राख्न र संस्थागत गर्न सक्छौं ।

गोपी मैनाली

वर्षको एकदिन चाहिँ हामीले साहित्यिक गोष्ठी, सम्गोष्ठीहरु आयोजना गर्ने, अथवा प्रवचनहरु गरिदिने काम गर्नुपर्छ । आज देशमा करिव ६०० वटा जति एफएमहरु छन् । धेरै टेलिभिजन च्यानलहरु छन् । धेरै युटुबरहरु च्यानलहरु । धेरै अनलाईन पत्रिका र छापा पत्रिकाहरु छन् । धेरै सामाजिक संजालसँग जोडिएका व्यक्तिहरु छन् । त्यसो भएकाले भानुभक्त भनेको साहित्य लेख्ने व्यक्तिको वा मानप्रतिष्ठा वा पुरस्कार पाउन खोज्ने व्यक्तिको भन्ने विषयबस्तु बनाउन खोज्नु भन्दा पनि उनी समस्त नेली भाषीहरुको साझा व्यक्ति हुन् भन्ने कुराको ख्याल गरिनुपर्छ ।

उनी साझा संस्कृतिको सम्बन्धसूत्रको सूत्राधारको रुपमा रहेका व्यक्तित्व हुन् । उनका योगदानलाई संचारका माध्यमहरुबाट, मल्टिमिडियाद्वारा प्रचारमा ल्याउन सकेको खण्डमा मात्र भानुभक्तको योगदानलाई युग, युगान्तरसम्म पनि बचाएरर राख्न र संस्थागत गर्न सक्छौं ।

तात्कालीन परिवेशमा उनले बोलेका, रचना गरेका कुराहरु ठीक भएता पनि अहिले केही परिवर्तन गर्नुपर्ने होलान् । भाषा भनेको समय सापेक्ष रुपमा विकसित र परिमार्जित हुने माध्यम हो । आजका परिवेशमा उनले दिएका कतिपय नैतिक शिक्षाका कुराहरु पनि समय सान्दर्भिक नहोलान् । आम नेपालीहरुको विषयमा लागू नहोलान्, त्यो बेलाका व्यंग्य अहिलेको व्यंग्यसँग मिल्दैन होला । तर अहिले पनि व्यंग्य गर्नुपर्ने अवस्था छ । हामीले यसलाई विस्तृत दृष्टिकोण राखी, ठूलो मुटु राखेर, ठूलो मस्तिष्कले एउटा अभियानको रुपमा लानु पर्छ र यो अभियान भनेको हामी सबै नेपालीले अपनत्व गर्ने खालको हुनुपर्दछ । यो सरकारको मात्र नभएर सरकारभन्दा पनि आजको समाज एक कदम अगाडि हुनुपर्दछ । अझ म त साहित्यकारहरु, संस्कृतिविद्हरु एक कदम अगाडि हुनुपर्छ भन्छु ।

वास्तवमा भाषा भनेको सम्पर्कको एक माध्यम भएको हुनाले भाषा गतिशील हुन्छ र भाषा आफैंमा जीवन्त हुन्छ । तर तत्कालीन समाजमा उनले जुन भाषिक एकीकरण, संस्कृतिको विस्तृतीकरण गरेका थिए, त्यो चाहिँ अचुक थियो । यस अर्थमा हामी भानुभक्तलाई नेपाली भाषाको पर्यायका रुपमा बुझ्न सक्छौं । यही कुरालाई बिस्तृतीकरणमा लगेर भानुभक्तले भनेका कुरा कुराहरु आजको परिवेशमा अलिकति परिमार्जनको विषयबस्तु बन्न सक्छ ।
भानुभक्तले जे योगदान गरे त्यो गरे । उनी त्यतिबेलाको नेपाली भाषाको पर्याय हो । आदि पुरुष हो । आदि योगदानकर्ता हो । तर अहिले चाहिँ हामीले नेपाली भाषाको मौलिकतालाई हरण हुन नदिने गरी एउटा मानक संस्कृतिजस्तो बनाउनुपर्छ । हामी सबैले घरघरबाट, परिवार परिवारबाट मठ–मठबाट सबैतिरबाट हामीले एउटा मानक भाषा वा नेपाली भाषाको मानक प्रवृत्तिलाई संस्थागत गराउन सक्यौं भने भानुभक्तले देखाएको भाषिक एकीकरणको कुरा, भाषिक विस्तृतीकरणको कुरा, भाषिक सभ्यताका कुराहरुचाहिँ अझै संस्थागत हुन्थ्यो ।

