24 Online News

पीतपत्रकारिताको ज्वलन्त नमूना : ‘चरित्रहत्याको दुष्प्रयास’

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल


विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत म खगेन्द्रप्रसाद लुइटेल हाल प्राध्यापकजस्तो गरिमामय पदमा रही राष्ट्रिय रूपमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा समेत पहिचान बनाएको व्यक्ति भएको कुरा सर्वविदितै छ । २०७७ आश्विन १६ गते ‘प्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद बौद्धिक चोरीको आरोपै–आरोप’ शीर्षकमा मेरो मान, प्रतिष्ठा र इज्जतप्रति ईष्र्या गर्ने केही व्यक्तिले भुपराज खड्का सम्पादक रहेको लोकसंवाद नामक अनलाइन पोर्टललाई दुरुपयोग गरी बेनामे लेखमा प्रेस काउन्सिल नेपालले जारी गरेको ‘पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६)’ का ‘‘पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य’’ खण्डअन्तर्गत दफा ४(१), ४(३), ४(५), ४(६) एवं ‘‘पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने’’ खण्डअन्तर्गत दफा ५(१) ५(२) ५(३) ५(५) ५(१०), मुलुकी अपराध संहिता २०७४ को भाग ३ को परिच्छेद–२ गाली बेइज्जतीसम्बन्धी कसूरको दफा ३०५, ३०६ र ३०७ एवं विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ समेत उल्लङ्घन हुने गरी अनलाइन सामग्री प्रकाशन गरेको पाइयो ।

निज भुपराज खड्का सम्पादक रहेको अनलाइन पोर्टल ‘लोकसंवाद’ ले पत्रकारिताका विश्वव्यापी मूल्यमान्यता, सिद्धान्त, आचारसंहिता एवं नेपालका प्रचलित कानुन र प्रेस काउन्सिल नेपालले जारी गरेको प्रचलित पत्रकार आचारसंहिताको समेत उल्लङ्घन हुने गरी अत्यन्त निकृष्ट भाषामा तथ्यप्रमाणहीन, भ्रामक, झुठा, कपोलकल्पित, गैरजिम्मेवार, मनगढन्ते एवं एकतर्फी सामग्री प्रकाशन गरेर पीतपत्रकारिताको हदैसम्मको नमुना प्रस्तुत गरी म निःस्वार्थ ढङ्गले नेपाली भाषाको श्रीवृद्धिका लागि आफ्नै पैसा खर्च गरी अभियानकै रूपमा निरन्तर संलग्न रहेको व्यक्तिलाई सार्वजनिक रूपमा बदनाम गर्ने, चरित्रहत्या गर्ने र बेइज्जती गर्ने दुष्प्रयास गरेको देखियो । अतः सो सामग्री यथार्थपरक, वस्तुनिष्ठ र सत्यतथ्य नभएको एवं कुनियतवश आएको हुनाले यथार्थ तपसिलबमोजिम भएको हुँदा यसप्रकार खण्डन गर्दछु :

तपसिल

  •  ‘‘आफूलाई नेपालको एक नम्बरको ‘हात्ती’ प्राध्यापक र अरू सबैलाई ‘भुसुना’ भन्दै क्षुद्रता व्याकता (व्यक्त) गर्ने लुइँटेल प्राध्यापकले ‘चोरेरै’ विद्यावारिधि गरेको र अर्काको सारेर लेखेका पुस्तकहरू सेवा आयोगमा बुझाएर प्राध्यापक भएको अनेक तथ्यहरू सार्वजनिक भइरहेका छन्’’ भन्ने जस्ता निम्नस्तरीय आरोप लगाउनु मात्र पनि दण्डनीय अपराध हो । ‘नेपालीको सबैभन्दा स्तरीय र मानक शोधप्रबन्ध’ भनी शोधनिर्देशक विद्वान् प्रा. मोहनराज शर्माले नै उल्लेख गर्नुभएको मेरो विद्यावारिधि शोधकार्यलाई निराधार आरोप लगाउने तथा ‘‘अर्काको सारेर लेखेका पुस्तकहरू सेवा आयोगमा बुझाएको’’ भन्ने झुठा र कपोलकल्पित ढङ्गले भ्रम सिर्जना गरी मेरो प्रतिष्ठामा आँच पुर्याउने दुष्प्रयास गरिएको हुँदा अनलाइन पोर्टलमा उल्लेख गरिएको कुरालाई सप्रमाण पुष्टि गर्न म चुनौती दिन्छु ।

