24 Online News
४ आश्विन २०७७ ०९:२३

 सर्वत्र समदर्शिन

विद्याप्रसाद घिमिरे


बिहान पाँच बज्न नपाउँदै देउतालाई नौवेद्य चढाउने विवादले घरमा प्रवेश पायो । हजुरआमाबाट सुरु भएको हल्लाले अस्पतालमा रातको इमरजेन्सी ड्युटीबाट फर्केर भर्खर सुतेकी आस्माको निद्रा खुल्यो । ऊ पनि चिच्याउँदै हल्लामा सहभागी हुन आइपुगी ।

आस्मा यो घरकी नातिनी हो, जो भर्खर नर्सिङ्को पढाइ सकेर इन्टर्नसीपमा छे । हरेक बिहान हुने खैलाबैलाले उसको निद्रा बिगार्छ । बिछ्यौनाबाट आँखा मिच्दै आउँछे, झर्किन्छे, चेतावनी दिन्छे र फेरि सुत्न जान्छे । हजुरआमा झिनो आवाजमा अझै कराउँदै छिन्, “भोलिपल्ट पूजालाई चाहिने प्रसाद मैले अघिल्लै दिन जोहो गरेर राखेकी हुन्छु । हिजो पनि एउटा केराको कोसो राखेकी थिएँ, आज छैन । कसले चलाउँछ यो घरमा मेरो सामान ?

त्यहीबेला तौलियाले कपाल पुछ्दै नातिनी बुहारी आइपुगी, “एऽऽ त्यो हजुरले पो राख्नुभएको, मैले त काम गर्ने दिदीको छोरोलाई दिएँ । बिचरा एकोहोरो आमासँग टाँसिएर भोक लाग्यो भन्दै रून थाल्यो, हिजोदेखि केही खाएकै रहेनछ, केरा पाएपछि मीठो मानेर खायो र खेल्न गयो ।” बुहारीले एकै सासमा आफ्नो कुरो सकी । हजुरआमाको क्रोधले सगरमाथा छोयो, “म बूढीले राखेको नौवेद्य पनि छोडिनौ है, धन्न तिमी र माइतीले तिमीलाई दिएको संस्कार ।”

निजी विद्यालयबाट आधुनिक शिक्षा लिएकी नातिनी बुहारीले हजुरआमाको यो कठोर शब्द सहन सकिनन् । उसले शिष्ट शैलीमा चेतावनी दिई, “मेरो माइतीलाई केही नभन्नु है, ममीबाबाले निर्जीव ढुङ्गो र फोटोलाई होइन गरिब, बिरामी र असहाय वृद्धवृद्धालाई माया गर्नु भनेर सिकाउनुभएको छ मलाई । त्यो केरा हजुरले देउतालाई राखेको भनेर मैले कसरी बुझ्नु ? बालकले रोएको हेर्न सकिनँ, दिएँ । बुहारीले राम्रो गरिछ भनेर हजुर त मसित खुसी पो हुनुपर्छ ।”

“बाबु नभएको एउटा टुहुरो बालकले पेट भ-यो त के बिग्रियो ? भगवान् भनेको यिनै हुन् हजुरआमा ! घरको भोको बालकलाई रुवाएर पत्थर र फोटोको अगिल्तिर केरा राख्दैमा धर्म हुँदैन । यही चिनी चढाए पनि हुन्छ, भगवानलाई,” भन्दै नातिनी बुहारीले बूढीको हातमा चिनीको कचौरा थमाएर टिसर्टको फेर मिलाउँदै कोठातिर लागी । नातिनी बुहारीको व्यवहार बूढीलाई बिझेछ, “तेरी बुहारीले मलाई घरबाट निस्किएर जा भनी” भन्दै छोराको कोठातिर लम्किइन् ।

