सारथि : युग हाॅंक्ने
– तीर्थराज अधिकारी
दिव्याको भव्य स्वप्ना उदित प्रहरको काख साकार आई
बाबा ती कृष्णले झैं जन-जन-जनको गर्न लाग्यो भलाइ
फैलाई क्रूर पंजा पशु बल पदको मूढ गर्थ्यो रजाइॅं
चूडाले चूर्ण पाऱ्यो , जटिल जहरिलो धूर्तको राइॅंदाइॅं ।१।
आएको गर्भबाटै हलचलसित ऊ मार्ग पक्री चिकित्सा
भन्थिन् आमा उसै ऊ कहर पथ कहाॅं हार खाला अभीप्सा
मेरा यी दुग्धधारा प्रतिपल उसका रक्तका ज्वारमा छन्
ऊ मेरै प्राणशाखा कर कुशल कला कर्म के भिन्न हुन्छन् ? २।
कोर्रालाई गलाई उदर जलनको भोक तिर्खा पचायो
फाॅंसीको जाल बुन्ने कलुषित शठको मातलाई लताऱ्यो
गर्दै संकल्प सच्चा हरप्रहर प्रजातन्त्रको मन्त्र गायो
बेथा- वैरी झुकाई अविचल तपले माथलाई उठायो ।३।
स्वार्थी साना कुरामा समय- पल कतै व्यर्थमा क्यै नफाली
लम्क्यो नेपालकै ऊ जय जय जयको गान सच्चा उचाली
आंखा खोल्दा उसैले अबल अभरका दीनले दृष्टि पाए
काॅंपेका रुग्णजस्ता लुगलुग मुटुमा प्राण नौला पलाए ।४।
धावा बोल्थे अनेकौॅं असुर चर गला त्रास भर्थे हजारौॅं
द्रष्टा ऊ नित्य सोच्थ्यो अविचल मनले देश केले सपारौॅं ?
आस्था स्वाधीन आभा प्रमुदित दिल के गल्न सक्थ्यो र पानी ?
योद्धाको झार्न सक्थ्यो तिमिर कर कहाॅं चम्किएको जवानी ?५।
लामो जंघार तर्दै बगर डगरका बास भेट्दा रसायो
काया माया तिनैका अतल हृदयमा चित्र नौलो सजायो
निर्धा, सोझा , अजानी मलिन अधरका रूपमा रंग भर्दै
लाग्यो यात्री उकालो अधम दम कडा वज्रलाई पछार्दै ।६।
झुप्राको ख्याल गर्दै दमित कृषकका मर्म बाधा नियाल्दै
नेपाली जाति सोच्दै हरपल यिनकै योजना चित्र कोर्दै
जित्दै संग्राम सारा अगलित मुटुमा आस विश्वास साॅंच्ने
चूडा आंटी प्रतापी मणिमुकुट महाचेत हो राष्ट्र हाॅंक्ने ।७।
सिर्जेका काव्य उस्तै प्रणय रहरिला , गर्विला , बान्किला छन्
आफैंमा लठ्ठ पर्दै रसिक जन बडा प्रेमले स्वाद लिन्छन्
मान्छेका भाव भित्री सरसर सरका शब्दका चित्रमा छन्
वाणीका शिल्प उच्चा कलम वर कहाॅं चेत निश्चेत बन्छन् ?८।
ठूलाको धाक त्यागी असल सरल भै बाॅंच भन्ने सिकायो
अन्यायी साथ लड्दै अटल शिर सधैं साॅंच भन्ने सिकायो
हैनन् खाना र नाना सकल सफलता , ज्ञान नै हो कमाइ
भन्दै ऊ आंत फक्र्यो नवनव रसका सिर्जनामा रमाई ।९।
कालो झन्डा हटाई टहटह जगमा दिव्य तारा सजायो
ताराको बीच बल्ने झलझल नभको चन्द्र झैं झल्झलायो
लाखौॅंमा एक जन्मी युगपुरुष बनी कर्ममा जन्म साॅंच्यो
नेता,द्रष्टा र स्रष्टा अजर अमर भै मान अम्लान बाॅंच्यो ।१०।
****
(लप्सीबोट, गोरखा; हाल : सरस्वतीनगर , काठमाडौॅं -६ ।)
सुन्दर कविता !
वि पि नेपालका महान नेता हुन् र आख्यान साहित्यका शिखर व्यक्तित्व पनि हुन्।यस्ता महान नायकका विषयमा कवि तीर्थ अधिकारीको माझिएको शैलीबाट छ्न्दमा सुन्दर अनि कलात्मक कविता बुनिएको छ।विशेश्वरको जन्मजयन्तिमा यो कविता आउनु अत्यन्त सान्दर्भिक छ।