  • ‘‘त्रिविको नेपाली विषयको आफू आधिकारिक व्यक्ति भएको देखाउन देशबाहिर जाँदा आफू नेपाली केन्द्रीय विभागको प्रमुख भएको परिचय दिएको र अनधिकृत रूपमा नेपाली केन्द्रीय विभागको प्रमुखको भिजिटिङ कार्ड बनाई बाँड्दै हिँड्ने गरेको’’ भन्ने कुरा मेरो चरित्रहत्या गर्ने दुराशयले भ्रम फिँजाउन गरेको दुष्प्रचार मात्र हो । म नेपाली केन्द्रीय विभागको प्रमुख नभएको हुँदा विभागका प्रमुखको भिजिटिङ कार्ड बनाई बाँड्दै हिँड्ने त के कुरा कार्ड बनाउने भन्नेसमेत कल्पनाबाहिरको कुरा हो । मैले सधैँ आफ्नो आधिकारिक परिचय नै लेखेर, बोलेर वा कुनै कार्डमार्फत दिने गरेको छु र मलाई मेरो यथार्थ परिचयबाहिरको कुनै पगरी गुथ्नु कहिल्यै आवश्यक छैन । मैले केकसरी, कुन ठाउँमा, को व्यक्तिलाई विभागीय प्रमुखको भिजिटिङ कार्ड दिएको हो भन्ने कुरा सप्रमाण पुष्टि गर्न म चुनौती दिन्छु ।

  • मलाई असमको गौहाटी विश्वविद्यालयले नेपाली विषयको स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण गर्न लगाई त्यहाँको ‘स्पेसल कोर्स एड्भाइजर’ समेत बनाएको हो र मेरै नेतृत्वमा त्यस विश्वविद्यालयबाट २१ वटा पाठ्यपुस्तक छापिएका छन् । ‘‘आसामको गौहाटी विश्वविद्यालयबाट पाठ्यक्रम बनाउने नाममा कहीँ नपढाउने आफ्नी पत्नीलाई समेत विशेषज्ञ बनाई ठूलो रकम हात पारेको’’ भनी नितान्त भ्रम छर्न खोजिएको छ । यसमा विश्वविद्यालयको नियमानुसार पाउने पारिश्रमिकबाहेक अन्य ठूलो रकम हात पार्ने भन्ने कुरै हुँदैन । विश्वविद्यालयमा बसेर भ्रष्टाचार गर्न पल्केकालाई मात्र ठूलो रकम कसरी हात पर्छ भन्ने थाहा होला । विदेशमा समेत नेपाली भाषाको श्रीवृद्धि गर्ने पुण्यकार्यका क्रममा मैले कैयन बौद्धिक कामहरू स्वयंसेवकका रूपमा निःशुल्कसमेत गरेको कुरा जगजाहेर छ । यसमा थप केही कुरा बुझ्न मन हुनेले गौहाटी विश्वविद्यालयमा बुझ्ने कष्ट गरेमा मात्र पनि सत्यतथ्य स्पष्ट भइहाल्छ । लीला लुइटेल नाताले मेरी पत्नी भए पनि लेखकका रूपमा पहिचान बनाएको व्यक्तित्व हो । अन्तर्राष्ट्रिय स्तरको एउटा विदेशी विश्वविद्यालयले कसैको नाताका आधारमा बौद्धिक प्राज्ञिक काममा संलग्न गराउँदैन । त्यसका लागि स्पष्ट योग्यता र पहिचान चाहिन्छ । लीला लुइटेलको लेखकीय योगदान पहिचान गरेर नै गौहाटी विश्वविद्यालयले आफ्नो कार्यक्रममा संलग्न गराएको हो । लीला लुइटेलका कृतिहरू गौहाटी विश्वविद्यालयमा मात्र समावेश नभई उत्तरबङ्ग विश्वविद्यालयका पाठ्यक्रममा समेत समावेश हुनाका साथै भारतीय प्रकाशनबाट निजका अनुसन्धानमूलक कृति पनि प्रकाशन भइसकेका छन् । ती सबै यथार्थलाई छायामा पार्ने दुष्प्रयासस्वरूप सो अनलाइनमा ‘‘त्यस काण्डपछि उनी त्यसतर्फ फर्केर जान पनि नसकेको’’ भन्ने कुरा निराधार हो । हाल त्यो कार्यक्रम नै नरहेकाले त्यस कामका लागि त्यहाँ जाने भन्ने कुरै रहेन । मित्रहरूसँगको अनौपचारिक भेटघाट तथा घुमफिरका लागि म आफ्नो अनुकूलताअनुसार परिवारसहित जानेआउने गरिरहेकै छु । यसर्थ मेरो मात्र नभई मेरो परिवारसमेतको प्रतिष्ठामा आँच आउने गरी यस्तो हुँदै नभएको कपोलकल्पित कुरा लेख्नु निन्दनीय र दण्डनीय पनि छ ।