अघिदेखि सासू र बुहारीबीच चलेको जुहारी सुन्दै चिया पकाइरहेकी बीच पुस्ताकी महिलालाई सासू र बुहारी दुवैको भूमिका निभाउनुपर्ने बाध्यता छ । किनकि उनी बुहारीकी सासू हुन् र सासूकी बुहारी । त्यसैले सासू र बुहारीबीचको विवादमा उनी प्रायः मौन रहन्छिन् । बुहारीले भन्दै नभनेको कुरोलाई बङ्ग्याएर आफ्नो श्रीमानलाई कुरो लगाउन हिँडेकी सासूलाई उनले बीचैमा रोकिन् र मध्यमार्गी भूमिका निभाइन्, “हजुर ८५ वर्षसम्म स्वस्थ हुनुहुन्छ, तर हजुरको छोरा ६५ वर्षमै बूढो भइसक्नुभयो । रातभर सुत्न नसकेर भर्खर निदाउनुभएको छ । दुनियाँभरको रोग छ, औषधीकै भरमा जीवन चलेको छ । अब यो बुढेशकालमा नौवेद्य चढाउने सामान्य कुरोलाई लिएर रोगी मान्छेलाई कति दुःख दिनुहुन्छ आमा ! हजुरको त आफ्नै छोरो, जे भने पनि भयो, तर त्यो भर्खर भित्रिएकी बुहारीको त ससुरा हो नि उहाँ ! हजुरको कुरो सुनेर वहाँले के जवाफ दिने ? ”

हजुरआमाको असन्तुष्टि यथावत रह्यो, “श्रीराम…जय राम, भगवानलाई प्रसाद चढाउने कुरो पनि सामान्य हुन थाल्यो अब यो घरमा । त्यसै रोगी भएको होइन मेरो छोरो, उसलाई बिरामी बनाउने तिमीहरूको नास्तिक व्यहोरा हो ।” भन्दै उनी चिच्याउन थालिन् । उनको आवाजले घर फेरि तात्ने खतरा बन्यो । सासूलाई एक्लो पारेर उनी सम्झाउन थालिन् । आस्मासमेत थपिएर आमा र भाउजूको पक्ष लिएपछि बूढीलाई आफू एक्लिएको आभास भएछ क्यारे, रामनाम जप्दै पूजाकोठातिर लागिन् ।

यो हरेक परिवारको प्रतिनिधि घटना हो । यहाँ धेरै परिवार यस्ता छन्, जहाँ तेस्रो पुस्तासमेत परिपक्व भएर घरव्यवहार र सामाजिक उठबसमा आफूलाई अभ्यस्त बनाइसकेको छ । कतिपय परिवारमा चौथो पुस्तासमेत कुरो बुझ्ने भइसकेको छ । तर सबैभन्दा पुरानो पुस्ता अन्धविश्वास र पुरातन संस्कार लिएर आफ्नो अडानमा डटेको देखिन्छ । राजधानीको सभ्य समाजमा हुर्के पनि त्यो पुस्तालाई अहिले विकटमा जन्मिएको बालकले सजिलै पछार्न सक्छ । आधुनिक यातायात र सञ्चार सुविधा नभएको युगमा हुर्केको पुरानो पुस्ताको सीप र अनुभवलाई नयाँ पुस्ताले दुई कौडीको गन्दैन ।

हिजो जतासुकै पैदल हिँडेर व्यवहारका सारा काम भ्याएको पुरानो पुस्तासँग राम्रा पक्ष हुँदै नभएको होइन, जुन नयाँ पुस्ताले सिक्न जरुरी छ । सत्यता र सदाचारलाई जीवनपद्धती बनाएको त्यो पुस्ता मिसावटरहित खानपान गरेका कारण स्वस्थ छ । ज्यानै जाने अवस्था नआई औषधीको नाम नसुनेको त्यो पुस्ता नब्बे वर्ष पार गरिसक्दा पनि हट्टाकट्टा देखिन्छ । त्यो पुस्ताबाट आजको समाजले सिक्नुपर्ने भनेको आत्मनिर्भरताको पाठ हो । सत्यतालाई अँगाली सदाचारमा रहने हो र आफूलाई चाहिने अन्न, सागपात, फलफूल, दूध, घ्यू, मासु आफैले उत्पादन गर्ने हो भने नयाँ पुस्ताले पुरानो पुस्ताभन्दा धेरै आयु बाँच्न सक्नेमा शङ्का छैन ।

