24 Online News

स्कुल फस्ट हुँदाका ती क्षण…

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल


बाल्यकालको सुरुकै अवस्थातिरका कुरा त कसैलाई पनि थाहा हुँदैन । त्यस बेलाका कतिपय कुरा झझल्कोको रूपमा सम्झना हुन्छ भने कतिपय कुरा आंशिक रूपमा सम्झना हुन्छ । त्यसमा पनि सामान्यभन्दा सामान्य कुरा सम्झेर साध्य हुँदैन । यो सबैमा लागु हुने कुरा भएकाले यसबाट म अछुतो हुने कुरै भएन । हाम्रो परिवार सम्पन्न परिवारमै पर्ने हुँदा मैले बाल्यकालमा खासै दुख बेहोरेको सम्झना छैन ।

मैले बुबा पण्डित इन्द्रप्रसादबाट घरमै नेपाली, अङ्ग्रेजी अक्षर र अङ्क राम्ररी चिनिसकेपछि मलाई एकैपटक तीन कक्षामा भर्ना गरियो । मेरो औपचारिक अध्ययनको थालनी मेरै हजुरबा गौरीशङ्करको नामबाट स्थापित विद्यालय गौरीशङ्कर प्रा.वि. बाट २०२६ सालमा भएको हो । त्यतिखेर पढाउने सरहरू पनि उति धेरै नपढेका भएको कुरा पछि मात्र थाहा भयो ।

एउटै कक्षामा पढ्दा पनि अरू साथीहरूको पाठ निकै पछि हुन्थ्यो भने मेरो पाठ निकै अगि बढिसकेको हुन्थ्यो । सधैँ पाठ बुझाउने हुँदा मैले सरहरूबाट कहिल्यै कुटाइ खाइन । कक्षामा सरहरूले पाठ पढाउन मलाई नै लगाउनुहुन्थ्यो । कहिलेकाहीँ त दिनभर पढाउने जिम्मा मलाई नै लगाएर सरहरू रोपाइँ गर्न जानुहुन्थ्यो । म पनि फुरुक्क परेर चिच्याइचिच्याइ साथीहरूलाई पढाउँथेँ । मैले पढाउँदा सहपाठीहरू पनि खुसी हुन्थे । त्यतिखेर धुलौटामा लेख्ने चलन थियो तर मैलेचाहिँ घरमै अङ्क, अक्षर र सामान्य हिसाबसमेत जानिसकेको अर्थात् नेपाली, अङ्ग्रेजी, गणितको प्रारम्भिक ज्ञान हासिल गरिसकेको हुनाले स्कुलमा धुलौटामा लेख्ने काम गर्नु परेन ।

 

त्यतिखेर स्कुल जाँदा युनिफर्मको त के कुरा सामान्य जुत्ताचप्पल पनि हुँदैनथ्यो । मलाईचाहिँ त्यहीँ गाउँकै सार्कीले सिएका जुत्ता ल्याइदिएका थिए र म त्यही जुत्ता लगाएर स्कुल जान्थेँ । त्यसले खुट्टामा घाउ बनाएर खपिनसक्नु हुन्थ्यो । म स्कुल पुग्नेबित्तिकै जुत्ता फुकालेर कुनातिर राख्थेँ । आफूभन्दा माथिल्लो कक्षाका साथीहरू मुसो भन्दै ती जुत्तालाई सानासाना ढुङ्गाले हिर्काउँथे । म सरलाई पोल लगाइदिन्थेँ अनि हेड सर आएर तिनीहरूलाई सिर्कनाले मजैसँग कुट्नु हुन्थ्यो । बेलुका घर फर्किँदा अलि छिटो हिँड्नु पर्‍यो भने जुत्ता हातमा बोकेर हिँडिन्थ्यो ।

