24 Online News
४ कार्तिक २०७७ १०:२८

गोपी मैनाली : प्रशासन र साहित्यको समिश्रणले ठडिएको एउटा व्यक्तित्व

 किरण गजुरेल


‘मनभित्र अजीवको असन्तुलनले विद्रोह गर्दछ । मन थर्थराउँछ, असन्तुलन मनले पीडा निचोरिन्छ, मनभित्रको आँसुमय सागरमा ज्वारभाटाले तरङ्ग उत्पन्न गर्दछ । म तिनै तरङ्गिबाट तरङ्गित हुनपुग्छु । वास्तवमा मैले के भोग्दैछु ? निजामती सेवामा प्रवेश गरेपछिको बाँधिएको जीवन, जीवनबृत्तिका लागि भएका भागदौड र आफैंसँग गरिएका कैयौं स्वभाविक–अस्वभाविक सम्झौता, इमान्दारिता र निष्ठामा रहदा स्यावासी दिनुपर्नेहरूबाट पाएको अमिलो व्यवहार र हैरानी, त्यसले उव्जाएको छट्पटी, बृत्तियात्राका जिगज्याग र उवडखावड बाटाहरू । अगिल्तर भीमकाय उभिएका संघर्षका पहाडहरू, पछिल्तिर पार गरेका त्यस्तै अजङ्गका पहाडहरू, मृत्युअघि आमासँग बिताएका एकएक पलहरू र उहाँले ‘तँसँग धेरै–धेरै कुरा गर्नुछ बाबू’ भन्दाभन्दै अनन्त विछोडिएको उहाँको साथ र बाल्यकालमा रोशी खोलामा मारेका छलाङबीच एउटा अजीवको प्रश्न मभित्र आइरहन्छ, मन लाचार हुन्छ, उद्वेलित हुन्छ र कहिलेकाही आक्रोसित पनि । फेरि दिनचर्याको व्यस्तताले ती सारा विद्रोह साम्य हुन्छ, मौन र शान्त हुन्छ । अनि कहिलेकाहीँ खुशीले गगन चुम्न थाल्छ । त्यसबेला पनि हृदय असन्तुलित बन्छ । ती खुशी जो पोखिएर बिलाउने छन् समयान्तरमा । ती पोखिने खुशी पोखिन नपाउँदै टिप्न मन लाग्छ, सँगाल्न र साँच्न मन लाग्छ सदियौं–सदियौं । त्यही साँच्ने कार्य नै मेरो लेखनी यात्रा हो ।’ निबन्धकारिता र समालोचनामा दख्खल राख्ने शिक्षा, विज्ञान तथा प्रविधि सचिव गोपी मैनाली बहकिन्छन्, निबन्धात्मक भावमा ।

काठमाडौंको ‘टुकी मुनीको अँध्यारो’ काभ्रेको कानपुरमा विक्रमको २०२० सालको असारे हिलोमा लुटपुटिँदै आमावुवाका बाह्रौं सन्तानमध्येका ७ औं नम्बरमा उपस्थित भएका र अभाव अनि संघर्षका बीच अध्ययन गरी निजामती सेवा प्रवेश गरेका गोपीको यात्रा खरिदारबाट विशिष्ट श्रेणीसम्म पुग्नु चानचुने होइन । जीवनका अनेकौं उवडाखावडबीच सन्तुलन कायम गर्न निपुण उनी अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रशासनिक नेतृत्व सम्हाल्दै छन् । मैनाली त्यस्तो प्रशासनिक परिवारका हुन्, जसबाट नेपाल सरकारले चारजना सचिव पाएको छ । यस्तो परिवार शायदै पाइन्छ ।

तीसको दशकदेखि नेपाली साहित्यसँग मित्रवत सम्बन्ध स्थापित गरेका गोपी मैनाली मूलतः निबन्धकार र समालोचक हुन् । शैलीमा मिठास र भावमा गाम्भीर्य मैनालीका लेखन विशेषता हो । साहित्य र प्रशासनिक विषयमा समान रूपमा कलम चलाउने पहिचानमा उनी चिनिन्छन् । मैनालीको लेखन यात्राले चारदशक पार गरेको छ । साहित्यमा नाटक बाहेकका सबै विधामा कलम चलाए तापनि उनको मुख्य विधा भनेको निबन्ध, समालोचना र आख्यान नै हो । निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछानेको समिश्रण मैनालीका निबन्धमा पाइन्छ ।

