24 Online News
२४ भाद्र २०७७ १४:२७

राजनीति र साहित्यमा समान उचाइका महामानव वीपी कोइराला


वास्तवमा म आफूलाई साहित्यिक सम्झन्नँ । मेरो क्षेत्र त राजनीति हो, राजनीतिमा म यौटा अन्तप्र्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरित । म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी । कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ ।

नेपाली साहित्य जगतमा चर्चित एवम् सफल व्यक्तित्व महामानव विश्वेश्वरप्रसाद कोइराला साहित्यका एक चम्किला ध्रुर्व तारा हुन् । विशेषतः आख्यान विधामा कलम नचाएका कोइरालाले मनोविज्ञान अन्तर्गत पनि यौन मनोविज्ञानलाई आधार मानेर नेपाली साहित्यमा नयाँ आयम थपे । उनको कार्यको जति नै चर्चा गरे पनि अपूरो हुन्छ, १०७ औं जन्म जयन्तीको सन्दर्भमा उहाँको केही अंशको चर्चा गर्ने प्रयास गरिएको छ ।

महामानव विश्वेश्वरप्रसाद कोइराला ( वि.स. १९७१ – २०३९ ) नेपाली साहित्यमा कथा विधामा मनोविज्ञानलाई सर्वप्रथम प्रवेश गराउने अगुवा प्रयोक्ता हुन् ।

बि.स. १९७१ भाद्र २४ गते तदनुसार सन् १९४१ सेप्टेम्बर ८ का दिन भारतको बनारसमा बुबा कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मेका हुन् – विश्वेश्वरप्रसाद कोइराला ।

कृष्णप्रसाद कोइरालाकी प्रथम पत्नीको मृत्यु प्रसवकालमा भएको थियो । त्यही घटना विश्वेश्वरको आमा दिव्या कोइरालामा पनि घट्न पुग्दा शल्य चिकित्सा गर्नु परेको थियो । शल्यक्रिया पद्धतिद्वारा विश्वेश्वर जन्मेका थिए । यसबारे विश्वेश्वरले ‘आफ्नो कथा’ मा यसरी लेखेका छन्– ‘‘आमाको प्रसव अत्यन्त जटिल हुन गयो र प्राण रक्षाको लागि जनकप्रसाद दाइको ढिपीले बडा आमाले तुरून्त डाक्टरी सेवा प्राप्त गर्ने अनुमति दिनुभयो । तत्काल एउटी सिपालु डाक्टरनी नआइपुगेर शल्य चिकित्साको मद्दतले त्यहाँ उद्दार कार्य नगरेको भए मेैले त प्रकाश नै देख्न पाउने थिइँन, आमा पनि जीवित रहनु हुने नै थिएन् । मैले संसारमा प्रवेश गर्दा परिवारको एउटा परम्परालाई तोडें, प्रसव कोष्ठमा आधुनिक चिकित्सा विज्ञानको प्रकरणलाई पु¥याएँ’’ शल्यक्रियाबाट जन्मेको हुनाले विद्रोही स्वभाव उहाँमा देखा परेको हो कि भन्ने हल्ला राजनैतिक वृत्तमा चलिरहने कुरा हो । काशीका आदिदेव महादेवको प्रसाद हो भनेर विश्वेश्वरका ठूलो बाबुले यिनको नाम विश्वेश्वरप्रसाद कोइराला राखिदिए । यही नामबाट परचित भएको व्यक्ति संसार भरी नै प्रख्यात हुन पुगे । हुन त उनको न्वारनको नाम चूडामणि थियो । विश्वेश्वरलाई कसैले सानुबाबु र कसैले सानुदाजु भनेर पनि बोलाउथेँ ।

तत्कालिन राणा शासकहरूद्वारा आफ्ना पिताको सर्वस्वहरणसहित देश निकाला गरिएपछि पुख्र्यौली जन्मथलो मोरङ, अर्थात् नेपाल छाडी विश्वेश्वरका परिवार बनारस भारत बसाइँ सरेका हुन् । विश्वेश्वरले बनारसबाट नै औपचारिक शिक्षाको थालनी गरेका हुन भने हरिश्चन्द्र हाइस्कूबाट एस.एल.सी., बनारस हिन्दु विश्वविद्यालयबाट बि.सं.१९९१ मा वि.ए. उत्तीर्ण, कलकत्ता विश्वविद्यालयबाट वि.सं. १९९४ मा वि.एल. उत्तीर्ण गरेका थिए । त्यस्तै, उनले अर्थशास्त्रमा एम.ए.सम्मको अपूर्ण अध्यय गरेका थिए । उनी वि.स.१९९४ तिर सुशीला दाहालसँग वैवाहिक सम्बन्धमा बाँधिएका थिए भने जसबाट तीन छोरा र एक छोरीको जन्म भएको थियो ।

