24 Online News
३० आश्विन २०७७ ०९:२३

प्राध्यापक लुइटेलमाथि रचिएको ‘बौद्धिक चोरी’को साजिस पानीको फोकाजस्तो

के कुरालाई बौद्धिक चोरी भन्ने ?

काठमाडौं । नेपाली भाषामाथि समय समयमा आक्रमण गरिएको र नेपाली भाषालाई मास्नका लागि अनेकौं दुष्प्रयास गरिएको कुरा सर्वविदितै छ । नेपाली भाषालाई कहिले सरलीकृत गर्ने नाममा शब्दकोश तथा पाठ्यपुस्तक बिगार्ने दुष्प्रयास हुन् वा इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग नगर्ने कुरा नै हुन् अथवा सरकारी कामकाजका लागि नेपाली भाषालाई प्राथमिकतामा नराखेका कैयौं उदाहरणहरू छन् ।

पछिल्लो समय मानक नेपाली भाषा बचाऊ अभियानको नेतृत्वकर्ता त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलमाथि विभिन्न प्रकारका आरोपहरू लगाएर चरित्रहत्यासमेत गर्न थालिएको छ । डा. लुइटेलले त्यसको कडा प्रतिवादसमेत गरेका छन् । ती आरोपहरू लगाइनुका पछाडि फेरि नेपाली भाषालाई ध्वंश गर्ने खेलोमेलो त चलेको छैन भन्ने कुरालाई बौद्धिक वर्गमा अर्थपूर्ण रुपले हेरिन थालेको छ ।

पश्चिमा संस्कृति र धर्मको प्रत्यक्ष प्रभावबाट लाभान्वित मानिएका नेपाली राजनीतिका उपल्लो तहका नेतृत्वदेखि न्यायमूर्ति मानिने न्यायधिकारीहरूसम्म तथा नेपाली भाषा, साहित्य र संस्कृति संरक्षण गर्ने ठेक्का पाएका प्रज्ञा प्रतिष्ठानका प्राज्ञिक ठेकेदारहरू पनि नेपाली भाषामाथि आत्मघाती गोल गर्न मैदानमा उत्रिएका त छैनन् भन्ने प्रश्न सर्वत्र उब्जिएको छ ।

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषालाई प्राथमिकताका साथ स्थान दिइनुपर्छ भनी आफ्नो विचार राख्दा प्रा.डा. लुइटेलमाथि अदालत, प्रधानन्यायाधीश, न्यायाधीशको मानहानी, अवहेलना गरेको आरोपसहित अधिवक्ता मुकुन्द भट्टराईमार्फत मुद्धा दर्ता गराउनु, मानक नेपाली भाषालाई जोगाउनका लागि स्थापित संस्था मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको बढ्दो सक्रियतालाई पूर्णविराम लगाउने उद्देश्यस्वरुप एउटा अनलाइनमार्फत बौद्धिक चोरीका आरोप लगाएर समाचार प्रकाशन गर्नु र त्यसैका आधारमा प्रज्ञा प्रतिष्ठानले छानबिनको नाममा समिति खडा गर्नुले नेपाली समाजमा मौलाएको अन्तर्राष्ट्रिय हस्तक्षेपलाई टेवा पुर्याएको देखिन्छ ।

प्रा.डा. लुइटेलको विषयमा एउटा अनलाइनमा प्रकाशित सामग्रीलाई लिएर नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्राज्ञ दिनेराज पन्तको संयोजकत्वमा प्राज्ञ हेमनाथ पौडेल र प्राज्ञ गोपिन्द्र पौडेल सदस्य रहेको तीन सदस्यीय छानबिन समिति नै गठन गरेको जानकारी पाइयो ।

प्रज्ञा प्रतिष्ठानले गठन गरेको छानबिन समितिको विषयमा एक पूर्व प्राज्ञ सभा सदस्य बताउँछन्, ‘प्रज्ञा प्रतिष्ठानको अधिकार क्षेत्रभित्रै छानबिन गर्ने भन्ने छैन । प्रतिष्ठानले त भाषा–साहित्यको संरक्षण, सम्बर्धन गर्ने हो । मुद्दामामिलाको निर्णय त अदालतले गर्ने हो । यदि प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित कृतिमा लेखक स्वयंकै अर्काे पुस्तकको चोरी वा हुबहु सारिएको छ भने पनि प्रतिष्ठानले कपीराइटसम्बन्धी मुद्दा दायरसम्म मात्रै गर्ने हो । त्यो पनि सत्र वर्षसम्म प्रतिष्ठानले के हेरेर बस्यो त ?’ ती सदस्यको मत रहेको छ, ‘हरेक क्षेत्रमा हुने राजनीतिकरण र खुट्टा तान्ने षड्यन्त्रको सिकार सुनियोजित रुपमा डा. लुइटेललाई बनाउने दुष्प्रयास गरिँदैछ, यो उनको उच्च बौद्धिक व्यक्तित्वप्रति गरिएको ईष्र्या पनि हो । लुइटेलमाथिको यो प्रहार सफल भयो भने फेरि एकेडेमी र युनिभर्सिटी नेपाली भाषा ध्वंश गर्ने थलोको रुपमा विकास हुनेछ । यतिखेर अङ्ग्रेजीको प्रयोग गरिने इम्बोस्ड नम्बरको चर्चा चलिरहेका बेला नेपाली अनिवार्य हुनुपर्छ भनी सशक्त आवाज उठाउँदै त्यसको नेतृत्व गरिरहेका डा. लुइटेलमाथि आरोपित गर्ने दुष्प्रयास गर्नु भनेको मानक नेपाली भाषा मासी पश्चिमाको इसारामा उनीहरुकै गुलाम भएर आफ्नो पहिचान गुमाउनु हो । यसमा देखिने–नदेखिने गरी डलरको खेती चलेको आशंका गर्ने ठाउँहरु प्रशस्तै देखिएका छन् ।’