  •  ‘‘आफूलाई मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालको स्वघोषित अध्यक्ष बताउने र कुनै आधिकारिक जिम्मेवारीमा पनि नरहेका लुइँटेलले भाषा सपार्न आफूले मात्र लिएको गर्नसक्ने भन्दै भाषा संरक्षण अभियानका नाममा हाल इम्बोस्ट नम्बरका सम्बन्धमा सर्बोच्च अदालतबाट भएको फैसलाको विरोध गर्न भनी देशविदेशबाट रकम सङ्कलनको अभियानमा सकृय रहेको’’ भन्ने कुरा सरासर गलत हो । म नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा २०७४–५–५ मा दर्ता नं. ११५ मा दर्ता भएको संस्था मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालको साधारण सभाबाट निर्वाचित अध्यक्ष हुँ । यस सञ्जालको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सरकार शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, उच्च माध्यमिक शिक्षा परिषद्लगायतका निकायबाट बिगारिएको नेपाली भाषालाई मानकीकरण गरिएको कुरा सर्वविदितै छ । कुनै आधिकारिक जिम्मेवारीमा पनि नरहेका भनिएका सन्दर्भमा म त्रिभुवन विश्वविद्यालयको प्राध्यापकजस्तो गरिमामय र जिम्मेवार पदमा रहेको कुरा पनि सर्वविदितै छ । ‘‘भाषा संरक्षण अभियानका नाममा हाल इम्बोस्ट नम्बरका सम्बन्धमा सर्वोच्च अदालतबाट भएको फैसलाको विरोध गर्न भनी देशविदेशबाट रकम सङ्कलनको अभियानमा सकृय रहेको’’ भन्ने कुरा मेरो चरित्रहत्या गर्ने ढङ्गले गरिएको अत्यन्त निराधार एवं तथ्यहीन कुरा हो । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्ने पक्षमा सर्वोच्च अदालतको फैसलाबाट नेपाली भाषाको पहिचानमा आघात पर्ने भएकाले कोही पनि सचेत नागरिकले यो फैसलाको आलोचना गर्नु स्वाभाविकै हो । म मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको अध्यक्ष भएका नाताले र नेपाली भाषाको संरक्षण हुनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएका कारण मैले नेतृत्व गरेको यस सञ्जालले सो फैसलाको आलोचना नगर्ने कुरै भएन । म र मैले नेतृत्व गरेका सञ्जालबाट गरिएको विरोध र आलोचना सो फैसला अदालतकै तहबाट सच्चियोस्, नेपाल सरकारले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गरोस् भन्ने अभिप्रायबाट गरिएको हो । यस सञ्जाल र यससँग सम्बन्धित कुनै पनि पदाधिकारीले भाषा अभियानका क्रममा कहिल्यै पनि कुनै व्यक्ति या संस्थाबाट एक रूपैयाँ पनि सङ्कलन गरेको छैन । आरोप लगाउनेले यसको पुष्टि गर्न आवश्यक भएकाले त्यससम्बन्धी प्रमाण पेस गर्न म चुनौती दिन्छु ।