साहित्यिक तथा राजनैतिक व्यक्तित्व भएका महामानव विश्वेश्वरप्रसाद कोइरालाका बारेमा सामान्य चर्चा गर्न त्यत्तिकै मात्रामा अध्ययन गर्नुपर्ने हुन्छ । उनलाई साहित्य र राजनीति दुबै पक्षमध्ये एक पक्षीय रूपमा मात्र अलग्याउन खोजिएमा बुझ्नलाई झन् गाह्रो पर्छ । त्यसैले विश्वेश्वरप्रसाद कोइराला भन्छन्–‘‘वास्तवमा म आफूलाई साहित्यिक सम्झन्नँ । मेरो क्षेत्र त राजनीति हो, राजनीतिमा म यौटा अन्तप्र्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरित । म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी । कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ ।”

विश्वेश्वरप्रसाद कोइरालाले साहित्य र राजनीतिक दुबै तिरबाट मानवीय मूल्य तथा मान्यताप्रतिको आस्थालाई विश्वास गर्दै वकालत गरिरहने व्यक्तिको रूपमा विश्व मै परिचित भइसकेका छन् । अराजकवादी साहित्यकार र प्रजातन्त्रवादी राजनीतिज्ञ भएर उठेको व्यक्तित्वको जति चर्चा गरे पनि, जति अध्ययन गरे पनि कहिले पनि टुङ्गो नलाग्ने भईसकेको छ । खोतल्नेले खोतलिरहेका छन्, दुवै पक्षको आ–आफ्नो वजन घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । राजनीतिमा बन्दुक समात्न समेत पछि नपर्ने व्यक्तिले साहित्यमा कलम समाएर आफूलाई सजिलैसँग प्रस्तुत गरे । राजनीतिमा विश्वेश्वर काँडा हुन् भने साहित्यमा गुलाफको फूल हुन् । विशेष रूपले भन्ने हो भने माक्र्सको भौतिकवादी दर्शन र फ्रायडको मनोवैज्ञानिक चिन्तनको आधारमा केन्द्रित रहेर विश्वेश्वरले कथा र उपन्यास लेखे । आफ्नो व्यक्तिगत जीवनलाई विश्वेश्वरले दुई पाटाबाट अध्ययन गर्दथे । पहिलो पाटो–शरीरभित्र सुषुप्त बीजको रूपमा रहेको आत्मा र मन । दोस्रो पाटो हो – स्थूल रूपमा इन्द्रियले देख्न सकिने मन र आत्माको खोल रूपी शरीर ।
विश्वेश्वर सानै उमेरदेखि अध्ययनशील व्यक्ति थिए, सानै उमेरदेखि भारतीय लेखकहरूका कथा र उपन्यासहरू खोजी खोजी अध्ययन गर्दथे । उनका बुवाले नेपाली भाषामा प्रकाशित साहित्यिक पत्रपत्रिकाहरू चन्द्रशमशेरमार्फत आफ्नो घरमा ल्याउँथे । त्यही पत्रपत्रिकाहरू खुब उत्सुकतापूर्वक अध्ययन गर्दथे । बाल्यकाल भारतमा बिताएका हुँदा उनको लेखनको थालनी भारतीय प्रवासबाट भएको देखिन्छ । सर्वप्रथम उनको लेखन हिन्दीभाषाबाट नै भएको हो ।