निबन्धमा प्रत्येक पंक्तिले ठूलो भाव ग्रहण गरिरहेको हुन्छ । खारिएको शैली, माझिएको विचारले उनका निबन्ध समकालीन पुस्तामा अत्यन्तै प्रवल छन् भने समालोचना उनको अर्को महत्वपूर्ण विधा हो र त्यसमा पनि उनी नवीन प्रतित छन् । ईन्द्रबहादुर राई र कृष्णचन्द्रसिंह प्रधानजस्ता कताकता लाग्ने तर आफ्नै धारमा बहेका सशक्त समालोचक हुन् गोपी मैनाली । उनका थुप्रै फुटकर समालोचना प्रकाशित छन् भने युगकवि सिद्धिचरण श्रेष्ठको कविताका प्रवृत्तिलाई केलाउँदै वौद्धिक, तार्किक र तुलनात्मक किसिमले ‘युगकवि सिद्धिचरण : कृति र प्रवृत्ति विश्लेषण’ प्रकाशित गरेका छन् ।

निबन्धमा उनको आकर्षक र लोभलाग्दो शैली छ । उनका सैयौं व्यवस्थापन र प्रशासनिक लेखहरू पनि प्रकाशित छन् र त्यसमा पनि उनी सशक्त देखिन्छन् । हालसम्म उनका झण्डै दर्जन पुस्तक प्रकाशित छन् ।

सिर्जनामा विचार हुनुपर्छ । जीवनप्रतिको चिन्तन, चासो र चिन्ता हुनुपर्छ । जीवनलाई विचार नदिने सिर्जनाको अर्थ हुदैन भन्ने आग्रह राख्ने मैनाली साहित्य सिर्जना होस् वा समसामयिक लेख र व्यवस्थापन, जहा पनि विचार र दृष्टिकोण दिन्छन् । उनी भन्छन् ‘लेखकले समाजलाई दिने भनेकै विचार र दृष्टिकोण हो । विचार र दृष्टिकोण पनि नदिने हो भने किन लेख्नु ?’

त्यसो त, शिक्षा सचिव रहेका गोपी मैनाली साहित्य र प्रशासनमा बेग्लाबेग्लै धार लिएर हिँड्ने व्यक्तित्वको रूपमा परिचित छन् । प्रशासकीय संरचनामा मैनालीको दक्षता र सिद्धान्तनिष्ठा निर्भिक छ र कठोर पनि । प्रशासनका कुर्सीमा रहेका बेला नीति, विधि, पद्धति र आदर्शप्रति कसैसित सम्झौता गर्न नचाहने प्रशासकका रूपमा परिचित छन् । जसका कारण उनले कैयन चुनौती सामना समेत गर्दै आएका छन् । त्यस्तै, साहित्यका फाँटमा अत्यन्त संवेदनशील, बौद्धिक, तार्किक, विनम्र, मृदुभाषी व्यक्तित्वको रूपमा परिचित छन् । उनका लेखाइमा रहेको विशिष्ट किसिमको शैलीले पाठकलाई प्रभावित पार्छ । प्रशासन र साहित्य उनको जीवनबृत्तिका अलग अलग धार हुन् । प्रशासन कठोर हुन्छ भने साहित्य यसको विपरित अत्यन्त विनम्र । वहुआयामिक प्रतिभाका धनी गोपी मैनाली प्रशासनका क्षेत्रमा अव्वल ब्राण्ड हुन् भने साहित्यका क्षेत्रमा मानवतावादी कलासाधक । प्रशासनमा साहित्य नघुसाउने र साहित्यमा प्रशासन नघुसाउने विरलै व्यक्ति हुन्छन्, ती विरलैमा मैनाली एक अलग पहिचान हुन् ।