स्कुल त घरबाट सारै टाढा थिएन तैपनि साथीहरूसँग खेल्दै आउँदा आधा घण्टाजति लाग्थ्यो । अलि बढी समय लागे गाली खानु पर्‍थ्यो । घरमा आएर खाजा खानेबित्तिकै पढ्न सुरु गरिहाल्नु पर्‍थ्यो । त्यसो नगरे कुटाइ खाने पक्का थियो । त्यतिखेर खेल्ने चलन उति नभएकाले त्यति धेरै खेलिँदैनथ्यो ।
म फुर्सदका समयमा घरको काम पनि गर्थेँ तर घरमा काम गर्ने मान्छे भएकाले घरको काम त्यति धेरै गर्नु पर्दैनथ्यो । स्कुल छुट्टी भएका बेला कहिलेकाहीँ अरूका साथ लागेर गाईवस्तु चराउन र पिँगुवा खोलामा माछा मारेको हेर्न जान्थेँ । कहिलेकाहीँ पिँगुवा खोलामा पौडी पनि खेलिन्थ्यो । यसबाहेक मेरो बाल्यकालको धेरै समय अध्ययनमै बित्यो । कुनै व्यक्ति लड्दा अरू हाँसेको मलाई पटक्कै मन पर्दैनथ्यो र ती हाँस्ने व्यक्तिसँग सारै रिस उठ्थ्यो, अहिले पनि मन पर्दैन ।

हाम्रो घर निकै ठूलो थियो । घर मात्र होइन पाली, खोल्मा, कटेरा पनि ठूलै थिए । गाईभैँसी गोठ नै थियो । गुज्राँती भैँसी थिए । घरमा ठूला कुकुर पालेका थिए । मन्तरे पण्डित वा ठूलाघरे पण्डितको घर भनेपछि सबैलाई थाहा हुन्थ्यो । जिल्लाका ठूलाबडा आउँदा हाम्रैमा बस्थे ।

हाम्रा घरदेखि केही तल तिम्सिनाको घर थियो । उनकी छोरीलाई सबैले गोरी भन्थे । उनी मसँगै पढ्थिन् । उनी घरको कौसीमा बसेर गावैँ थर्काउने गरी चिच्याएर पढ्थिन् । म कहिल्यै चिच्याएर पढ्दैनथेँ। एकदुईपटक पढेपछि प्राय: पाठ कण्ठै हुन्थ्यो तैपनि गोरीका जस्तै गरी पढ्नुपर्छ भनेर मलाई घरमा गाली गरिन्थ्यो ।

रिजल्ट हुने दिन म बिरामी भएर स्कुल गएको थिइन । मलाई हेड सरले लिन पठाउनु भयो र म मुस्किलले स्कुल पुगेँ। म स्कुल पुग्नेबित्तिकै रिजल्टको घोषणा गर्न सुरु गरियो । म स्कुल फस्ट भएँछु । गोरी फेल भइछन् । मलाई सरहरू र सञ्चालक समितिको अध्यक्षसमेतले अबिर दलेर राताम्मे बनाइदिए । मलाई पुरस्कारस्वरूप कापी, कलम, पेन्सिल दिइयो । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा मलाई सञ्चालक समितिका अध्यक्षले नाके बोलीमा ‘स्याबास पुत्नेनाति सधैँ स्कुल फस्ट हुनु’ भन्दै गोजीबाट झिकेर एक रुपियाँ पुरस्कार दिएर धाप मारे । त्यो क्षण मलाई अहिले पनि झल्झली सम्झना छ । कक्षा तीनमा स्कुलमा सर्वप्रथम भई सबैले अबिर लगाइदिँदा र एक रुपियाँ पुरस्कार पाउँदा मेरो खुसीको सीमा नै रहेन । त्यस बेलाको एक रुपियाँको मूल्य यस बेलाकालाई के थाहा !!

