24 Online News
५ कार्तिक २०७७ १७:३८

प्रज्ञासँग लेखकमाथि छानविन गर्ने, कारबाही गर्ने अधिकार छैन : पूर्व सदस्यसचिव

प्रज्ञाले प्रा. दिनेशराज पन्तको संयोजकत्वमा गठन गरेको छानविन समिति प्रज्ञा ऐन विपरित

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलमाथि एउटा अनलाइनमार्फत लगाइएको बौद्धिक चोरीको आरोपलाई लिएर नेपाल प्रज्ञा प्रतिष्ठानले छानबिन समिति बनाएको औचित्यका सन्दर्भमा प्रज्ञा प्रतिष्ठानकै पूर्वसदस्यसचिवहरूसँग ट्वान्टीफोर अनलाइन न्युजले कुराकानी गरेको छ । प्रज्ञा प्रतिष्ठानका तीनजना पूर्वसदस्यसचिवहरू डा. ध्रुवचन्द्र गौतम, डा. तुलसीप्रसाद भट्टराई र सनत रेग्मीले प्रज्ञा प्रतिष्ठानले बनाएको छानबिन समिति प्रतिशोधपूर्ण, पूर्वाग्रही, औचित्यहीन छ र यो भाषा आन्दोलनका बेलाको मनमुटावबाट उत्पन्न प्रतिशोध भएको बताएका छन् । प्रस्तुत छ उनीहरूसँग भएको कुराकानी जस्ताको तस्तै —

प्रज्ञा प्रतिष्ठानको क्षेत्राधिकारभित्र कुनै पनि लेखकका विषयमा छानबिन गर्ने अधिकार ठ्याम्मै छैन

आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतम, पूर्वसदस्यसचिव तथा आजीवन सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतमले कुनै पनि साहित्यकारलाई प्रज्ञा प्रतिष्ठानले छानबिन गर्नु उसको क्षेत्राधिकार बाहिरको कुरा बताएका छन् । उनले भने, ‘भाषा साहित्यसँग सम्बन्धित कुनै पनि प्रतियोगितामा निर्णायक बन्ने अधिकारमात्र प्रज्ञा प्रतिष्ठानसँग छ । पुस्तक लेखकमाथि छानबिन गर्ने, पुस्तकका विषयमा छानबिन गर्ने काम प्रतिष्ठानको ठ्याम्मै होइन । आफूसँग अधिकारै नभएको विषयमा डा. खगेन्द्र लुइँटेलमाथि छानबिन समिति बनाएर प्रज्ञाले अराजक किसिमको गतिविधि निम्त्याउन खोजेको देखियो । साहित्यकार र प्रज्ञाबीचको दूरी बढाउने काम मात्र भयो यो त ।’

डा. गौतमले भने, ‘मैले पनि प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव रहेर पाँच वर्ष काम गरेँ । हामीले पनि साहित्यको उन्नति गर्ने, विकास गर्ने धेरै काम ग¥यांै । साहित्यकारका विषयमा छानबिन गर्ने नियम र परम्परा नै छैन । यो कुरा अहिले कसरी आयो ? पहिलो कुरा प्रज्ञा प्रतिष्ठान यस्ता कुरा बोकेर हिँड्ने बडी नै होइन, छानबिनका लागि अरु बडी छन् । । दोस्रो कुरा छानबिन गर्ने प्रज्ञा प्रतिष्ठानले हुँदै होइन ।’

‘उजुरी दिने त अन्तै हो । आरोप लगाउने, छानबिन गर्ने हो भने अन्त जाऊ न, त्यो पनि जाने विषय हो भने, म त यहाँ केही त्यस्तो विषय नै देख्दिनँ । प्रज्ञा प्रतिष्ठान किन यस्तो नचाहिँदो विषयमा अघि बढ्दैछ ? यस्ता नचाहिँदा आरोप प्रत्यारोप त लागिरहन्छन्, मेरो कार्यकालमा कुनै पनि साहित्यकारमाथि छानबिन भएन, पहिले पनि भएको भन्ने मलाई थाहा छैन तर अहिले डा. खगेन्द्र लुइँटेलमाथि लगाइएको औचित्यहीन आरोपको छानबिन गर्नुपर्छ भन्नु नै हास्यास्पद कुरा हो ।’