जागिरयात्राका क्रममा जुनसुकै परीक्षामा सधैं अब्बल देखिएका गोपी मैनालीले असफलताको सिँढीतर्फ फर्किएर हेर्नु परेन । भनिन्छ यिनले जे चिताउँछन्, त्यही बिताउँछन् । अर्थात्, ‘तँ चिता म पुर्याउँछु’ भनेजस्तै यिनले जे चितायो त्यही पुग्दै आए । परिश्रम र संघर्षले सफलता पाए पनि जिम्मेवारी भने जहा नहोस् भन्ने चाहेँ त्यही मात्र परें । शायद त्यो नियति थियो । तर जहा जिम्मेवारी पाए, काममा नै रमाए, कर्म नै जीवन हो भनेर एकाग्र लागि रहे । त्यसैको परिणाम होला उनको नेतृत्वमा सम्पादित केही काम अन्तराष्ट्रिय रूपमा समेत असल अभ्यासमा रहेका छन्, जसले राष्ट्रकै गरिमा बढाएको छ भने आन्तरिक रूपमा निजामती सेवाको गरिमा बढाउन सकहयोग गरेको छ ।

मैनालीलाई प्रशासनिक लेखक मान्नेहरू धेरै छन्, साहित्यकार मान्नेहरूको संख्यामा पनि कम छैन । उनले फूर्सदको एक पल आनन्द महसुस गर्न पनि नभ्याएको बेला सोधेँ उनैलाई र अन्तिम निष्कर्ष निकालेँ : गोपीनाथ मैनाली प्रारम्भमा साहित्यकारै हुन् । उनी बताउँछन्, ‘प्रारम्भमा मैले साहित्यिक कर्मबाटै अक्षरयात्रा तय गरेको हुँ । शुरुमा ‘आकार’ र ‘व्यथा’ पत्रिकाबाट लेख्न शुरु गरेको हुँ । त्यो २०३८ सालतिर हो । त्यसबेला लेख्दा निकै आनन्द लाग्थ्यो, गर्व महसुस हुन्थ्यो । लेखेको कुरा छापिँदा त कहाँ हो कहाँ पुग्थें । त्यसबेला गरिमा, मधुपर्क, प्रज्ञा, रूपरेखामा लेख रचना निकाल्ने असाध्यै ठूलो धोको थियो, रेडियो नेपालको साहित्य संसारमा निवन्ध, कविता बाचन गर्ने औधी रहर थियो । हामीजस्ता नयाँले त्यस्ता नाम चलेका पत्रिकामा कहाँ स्थान पाउनु र त्यो बेला ।’ उनले थपे, ‘जब मलाई जिम्मेवारीले थिच्दै गयो तब साहित्यलाई मूल रूपबाट पन्छाएर केन्द्रमा प्रशासनिक व्यवस्थापनलाई ल्याउनुपर्यो । समय र निद्रा चोरेर साहित्य लेख्न पर्यो ।’

कति रहरहरू बाध्यतका सामु रहरैमा सीमित हुदा रहेछन् । मैनालीमा पनि अनगिन्ती रहरहरू थिए । साहित्य लेखनमै लागेर ठूलो नाम कमाउने रहर पनि थियो, कलाकारितामा रमेर आमदर्शकका मानसपटलमा छाउने रहर त कति हो कति ? उनी रहरको साहित्य लेखनबाट जीवनबृत्तिको प्रशासनिक लेखनमा लालयित भएकोमा बृतान्त पस्कन पुग्छन, ‘मेरा लेखहरू पाठकहरूबाट मनपराइएपछि पत्रपत्रिकाले लेखरचना माग्न थाले । ती लेखहरूमा पानि पारिश्रमिक दिने खालका लेखहरू माग्ने, त्यसले अलिकति इन्सेन्टिभ पनि भयो । त्यसकारणले म साहित्यभन्दा बढी समसामयिक लेखहरू, व्यवस्थापन र अर्थशास्त्र, प्रशासन, नीतिविज्ञानका कुराहरू लेख्न थालेँ । मैले त्यस्ता लेखहरू धेरै लेखेँ, अहिले पनि लेख्दैछु ।’

त्यसो त कतिपय पत्रिकाहरूले मैनालीलाई स्तम्भकारकै रूपमा पनि राखेका छन् । तथापी साहित्यकारकै रूपमा प्राथमिक परिचय बनाएका उनी आफूलाई साहित्यकारकै रूपमा हेर्ने गर्दछन् । यसको तथ्य पनि छ उनमा । भन्छन्, ‘साहित्य भनेको मानवीय भावना, पीडाहरू, अथवा अभावहरूका कुराहरू अभिव्यक्त गर्ने र मैले व्यवस्थापनमा लेखेका कुराहरू, नीतिमा लेखेका कुराहरू, अथवा प्रशासनमा लेखेका कुराहरूमा चाहिँ त्यसलाई कार्यात्मक रूप दिनुपर्ने हुन्छ । त्यही अभाव, त्यही पीडा र त्यही कुराहरूलाई सम्बोधन कसरी गर्ने भनी उपाय खोज्छु । यस्ता कुराप्रति म गंभीर बन्छु ।’ मैनाली व्यवस्थापनलाई कार्यात्मक साहित्यका रूपमा लिने गर्दछन् । साहित्यमार्फत जनजीवनका संवेदना र पीडा टिप्ने र व्यवस्थापन मार्फत त्यसलाई कार्यरूप दिने उनको प्रबृत्ति छ । यसैमा उनी रमाएका छन् ।

