24 Online News
२६ असार २०७७ ११:१०

बिग्रेको पङ्खा !!

झण्डै पाँच दशकदेखी नेपाली साहित्यमा सक्रिय कलानीधि दाहालले कथा, निबन्ध, कविता र उपन्यासमा कलम चलाए पनि कविका रुपमा प्रतिष्ठित छन् । विभिन्न संघसंस्थाबाट सम्मानित दाहाल मुक्तिनाथ दर्शन साहित्यिक मासिक पत्रिकाका कार्यकारी सम्पादक हुन् । -सम्पा. ।


बिग्रेको पङ्खा !!


गर्मीको मौसम
अलिकति चिसो हवाको स्पर्श!
देला कि ठानेर
मैले,मेरो शिरमाथि
झुण्डाएको छु-एउटा पङ्खा
मान्छे!
-आउने आएकै छन्
-जाने गएकैछन्
गर्भाधान तीव्र छ
र मृत्युदर पनि उत्तिकै

सबै सबै
आफैमा सुरक्षित/संरक्षित
हुनसक्ने भए
मलाई चिसो स्पर्शको फ्यान चाहिएझैँ
किन चाहिन्थे?यी नौटङ्की
-नेताहरू
-शासक/प्रशासकहरू
-कर्मचारीहरू
-देश र प्रदेशहरू
गर्मी न लाग्दै चिसो मौसममा
मेरो शिरमाथि
पखेटा फिजाएर फैलिएको
फ्यान चलाउँछु
यति स्पिडमा घुम्यो कि
बरफजस्तै
कठाङ्ग्रिने डरले
मन,शान्त र ढुक्क भएर
बन्द गर्छु
र सोच्छु-“अहा!गर्मीको दुश्मन!
मेरो शीतल साथी!!”

आउछन् लामबध्द जुलुसहरू
-मेरो घरमा
-छिमेकमा
-मैले टेकेका पाइला पाइलामा
र फेरेका सास सासमा
भन्छन्
“घर सानो रहेछ-ठूलो हुन्छ
बाटो अप्ठेरो रहेछ-पिच हुन्छ
नाना पुराना परेछन्-मल्मल मुस्कन्छ
छाना खरको रहेछ-सिमण्टी चिप्लन्छ
दाना अभाव रहेछ-भरपुर हुन्छ
जमीनमा रहेछन् तेरा पाइला
एक हात माथि-आकाश फैलन्छन्
मात्र एउटा भोट!
कायापलट
तेरो वरिपरि
-स्विजर्ल्याण्ड मुस्कन्छ
-सिङ्गापुर जिस्कन्छ

मौसममा ओर्लन्छ-गर्मी
पानी परे पनि
पसिना वहेका छन्
घाम लागेका बेला
मरु,ओढ्ने बनेको छ-शरीरभरि
सम्झन्छु
मेरो शिरमाथि
शीतल वर्षाको भागीरथी छ
जटा खोलेझैँ शिवले
स्विच अन गर्छु
अहँ घुम्दैन
बलजफ्ती प्रयास गर्छु
खट्खट्!खट्खट्!!ठप्प
खटटटट!ख्याट्ट!!ठप्प
निरस!
निराश!!
म आफ्नै शरीरको
भागीरथी नुहाउन विवश!

भोकाएर पेटले
र छठ्पटाएर तातोले
अनायास भान्सा छिर्छु
चुह्लो अन गर्छु
ग्याँस झोस्छु,बल्दैन
-सिलिण्डर खाली रहेछ
काँचै भए पनि एक गाँस केही
टोकौँ-प्राण रक्षार्थ
टीन खोल्छु
-गेडोसम्म छैन चामलको
टीन खोल्छु
-पित्कोसम्म छैन पिठोको
ढकी उघार्छु तरकारीको
-न प्याज
-न आलु
-न साग!!
ससाना बट्टा खोल्छु
-न रायो
-न तोरी
-न मुला
गुन्द्रुकसम्म छैन केहीको पनि
शान्त हौँ-मनलाई गर्छु दमन
हेर्छु,बुढी अौँलामा
अझै भोट खसालेको
चिह्न कट्कटिएकै रहेछ

वरिपरि
फोहोर डुङ्डुङ्ती गनाएकैछ
-न देख्छु स्विजर्ल्याण्ड कतै
-न पाउँछु मलेशिया
बाबुका पालामा घिउ बेचेर
किनेको ब्ल्याक एण्ड ह्वाइट् टिभी
कान बटारेर खोल्छु
मेरा भोटले
मजस्तै करोडौँका भोटले
प्रचण्ड बहुमत उक्लेका नेताहरू
सदनमा टेवुल गरेका
-एमसिसीका फायल
-कोरोना खर्च विवरणका फायल
-सीमा विवादका अनेकौँ फायल
छरपस्ट थन्काएर एकातिर
कसैले चालै नपाउने गरी
मन्त्री परिसदको
सिङ्गल साँढकै आदेशमा
ताला लागिसकेछन्-सदनका ढोकाहरू
साँसद घचेट्छन्-खुल्द‌ैन
जसरी
जसरी स्विचअन गर्छु गर्मीमा
मेरो शिरमाथिको पङ्खा-घुम्दैन
छ,पङ्खा छ
भएर पनि प्रचण्ड गर्मीको मौसममा
दर्केको पानीमाथि
पसिनाको भागीरथी
वहाउन विवश म
छन्,नेताहरू छन्
स्रोतका अथाह भण्डार छन्
साम्यवादको नारा पनि छ
अझ बलियो स्वघोषित
सर्वहाराको सहारा पनि छ
तर पनि
मेचीको चुह्लोमा लाइटर झोस्छ
-सिलिण्डर खाली छ,बल्दैन
कालीका आङ् खाली देखेर
“विचरा”बोले पनि
नाङ्गा आङ् नाना झुल्दैन
पेट भोको छ
टीन खोले पनि
चामल भेटिन्न गेडोसम्म
माग राख्ने
शीतल बनाउनै पर्ने
सत्ता/सदनका पङ्खाहरू
बन्द भएका छन्

खुल्नै नपर्ने
-मन्त्रीका
-नेताका
-तस्करका
-बलात्कारीका
-जालझेल र तिगडमका
चारै ढोका खुलेका छन्
सहस्र पङ्खाहरू घुमेका छन्
अलिअलि सुल्टो
र जम्मै उल्टो घुमेका छन्
तैपनि
चाहिने ठाउँमा सही तार जोड्न नसकेर
सत्ता/सदनका इञ्जिनीयरहरू
थकित/चकित भई
लम्पसार परेकै बेला
उत्तरकी हिरोइन् इञ्जिनीयर
सदन/सत्ताको
पङ्खातार जोड्न
हतार हतार सङ्घर्षरत छे
दक्षिणको हिरो इञ्जिनीयर
सत्ता/सदनको
पङ्खातार जोड्न
अन्तर शक्तिले
टेवुलमाथि उभिएको छ
संयोगले मेरो शिरमाथिको
पङ्खा चल्यो कि?
स्विचअन गरेर बल्जफ्ती घुमाउँछु
एकछाप हत्केलो लगाउँछु
यसकै नियन्त्रण कक्षमा
अलिकति घुम्छ
फेरि उहीँ
घ्याट्!घ्याट्!!ठप्प
ट्याक्!ट्याक्!!ठप्प
ह्वात्त!हुतुतुतु ह्वात्!!ठप्प
गर्मीको यो मौसममा
पङ्खामुनि बसेर पनि
दर्कने झरी भिजेरै
म पसिनाको
भागीरथी वहिरहेछु
……….वहिरहेछु

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.