उनको ‘वहाँ’ शीर्षकमा हिन्दी भाषामा १९८७ मा ‘हंस’ पत्रिकामा लघु कथा प्रकाशित भएको थियो । यो नै विश्वेश्वरको पहिलो रचना हो । त्यसपछि वि.सं.१९९२ मा शारदा पत्रिकामा ‘चन्द्रवदन’ कथा प्रकाशन भएपछि नेपाली भाषामा कथा लेखन प्रारम्भ मनोवैज्ञानिक देखिन्छ । त्यस्तै वि.सं.१९९५ मा सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित कथाकुसुम नामक सङ्ग्रहमा विश्वेश्वरका तीनवटा कथाहरू समावेश छन् । भारत बसाइको क्रममा भारतीय साहित्यकारहरू शान्तिप्रिया द्विवेदी, प्रेमचन्द, मैथिलीशरण, रामकृष्ण दास, जयशङ्कर आदिको सङ्गतले नै यिनी साहित्य क्षेत्रमा होमिएका हुन् । त्यस्तै, रसियन साहित्यकारहरू टल्सटाय, एन्टन, चेखव, मेक्सिम गोर्की तथा पाश्चात्य साहित्यकारहरू सिग्मण्ड फ्रायड, अल्बर्टकामूजस्ताका साहित्य लेखनको प्रभावबाट विश्वेश्वर प्रभावित थिए । उनी साहित्यमा लाग्नुको मुख्य कारण आफ्नो विचारलाई अन्ततोगत्वा टिकाई राख्नु हो भने राजनीतिमा लाग्नुको कारण राजनैतिक उतारचढावका कारण विचार टिकाउनु हो ।

विश्वेश्वरले भाषा र साहित्यका क्षेत्रमा विविध विधामा सशक्त रूपमा कलम चलाएका थिए । ती हुन् – कथा, कविता, उपन्यास,आत्माकथा र निबन्ध ।
उनका हालसम्मका कृतिहरू क्रमागत रूपमा यसरी हेर्न सकिन्छ:

१, दोषी चश्मा (कथासङ्ग्ह–२००६)
२, नरेन्द्र दाई (उपन्यास–२०२५)
३, तीन घुम्ती (उपन्यास–२०२६)
४, सुम्निमा (उपन्यास–२०२७)
५, मोदि आइन (उपन्यास–२०३७)
६, श्वेतभैरवी ( कथासङ्ग्ह–२०३९)
७, आफ्नो कथा (आत्मकथा–२०४०)
८, हिटलर र यहुदी (उपन्यास–२०४२)
९, बुवा, आमा र छोरा (उपन्यास–२०४५)
१०, विश्वेश्वरका कविता (२०४९)
११, जेलजर्नल (२०५४)
१२, आत्मावृत्तान्त (२०५५)

विश्वेश्वर विशेषत कथाकार नै हुन् । वि.सं. १९९२ मा शारदा पत्रिकामा चन्द्रवदन शीर्षकको कथा छपाएर आधुनिक कथाको मनोवैज्ञानिक धाराका पहिलो कथाकार बन्न सफल भए । प्रकाशित भएका कथासङ्ग्रहतर्फ दोषी चश्मामा १६ वटा र श्वेत भैरवीमा ४ वटा कथाहरू समावेश छन् । उनले आफ्नो कथामा कथाको बारेमा “जीवनका घटनाको अटूट प्रवाहबाट अजुँलीमा झिकेको जस्तो सानो प्रसङ्गयूक्त घटनाको वर्ण हो – कथा, सानो अर्थ दिइएको । कथाको ओर र छोर हुँदैन, किन भने त्यो त एउटा जीवनको बृहत अनन्तक्रमबाट टिपेको सानो टुक्रा हो ।” भनी भनेका छन् ।