प्रशासनिक लेखहरूलाई पनि साहित्यको एउटा स्वरूपकै रूपमा परिभाषित गर्ने मैनालीको परिभाषालाई आमरूपमा स्वीकार गरिँदैन । जे होस् मैनालीले प्रशासनिक लेखमा समेत साहित्यका छनक पाउँछन् तर उनका प्रशासनिक लेखमा साहित्य नघुस्ने गरेको धेरै पाठकहरूको मत पाइन्छ ।

अनेकौं फुटकर समालोचनामा छरिएका मैनालीको एउटा पूर्ण कृतित्व र व्यक्तित्वको विश्लेषण ‘युगकवि सिद्धिचरण कृति र प्रवृत्ति विश्लेषण’ पुस्तकाकारको रूपमा प्रकाशित छ । जुन पुस्तक लेखनको विषमा उनको अलग्गै कथा छ । उनी सुनाउँछन्, ‘मैले जागिर खानुभन्दा अगाडि, जागिरे जीवनको शुरुशुरुमा धेरै साहित्य पढेँ । साहित्यमा पनि पूर्वीय साहित्यका सिद्धान्त, पाश्चात्य साहित्यका सिद्धान्तजस्ता कुराहरू पढेँ । मनोविज्ञानका पुस्तकहरू पढेँ । अनि, साहित्यकारले एउटा पात्रलाई कलाका दृटिकोणमा कसरी उभ्याएर स्थापित गरायो ? वा, जीवनका दृष्टिकोणमा अभिव्यक्त गर्न एउटा पात्रका रूपमा बिम्बमा कसरी र कुन किसिमले उतारिएको छ भन्ने कुराहरू पूर्वीय साहित्यको सिद्धान्त, पाश्चात्य साहित्यको सिद्धान्त र मनोविज्ञानका आधारमा रहेर मैले समालोचना गर्न थालेँ । त्यसबेला म र मेरा दाजु समालोचक एवं साहित्यकार युवराज मैनालीसँग नजिक भएका प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो युगकवि सिद्धिचरण श्रेष्ठ । उहाँका आँखा अलि कमजोर भएका कारणले गर्दा उहाँ हातले राम्रोसँग लेख्न सक्नुहुन्नथ्यो । उहाँले बताएका कुराहरू मैले लेखिदिन्थेँ । यस क्रममा उहाँ र मेरो सान्निध्य र आत्मीयता बढ्दै गयो । उहाँकै मौखिक शब्दहरू लेख्ने क्रममा ममा अलि बढी उहाँकै प्रभाव प¥यो । त्यसो हुँदाहुँदै उहाँले लेखेका कुराहरूमाथि समालोचना गर्न पाए पनि हुन्थ्यो भन्ने लोभ मभित्र जाग्न थाल्यो । तर, उहाँको जीवनकालमा यो कुरा मैले कहिल्यै पनि बताइनँ, बताउने आँट पनि भएन ।’

युगकवि सिद्धिचरणले आप्mना पुस्तकहरू उपहारस्वरूप दिएको मीठो याद ताजै छ उनमा । श्रेष्ठले दिएका उपहारहरूमध्ये ‘मेरो प्रतिविम्ब’, ‘उर्वशी’, ‘विश्वव्यथा’ लगायतका पुस्तकहरू अहिले पनि छन् । ती कितावहरूलाई बडो आनन्दानुभूतिसाथ, समीक्षात्मक हिसावले पढेका गोपीलाई लाग्यो, सिद्धिचरण त एउटा ठूलो व्यक्तित्व हुन्, जसको विषयमा आजसम्म पनि कसैले पुस्तक लेख्न हिम्मत देखाएनन् । उनको बारेमा पुस्तक लेखेर छाती चौंडा गरेनन् । तर समकालीन स्रष्टाहरू देवकोटा, लेखनाथ र समका विषयमा थुप्रै पुस्तकहरू लेखिएका थिए । यसकारण कता हो कता गोपीको दिमागमा के नपुगे नपुगेझैं लाग्नु स्वभाविक थियो । त्यसैले उनी कस्सिए, सिद्धिचरण श्रेष्ठको समग्र व्यक्तित्व र कृतित्वको विषयमा विश्लेषण गर्न ।