प्रज्ञा प्रतिष्ठानका हालका कुलपति एवं तत्कालीन उपकुलपति गंगाप्रसाद उप्रेती स्वयंले प्रशंसै प्रशंसा गरेर भूमिका लेखेको नेपाली उपन्यासको इतिहास नामक पुस्तकमाथि अहिले तथाकथित छानबिनको रहस्य के हो ? भनेर बौद्धिक वृत्तमा चर्चा चल्न थालेको छ । डा. लुइटेलले सामाजिक सञ्जालमार्फत कुलपतिलाई सम्बोधन गरी ‘प्रज्ञा प्रतिष्ठानले नै सर्वाधिकार लेखकलाई दिएका र तपाईंले नै प्रकाशकीय भूमिका लेखेका मेरा कृतिमाथि मेरै प्रतिष्पर्धीलाई राखेर तथाकथित छानबिनको नाटक रची हाम्रो भाषिक आन्दोलनका बेला भएका गतिविधि एवं मनमुटावलाई लिएर अहिले प्रतिशोध लिने तथा चरित्रहत्या गर्ने दुष्प्रयास बन्द गर्नुहोस्, प्रज्ञा प्रतिष्ठानजस्तो साझा संस्थालाई व्यक्तिगत प्रतिशोध साँध्ने थलो नबनाउनुहोस् र यसको गरिमा कायम गर्नुहोस्’ भनी उल्लेख गरिएका कुरा माथि प्रज्ञा प्रतिष्ठानले सम्बोधन गर्नु पर्छ कि पर्दैन ? यति कुरा स्पष्ट हुँदाहुँदै छानबिन समितिमा लुइटेलकै प्रतिष्पर्धीलाई राख्नु प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुन्छ ।

प्रा. डा. लुइटेललाई फसाउने साजिसस्वरुप आएका कुराहरूले केही अर्थ नदिने र नेपाली भाषामाथिका प्रहार भएकाले यी दुष्प्रयासहरू पानीका फोकाजस्ता रहेको र यस्ता फोकाहरू आफैं फुटेर जानेमा मानक नेपाली भाषाप्रेमीहरुको मत रहीआएको छ ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले आफूमाथि एउटा अनलाइनले लगाएका आरोपका सम्बन्धमा ‘पीतपत्रकारिताको ज्वलन्त नमूना : ‘चरित्रहत्याको दुष्प्रयास’ शीर्षकमा खण्डन गरी सप्रमाण पुष्टि गर्न चुनौतीसमेत दिइसकेका छन् ।

हेर्नुहोस्……………

पीतपत्रकारिताको ज्वलन्त नमूना : ‘चरित्रहत्याको दुष्प्रयास’

यस्तै, प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलकी धर्मपत्नी समालोचक/साहित्यकार लीला लुइटेलले प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई विभिन्न सञ्चारमाध्यमबाट खुलापत्र नै लेखेकी छिन् । तथाकथित छानबिन समितिकै व्यक्ति चोरीको आरोपमा मुछिएको कुरासमेत उल्लेख गरी उनले उठाएका प्रश्नको जबाफ प्रज्ञा प्रतिष्ठानले दिनु र कारबाही गर्नु पर्छ कि पर्दैन भनी एक पूर्व प्राज्ञले प्रश्न गरेका छन् ।

हेर्नुहोस्……………

प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई खुलापत्र

के कुरालाई बौद्धिक चोरी भन्ने र आफैंमा निहित सर्वाधिकारलाई आफैंले प्रयोग गर्दा त्यो कसरी बौद्धिक चोरी हुन्छ भन्ने गम्भीर प्रश्नसमेत नेपाली भाषाप्रेमी बौद्धिक वर्गमा उठेको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.