घरबाट पनि स्यावासी पाइयो । त्यसपछि गोरीका जस्तै गरी पढ्नुपर्छ भनेर मलाई घरमा गाली गर्न छोडियो ।

कक्षा तीनमा स्कुल फस्ट भएपछि मलाई डबल प्रमोसन दिएर कक्षा पाँचमा भर्ना गरियो । कक्षा पाँचका किताब पुरस्कारस्वरूप स्कुलले नै दियो । म कक्षा पाँचमा पनि स्कुल फस्ट नै भएँ । त्यो स्कुलमा पाँच कक्षासम्म मात्र भएकाले त्यसपछि मैले पढ्नालाई अन्यत्रै जानुपर्ने भयो ।

मलाई जनता मा.वि. इटहरीमा ल्याएर कक्षा छमा भर्ना गरियो । त्यो स्कुल निकै ठूलो थियो र विद्यार्थीहरू पनि थुप्रै थिए । कक्षा छको अर्धवार्षिक परीक्षामा म त्यहाँ पनि स्कुल फस्ट नै भएँ । यो २०२८ सालको कुरा हो । त्यतिबेला त्यहाँ घोप्टो खालको कोसी बस चल्थ्यो । कहिलेकाहीँ म त्यही घोप्टे बसमा चढेर विराटनगर पुग्थेँ । सानो मान्छे देखेर होला कन्डक्टरले पैसा पनि माग्दैनथे । त्यसैबेला म फुपाजुसँग रेल चढेर कटिहार पनि गएँ । उहाँ रेलमा काम गर्ने ठूलै मान्छे भएकाले रेलमा पनि मलाई भाडा लिँदैनथे ।

त्यतिबेला स्कुलबाट आएर खाजाका रूपमा घिउका डल्ला र चिनी मुक्याइन्थ्यो । इटहरी चोकको पश्चिमपट्टि रिजाल क्यानिङ कम्पनी थियो । त्यहाँ मेवा, आँपलगायत प्रशस्तै फलफूल हुन्थे । म केही साथी लिएर त्यहाँ पुग्थेँ । त्यहाँ काम गर्ने मान्छेले प्रेमपूर्वक हामीलाई फलफूल टिपेर दिन्थे । धेरैपटक त्यहाँ गएर फलफूल खाइएको छ । कहिलेकाहीँ त घरमा ल्याउन पनि दिन्थे ।

एकदिनको कुरा हो केही फलफूल बोकेर म घरतिर आउँदैथिएँ । केही पुलिस हस्याङफस्याङ गर्दै दौडिन थाले भने केही बाटाका छेउमा बसेर कपाल काट्न थाले । बजारका पसलहरू पनि धमाधम बन्द गर्न थाले । एकछिन त म पनि छक्क परेर हेरिरहेँ । मैले एकजना पुलिसलाई के भएको भनेर सोधेँ । उनले मलाई हाम्रा राजा मरे छिटोछिटो घर जा भने । मैले को राजा भनेर सोध्दा तिनी रिसाए । म पनि हाम्रा राजा मरे रे भन्दै घरतिर दौडिएँ । त्यो दिन २०२८ साल माघ १७ गते राजा महेन्द्रको निधन भएको दिन थियो ।

म कक्षा छको अर्धवार्षिक परीक्षामा स्कुल फस्ट नै भएँ तर गर्मीका कारण मैले त्यहाँ बसेर पढ्न सकिन र म तेरथुमको आफ्नै गाउँमा फर्किएँ । घरबाट तीन घण्टाजति उकालो हिँडेपछि चौके ढुङ्गा भन्ने ठाउँमा रत्न मिडिल स्कुल थियो । मलाई त्यहीँ लगेर कक्षा छमा नै भर्ना गरियो । त्यतिखेर अर्धवार्षिक परीक्षा सुरु हुन लागेको रहेछ । म त्यसैमा सामेल भएँ । अर्धवार्षिक परीक्षाको रिजल्टमा पनि म स्कुल फस्ट नै भएँ र रिजल्ट गरेकै दिन मलाई सात कक्षामा उकालियो । सात कक्षामा पनि म स्कुल फस्ट नै भएँ । मैले त्यहाँ घरबाटै धाएर पढेँ ।