हामी सबैलाई, हाम्रो मन मुटुलाई, हाम्रो पहिचानलाई विस्तृतीकरण गर्ने, मन मुटुलाई जोड्ने काम भानुभक्तको योगदानको कदर गरेर वा भानुभक्तले गरेको भाषिक योगदानलाई हामीले अझै बढी ओजमा पु¥याउन सक्छौं ।

मुलुकभित्र राष्ट्रियता, भाषा, संस्कृति जति प्यारो हुन्छ, मुलुकभित्र बस्नेले दिन प्रतिदिन त्यही कुरा व्यवहारमा लागू गरिरहेका हुन्छौं, त्यही कुरा बुझिरहेका हुन्छौं । तर हामी जब बाहिर पुग्छौं । राष्ट्रियता, भाषा, संस्कृति र आफ्नो पहिचानचाहिँ अलि बढी महत्वपूर्ण कुराहरु बन्न जान्छ । यसकारणले गर्दा नेपाली मनहरु, नेपाली पहिचान भएकाहरु विश्वभरी फैलिएका छन् । ती नेपाली पहिचान भएका नेपाली मनहरुले भानुभक्तलाई अति नै मन पराउँछन् । जस्तो भारतको पूर्वी इलाकाहरुमा जहाँ नेपालीभाषीको बाहुल्यता पाइन्छ वा बर्मामा अथवा भुटानी भु–भागमा होस् या भुटानी नेपालीभाषी पुगेका विश्वका कयौं देशहरुमा जहाँजहाँ नेपाली डायस्पोराहरु बसेका छन् । त्यहाँ चाहिँ भानुभक्तलाई नेपाली भाषा–संस्कृतिको सिम्बोलका रुपमा वा आफ्नो पहिचानको प्रतीकका रुपमा भानुभक्त वा महाकवि देवकोटालाई वा कतिपय अवस्थामा लेखनाथ पौड्याल, माधव घिमिरेहरुजस्तो दिग्गज साहित्यकारहरुलाई लिएको हामीदेख्न सक्छौं । त्यसकारण नेपाल भन्दा बाहिर आफ्नो भाषा संस्कृतिको जहाँ हामी जेजे भोग्छौं त्यो भन्दा बाहिर हामीलाई त्यो कुराको बढी महत्वबोध हुन्छ । यस्ता कुराहरु हामीले हाम्रो छिमेकी मुलुक र विश्वभरि नै ती कुराहरुलाई जहाँजहाँ नेपाली फैलिए, नेपाली डायस्पोरा फैलियो त्यहाँ त्यहाँ भानुभक्तको सम्मान मार्फत् आफ्नो पहिचान, भानुभक्तको महत्वको विषयमा चर्चा गरेर नेपाली पहिचान र नेपाली संस्कृति, नेपाली मौलिकतालाई चाहिँ संस्थागत गर्न खोजेको हामी देख्छौं ।

त्यस्तो सिक्किम, दार्जलिङमा पनि देख्छौं, त्यो बेलायतमा पनि देख्छौं, त्यो बर्मामा पनि देख्छौं । त्यस्तै हामी हङकङ, अष्ट्रेलिया र विभिन्न ठाउँहरुमा देख्छौं । अब त बिस्तारै अफ्रिका तिर पनि नेपाली डायस्पोरा चाहिँ विस्तृत भइरहेको छ । त्यसकारणले गर्दा विश्व गोलार्धका सबै कुनाहरुमा जहाँ नेपाली मन छ, त्यहाँ नेपाली संस्कृति पुगेको छ । नेपाली संस्कृति पुग्नु, नेपाली पहिचान पुग्नु भनेको भानुभक्त पुग्नु पनि हो । त्यसकारण भानुभक्तले चाहिँ धेरै मान पाएका छन् र अहिले विकास भएको यो सामाजिक सञ्जालहरु, को माध्यमबाट यसले बिस्तृतीकरणको अवसर झन् पाएको मैले देखेको छु । कोभिड–१९ फैलिँदै गएपश्चात पनि विभिन्न किसिमका भर्चुअल मिटिङहरुबाट, विभिन्न अनलाइन माध्यमहरुबाट, सामाजिक संजालहरुबाट पनि भानु जयन्ती मनाउन सक्छौं । यसरी विश्वभरिका नेपाली मनहरुले नेपाली पहिचान खोज्ने क्रममा, नेपाली मौलिकतालाई संस्थागत गर्नको लागि भानुभक्तलाई मनभित्र राखेर त्यसलाई पुकार्ने गरेको मैले देखेको छु ।

(सम्पादकसँग गरिएको कुराकानीमा आधारित)

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.