आधुनिक नेपाली कथामा महान कथाकार दुईमध्ये एक हुन्– विश्वेश्वरप्रसाद कोइराला । गुरूप्रसाद मैनालीले सामाजिक कथाहरू लेखे भने विश्वेश्वरले मनोवैज्ञानिक कथाहरू लेखे । मानिसको मनोवैज्ञानिकका विविध पक्षलाई स्त्री–पुरूष फरक लिङ्गीबीच परस्परमा हुने यौनिकतालाई नै विषयवस्तु बनाएर कथा लेखे । ती कथाहरूमध्ये कर्णेलको घोडा चर्चा योग्य नै रहेको छ । कथाको पात्रमध्ये कर्णेल प्रमुख हुन् । उनी सामन्त हुन्छ । ४५ वर्षीय कर्णेल र १९ वर्षीय कर्णेल्नीको बैवाहिक सम्बन्ध जोडिन्छ । कर्णेल्नीलाई आफ्नो श्रीमानबाट यौन सन्तुष्टि प्राप्त मिल्दैन । कर्णेलले आफ्नो श्रीमतीलाई खुसी पार्न सबै भौतिक सुविधा दिन्छ । जवानी कर्णेल्नी उदासिन हुन्छे । विवाह पूर्व गाउँकै एक युवकले विवाहको प्रस्ताव राखेको झलझली सम्झन्छे । यौनका कारण लोग्ने र स्वास्नीबीच द्धन्द भएको देखिन्छ । कर्णेल्नी आफ्नो मनमा गुम्सेका कुरा ब्यक्त गर्न सक्दिनन् । एक दिन कर्णेलले आफ्नी श्रीमतीलाई खुसी पार्न तवेलातिर लग्छन् । तवेलामा जवान सेतो वलवान घोडा देखिन्छ, त्यसैप्रति कर्णेल्नी आकर्षित हुन्छे । घोडालाई एक जवान पुरूषको रूपमा कर्णेल्नीले लिन्छे । आफ्नो श्रीमती घोडाप्रतिको आकर्षणले गर्दा कर्णेल रिसले चुर भई पेस्तोलले हानी घोडालाई मारिदिन्छ । कर्णेल्नी रोइकराई मुर्छित बनी भूइँमा ढल्छे । यसरी दुःखान्तमा कथा टुङ्गिएको छ ।

‘फेरि सुन्दरीजल’ , राष्ट्रिय मेलमिलापको नीति लिएर वि.स.२०३३ साल पौष १६ गते कोइराला भारतबाट नेपाल फर्कने क्रममा सुन्दरीजल बन्दीगृहमा रहँदा लेखिएको पुस्तक । यो पुस्तक एक दैनिकी, डायरी वा संस्मरण हो । बन्दीको बेला वि.पि.ले अति कष्टकर रूपमा जीवन व्यतित गर्नु परेको कुरा लेखेका छन् । एउटा लेखकलाई बाहिरी संसारबाट सम्पर्क बिच्छेद गरी लेखन र पढ्ने सामाग्रीहरूसमेत उपलब्ध नहुँदा कति पीडा बोध होला ? जेलमा उपलब्ध गोरखापत्र र राइजिङ्ग नेपाल पत्रिकाको खाली ठाउँमा उनले आफ्नो दैनिकी लेख्नु प-यो । विना कारण काल कोठरीमा बन्दी बनाइएको र कुनै न्यायिक सहयोगको लागि सम्पर्क गर्नसमेत नदिएको खुलासा विपिले गरेका छन् । मेलमिलापको नीति लिएर जुन साहसिक काम गरे तसर्थ विपीलाई राजनेताको रूपमा लिइन्छ । त्यसताकका उनका विचार सान्दर्भिक रह्यो–‘‘प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुबै जिम्मेवारी नेपालीले लिनुपरेको छ । यदि हामीले एउटै जिम्मेवारी मागको कुरा गर्यौं भने हामी एकपक्षीय भएर गलत बाटोतिर लागेका हुनेछौ र यदि हामीले प्रजातन्त्र प्राप्ति मात्र जोड दियौ भने राष्ट्रिय सङ्कटको निवारणमा हाम्रो योगदान रहदैन । राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सुत्रमा बाधिनु पर्छ । राष्ट्र रहेन भने हामी रहन्नौ भन्ने भावनाले, प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ ।’’

कोइरालको जेलजीवन नेपाली साहित्यका लागि उवर समय बन्यो । किनभने उनले जेलमा बसेर अधिकांश कथा र उपन्यास सिर्जना गरे । जुन नेपाली साहित्यका लागि अनुकरणीय बन्यो । २०१७ भन्दा अघि राजनीतिमा सक्रिय जीवन बिताएका कारण साहित्यलाइ सहायक बनाउन बाध्य थिए । तर सुन्दरीजल जेलमा रहँदा उनको साहित्य वा सिर्जना कलाहरु निरन्तर फुरे ।