त्यसभन्दा माथि पढ्न घरनजिकै हाई स्कुल नभएकाले मलाई घरबाट छ–सात घण्टा टाढा पर्ने नवीन शिक्षा सदन मावि फाक्चामारामा लगेर कक्षा ८ मा भर्ना गरियो । मेरा घरबाट म्याङ्लुङ बजार नजिक पर्ने भए पनि फाक्चामाराका निरौला परिवारसँग हाम्रा परिवारको राम्रो सम्बन्ध भएकाले मलाई पढाउन फाक्चामारा लगिएको हो । घरबाट त्यति टाढा झोलामा चामल बोकेर जानुपर्‍थ्यो। लम्बुखोला तर्नुपर्‍थ्यो, त्यो त्यति सहज थिएन । आफैँ तर्न सकिँदैनथ्यो । प्राय: घोर्साने साइँलाले तारिदिन्थे । भेल आएको बेलामा पनि एउटा हातले उचालेर तार्ने गर्थे । अरू बेला हामी खोलो जहाँ साँघुरो हुन्थ्यो त्यहीँबाट फड्किन्थ्यौँ। एकदिन खोलो सङ्लो भएको बेला एक्लै तर्न खोज्दा खोलाले बगायो र केही तल पुर्‍याएर पानीले हुत्याई किनारातिर निकालिदियो ।

सुरुमा मलाई त्यहाँ बस्दा शुक्रबार कहिले आउला र घर जानुजस्तो लाग्थ्यो भने पछि क्रमश: बानी पर्दै गइयो । कहिलेकाहीँ हामी स्कुल नजिकैको अँधेरी खोलामा पौडी खेल्न जान्थ्यौँ र नाङ्गै पौडी खेल्थ्यौँ । एक दिन शुक्रबार घर फर्किँदा अँधेरी खोलाका दहमा साथीहरूसँग पौडी खेल्न पस्दा डुबेको थिएँ तर साथीले निकाले ।

फाक्चामारा पढ्न गएपछि सुरुमा सोल्माकै एउटा साथीसँग बस्थेँ । केही समयपछि उनी आफन्तको घरमा गएकाले त्यसपछि म एक्लै बस्न थालेँ । केही पछिदेखि म चक्रजङ निरौलाकहाँ बस्न थालेँ । त्यति बेला म आफैँ खाना बनाएर खान्थेँ । अल्छी लाग्दा दाल, भात, तरकारी एकै ठाउँमा पकाउँथेँ । घरबेटी हजुरआमाले प्राय: तरकारी, दुध, दही, मही ल्याइदिनुहुन्थ्यो । खाना आफैँ बनाएर खाए पनि सुत्नचाहिँ त्यही स्कुलका नेपाली शिक्षक हरिकृष्ण निरौला र म एउटै कोठामा सुत्थ्यौँ ।

चक्रजङ निरौलाका छोरा नारायणजङ पनि मसँगै पढ्थे । त्यस बेला कुपी बालेर पढ्नुपर्‍थ्यो । म पढ्न थालेपछि उनले कुपी छेलेर पढ्न बाधा पुर्‍याउँथे तर उनकी हजुरआमाले अर्को कुपी बालेर ल्याइदिनुहुन्थ्यो । कहिलेकाहीँ हाम्रो झगडा पर्दा हजुरआमाले मेरो पक्ष लिएर नातिलाई नै गाली गर्नुहुन्थ्यो । ती हजुरआमाले आफ्नो नातिलाई भन्दा बढी मलाई माया गर्नुहुन्थ्यो । यो सुखद क्षण मेरो मस्तिष्कमा अझै ताजै छ ।

मैले त्यहाँ कक्षा नौमा पढ्दा मलाई घरबाट खर्च गर्न दिएको एकदुई पैसा जोगाएर दस रुपैयाँ जम्मा गरेको थिएँ । जुद्धबहादुर लिम्बू नाम गरेको एकजना साथीले तिहारमा तिर्छु भनेर मागेकाले उनलाई दिएको थिएँ । त्यो पैसा आजसम्म तिरेका छैनन् । मलाई त्यो पैसा जिन्दगीको सबैभन्दा धेरै कमाइ गुमेजस्तो लाग्छ ।

