24 Online News
६ श्रावण २०७७ १६:४४

कृष्ण पाउरोटी वीपीको अखडा थियो : राजकर्णिकार

वीपी कोइरालासँग जोडिएका अनेकौं किस्साहरु अहिले काँग्रेसी कार्यकर्ता र उनको पारिवार नजिकका व्यक्तिहरुबाट सुन्ने गरेको पाइन्छ । वीपी कोइराला नेपाल आई तत्कालीन समयमा भूमिगत अवस्थाबीच आफ्ना गतिविधिलाई जनतासम्म पुर्याउने काममा सक्रिय थिए त्यो बेला राजा त्रिभूवनसम्म पनि आफ्ना सन्देशहरु पुर्याउनुअपरिहार्य थियो । त्यही समाचारको पुलका लागि कृष्ण पाउरोटी रोज्न पुगे वीपी कोइरालाले ।

आज उनै वीपी कोइरालाको ३८ औं स्मृति दिवसका अवसरमा कोइरालाका पुराना पाटालाई प्रस्तुत गर्नु सान्दर्भिक ठानी कृष्ण पाउरोटीका अध्यक्ष घनश्याम राजकर्णीकारको स्मरणमा रहेका वीपीको फरक पाटोलाई यहाँहरु समक्ष राखिएको छ :


छ/सात सालतिर वीपी कोइराला र मेरो बुवाको सम्बन्ध सुमधुर थियो । म त्यसबेला निकै सानो थिएँ । तथापि केही यादहरु भने स्मरणमा ताजै छन् । त्यो बेला वीपी बाबु हाम्रो कृष्ण पाउरोटीमा प्राय आइरहनु हुन्थ्यो । मेरो बुवा कृष्ण राजकर्णिकार ४ सालतिर मात्र पाउरोटी बनाउने तालिम कोलकताबाट लिई नेपालमा फर्किएर पाउरोटी बनाउन थाल्नुभएको थियो ।

नेपाली समाजमा पाउरोटी नयाँ भएको हुनाले ठूलो उत्साहका साथ बुवाले भित्राउनु भएको पाउरोटीका अनेक किस्सा चले । कसैले खुट्टाले बनाउने पाउरोटी, कसैले नेवारले जाँड/रक्सी हालेर बनाएको पाउरोटीजस्ता अनेकौं कूतर्कहरु चलाएका थिए । त्यस्ता कूतर्कलाई गलत प्रमाणित गर्नका लागि उहाँले बाहिरै सबैले देख्नेगरी पाउरोटीको पीठो मुछ्ने व्यवस्था मिलाउनु भएको थियो तर पनि पाउरोटी अलि अमिलो खालको हुने भएकाले काठमाडौंको तत्कालीन समाजले त्यति रुचाएको थिएन । त्यहीबेला जब मेरो बुवाले म त पाउरोटी व्यवसायलाई विस्थापित गरी फेरि पुरानै हलुवाई–पुरी को व्यवसाय पो गरौं कि ? यो त चल्दै नचल्ने भयो भनि वीपी कोइरालासँग सल्लाह माग्दा उहाँले, ‘हामी लागिरहेकै छौं, नेपालका जनताहरु जागृत भइरहेकै छन्, फेरि अब चाँडै नै प्रजातन्त्र आउनेमा म त ढुक्क छु कृष्णदाइ । अब, देशमा प्रजातन्त्र आयो भने भारतमा रहेका नेपालीहरु धेरै फर्किन्छन् र यहीँ बसोवास गर्न थाल्दछन् । उनीहरुले पाउरोटीको स्वाद पाइसकेका छन्, महत्व थाहा पाइसकेका छन् । अहिले तपाईंलाई गाह्रो भए पनि पछि त यो व्यावसाय राम्रोसँग चल्छ नि, यो नछोड्नुस्, पछि राम्रो हुन्छ ।” भनी सल्लाह दिनुभएको थियो ।

त्यो बेला मेरो बुवाले वीपी बाबुको सल्लाह बमोजिम पाउरोटी बनाउने कार्यलाई यथावतै राख्नुभयो । वीपी कोइराला हाम्रोमा बराबर आइरहनुहुन्थ्यो । उहाँ आएको थाहा पाएपछि यता वरपरका काँग्रेसीहरु आइहाल्थे । वीपीलाई घेरिहाल्थे । उनीहरु कोहीले वीपी बाबु र कसैले सान्दाजु भन्थे ।