सिद्धिचरणको विषयमा विश्लेषण गर्नु चानचुने त पक्कै थिएन । उनी सम्झन्छन्, ‘सिद्धिचरण श्रेष्ठको समग्र व्यक्तित्व र कृतित्वको विषयमा विश्लेषण गर्न साहित्यिक सिद्धान्त, विचार र कलावादको आधार लिए र मैले उहाँलाई विभिन्न आयामबाट जस्तो कि स्वच्छन्दताका दृष्टिकोणबाट, कलाकारिताको दृष्टिकोणबाट, प्रगतिशीलता र जीवनवोधका दृष्टिकोणबाट, यी सबै दृष्टिकोणबाट सिद्धिचरणका बारे बहुआयामिक दृष्टिकोण राखेर समग्र सिद्धिचरणको समुल चित्रण गर्न प्रयास गरेको हुँ । मैले त्यसमा मिहिनेत पनि गरेको छु तर मलाई एउटा दुःख के लाग्छ भने मैले त्यो किताव उहाँको जीवनकालमा निकाल्न पाइनँ ।’

सिद्धिचरणलाई सरप्राइज दिने ठूलो धोको थियो मैनालीमा । खैर, त्यो पूरा हुन सकेन । उनी थप्छन्, ‘उहाँलाई आफ्नो व्यक्तित्व र कृतित्वका विषयमा मबाट समालोचना गरिँदै छ, मैले लेखेको र लेख्दै छु भन्ने थाहै थिएन । यो कुराको छनक मैले कहिल्यै दिइनँ । म उहाँलाई एकैपटक पुस्तक नै दिएर सरप्राइज दिन चाहन्थेँ ।’

समालोचक भन्दा पनि निबन्धकारका रूपमा बढी पहिचान पाएका मैनाली व्यक्तिगत रूपमा आफूलाई निबन्ध नै बढी मन पर्ने स्वीकार्दछन् । समालोचना लेख्नको लागि धेरै समय चाहिने, कुन सिद्धान्तका आधारमा समालोचना गर्ने भन्ने कुराले पिरोल्छ उनलाई, ‘कलाका सिद्धान्तहरू, साहित्यका सिद्धान्तहरू, साहित्यक मूल्य, लेखकले लेखेको परिवेश, पात्रको अवस्था र परिवेश के छ ? यी सबै कुरा मैले विवेचना गर्नैपर्छ । त्यसका लागि लामो तयारी र अध्ययन पनि चाहिन्छ । एकाग्रता पनि चाहिन्छ’

तर, निबन्ध लेखन कार्यले उनमा एक किसिमको सहज सन्तुलन विकसित हुने भएकाले उनी निबन्धमै रम्न उत्सुक छन्, ‘मैले निबन्ध लेख्ने भनेका कुनै दुःख पीडा परेका बेला, अथवा कुनै सामान्य भन्दा अर्कै स्थिति भएको बेलामा, जस्तोः खुशी भएको बेला वा प्रकृतिसँग रमाएको बेलामा पनि हो । छोटो समयमा पनि मैले छोटो निबन्ध लेखिहाल्छु । मलाई निबन्ध औधि मनपर्छ, निबन्ध लेख्नका लागि कुनै छेकबार पनि छैन । मनमा लागेका कुराहरू निर्धक्कसँग प्रस्तुत गर्न पाउँछु । मलाई लाग्छ, आफूलाई पोख्नका लागि सबैभन्दा सजिलो माध्यम नै निबन्ध हो । निबन्धभित्र मनोवाद वा मनभित्रका उहापोह मेरो मनभित्रभित्रै छचल्किएर पोखिएको हुन्छ । मेरा धेरै निबन्धहरूमा मैले मेरा भोगाईलाई अभिव्यक्त गरेको हुन्छु । तर, त्यसलाई कथानकको रूप दिएको हुन्न मैले । त्यसकारणले मूलतः म निबन्धकार हुँ अथवा निबन्ध बढी मन पराउँछु ।’ उनी थप्छन् ‘प्रत्येक व्यक्ति, रहर, पीडा, उच्छवास र उद्वेगको निवन्ध हो’ । प्रथम निवन्धकार मिसेल मोन्तेन झै उनी भन्छन् ‘म आप्mना निवन्धमा विना आडम्वर सहज र साधारण तरिकाले रूपायित होऊँ भन्ने चाहन्छु । त्यसमा कुनै किसिमको बाकपटुता वा कृतिम कलात्मकता सजाउन चाहन्न । मेरा निवन्धको विषय स्वयम् म नै हुुँ, आफू नभएको निवन्ध लेख्न सकिदैन’ ।