म विद्यालयद्वारा आयोजित वक्तृत्वकला, वादविवाद, चेस, हाजिरीजवाफ आदि प्रायः सबै अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ र सधैँ प्रथम हुन्थेँ। भलिबल, फुटबल पनि खेल्थेँ। जिल्लास्तरीय निबन्ध प्रतियोगितामा पनि पुरस्कृत भएको थिएँ । अलिअलि कविता पनि लेख्थेँ । आफ्नै निर्देशनमा नाटक पनि देखाएको थिएँ । सधैँ सर्वप्रथम भई छात्रवृत्ति पाउँथँे। मलाई बाल्यकालमा सबैले निकै माया गर्थे ।

म विद्यालय तहमा पढ्दा प्रत्येक कक्षाको जाँच सकिनुभन्दा अगि नै मैले पढेका किताब माग्नेको ताँती नै लाग्थ्यो । म कहिल्यै पनि किताबमा केरमेट र फोहोर गर्दैनथेँ त्यसैले मेरा किताब सधैँभरि नयाँजस्ता देखिन्थे । म सदैव सर्वप्रथम विद्यार्थी भएकाले मेरा किताब पढेमा आफ्नो बच्चालाई पनि राम्रो पढ्न आउने विश्वासले सबैले मेरा किताब माग्थे र गाउँका थुप्रैले मेरै किताब पढेर उत्तीर्ण गरेका थिए ।

मैले २०३३ सालमा एस.एल.सी. दिएँ । म त्यस विद्यालयबाट एस.एल.सी. दिने नयाँ शिक्षाको तेरथुम जिल्लाकै पहिलो ब्याचको विद्यार्थी थिएँ । त्यसभन्दा अगि लगातार दुई पटक स्कुलको एस.एल.सी. रिजल्ट निल गएको थियो । त्यस वर्ष पनि स्कुल निल गएमा स्कुल काटिन्थ्यो । एस.एल.सी. को परीक्षाफल प्रकाशित हुँदा सुरुमा त्यो वर्ष पनि निल गयो भन्ने समाचार आयो । त्यस समाचारले म एकदमै दुखी भएको थिएँ भने शिक्षक र अभिभावक पनि सारै दुखी भएका थिए । त्यसबेला थप सोधपुछका लागि कुनै सञ्चार साधन थिएन । यो मेरो जीवनको सबैभन्दा दुखद क्षण बनेको थियो । म त्यस रातभर निदाइँन ।

भोलिपल्ट त्यो ब्याचमा म मात्र उत्तीर्ण भएको र स्कुल काटिनबाट जोगिएको समाचार आयो । त्यस बेला मेरो मात्र होइन शिक्षक र अभिभावक सबैको खुसीको सीमा नै थिएन । यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण बनेको थियो । म त्यस रात पनि रातभर निदाइँन ।

दुई वर्ष एस.एल.सी. मा निल गएको त्यस विद्यालयमा मेरो ब्याचमा पनि एस.एल.सी. पास गर्ने म मात्र थिएँ र स्कुल फस्ट नै भएँ । त्यस ब्याचमा मैले मात्र एस.एल.सी. पास गरेर स्कुल काटिनबाट जोगाइदिएको भन्दै सम्पूर्ण शिक्षक र अभिभावकले सारै खुसी भई मलाई स्याबासी दिँदै पुरस्कृत गरे । सबको वाहवाह, ताली, प्रशंसा पाउँदा म फुरुङ्ग भएँ । त्यसबेला चक्रजङ निरौलाले खगेन्द्र लुइटेल पास हुनमा शिक्षकको केही हात नभएको र विद्यार्थी आफ्नै कारणले पास भएको भन्दै शिक्षकहरूलाई गाली गरे र मलाई पुरस्कार दिए ।

