24 Online News
१ फाल्गुन २०७७ २०:११

स्वर्गको राजा ईन्द्रको पाप मोचन भएको तीर्थस्थल त्रिवेणी घाट

पनौती, काभ्रे । अब ११ महिना पछि पनौतीमा १२ वर्षे मकर मेला लाग्दैछ ।

स्वर्गका राजा ईन्द्रको पाप मोचन भएको पवित्र तीर्थस्थल पनौतीको त्रिवेणी घाटमा लाग्ने मकर मेलामा लाखौँ भत्तजनहरु आउने गर्छन् । त्रिवेणी घाटमा स्नान गरी ईन्द्रेश्वर महादेवको दर्शन गरे पाप मोचन हुने विश्वासका साथ मकर मेलामा देशभरबाट भत्तजनहरु आउने भएकाले पनौती नगरपालिकाले यो तीर्थस्थललाई व्यवस्थित बनाउन अहिलेदेखि नै ध्यान दिनु पर्ने देखिन्छ ।

देवताहरुको समेत पवित्र तीर्थस्थल रहेको पनौतीको त्रिवेणी घाटमा स्वर्गका राज ईन्द्रले समेत १२ दिन तपस्या गरी पाप मोचन गरेको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । पनौतीको तीर्थस्थलको इतिहासबारे ईन्द्रेश्वर महादेव मन्दिरका पुजारी शिव जंगम भन्छन– मिथला देश (जनकपुर) मा गौतम ऋषिको पत्नी अहिल्यालाई स्वर्गका राजा ईन्द्रले छल गरी यौन शोषण गरेपछि गौतम ऋषिको श्रापबाट उत्पन्न शरिर भरिको योनी हटाउन स्वर्गका राजा ईन्द्र पनौतीको त्रिवेणी तीर्थ आएका थिए ।

पौराणिक कथन अनुसार जनकपुरमा गौतम ऋषि स्नान गर्न गएको बेला गौतम ऋषिको भेष गरी आएका भगवान इन्द्रले अहिल्याको यौन शोषण गरी पतिव्रता नष्ट गरिदिएका थिए । त्यसैबेला गौतम ऋषि आएर आफ्नो भेष गरी आउने को हो भनी इन्द्रलाई सोधेको र वास्तविक भेष नदेखाए भष्म पारिदिने धम्कीपछि इन्द्रले आफ्नो बास्तविक भेष देखाएका थिए । गौतम ऋषिले त्यतिबेलै श्राप दिँदै ईन्द्रको शरिरभरी योनी बनाइदिए भने अहिल्यालाई पत्थर बनाईदिएका थिए ।

गौतम ऋषिको श्रापपछि आफ्नो शरिरभरी महिलाको योनी लिएर स्वर्ग गएका ईन्द्रले गुरु बृहस्पतिलाई आफ्नो पाप मोचन कसरी गर्ने भन्ने बारे परामर्श गरेका थिए । बृहस्पतिले ईन्द्रलाई पाप मोचन गर्न तीर्थ जानु, तीर्थमा सुकेको बाँस गाड्नु भोलिपल्ट जहाँ बास पलाउँछ त्यहिँ भगवान शिवको तपस्या गर्नु भनी सल्लाह दिएका थिए ।

गुरु बृहस्पतिको सल्लाह बमोजिम भगवान ईन्द्र विभिन्न तीर्थ गए पनि पनौतीको त्रिवेणी घाटमा भने बाँस पलायो । बाँस पलाएपछि उनी आफ्नी पत्नी सची सहित १२ दिन तपस्या बसेका थिए । तत्पश्चात शिवजी प्रकट भएर इन्द्रको पाप मोचन गरिदिएको पौराणिक कथन छ । त्यतिवेला भगवान शिवले ईन्द्रलाई तिम्रो शरिरको सम्पुर्ण योनी जान्छ तर निधारमा एउटा योनी रहन्छ भनेर मोक्ष गराएका थिए । भगवान ईन्द्रको तीन आँखा मध्य एउटा त्यहि निधारको भएको पुजारी जंगम बताउँछन् ।

पापबाट मोक्ष पाएर खुशी भएका ईन्द्रलेनै बनाइदिएको भएर यहाँको मन्दिरको नाम पनि ईन्द्रेश्वर महादेव रहेको रहेको भनाइ छ । ६४ शिवलिङ्ग मध्ये पनौतीको इन्द्रेश्वर महादेव पनि एक हो । गौतम ऋषि आफ्नी पत्नी अहिल्यालाई श्राप दिएर बनेको पत्थर पनि यही ईन्द्रेश्वर महादेवको मन्दिरको उत्तर र पुर्वको कुनामा देख्न सकिन्छ । ईन्द्रेश्वरलाई पशुपतिमा रहेको विरुपाक्षले पनि दर्शन गरेर पुर्व गएको हिमवतखण्डमा उल्लेख गरेको स्थानीय बुढापाकाको भनाइ छ ।

स्वर्गको राजा ईन्द्रको पत्नी सचीले समेत तपश्या गरेकोले त्रिवेणीघाटको नाम सचीतीर्थघाट रहेको बताइन्छ । रोशीबाट आउने लीलावती, बनेपातिरबाट आउने मद्मावती (पुण्यमती) र ब्रम्हायणी मन्दिर मुनिबाट आउने रुद्रवती तिन नदी मिलेर त्रिवेणी बनेको पौराणिक कथन छ ।

ईन्द्रेश्वर मन्दिर प्राङ्गणमा मुत्ति नारायण, तुला नारायण, शेष नारायण, सूर्य नारायण, गोपि नारायण विश्वेश्वर शिवलिङ्ग, उमा महादेव, सत्य नारायण, क्षेत्रपाल सहित कुमार र अष्ट मातृका सहित उन्मत्त भैरवको मुर्ति पनि छ ।

ऐतिहासिक पृष्ठभूमि बोकेको यो तीर्थस्थलको २०४८ सालमा फ्रान्स सरकारको सहयोगमा जिर्णोद्धार गरिएको थियो । यहाँ २०७८ साल माघ महिनाभरी मकर मेला लाग्दै छ । सचीतीर्थमा स्नान गरी ईन्द्रेश्वर महादेवको दर्शन गरेपछि पाप मोचन हुन्छ भन्ने विश्वासका साथ देशभरबाट लाखौँ भत्तजनहरु यो मकरमेलामा तीर्थ आउने गर्छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.