साहित्यकार साहित्यकारका बीच आरोप प्रत्यारोपका शृङ्खला त पहिलेदेखि नै भइरहने कुरा हुन्, लेखेरै पनि आरोप प्रत्यारोप हुन्थे । मानिसले राम्रो काम गर्यो वा बौद्धिक उचाइ लियो भने आरोप लगाउन सुरु गरिन्छ । त्यस्ता आरोपहरूले डा. लुइँटेलजस्ता व्यक्तित्वको बौद्धिक उचाइ घट्दैन झन् बढेर जान्छ । प्रज्ञा प्रतिष्ठानले भाषा बिगारेर शब्दकोष निकालेका बेला सञ्जाल र उनीहरूका बीच मतभेद थियो तर त्यो त उहिले सकिइसक्यो नि । अहिले त्यसको बदला लिने होइन नि ।

प्रज्ञा प्रतिष्ठानजस्तो संस्थाले सबै लेखकलाई सकेको संरक्षण गर्ने हो, लेखकलाई प्रोत्साहन गर्ने हो । लेखनलाई प्रोत्साहन दिने हो । कसैले कसैलाई आरोप लगाउँदैमा छानबिन समिति नै बनाउनु कति उचित हुन्छ ? साहित्यकारमाथि छानबिन समिति बनाएको यसअगाडि मलाई थाहा छैन र त्यो उचित पनि होइन ।

‘एउटा कुरा नि, आफ्नो चिज चाहिँ सत्यसिद्ध भनी उल्लेख गरेको कुरा अर्को पुस्तकमा पनि लेख्दा त त्यही आउँछ नि । अर्काले लेखेको त सन्दर्भ उल्लेख गरेर लिन पाइन्छ भने आफ्नै किताबबाट केही अंश लिंदा पनि कहीँ बौद्धिक चोरी हुन्छ ? आफ्नो चिज आफैंले राख्न नपाउने भन्ने कुतर्क त गाइजात्रे मनोरञ्जनमा मात्र सुहाउँछन्, बौद्धिक वर्गमा पटक्कै सुहाउँदैनन् ।’

प्रज्ञा प्रतिष्ठान कुनै लेखकलाई टार्गेट गरी रिसइबी साँध्ने संस्था होइन

वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई , पूर्वसदस्यसचिव तथा आजीवन सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव एवं आजीवन सदस्य तथा वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले कुनै पनि लेखकलाई टार्गेट गरी उसलाई नैतिक रूपमा अप्ठ्यारो पार्न नहुने बताएका छन् । ट्वान्टीफोर अनलाइन न्युजसँग कुरा गर्दै उनले भने, ‘प्राध्यापक डाक्टर खगेन्द्र लुइटेलमाथि केही मानिसहरू उनका बौद्धिक उचाइको ईष्र्या गरेर उनका विरुद्ध लागे होलान् तर जुन किसिमले उनले जघन्य अपराध नै गरेका हुन् जस्तो शैलीले प्रज्ञा प्रतिष्ठान उनीमाथि खनिनु अनुपयुक्त हो । यस्तो कुनै पनि लेखक वा सर्जकमाथि हुनुहुँदैन ।’

प्रज्ञा प्रतिष्ठानले नै प्रकाशन गरेको पुस्तकमाथि छानबिन गर्नु प्रतिष्ठानको अधिकार क्षेत्रबाहिरको कुरा हो । पहिले आफैंले प्रकाशन गरेको पुस्तकमाथि पहिले नै धेरै चरणमा मूल्याङ्कन र छानबिन भइसक्ने, पाण्डुलिपि तयारीको चरणदेखि नै विविधखाले मूल्याङ्कनका चरणहरू पार गरेपछि मात्र पुस्तक प्रकाशन हुने भएका कारण हचुवाको भरमा वा कसैले ‘चोर्यो अरे !’ भनी भनेकै आधारमा प्रज्ञा प्रतिष्ठानजस्तो जिम्मेवार संस्थाले छानबिन समिति बनाउनु औचित्यपूर्ण नहुने डा. भट्टराईको मत छ ।