फाक्चामाराबाट एकजना मात्र एस.एल.सी. पास गर्ने मान्छे कस्तो होला भन्ने कुरा अनेकका मुखबाट आफ्नै अगि सुन्दा म मक्ख पर्थेँ तर त्यो व्यक्ति म नै हुँ भनेर कसैलाई भन्दैनथेँ । त्यतिबेला म सधैंजसो दौरासुरुवाल, कोट र टोपी लाउँथेँ । म बाल्यकालमा होचो तर निकै मोटो थिएँ । अझ भनौँ भने त्यतिखेर म झट्ट हेर्दा कसैले नपत्याउने पुन्टुप्रसाद नै थिएँ ।

एस.एल.सी. पास गर्दा म सानो भए पनि क्याम्पस पढ्ने भैसकेको थिएँ । म घरबाट नजिक पर्ने धनकुटा बहुमुखी क्याम्पसमा आई.ए. मा भर्ना हुन गएँ। धनकुटा घरबाट एक दिनको बाटो टाढा थियो । त्यतिखेर एस.एल.सी. उत्तीर्ण गरेपछि आई.ए. भर्नाका लागि नागरिकताको प्रमाणपत्र अनिवार्य रहेछ, त्यो मसँग थिएन । म धनकुटाबाट तुरुन्त घर फर्केर नागरिकता बनाउन भनी सदरमुकाम म्याङलुङ बजार पुगेँ ।

नागरिकताका लागि फर्म भरेर बुझाइयो तर मलाई त्यहाँका कर्मचारीले ‘यस्तो फुच्चेलाई नागरिकता दिन मिल्दैन, ठूलो भएपछि आउनू’ भनी हप्काए र नागरिकता दिन मानेनन् । मैले आई.ए. भर्नाका लागि नागरिकताको प्रमाणपत्र चाहिएको कुरा बताउँदा पनि कर्मचारीले पुन्टे देखेर होला मेरा कुरा सुन्नै चाहेनन् ।

त्यतिखेर सिडिओलाई भेट्न ठूलै मान्छेलाई त कठिन थियो भने मजस्ता फुच्चालाई सजिलो हुने कुरै भएन । म ढोकामा बसेका पुलिसको आँखा छलेर सुत्त सिडिओको कोठाभित्र पसेँ र ‘मलाई कर्मचारीले नागरिकताको प्रमाणपत्र दिन मानेनन्, मलाई नागरिकता चाहियो’ भनेँ । मैले यसो भन्दा सिडिओ र त्यहाँ बसेका अरू तीनचार जना मान्छे गललल हाँसे । सायद ती जिल्लाका ठुटे नेता थिए होलान् ।

सानो फुच्चेले नडराई बोलेको सुनेर हो कि किन हो सिडिओले हाँस्दै भने— ‘तिमीलाई किन चाहियो बाबु नागरिकता ? यति सानो बच्चालाई नागरिकता दिन त मिल्दैन नि !’

मैले ‘क्याम्पस पढ्न नागरिकता चाहिएको’ बताएपछि त्यहीँ बसेका अरू पनि फेरि हाँसे । मैले जिद्दी गरिसकेपछि ‘केटाकेटीलाई नागरिकता दिन मिल्दैन’ भनी सिडिओले मलाई गाली गरे । मैले उही कुरो दाहोर्‍याएँ ।

त्यसपछि सिडिओले मलाई सम्झाउँदै भने— ‘एस.एल.सी. पास नगरी आई.ए. पढ्न पाइँदैन । क्याम्पस पढ्न त एस.एल.सी. पास गर्नुपर्छ नि, एस.एल.सी. पास गरेपछि मात्र नागरिकता लिन आउनू अहिले घर जाऊ ।’

मैले नडराईकन तत्कालै भनेँ— ‘त्यो कुरो मलाई पनि थाहा छ, एस.एल.सी. पास गरेरै त आई.ए.पढ्न जान म नागरिकता बनाउन आएको नि, मलाई आई.ए. पढ्न नागरिकता चाहिएको हो ।’ मैले यसो भन्दा त्यहाँ बसेका सब हाँस्न थाले, मलाई भने रिसरिस उठिरहेको थियो ।

सिडिओले मलाई जिस्क्याउँदै सोधे— ‘एस.एल.सी. कहिले, कहाँबाट पास गरेको बाबु ?’