मेरो बुवासँग त्यो बेला साइकल थियो । वीपी बाबुसँग थिएन तर उहाँ साइकल चलाउन पोख्त हुनुहुन्थ्यो । त्यसबेला उहाँ चावहिलतिर बस्ने गरेको स्मरण छ मलाई । के काम पथ्र्यो कुन्नी, उहाँ बुवासँग साइकल मागेर कहाँ कहाँ जानुहुन्थ्यो । पछि कहिले त्यही दिन, कहिले १/२ दिन पछि साइकल लौटाउनुहुन्थ्यो ।

त्यसबेला नै नाम चलिसकेका वीपी कोइराला चिया खूवै मन पराउनुहुन्थ्यो । हामीकहाँ चिया र पाउरोटी खानुहुन्थ्यो । कोइरालालाई विशेष भेटघाट गर्नको लागि बुवाले कसैले थाहा नपाओस् र उहाँको पनि सुरक्षा हेस् भन्ने हेतुले होला पाउरोटी पसलको भित्रपट्टि छुट्टै कोठा बनाउनु भएको थियो । त्यहाँ प्रायसः वीपी बाबु एक्ला एक्लै भेट गर्नुहुन्थ्यो ।

मेरो बुवा र वीपीबीच कुन किसिमको सम्बन्ध थियो त मलाई थाहा छैन तर राजा त्रिभूवनको कपाल काट्ने नाई बलदेव ठाकुर हाम्रो भन्दा अलि माथि कमलपोखरी नेरको गल्लीमा बस्थे । बुवाले ठाकुर र कोइरालालाई विशेष भेटघाट र बराबर कुराकानी मिलाउँथे त्यही कोठामा । बलदेव ठाकुर मार्फत् वीपी र राजा त्रिभूवनको कुराकानी चल्थ्यो र राणा फल्ने योजनाहरु बन्दथ्यो ।

वीपीले राणाहरुको दमनका विरुद्धमा काँग्रेस र राजालाई जोड्ने पुलका रुपमा कृष्ण पाउरोटीलाई प्रयोग गर्नुभएको थियो । राणाहरुले त्यो कुराको निगरानी राखेको कुरा काँग्रेसी कार्यकर्ताहरुले गर्ने गर्दथे । त्यो साँचो पनि थियो कि ?

पछि धेरै नै हल्ला हुन थाल्यो, कृष्ण पाउरोटीमा त राणाका सीआइडीहरुले धेरै नै निगरानी राखेका छन् र वीपी लगायतका काँग्रेसलाई समात्ने योजना बुन्दै छन् । त्यसपछि वीपीबावु आउन कम गर्नुभयो ।

पछि धेरै पछि वीपीबावु मेलमिलापको नीति लिएर नेपाल फकिएको थाहा पाउँदा मैले एम्.ए. सकिसकेको थिएँ । त्यो बेला मेरो रचनाहरु गोरखापत्रमा पनि छापिइसकेका थिए । मलाई साहित्यकारका रुपमा चिन्न थालिसकेका थिए । त्यो बेला हामी केटाहरु वीपीबावुलाई भेट गर्ने भनी चावहिल गयौं ।

मेरो काँग्रेसी साथी जसलाई कोइरालाले राम्रोसँग चिन्दथे । उनैले मलाई साहित्यकारका रुपमा उहाँसँग परिचित गराए । तर, वीपीबाबु खिस्स हाँस्नुभयो । पछि ती साथीले मलाई यो घनश्याम राजकर्णिकार हो कमलपोखरीको भन्ने वित्तिकै कोइरालाले बाबु तिमीले कृष्ण राजकर्णिकारलाई चिन्दछौ भनी सोधे । मैले उहाँलाई कृष्ण राजकर्णिकार मेरो बुवा हुनुहुन्छ भन्दा त ज्यादै प्रसन्न हुनुभयो । उहाँले भन्नुभयो “कृष्ण दाइले मलाई त्यो बेला साइकल दिएर ठूलो गुन लगाउनु भएको छ । उहाँको हालखबर, सन्चो बिसन्चो के कस्तो छ ?”

वीपी बाबु यति सानो भन्दा सानो कुराको पनि ख्याल गर्ने, अरुको दुःखलाई आफ्नै सम्झने, सबैसँग घुलमिल गर्ने, साधारण जीवनयापन गर्नेजस्ता प्रवृत्तिका कारण साँच्चै नै महान हुनुभयो । उहाँ जत्तिको सादगी र महान नेता मैले अहिलेसम्म नेपालमा देखेकै छैन ।

(कुराकानीमा आधारित)

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.