विपीले वि.स.२०२२ सालतिर आफ्नै जीवनमा आधारित भएर लेखेका ‘आफ्नै कथा’ २०४० सालतिर पुस्तकको रूपमा प्रकाशन भयो । गद्य साहित्यिक रचना आफ्नो कथा नेपाली बाङ्मयमा प्रकाशित कथामध्ये उत्कृष्ट ग्रन्थको रूपमा लिइन्छ । प्रस्तुत कथामा उनको बाल्यकालदेखि किशोर अवस्थासम्ममा घटेको घटनाको इतिवृतान्त झल्काएको छ । विशेषत यिनले आफ्नो कथामा कोइराला बंशदेखि राणाकालीन कालक्रमको ब्याख्या गरेका छन् । ‘आफ्नो कथा’ कथाकार विपीको आत्मा कथा मात्रै होइन, नेपाली राजनीति एवम् सामाजिक जागरणको बिकुल फुक्ने कार्य भएको छ । समाज परिवर्तनका लागि उल्लेखनीय भूमिका खेल्ने मानुषहरूका लागि आत्मा वृतान्त लेख्नका लागि यो पुस्तक सहयोग सिद्ध हुन जान्छ । आफ्नो कथा विपी कोइरालाको सत्य घटनामा आधारित सामाजिक उपन्यास हो ।

उनको बाबु, आमा र छोरा उपन्यास नेपाली समाजमा अपाच्य घटनामा केन्द्रित रहेको छ , यस उपन्यासमा छोराकी प्रेमिकासँग बाबुले विवाह गरेर छोरा जन्मेको छ । भारतमा पढ्न बस्दा छोरासँग सहवास चल्दै थियो अचानक केटीको घरमा आमा सिकिस्त बिरामी छन् भनी घरमा बोलाएर एक अधवैंसे मानिससँग विवाह गरिदिन्छन् । ती केटीलाई थाहा हँदैन । त्यो उसले विवाह गरेको मानिस आफ्नै प्रेमीकाको बाबु हो भन्ने । भारतमै गर्भिनी भएकी केटीले घरमा आएर विवाह गर्छेै र छोारा जन्माउछे । पछि केटो घरमा आउँदा आमाको रुपमा आफ्नी प्रेमीलाई पाउँछ र आफ्नो रगतको रुपमा छोरो देख्छ । अब त्यो छोरा बाबुको की छोराको ?

उनको हिटलर र यहुदी उपन्यास उच्च कोटीमा दरिन पुगेको छ । यौनमनोविश्लेषणवादी उपन्यासमा म पात्रले क्यान्सर उपचारका क्रममा विदेश जादाँ जहाजको यात्रा क्रममा अनुभुति गरेका कुराहरूलाई उपन्यासमा लिपीवद्ध गरिएको छ । नेपालदेखि भारतको वम्वई, लण्डन, जर्मनी, फ्रान्स, इजरायल यात्राको क्रममा देखे, सुनेका कुराहरूको सेरोफेरामा उपन्यास लिपीवद्ध गरेका छन् । जहाजमा यात्रा गर्ने क्रममा वम्वइमा म पात्रसँग इसाई धर्मालम्वी लेवनानी पत्रकार मिस मार्गरेटसँग भेट हुन्छ । मार्गरेट यहुदीका कट्टर विरोधी हुन्छे । अन्तराष्ट्रिय सङ्गठन यहुदीको प्रतिनिधी डेभिटसँग पनि म पात्रको परिचय हुन्छ । आपसी विरोधी मिस मार्गरेट र डेभिडसँग परिचय गराउन खोज्दा म पात्र असफल हुन्छ । मार्गरेटले डेभिडलाई हत्यारा, अभद्र मान्छे भनी घृणा गरिन्छ । हिटलर र यहुदी दुई सम्प्रदायिक युद्धमा दुई विपरित दिशामा उभिएको हुन्छ । एघार दिनको जहाजयात्रामा म पात्रले विविध चरित्रका ब्यक्तिहरूसँग परिचय हुन्छ । जस्तै: रेवा देसाई, यहुदी बावुछोरा गोल्डवर्ग, भारती लेखक नारायण,मराठी दम्पत्ती, मिसेज म्याकडोनाल्ड, बूढी मेयरनी आदि ।

रेवा देसाइ एक विवाहित हुँदा पनि परपूरूषसँग स्वतन्त्र पूर्वक यौन सम्पर्क गर्नमा कुनै बाधा अड्कन नभएको खुलासा गरिए तापनि साच्चै नै रेवालाई एउटा पतित नारीको रूपमा चित्रण गरिएको छ ।