एकै परिवारमा तीन/चार पुस्तासम्म अटाउनु चिकित्सा विज्ञानको उपलब्धि हो । हरेक उपलब्धिले नकारात्मक पक्ष पनि साथै लिएर आएको हुन्छ । अठार/बीस वर्षका किशोरदेखि सय वर्षसम्मका वृद्धवृद्धा एकै परिवारमा रहँदा उठ्ने विचारको द्वन्द्वले बेलाबखत परिवार अशान्त बन्छ । यस्तै समस्या आउन नदिनका लागि होला, कतिपय विकसित मुलुकले वृद्धवृद्धालाई परिवारभन्दा अलग्गै बस्ने व्यवस्था मिलाएको पनि देखिन्छ ।

यो वैज्ञानिक युग हो । युग मात्र वैज्ञानिक भएर पुग्दैन, बहुआयामिक प्रगति गर्नु छ भने शारिरीक तथा मानसिक रूपमा मानिस चुस्त हुन जरुरी छ । आज नयाँ पुस्ता गर्भदेखि नै अनेकौं सुइ र भ्याक्सिन लगाएर हुर्कंदैछ । जति धेरै भ्याक्सिन उति नै अस्वस्थता । अस्वस्थ शरीरमा स्वस्थ विचार जन्मन गाह्रो हुन्छ । त्यसैले अहिले अधिकांशको विचार दूषित छ । तर नयाँ पुस्ताका केही राम्रा पक्ष पनि छन् । किनकि यो पुस्ता अन्धविश्वासी छैन, पत्थर, मूर्ति र फोटोभित्र भगवान खोजेर समय बरवाद गर्न चाहँदैन । मन्दिरभित्रको ईश्वरमा भन्दा मानवको मनभित्र रहेको ईश्वरलाई मान्छ । मानवीय संवेदनामा ईश्वर भेट्छ, मानव सेवालाई धर्म ठान्छ ।

ईशाको तेस्रो शताब्दीअघि पूर्वीय दर्शनका महान दार्शनिक चाणक्यले अध्यात्मलाई नयाँ स्वरुपमा, “प्रतिमा स्वल्प बुद्धीनां सर्वत्र समदर्शिनः” भनी व्याख्या गरे । त्यो बुद्धको युग थियो, बुद्धको अनिश्वरवादी सिद्धान्तबाट समाज आन्दोलित थियो । “अल्पबुद्धिले मूर्तिमा ईश्वर देख्छ, तर समदर्शिले जहाँतहाँ ईश्वर देख्न सक्छ ।” उनको यो दर्शनलाई उनीपछिका धेरै पुस्ताले बुझ्न सकेनन्, तर आजको पुस्ताले उनको आशय बुझ्दै गएको आभास हुन्छ ।

अहिले सबैभन्दा मारमा यदि कोही छ भने बीचको पुस्ता छ । पहिलो पुस्ताले केही बुझेकै छैन तर उसलाई मैले जति कसैले बुझेको छैन भन्ने घमन्ड छ । सामान्य सनातन शिक्षामा पर्ने अध्यात्म, दर्शन, भूगोल, खगोल, ज्योतिषसमेत नबुझेको त्यो पुस्ताले न मोवाइलको उपयोगिता बुझेको छ, न इन्टरनेट नै । यद्यपि यो पुस्ता आपूmलाई अनुभवी भएको दावी गर्छ, जुन अनुभवको अहिले कुनै महत्व छैन ।

नयाँ पुस्ताले केही बुझेझैँ देखिन्छ, तर बुझेको केही छैन । यो पुस्ताले बुझेको छ त केवल इन्टरनेट । इन्टरनेटको उपयोग गरेर हरेक समस्याको समाधान बताउन सक्छ, तर यो बुझाइलाई बुझेको ठान्नु मूर्खता हो । यो पुस्तालाई दुईमा दुई जोड्दा मेसिन अनिवार्य भइसकेको छ । प्रविधिमाथि पूरै निर्भर रहेको यो पुस्ताले मस्तिष्कमा केही राख्न जरुरी ठान्दैन । इन्टरनेटमा सबै समाधान पाइने हुँदा आफ्नै घर र बाबुआमाको फोन नम्बर याद गर्ने झन्झटबाट समेत यो पुस्ता मुक्त छ ।