कहिलेकाहीँ साहित्यकार मैनालीको व्यक्तित्वलाई सचिव मैनालीको व्यक्तित्वले किचिदिँदा सम्झौता समेत गर्नपुग्ने कैयौं उदारण छन् उनीसँग । र, कहिलेकाहीँ त्यो भोगाइका पलहरू पनि भोगेका छन् उनले । उनी सम्झन पुग्छन्, ‘कहिलेकाहीँ मेरा प्रशासनिक क्रियाकलापले गर्दा म भावुक भइदिन्छु र त्यहाँ पनि साहित्य र जीवनका कुराहरू देख्न शुरु गर्छु । प्रशासन मायाले होइन न्यायले चल्छ । तर, साहित्यले चाहिँ मायाको पौल हो । तिमी स्वच्छन्द पनि बन भन्छ । त्यसकारण मैले यी दुवै व्यक्तित्वलाई आफैंँमा एकैरूपले मिलाउनुपर्दा जहिले पनि संक्रमण अनुभव गरेको छु । एउटा असजिलो अनुभव गर्छु । त्यही असजिलोका कारणले मेरा यी दुई व्यक्तित्वहरू एकआपसमा टकरावमा आइपुग्छन् र सन्तुलनमा ल्याउने प्रयास गर्छु । त्यो कुरा साहित्यका पाठक र व्यवस्थापनका सेवाग्राहीलाई थाहा हुन्छ कि हुन्न, मलाई थाहा छैन । म भने दोसाधमा लफ्रक्क भिजेको छु ।’

साहित्य साधना र अन्य सेवामा दिइने पुरस्कारका विषयमा मैनालीको आफ्नै धारणा छ । पछिल्लो समय उनले पाएको प्रदेशस्तरीय प्रतिभा पुरस्कारको विषयमा साहित्यिक बृत्तमा व्यक्तित्व भन्दा सानो पुरस्कार दिइँदा गोपीले नस्वीकारेको भए पनि हुन्थ्यो भन्ने मत राखेको पाइन्छ तथापि त्यो पुरस्कार उनले स्वीकारे । त्यस पुरस्कारका बारेमा गोपीको स्पष्ट मत छ, ‘साथीहरूले प्रदेश स्तरमा सरकारले दिएको प्रतिभा पुरस्कारका विषयमा कुरा पनि गरे । उक्त सम्मान समर्पण समारोहमा पनि त्यहा उपस्थित गैरसाहित्यकार साथीहरू, पत्रकार, प्रशासक साथीहरूले मलाई त्यो कुरा भने । म के भन्छु भने पुरस्कार भनेको माया हो, सम्मान पनि हो र अलिकति सम्झना पनि हो । मलाई सरकारले सम्झियो, माया ग¥यो र सम्मान समर्पण ग¥यो । मलाई पुरस्कृत गर्नभन्दा पनि मलाई पठाइएको चिठ्ठीमा ‘सम्मान गर्न’ भनी बोलाइएको थियो । सम्मान त मैले स्वीकार्नु पर्छ । पुरस्कार सानोठूलो जस्तो भएपनि स्वीकार्नु पर्छ भन्ने लाग्यो । पुरस्कार–पुरस्कारै हो भन्ने दृष्टिकोण राखेँ । कुनै पनि पुरस्कारलाई सानोठूलो म भन्दिनँ । पुरस्कार दिने संस्थाले ताम्रपत्र मात्र दियो भने पनि मेरालागि त्यो ठूलो भयो । रकम र राशीमा होइन, मैले पुरस्कारलाई कदर र सम्मानका रूपमा लिए । यसको स्तर सानोठूलो भन्ने हुँदैन ठानें ।’