पाण्डुलिपिका चरणदेखि प्रकाशनका चरणसम्मका प्रक्रियाका विषयमा भने, ‘प्रतिष्ठानसँग पाण्डुलिपि हेर्ने मूल्याङ्कन समिति हुन्छ । पहिले पाण्डुलिपि नै मूल्याङ्कनका लागि मूल्याङ्कनकर्ताकहाँ पठाइन्छ । एक जनाले हेर्दा चित्त बुझाइएन भने दोस्रो मूल्याङ्कनकर्ताकहाँ पनि पठाइन्छ । मूल्याङ्कनकर्ताबाट पाण्डुलिपि आइसकेपछि त्यो प्रज्ञा परिषद्मा जान्छ र परिषद्ले हेरेर मात्र पास गर्छ । त्यसकारण विविध प्रक्रिया पूरा गरेर छापिएको पुस्तकमाथि विवाद जन्माइनु उचित होइन र कुनै पनि लेखकलाई टार्गेट गरी उसको चरित्रमाथि प्रश्न उठाइनु जायज हुँदैन । मूल कुराचाहिँ यस्ता कुराहरू पाण्डुलिपि पास गर्नुअघि नै विचार पुर्याउने कुराहरू हुन् । पुस्तक छापिइसकेपछि त्यसमा के थियो, कहाँबाट ल्याइयो त्यसमा भएका कुराहरू पहिल्यै अन्त छापिइसके कि भन्ने कुराको कुनै सरोकार हुँदैन । त्यसलाई राम्रोसँग हेर्ने काम मूल्याङ्कनकर्ताको हो । किताब छापिएको वर्षाैंपछि आएर यस्ता कुराहरू उठ्नु र छानबिन समिति बन्नुचाहिँ औचित्यपूर्ण हुँदै हुँदैन । प्रज्ञा प्रतिष्ठान व्यक्तिविशेषको प्रतिशोध लिनका लागि रिसइबी साँध्ने संस्था होइन ।’

उनले भने, कुनै पत्रिका वा अनलाइन वा सामाजिक सञ्जालमा लेखिएको देखियो वा कसैले टेलिफोनबाट भन्यो भन्दैमा प्रज्ञा प्रतिष्ठानले यस्तो उडन्ते काम गर्नु हुँदैन । एउटा प्रतिष्ठित लेखकमाथि प्रश्न उठाउन यस्ता उडन्ते कामले केही अर्थ राख्दैन । प्रतिष्ठानले कहाँकहाँ कस्ताकस्ता गफ भए कसको विषयमा कसले कसरी उडायो भनी खोजी गर्दै हिँड्ने हो र ? प्रज्ञा प्रतिष्ठानको नैतिकताले त्यस्तो गर्न दिन्छ र ? उनले प्रतिप्रश्न गरे ।’ न्यायालयको उदाहरण दिँदै उनले थपे, ‘न्यायालयले पनि बाहिर भएका उडन्ते कुराका आधारमा त उजुरी दर्ता गर्दैन नि, यहाँ पनि लिखित उजुरी पर्नु पर्यो नि ।’ उनले उजुरीका विषयमा आशंकित हुँदै भने, ‘यहाँ त तपाईंले उजुरीका प्रश्न उठाएपछि पनि ब्याक डेटमा लिखित उजुरी पनि दर्ता हुनसक्छन् । त्यहाँ पनि शंका गर्ने ठाउँ रहन्छ ।’

अनुसन्धान गर्दा, लेख्दा वा शोधकार्यका सन्दर्भमा वा अनुसन्धानात्मक कृति तयार गर्दाखेरि आवश्यक सामग्री राखी पुस्तक, लेखक र प्रकाशकका नाम वा प्रकाशन मितिसहित सन्दर्भ उल्लेख गर्नु त अन्तर्राष्ट्रिय अभ्यास नै भएको डा. भट्टराई बताउँछन् । कुनै सिद्धान्त र परिभाषा सबैतिर एउटै हुने हुँदा त्यो जहाँबाट पनि लिन पाइन्छ । यदि अरु कसैका किताबको सन्दर्भविना नै सिंगो अध्याय नै हुबहु आएको छ भने मात्र त्यो चोरी हुने हो तर यो हेर्ने निकाय पनि प्रज्ञा प्रतिष्ठान होइन । आफैंले आफैँमा कपिराइट लिएको पुस्तकका अंशलाई आफ्नै अर्को पुस्तकमा राख्नु बौद्धिक चोरी पटक्कै हुन्न र यो कुनै मर्यादाहीन कार्य पनि होइन । उनी भन्छन्, ‘स्रोत उल्लेख गरेपछि चोरीको प्रश्न नै आउँदैन ।’