  •  ‘‘अर्काका रचना चोरी गरेर प्राध्यापक भएका लुइँटेल जस्ता प्राध्यापकहरू निर्धक्क छाती फुलाएर हिँडिरहेका मात्र होइन अरूलाई नैतिक पाठ पढाई रहेको’’ भन्नेसमेत बेहोरा उल्लेख गरिएकामा अरूको कुरा मेरो हकमा सरोकारको विषय रहेन । मेरा सन्दर्भमा भने उल्लिखित आरोप सरासर झुठा, कपोलकल्पित र चरित्रहत्या गर्ने नियतले आएको देखिन्छ । ‘‘चोरी गरेर पुस्तक लेख्ने र विद्यावारिधिको शोधप्रबन्ध समेत तयार गर्ने जस्तो नैतिक र प्राज्ञिक अपराधको आरोप लागेको छ खगेन्द्र लुइटेललाई’’ भन्ने कुरा सरासर गलत हो । यो कुरालाई सप्रमाण पुष्टि गर्न म चुनौती दिन्छु ।

  •  ‘‘लुइटेल आफैँ शोधविधि पढाउँछन् तर उनका प्रायः सबै पुस्तक चोरी गरेर लेखिएको पाइएको छ’’ भनिएका सन्दर्भमा सो कुरा व्यक्तिगत लान्छना लगाई मेरो प्रतिष्ठामा खलल पुगोस् भन्नेबाहेक अरू केही पनि होइन । म विश्वविद्यालयमा शोधविधि पढाउँछु भन्ने कुरा सत्य हो । म मेजर इङ्लिस र संस्कृत पनि पढेको मान्छे भएकाले म अधिकांशतः अङ्ग्रेजी एवं संस्कृतका प्राथमिक सामग्री नै प्रयोग गर्छु र यो शोधको धर्म पनि हो भन्ने कुरा मलाई राम्रो जानकारी छ तर मैले चोरी गरेर पुस्तकहरू लेखेको भन्ने कुरा मिथ्या आरोप हो । यस्ता झुठा र भ्रामक सामग्री प्रकाशन गर्नेलाई यो आरोप पुष्टि गर्न म चुनौती दिन्छु ।

  •  ‘‘केही वर्षअघि साझा प्रकाशनबाट प्रकाशित पुस्तकबाट आफ्ना स्नातक र उच्च माध्यमिक तहका पुस्तकमा रचना हुबहु राखेबापत उजुरी परी दुई दिन हनुमान ढोकाको हिरासतमा बसेर हर्जाना तिरी छुटेको’’ भन्ने कुरा सरासर झुठा हो र मेरो चरित्रहत्या गर्ने दुराशयले प्रेरित छ । मैले साझा प्रकाशनबाट प्रकाशित पुस्तकबाट स्नातक र उच्च माध्यमिक तहका पुस्तकमा रचना हुबहु राखेको त के कुरा यस खालका किताब लेखेको पनि छैन र प्रकाशित भएको पनि छैन । म कसको उजुरीमा कहिले हिरासतमा रहेको र यसका लागि कुन मितिमा, केकसरी कोकसलाई केकति हर्जाना तिरेको हो प्रमाण पेस गर्न म चुनौती दिन्छु ।

  • मैले लेखेका पुस्तक तथा अनुसन्धानात्मक कृतिमा मेरो निजत्व स्पष्ट झल्कन्छ । अरू पुस्तकबाट लिइएका सामग्रीहरूमा सन्दर्भस्रोत खुलाइएकै छ र कुनै पनि जिम्मेवार विद्वान्ले गर्ने काम पनि त्यही हो । मेरा निर्देशनमा तयार भएका शोधपत्रबाट हुबहु सारिएको भन्ने कुरा सरासर झुठा हो । यस्तो झुठा सामग्री प्रकाशन गर्नेलाई आफ्नो आरोप पुष्टि गर्नसमेत म चुनौती दिन्छु ।

माथि उल्लेख गरिएबाहेक मलाई लगाइएका अन्य आरोपहरूबारे तल बुँदागत रूपमा स्पष्ट पारेको छु :