त्यसो त पुरस्कार पाउनैपर्ने व्यक्तिले मात्र पुरस्कार पाउनुपर्ने उनको मत छ । उनी थप्छन्, ‘पुरस्कार त्यस्तो व्यक्तिले पाउनुपर्छ जो त्यसका लागि उचित छ । कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने नपाउने व्यक्तिले पुरस्कार पायो भने पुरस्कारको पनि ओज रहदैन, व्यक्तिको पनि ओज रहदैन । र, पाउनुपर्ने व्यक्तिले पुरस्कार पायो भने पुरस्कारको पनि गरिमा बढ्छ र व्यक्तिप्रति पनि न्याय हुन्छ । पुरस्कारले मलाई न्याय गर्यो कि गरेन र मैले पुरस्कार पाउदा पुरस्कारलाई पनि न्याय भयो कि भएन भनेर छुट्याउने जिम्मा आमपाठक, सर्जक र साहित्यप्रेमीको हो । तर मैले यो पुरस्कार भन्दा पनि एउटा सम्मान अनि मायाका रूपमा लिएको हुँ ।’

पुराना र दिग्गज मानिएका साहित्यकारहरूको संगत र समसामयिक धाराका समकालीन साहित्यकारहरूसँगको उठबस एवम् राजनीतिक व्यक्तित्व र प्रशासनिक व्यक्तित्वबीचको अन्तरसम्बन्धले खारिएका मैनालीले पुराना पुस्ता र पुराना पुस्ताको प्रवृत्ति कसरी भुल्न सक्छन् र ? उनी पुराना र नयाँ पुस्तालाई यसरी केलाउँदै वहकिन्छन्, ‘मैले चाहिँ पुराना पुस्ताका साहित्यकारहरूसँग पनि धेरै संगत गरेँ, सिद्धिचरण श्रेष्ठसंगको सान्निध्यता अविस्मरणीय छ, पारिजात दिदीसंगको छोटो संगतले अलग्गै उर्जा दियो । कृष्णप्रसाद सर्वहारा, धीरेन्द्र मल्लजस्ता पुराना पुस्ताका व्यक्तिहरू र मञ्जुल, श्यामल, पूर्ण विराम, लव गाउँले, कृष्ण बाउसे, कलानिधि दाहाल, गिरिराज आचार्य, भिष्म काप्mले, विश्वनाथ न्यौपाने, श्रीहरि फुयाँललगायत सबैसँग मैले संगत गरेको छु । म त बीचको मान्छे भएँ । अहिलेका साथीहरू पनि लेखिरहनु भएको छ । अहिले पनि केही निकै जाज्वल्य साहित्यकारहरू हुनुहुन्छ । पहिलाचाहिँ साहित्य भनेको अलि बढी मनलाई लेख्ने, मष्तिस्कलाई लेख्ने हुन्थ्यो । अहिले चाहिँ धेरैजसो साहित्यकार मनभन्दा बढी शरीरतिर ढल्किएको पाइन्छ, भौतिकता र उपभोगवादी संसकृतिको प्रभावले पनि होला । पहिले अलि बढी गहकिला कुराहरू हुन्थे । गहन, भावना, संवेदना, बिम्बमा प्रस्तुत हुन्थे । अहिले चाहिँ छोटा कुराहरूका माग बढे । पढ्नेलाई पनि फुर्सद छैन । लेख्नेलाई पनि फुर्सद छैन भनेजस्तो, कहिलेकाहीँ कतिपय सिर्जना त वाध्यताले लेखेको जस्तो पनि । कहिलेकाहीँ त घोस्ट राइटरले लेखेकाजस्तो कुराहरू पनि सुन्छौं । यी सबै कुराले गर्दा पहिले र अहिलेका साहित्यमा धेरै नै भिन्नता छ जस्तो लाग्छ ।