मैले ‘यसैपालि’ भन्नेबित्तिकै उनले सोधे ‘कहाँबाट ?’ मैले पनि कड्केरै भनिदिएँ— ‘नवीन शिक्षा सदन मावि फाक्चामाराबाट ।’

सिडिओले भने— ‘त्यहाँबाट खगेन्द्रप्रसाद लुइटेल नाम गरेको एकजनाले मात्र पास गरेको होइन र ?’ सिडिओलाई पास गर्नेको नामसमेत थाहा भएको तर पास गर्ने मान्छेचाहिँ थाहा नभएको कुरा मैले बुझेँ।

मैले पनि हाँस्दै तत्कालै भनिदिएँ— ‘यहाँ नागरिकता बनाउन दुईजना आएका छन् र ? त्यो एकजना मान्छे मै हुँ ।’ त्यति बेला सबजना ट्वाल्ल परेर मतिर हेरिरहेका थिए र चुपचाप मेरा कुरा सुनिरहेका थिए ।

त्यत्तिकैमा त्यहाँ बसेका एकजनाले ‘तिमी कसको छोरा हौ बाबु’ भनेर सोधे । मैले इन्द्रप्रसाद लुइटेलको भनेँ । त्यहाँ बसेका अर्कोजनाले ‘ए तिमी मन्तरे पण्डितको नाति इन्द्रप्रसादको छोरा हौ’ भने । मैले हो भनेँ । तिनी जिल्ला सभापति रहेछन् । ती सबैले मेरो बुबालाई मात्र होइन हजुरबालाई पनि राम्ररी चिन्दा रहेछन् ।

त्यसै बीचमा सिडिओले सोधे— ‘तिम्रो रोल नम्बर कति हो बाबु ?’ मैले पनि फट्ट भनिदिएँ— ‘३३८८५ जी ।’ उनले टेबुलमै राखेको एउटा पत्रिका पल्टाएर नम्बर खोजे । सिडिओले मेरो सिम्बोल नम्बर पत्रिकामा छापिएको फेला पार्नेबित्तिकै कुर्सीबाट जुरुक्क उठेर मसँग हात मिलाएर धाप मार्दै ‘बधाइ छ बाबु बस्नुहोस्’ भने । सिडिओसँग हात मिलाउँदा म त फुरुङ्ग । त्यहाँ बसेका अरूले पनि हात मिलाएर मलाई बधाइ दिए ।

मैले त्यतिखेरसम्म मेरो नम्बर छापिएको पत्रिका देखेकै थिइनँ । पत्रिकामा छापिएको नम्बर देख्नेबित्तिकै म ‘तिमी’ बाट ‘तपाईं’ मा प्रमोसन भएँ । म पनि छेउको सोफामा बसेँ । सिडिओले चिया मगाएर खुवाए । त्यो मेरो जीवनमा ठूला मान्छेका अगि सोफामा बसेर चिया खाएको पहिलोपटक थियो। त्यतिबेला म कति खुसी भएँ त्यसको बयान गरी साध्य छैन ।

सिडिओले घन्टी बजाएर फाँटवालालाई बोलाई ‘उहाँको नागरिकता तुरुन्त बनाइदिनू’ भन्ने आदेश दिए र मलाई तिनै कर्मचारीसँग जानू भने । म तिनै फाँटवाला महिलाको कोठामा गएँ ।

अब मेरो नागरिकता बन्ने भो, मैले क्याम्पस पढ्न पाउने भएँ भन्ने कुरामा म ढुक्क भएँ । उता कोठामा पुगेपछि ती फाँटवालीले आलटाल गर्न थालिन् र मतिर हेर्दै नहेरी ‘तीन दिनपछि आउनू अहिले जाऊ’ भनिन् । तिनका बडाहाकिमले तपाईं भन्न थालेका बेला तिनले तिमी भन्दा रिस त उठ्यो तर मैले नरम स्वरमा भनेँ— ‘मेरो क्याम्पस एड्मिसनको अन्तिम मिति भोलि छ आज नागरिकता नबने मेरो एड्मिसन नै हुँदैन त्यसैले आजै बनाइदिनुहोस् न ।’  तिनले मलाई हप्काउँदै भनिन्— ‘आज बन्दैन, आजै चाहिने भए दुध खुवाउनुपर्छ ।’