  •  मैले ‘कविताको संरचनात्मक विश्लेषण’ शीर्षकमा विद्यावारिधि गरेको हुँ र यो कृति पुस्तकाकार रूपमा प्रकाशित पनि छ । बिम्बबारे विभिन्न विद्वान्का नाम र तिनीहरूका परिभाषा आवश्यक सन्दर्भसहित मेरो विद्यावारिधि शोधप्रबन्धको पृ. १९२ मा स्पष्ट रूपमा दिइएको छ । नामसहित विभिन्न विद्वान्का परिभाषा दिँदा सन्दर्भ दिनु आवश्यक नपर्ने विश्वव्यापी अभ्यास भए पनि त्यसमा स्पष्टतः पादटिप्पणीसहित सन्दर्भ दिइएको छ । त्यसका लागि मेरो विद्यावारिधि शोधप्रबन्ध हेरे भइहाल्छ । पुस्तकाकार कृतिका रूपमा प्रकाशन गर्दा पनि विश्वमै प्रचलित अभ्यासअनुरूप विभिन्न विद्वान्का नामसहित परिभाषा दिइएको छ । विद्वान्का परिभाषा भाषान्तर नगरी प्रस्तुत गरिने व्यावहारिक अभ्यास हो । मेरा बारेमा भ्रम छर्ने बदनियतले पुस्तकमा दिइएका विद्वान्का नाम हटाई विभिन्न परिभाषालाई अनुच्छेदका रूपमा प्रस्तुत गरी भ्रम फैलाउने दुष्कार्य गरिएको छ । एउटा प्राज्ञिक व्यक्तित्वको छवि धमिल्याउने दुराशयले सत्यतथ्य तोडमोड गरी भ्रामक र गलत समाचार प्रकाशन गर्ने यसप्रकारको दुष्कार्य घोर निन्दनीय, आपत्तिजनक एवं जघन्य अपराध हो ।

    मोहनराज शर्माको ‘समकालीन समालोचना’ र ‘शैलीविज्ञान’ नामक कृतिबाट आफ्नो विद्यावारिधि शोधप्रबन्धमा जस्ताको तस्तै राखेको तर कुनै पादटिप्पणी वा सन्दर्भको उल्लेख नगरेको भन्ने कुरा सरासर गलत हो । मोहनराज शर्माको पुस्तकको नामसमेत ठीक लेख्न नसक्नेले दिएका कुरा सही हुने कुरै भएन । मेरो विद्यावारिधिको शोधनिर्देशक नै प्रा. मोहनराज शर्मा रहेको र उहाँले नै यस शोधप्रबन्धलाई ‘नेपालीको सबैभन्दा स्तरीय र मानक शोधप्रबन्ध’ भनी आफ्नो मन्तव्यमा उल्लेख गर्नु भएको तथ्यबाट यो आरोप भ्रामक र तथ्यहीन भएको स्वतः स्पष्ट हुन्छ । यदि मैले उहाँको सामग्री त्यसरी राखेको भए उहाँले मेरो शोधप्रबन्ध कसरी स्वीकार गर्नुहुन्थ्यो र त्यस्ता कुरा कसरी उल्लेख गर्नुहुन्थ्यो ? शोधनिर्देशकको मन्तव्य र प्रकाशित पुस्तकाकार कृतिमा लेखिएको मोहनराज शर्माको भूमिका यसैसाथ संलग्न छ ।


  • विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’ नामक पुस्तक हिन्दीका विभिन्न पुस्तकबाट सारेर सन्दर्भसमेत उल्लेख नगरी तयार पारिएको भन्ने कुरा भ्रम छर्ने दुष्प्रयास मात्र हो । पाठ्यपुस्तकको प्रयोजनका लागि लेखिएको यो पुस्तक तयार पार्दा पाश्चात्य सिद्धान्तका लागि अङ्ग्रेजीका र पूर्वीय सिद्धान्तका लागि संस्कृतका आधिकारिक ग्रन्थको प्रयोग गरिएको छ । लेखनमा यथासम्भव प्राथमिक सामग्रीको प्रयोग गर्नु सर्वमान्य सिद्धान्त हो । स्थापित सिद्धान्तका परिभाषा, प्रवृत्ति जुन भाषामा लेखिए पनि एउटै हुने कुरा सर्वविदितै छ । शोधग्रन्थ र पाठ्यपुस्तकका सन्दर्भसामग्रीको उल्लेख गरिने तरिका फरक हुने हुनाले आपूmले प्रयोग गरेका सामग्रीको उल्लेख सन्दर्भ ग्रन्थसूचीमा गरिएको छ । दिइएका उदाहरणमा सम्बद्ध व्यक्तिको नाम यथास्थानमा उल्लेख गरिएको छ । यसरी बौद्धिक अभ्यासको सर्वमान्य प्रचलनअनुसार गरिएको कार्यमा निकृष्ट हिसाबले आरोप लगाउनु गैरजिम्मेवार, आपत्तिजनक एवं निन्दनीय कार्य हो ।

  • विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित ‘लोकवार्ताविज्ञान र लोकसाहित्य’ (२०६३ सहलेखन) नामक पुस्तकमा तुलसी दिवसको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट २०३२ सालमा प्रकाशित ‘नेपाली लोककथा’ पुस्तकबाट जस्ताको तस्तै बौद्धिक चोरी गरिएको हुँदा लेखकले उजुरी गरेपछि ती पेजमा छाप लगाई बिक्री वितरण गरिएको र जरिवाना तिर्न बाध्य पारिएको भन्ने भ्रम छर्न खोजिएको छ । यस पुस्तकमा ‘नेपाली लोककथा’ नामक पुस्तकबाट केही लोककथाहरू साभार गरिएको छ । लोकसामग्रीको लेखक नभएर सङ्कलक मात्र हुनेहुँदा यो व्यक्तिको बौद्धिक सम्पत्ति नमानिने हुनाले यो सबैले प्रयोग गर्न पाइन्छ र त्यसलाई बौद्धिक चोरी मानिँदैन । यसमा ‘लेखकले उजुरी गरेपछि जरिवाना तिर्न बाध्य पारिएको’ भन्ने कुरा सरासर गलत हो । यसमा प्रकाशकले छाप लगाएको भन्ने कुरा मैले पछि मात्रै थाहा पाएको हुँ । यस सन्दर्भमा, प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ४ अनुसार ‘‘कुनै… लोकगीत, लोककथा, उखान र सामान्य तथ्याङ्क जस्ता कुराहरूलाई व्यक्त वा वर्णन वा व्याख्या गरिए वा कुनै रचनामा समावेश गरिएको भए तापनि यस ऐन बमोजिमको संरक्षण प्राप्त हुने छैन’’ भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ । यसरी कानुनी रूपमै स्पष्ट व्यवस्था हुँदाहुँदै मलाई बदनाम गर्ने उद्देश्यले मिथ्या आरोप लगाउनु र हुँदै नभएको उजुरी, जरिवानाका कुरा उठाउनु निन्दनीय मात्र नभई दण्डनीय कुरा पनि हो ।

  • तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित मेरो ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) नामक पुस्तकको सैद्धान्तिक खण्ड आफ्नो विद्यावारिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारिएको भन्ने कुरा बेठीक हो । यी दुवै किताब भिन्न प्रकृतिका भएका र तिनमा उल्लिखित सन्दर्भसामग्रीको स्रोत खुलाइएको हुँदा लगाइएको आरोप झुठा हो । आफैँले लेखेको कुराको केही अंश अर्काे आफ्नै किताबमा सन्दर्भसहित साभार गर्नुुलाई बौद्धिक चोरी मानिँदैन । यस किताबको सर्वाधिकार लेखकमै रहेको कुरा स्वयं प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित उक्त पुस्तकको अग्रभागमै मुद्रित भएकाले समेत यो आरोप निराधार छ । ‘‘यस पुस्तकका सबै सामग्री विद्यार्थीका थेसिस र लेखकका पुस्तकबाट चोरी गरिएका कुरा प्राध्यापक र विद्यार्थीका बिचमा बहसको विषय बन्ने गरेको छ’’ भन्ने निराधार कुराको पुष्टि गर्न म चुनौती दिन्छु ।


  • साथै प्रज्ञाकै अनुसन्धान परियोजनाअन्तर्गत तयार भएको पुस्तक ‘नेपाली उपन्यासको इतिहास’ अनुसन्धानात्मक कार्य भए पनि यसमा अनुसन्धान विधिको प्रयोग नगरिएका र सामग्री राजेन्द्र सुवेदीको ‘नेपाली उपन्यासः परम्परा र प्रवृत्ति’, कृष्णचन्द्रसिंह प्रधानको ‘नेपाली उपन्यास र उपन्यासकार’, कृष्णहरि बराल र नेत्र एटमको ‘उपन्यास सिद्धान्त र नेपाली उपन्यास’ र विभिन्न लेख तथा विद्यार्थीका थेसिसबाट चोरी गरिएको भन्ने कुरा सरासर गलत भएकाले यी सबै कुरालाई पुष्टि गर्न म सम्बन्धित व्यक्तिलाई चुनौती दिन्छु ।