रेवाजी तपाइँले यो कदापि बिर्सन हुन्न कि तपाई हिन्दू नारी हो । भारतीय संस्कृतिमा नारीको रूप पहिलो पनि आमाको छ । आमाको प्रतीक को हो, थाहा छैन ? पृथ्वी । चञ्चलताको आग्रह के पृथ्वीलाई सुहाउँछ । त्यसो भए के हिन्दु नारीलाई पश्चिमी नारी सरह स्वतन्त्र आचरणको अधिकार छैन ? …हिन्दू नारीको प्राचीन रूप जहाँ पनि देख्नमा आएको छ, मन्दिरमा होस् या पत्थरमा या चित्र–लिपीमा । अल्पवासना, यौन पयोधरी, गुरू निताम्विनी र त्रिवली चित्रित उदरधारिणी ….।

विश्वेश्वरका नरेन्द्रदाई दुःखान्त कथामा आधारित चरित्रप्रधान उपन्यास हो । एक सय पृष्ठ रहेको उपन्यास कोसीतटवर्ती गाउँको पृष्ठभूमी रहेको छ । सत्यघटनामा आधारित यथार्थवादी उपन्यासमा सानुबावुको बाल्य लीला र नरेन्द्र, मुनरिया र गौरीको त्रिकोणात्मक प्रेमलीला प्रस्तुत गरिएको छ । स्त्री र पूरूषको यौन जीवन र यौनप्रसङ्गको चर्चा गरिएको यस उपन्यासमा बावुले नरेन्द्रको सहमति बिना गरिएको विवाह, लोग्ने र स्वास्नीबीचको बेमेल, बावु छोरा बीच भएको मतभेदका कारण देखिन्छ ।

जीवनको अनन्त ज्वालाबाट टिपेको, शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिङ्गो कविता, जसले कुनै निहित अर्थको सङ्केत हाम्रो अन्तरचेतनामा झल्काउँछ ।

उपन्यासमा नरेन्द्रद्वारा ब्यक्त विचार:

‘मुनरिया, सुखमा स्वार्थ छ । दुःखलाई मात्रै सार्वजनिक वस्तु बनाउन सकिएला तर दुःख पनि त एक्लै भोग्नु पर्छ । तर मुनु, दुःख’ दुःख भएकाले त्यसको एक्लो भोगाइले स्वार्थभोगको संज्ञा पाउदैन । सुखको भोग एकान्तको वस्तु हो, त्यसमा स्वार्थ निहित छ । सुख प्राप्त गर्न सक्छौ भने आँखा चिम्लेर त्यसलाई भोग्ने बाहेक अरू केही बाटो छैन । अरूको दुःखपट्टि आँखा उठायौँ भने सुखको भोग सम्भव हुन्छ र ?’

विश्वेश्वरले निबन्ध विधामा पनि कलम चलाएका थिए । उनले प्रेमको व्यवहार शीर्षकमा निबन्ध लेखेका थिए भने कवितातर्फ बारीको कुरो, बस्टापुष्प, छोरी र छाया, एउटा सन्धी एक सम्झौता, नखिचिएको तस्वीर सुन्दर, पोखरा , बादल: गोल गोल, कोमल कोमल , वर्षाले पोतेको दृश्य, कोशी कौशिकी, बगरको घोँचो र टाढाको कल्पना शीर्षकमा जम्मा १३ वटा गद्य कविता लेखेका छन् । उक्त कविताहरू सङ्कलन गरी हरिप्रसाद शर्माको सम्पादनमा प्रकाशित छन् । सन् १९६४ मा रचित ‘टाढाको कल्पना’ शीर्षक कविताको अंश:

धरतीलाई बन्ध्याकरण गरेर
उसको उर्बरताको कैद गरेर
सिमेन्ट र बालुवाले रोकेको छ
यही धरतीको स्निग्धतालाई
बन्द गरेको छ
यो चार दिवारमा
धरती पनि टाढाको कल्पना
केही वर्ष पहिलेको सम्झना’

उनले पहिलो कविता ‘वम्वइप्रति’ हो । वम्वई सहरमा हुने गरेको काहाली लाग्दो राजनैतिक अवस्थाको चित्रण यसरी गरेका छन्:

वम्वाइ ! ए वम्वाई !!
एक दिन तेरो विपुल वैभव,
विशाल अट्टालिकाहरूको झ्यालबाट चिहाई चिहाई
दुःखीहरूलाई उपेक्षाले हेर्दथ्यो
उन्मक्त अट्टहास गर्दथ्यो
ती गरिवीहरूको फाटेको कपडालाई
श्रमजीवीहरूको दुर्वल हड्डीलाई
पर्खालकिल्लाहरू खडा भएका थिए ।
तेरो ढोकामा ऐश्वर्यको कोलाहल मच्चिरहन्थ्यो
त्यसको भीषण रवमा ती सन्त्रस्तहरूको क्षीणपुकार
तेरो मस्त कानमा पुग्न पाउदैनथ्यो ।

उनले १५–२० वटा नेपाली अङ्गे्रजी र हिन्दी भाषमा कविता लेखे । विश्वेश्वरको रूचीको विषय कविता नभए तापनि कवितालाई मन पराउथे । कविताको बारेमा उहाँ यसो भन्नु हुन्थ्यो “जीवनको अनन्त ज्वालाबाट टिपेको, शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिङ्गो कविता, जसले कुनै निहित अर्थको सङ्केत हाम्रो अन्तरचेतनामा झल्काउँछ । ”

त्यसैगरी, वि.पि.को कृतित्व, व्यक्तित्वको बारेमा अन्य विभिन्न विद्वानहरूले हजारौंको सङ्ख्यामा लेख/रचना प्रकाशित गरेका छन् ।

वि.सं.२०३८ मा नेपाली साहित्यिक क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै साहित्यिक पत्रकारसंघले सम्मान स्वरूप नागरिक अभिन्नदन गरेको थियो ।

हेर्दा साधारण रूपमा विश्वेश्वरप्रसाद कोइराला समाजमा देखा परे । दिगो रूपमा आफूलाई उभ्याउन त्यति सजिलो छैन । नझुक्ने स्वभावका थिए विश्वेश्वर । झुकेको भए अरू नेताजस्तै फालिन्थे कि । एउटा सिङ्गो युगको प्रतिनिधित्व जसले पायो उसले गर्न सक्तैन । वि.पि. कोइरालाको नाम सुन्ने बितिक्कै शीर झुकाउनुपर्ने हुन्छ । बौद्धिक रूपमा विश्वेश्वरले देखाएको अडानको आफ्नै भूमिका छ । ठूलो हुन खोजेनन्, झुकेर वीरत्वको प्रदर्शन गर्न चाहेनन् बन्दुक उठाए विश्वेश्वरले । जति दुःख सहनु परे पनि कम्मर कसे विश्वेश्वरले । असल मानिस बन्ने विश्वेश्वरको धोको थियो । साधारण खालका चरित्रका मानिस नभएको कारणले नै होला साधारण खाले राजनीति कहिले पनि खेलेनन् । त्यस्तै साहित्यमा पनि उनले साधारण खालका चरित्रलाई महत्व नदिएर विशेष खालको चरित्रलाई समाजको अगाडि उभ्याइदिए । राजनीतिमा जति चर्चित छन्, उत्तिनै साहित्यमा पनि चर्चित हुनु कम कुरा होइन । नेपाली पृष्ठभूमिका आफ्नै खाले दर्शनिकको रूपमा पनि हेर्नेले हेर्ने नै छन्–विश्वेश्वरप्रसाद कोइरालालाई ।

विश्वेश्वरको साहित्यिक व्यक्तित्वलाई लिएर कतिले विद्यावारिधि उपाधि प्राप्त गरिसकेका छन् । विश्वविद्यालयका स्नातक र स्नातकत्तोर तहमा समेत उनको आख्यानकारिताको गहन पठनपाठन हुँदै आएको छ । तसर्थ, उहाँले साहित्य फाटँमा छाडेका रचना/कृति कालजयी छन् भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् भने उनले राजनीतिक क्षेत्रमा प्रतिपादन गरेका समाजवादी दर्शनको बाटोमा सम्पूर्ण नेपाल र नेपालीहरू उन्मुख हुनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

अन्तत: वि.सं. २०३९ साउन ६ गते साँझ क्यान्सर रोगबाट पीडित विश्वेश्वरप्रसाद कोइरालाको मृत्यु भयो । उहॉको शवयात्रामा बिशाल मान्छेहरूको उपस्थिति थियो । नेपाली जनताहरूका आँखाबाट आँसुका थोपा बरबरी झरेका थिए । यो नै विश्वेश्वरप्रसाद कोइरालाप्रति ठूलो सम्मान थियो ।

– बट्टार,नुवाकोट ,मो9851032548

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.