तर, अहिले पनि कतिपय सारै राम्रा साहित्यकारहरू छन् । ती राम्रा साहित्यकारहरूलाई पहिला भन्दा अहिले लेख्नका लागि, पढ्नका लागि, प्रकाशन गर्नका लागि धेरै अवसरहरू उपलब्ध भयो । हिजो हामी पत्रिकामा लेख छाप्नका लागि धेरै दौडिनुपथ्र्यो । सम्पादकको चाकडी पनि गर्नुपथ्यो । विश्वनाथ न्यौपाने र श्रीहरि फुयाँलले मेरो लेख छाप्दा म निकै ठूलो मान्छे भएँ भनेजस्तो पथ्र्यो । अहिले कसैले लेख छापिदिएन भने म मेरै फेसबुकको वालपोस्टमा वा मेरै वेवपोर्टलमा छाप्छु, संसारभरिका मलाई र मेरो लेखनीको स्वाद मन पराउनेहरूले ती सिर्जनाहरू पढ्नुहुन्छ, त्यो पनि निमेषभरिमै गोलाद्र्धका सवै कुनामा सिर्जना फैलिन्छ । अहिले प्रकाशन गर्ने समस्या पनि छैन । सबै भौतिक सीमाहरू भत्कायौं हामीले । अवसरहरू धेरै पायौं । यस अर्थमा हामीहरू सताव्दीका भाग्यमानी पुस्ता पनि भयौ । त्यसकारण युवापुस्ताका साहित्यकारहरूले यो अवसरलाई उपयोग गरेर जीवन्त साहित्य लेख्नुपर्छ । केही आशालाग्दा व्यक्तिहरू पनि देखेको छु । तर, धेरैजसो साहित्यकारहरू साहित्यिक मूल्य, मान्यता, सिद्धान्तलाई भन्दा पनि उहाँहरू अक्षरको खेती गर्नुहुन्छ । स्वाभावितामा भन्दा पनि रहरले करमा लेख्नु हुन्छ । त्यो अक्षरको खेतीभन्दा अलि बढी चाहिँ मलाई भावना, आवेश, उद्वेग, मनोवेदहरू लेखिदिए, पोखिदिए हुन्थ्यो भन्ने लाग्छ ।’

साहित्यमा पुराना पुस्तादेखि नयाँ पुस्तासम्म भोगीसकेका मैनाली नयाँ पुस्तालाई मूल्य र जीवन लेख्न आग्रह गर्दछन् ‘अहिलेको साहित्यिक पुस्तालाई म के सुझाव दिन्छु भने तपाईंहरूले लेख्ने कुराहरू अमूर्त पनि नहोस्, ठाडो पनि नहोस् । तपाईंहरूले लेख्ने कुराहरू कलात्मक, सरल र जीवन्त होउन् । तपाईंले ल्याउने पात्रहरू आर्टिफिसियल नहुन्, ती जीवन बोकेको, हाम्रै गाउँ घरको, हाम्रै जीवन र परिवेशलाई बोक्ने होउन, जसमार्फत समाजलाई ठ्याम्मै उतार्न सकियोस् । यस्तो चित्र उतार्न सकियो भनेदेखि त्यो साहित्य जीवन्त हुन्छ । प्रत्येक साहित्यकारले आफूलाई र अक्षरलाई जीवन दिन सकोस् । अक्षरमाथि भावना पस्किन सिकोस् । नयाँ पुस्ताका साथीहरूले त्यो गर्नुभयो भने उनीहरूको कलाकर्म पनि राम्रो हुन्छ, कालजयी हुन्छ । र, त्यसले समाजमा दिने शिक्षा र सन्देश पनि सार्थक हुन्छ । त्यही साहित्यको जगमा घोल्रिहेर विज्ञानले आविस्कार गर्न सकोस् । त्यो कामना हामीले गर्नुपर्छ । लेखनाथले त्यसै भनेका होइनन्, शव्द भएर के हुन्छ, भाव भए पो हुन्छ । साहित्यका स्रोता, पाठक र दर्शकलाई सकारात्मक उर्जा दिने, जीवनलाई गन्तव्य दिने प्रभावोत्पादक सिर्जना दिन सकुन् भन्ने चाहना राख्छु ।’

केही समयमै सक्रिय निजामति सेवाबाट रिटायर्ड उन्मुख भएका उनमा सक्रिय जीवनभरिका धेरै खुराकहरू मनभित्र पाक्दै छन् सायद । भोलि त्यो देख्न पाइन्छ उनीबाट । थुप्रै पुस्तकहरू उनका कलमबाट नेपाली साहित्य भण्डारमा भण्डारण होउन्, ती गहकिला बनुन् । आशा गरौं उनको बलियो कलम अझै देख्न बाँकी नै छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.