मैले कुरा बुझिन र सोधेँ— ‘कस्तो दुध ? मसँग त दुध छैन ।’ छेउमा बसेको अर्को कर्मचारीले खुसुुक्क केही पैसा दिनुपर्ने सङ्केत गर्दै दुधको अर्थ बताए। त्यो त तिनीहरूको कोड ल्याङ्ग्वेज पो रहेछ, मसँग पैसा पो मागेका रहेछन् । म दौडेर फेरि सिडिओका कोठामा पसेँ र सब कुरा बताएँ ।

सिडिओले जङ्गिएर घन्टी बजाउँदै तिनलाई बोलाएर मेरै अगाडि तिनको घन्टी बजाइदिए । सिडिओले तिनलाई यति हकारे कि त्यसको कुनै हिसाबै छैन । ‘तुरुन्त उहाँको नागरिकता बनाएर यहीँ ल्याउनू’ भनी आदेश दिए र मलाई त्यहीँ सोफामा बस्न भने । म त्यहीँ बसिराखेँ ।

तत्काल आदेशको पालना भयो । एकै छिनमा फाँटवाली पहाडे कागज टाँसेको रातो बुक लिएर आइन् । सिडिओले हस्ताक्षर गरी मलाई नागरिकताको प्रमाणपत्र दिँदै हात मिलाए र ‘राम्रो पढ्नू है बाबु’ भन्दै मलाई बिदा गरे । यति बेलाजस्तो भएको भए फोटो खिचेर फेसबुकमा हालिन्थ्यो होला तर… । सिडिओसँग उही दिन दोस्रो पटक हात मिलाउँदा म त झन् फुरुङ्ग, खुट्टै भुइँमा रहेनन् । मेरो नागरिकता फर्ममा सिफारिस गर्ने मालपोत अधिकृत परशुराम राई पछि कता गए थाहा भएन, सिडिओ सुशीलकान्त झाचाहिँ सचिवबाट सेवा निवृत्त भए ।

मलाई उता फाँटमा बोलाइयो र एउटा खातामा सही गर्न लगाइयो । मैले सही गरेपछि यस्तो कुरा सिडिओलाई किन भनेको भनेर ती महिला मलाई हप्काउन थालिन् । मैले ‘मसँग किन दुध मागेको त ? म फेरि सिडिओ साबलाई भनिदिऊँ’ भनेपछि तिनले मसँग माफी मागिन् । मेरो नागरिकताको पुछारमा तिनको पनि सही छ । तिनको नाम द्रौपदी प्रधानाङ्ग हो । तिनलाई द्वापरयुगमा पाँचजनाकी साझा भए पनि कलियुगमा एककी पनि हुन नसकेकी भन्दा रहेछन् । त्यस कुरासँग मेरो कुनै सरोकार थिएन । मेरो सरोकार नागरिकताको प्रमाणपत्रसँग मात्र थियो । सानो भएका कारण नागरिकता लिने बेलामा उत्पन्न झमेला पनि मेरो एउटा स्मरणीय क्षण हो ।

म नागरिकता बोकेर त्यहाँबाट निस्किएँ र घरतिर दौडिएँ । बेलाबेला गोजीमा नागरिकता छाम्दै दौडिँदै तीन घण्टाजतिको बाटो पत्तै नपाई म घर पुगेँ र खाना खाएर सुतेँ । भोलिपल्ट बिहानै उठेर आई.ए.मा भर्ना गर्न धनकुटा बहुमुखी क्याम्पसतिर हानिएँ ।…

क्रमशः…

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.