  •  म धेरै पुस्तक लेखेको भन्न रुचाउने व्यक्ति नभएर धेरै पुस्तक लेखेकै व्यक्ति हुँ । मैले धेरै पुस्तक लेखेकै कारण पुस्तक लेख्न नसक्नेहरूले मेरो ईष्र्या गरेका हुन् । मेरा प्रकाशित कृतिहरू देशविदेश जताततै उपलब्ध नै छन् । यीमध्ये कतिपय पाठ्यपुस्तकमा समावेश गरिएका रचनाहरू लेखकको स्वीकृति लिएरै राखिएका हुन् र त्यसबापत सम्बद्ध लेखकलाई प्रकाशकले लेखकस्व घरघरमै गएर दिएको छ । ‘‘विश्लेषण सामग्री पनि विभिन्न विद्यार्थीका शोधपत्र र प्रकाशित अरूका सामग्रीबाट सारेर तयार गरिएका हुन् भन्ने कुरा बौद्धिक वृत्तमा बहस हुँदै आएको’’ भन्नेजस्ता अनर्गल आरोप निकृष्ट छन् र तिनको पुष्टि गर्न म चुनौती दिन्छु ।

प्राध्यापक संसारकै प्रतिष्ठित र गरिमामय पद हो भन्ने कुरा संसारका विभिन्न मुलुकमा भ्रमण गर्दा पनि मैले राम्ररी बुझेको छु । मैले कुनै बौद्धिक चोरी, अनैतिक, गैरजिम्मेवार र प्राज्ञिक मर्यादा विपरीत कुनै कार्य आजसम्म गरेको छैन र पछि पनि गर्ने छैन । मेरो बौद्धिक एवं प्राज्ञिक क्षमतासँग प्रतिष्पर्धा गर्न नसकी मेरो उन्नति र प्रगतिमा ईष्र्या गर्ने कलुषित भावना भएका केही व्यक्तिको उक्साहटमा प्रायोजित ढङ्गले भ्रम सिर्जना गरी मेरो प्राज्ञिक छविमा आँच पु¥याउने नियतबाट ओतप्रोत भई मसँग एकपटक पनि सम्पर्क नै नगरी एकतर्फी रूपमा कपोलकल्पित, आधारहीन र तथ्यहीन कुराहरू उल्लेख गरी यस अनलाइन पत्रिकाको दुरुपयोग गरिएकामा खेद प्रकट गर्दछु । पातलो पर्दापछाडि बसेर यस्तो तुच्छ हर्कत गर्ने व्यक्तिका काला कर्तुतसम्बन्धी जन्मकुण्डली बाहिर ल्याउन मलाई बाध्य नपार्नसमेत सचेत गराउँछु । यस्ता तुच्छ हर्कतबाट मेरो नेपाली भाषाप्रतिको लगाव तथा सम्मानभाव रतिभर डग्मगाउने छैन ।

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग
मिति : २०७७ असोज १८ गते ।

थप समाचार
2 Comments
  1. Ram krishna chalise says

    आदरणीय खगेन्द्र लुइँटेल गुरुमाथि सुनियोजित रूपमा निराधार आरोप लगाइएको छ ।
    उहाँले नेपाली भाषाको श्रीवृद्धिमा गरेको अथक सङ्घर्षबाट आत्तिएर भाषाद्रोहीले उहाँको बौद्धिकता माथि आरोप लगाउनु केवल सूर्यलाई हत्केलाले छेक्न खोज्ने प्रयाश मात्रै हो ।

  2. गिरिरज जोशी says

    क्षमतावान् विद्वान् चाेरी गर्दैनन्, सन्दर्भ उल्लेख गर्नुलाई चाेरी हाे भन्ने मूढता अाफैँ नग्न छ ।

कमेन्ट गर्नुहोस

Your email address will not be published.