प्रा. खगेन्द्र लुइटेलमाथिको छानबिन समिति भाषा आन्दोलनका बेलाको प्रतिशोध हो

वरिष्ठ साहित्यकार सनत रेग्मी, पूर्वसदस्यसचिव, नेपाल प्रज्ञा प्रतिष्ठान

प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकारमा कहीँ कतै पनि छानबिन गर्ने, उजुरी सुन्ने, अदालतको झैं फैसला गर्ने नरहेको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव वरिष्ठ साहित्यकार सनत रेग्मीले बताएका छन् । उनले भने, ‘प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकारमा छानबिन समिति बनाउने, त्यसको उजुरी सुन्ने, अदालतको काम गर्ने भन्ने कहींकतै व्यवस्था छैन । प्रज्ञा प्रतिष्ठानको काम भनेको प्राज्ञिक काम मात्रै हो ।’ उनी थप्छन्, ‘प्राज्ञिक कामचाहिँ प्रज्ञा प्रतिष्ठानको हो । पुस्तक लेख्ने, लेखाउने, पुस्तक र विभिन्न साहित्यिक विषयमा गोष्ठीहरू गराउने, कोष–शब्दकोषहरू बनाउनेजस्ता काम प्रज्ञा प्रतिष्ठानको हो । प्रज्ञा प्रतिष्ठानको काम अख्तियारजस्तो छानबिन आयोग गठन गर्ने, जाँचबुझ गर्ने पटक्कै होइन । प्राध्यापक खगेन्द्र लुइटेलमाथि प्रज्ञा प्रतिष्ठानले छानबिन समिति बनाउने काम भाषा आन्दोलनका बेलाको व्यक्तिगत इबी साँध्न र प्रतिशोध लिन गरेको हो, यो प्रज्ञाले गर्नै नहुने काम गरेको छ ।’

रेग्मीको ठहर छ, ‘यस्ता समितिको कुनै अर्थ छैन । त्यो त खगेन्द्र लुइटेललाई बदनियतपूर्ण तरिकाले हामीले यस्तो यस्तो तरिकाले छानबिन गर्यौ भनी षड्यन्त्रपूर्वक ढंगले बदनाम गराउनाका लागि गरिएको षड्यन्त्र मात्र हो । त्यो अर्थहीन कार्य हो । यो त प्रज्ञा प्रतिष्ठानले गर्नै नहुने काम गरिराछ । म पनि त्यहाँ लामो समय बसेको छु । त्यहाँभित्रको ऐन, नियम, कानून मैले पनि हेरेको छु, बुझेको छु । यस्तो किसिमको काम प्रज्ञा प्रतिष्ठानले गर्ने हुँदै होइन ।’

रेग्मीले थपे, ‘हेर्नाेस्, यस्तो चोरी गर्यो भन्ने आरोप त महाकवि लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वर कोइराला, शंकर लामिछाने, रमेश विकलदेखि सारामाथि लगाइएको छ । यस्ता आरोप नलाग्ने त नेपालमा साहित्यकार नै नहोलान् । यी आरोपका लागि आरोप र कोही माथि पुगेपछि उसलाई तल झार्ने दुष्प्रयासका लागि लगाइने आरोपै मात्र हुन् । कुनै न कुनै लेखकले कोही न कोही लेखकबाट प्रभावित भएर नै लेखेको हुन्छ नि, त्यो प्रभाव हो चोरी होइन । समालोचनामा त सिद्धान्त, परिभाषा सबैतिर उही नै हुन्छ नि । त्यस्ता कुरालाई लिएर प्रज्ञा प्रतिष्ठानले सोच्न थाल्ने हो भने त प्रज्ञा प्रतिष्ठानको कामै त्यही भइजान्छ । त्यहाँका सबै प्रकाशनको छानबिन गर्नुपर्छ । यसो गर्न सक्छ त प्रज्ञा प्रतिष्ठानले ? यसका लागि त कपिराइट ऐन जुन बनेको छ नि, जसको चोरी भएको छ उसले कपिराइट ऐनअनुसार मुद्दा हाले भैगो नि ।’

रेग्मीले स्पष्ट शब्दमा भने, ‘खगेन्द्र लुइटेलको विषयमा चाहिँ उहाँले धेरै आफ्नै किताबबाट चोरेको भनिएको छ, अब आफ्नै किताबबाट लिएको कुरा पनि कहीँ चोरेको ठहरिन्छ ?’ उनले प्रश्न गरे, ‘मेरो सम्पत्ति एउटा कोठाबाट उठाएर अर्को कोठामा राखेको कहीँ चोरी हुन्छ ?’ उनले भने, ‘खगेन्द्र लुइटेलमाथि चाहिँ षड्यन्त्र हुँदैछ । षड्यन्त्रात्मक तवरबाट सारा कामहरू भइरहेका देखिन्छन् । यो उनको उच्च बौद्धिक व्यक्तित्वप्रतिको ईष्र्या हो । यो शब्दकोश खारेज गर्ने बेलाको प्रतिशोध लिएको मात्र हो तर प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाले व्यक्तिसँग प्रतिशोध लिएर हिँड्नु हुँदैन । यस्ता षड्यन्त्रात्मक शैलीका काममा प्रज्ञा प्रष्तिष्ठान सामेल हुनु प्रज्ञा प्रतिष्ठानको गरिमामाथि नै आँच आउने कार्य हो, त्यो राम्रो होइन । प्रज्ञा प्रतिष्ठानले यस्ता प्रतिशोधी कार्य तत्काल बन्द गर्नुपर्छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.