बीचको पुस्ता यी दुई पुस्ताको मध्यमा पेलिएको छ । यो पुस्ता आधुनिक प्रविधिसँग पनि नजिक छ । बाँच्ने क्रममा रोजगारीसँग भिड्नुपर्ने अवस्था आयो, नयाँ प्रविधिसँग जोडिन नसके जीवन नै अस्थिर हुने खतरा आएपछि समयलाई पछ्याउन उसले ठूलो मिहिनेत गरेर प्रविधि सिक्यो र प्रविधिसँग नजिकियो । ऊ पुरानो पुस्ताझैँ मूर्तिमा ईश्वर खोज्दै हिँड्दैन र नयाँ पुस्ताजस्तो मूर्ति पूजाबाट पूरै विमुख पनि छैन । मानव कर्म र मानव संवेदनाको महत्वलाई राम्रोसँग बुझेको हुँदा यो पुस्ता माथिल्लो पुस्ता र तल्लो पुस्ताबीच सेतु बनेर उभिएको छ र पेन्डुलमझैँ दुवैतिर ठोक्किन बाध्य छ । सन्त कविरले, “दोपाटनके बीचमे साबुत बचा न कोय” भनेझैँ यो पुस्ता दुई पुस्ताको बीचमा चेपिएर सावुत नै हराउने स्थितिमा छ । अब पुरानो पुस्ता र नयाँ पुस्ताबीच देखिने सोचको अन्तरबारे चर्चा गरौँ ।

    प्रसङ्ग उनै हजुरआमाको । यी हजुरआमा जत्तिको धार्मिक मानिस सायदै भेटिएला । हरेक बिहान स्नान नगरी कुनै काम नगर्ने उनी सोमबारे औंसीको कठोर व्रती हुन् । सोमबारको दिन औंसी तिथि परेमा प्रातःस्नान नगरी उनी कसैसित बोल्दिनन् । सबै जना घरकै धारोमा नुहाउँछन्, बूढीलाई शुद्ध बनाउने सामर्थ्य घरको धारोमा छैन । दश मिनेट टाढाको ढुङ्गेधारोमा पुगेर स्नान नगरी उनको शुद्धीकरण हुँदैन । हरेक बिहान झिसमिसेमा दुई/चार थान फेर्ने कपडा र तौलिया काँधमा राखेर औंलाले दाँत मोल्दै उनी ढुङ्गेधारो पुग्छिन् । मुखमा बाँकी रहेका चार थान दाँतलाई सफा राख्ने जिम्मा उनकै प्रिय लाल दन्तमन्जनले लिएको छ ।

कार्तिक महिनाभर आकासे दीप बाल्नु र एकछाक खानु उनको धार्मिक नियम हो । कार्तिकभर कहिले यो व्यवस्था मिलाइदिनु, कहिले त्यो सामान ल्याइदिनु भनेरै उनको दिन बित्छ । आजभन्दा करिब पन्ध्र वर्षअघिको कुरो हो, दसैं र तिहार दुवै चाड कार्तिकमा थियो । यसै त प्रिय कार्तिक, त्यसमाथि दसैं र तिहारसमेत थपिँदा उनमा हर्षको सीमा थिएन । नातागोता, कुटुम्ब सामान बोक्दै टिका थाप्न आउने कुरो सम्झेर उनी दङ्ग थिइन् ।

तिहारको औसी, लक्ष्मीपूजाको दिन । संयोगले त्यो साल औसी र सोमबार एकै दिन परेछ । त्यस दिन उनी सोमबारे औंसीको मौनव्रतमा थिइन् । झिसमिसेमा उठेर लाल दन्तमन्जन मुखमा राखी औंलाले दाँत मोल्दै उनी ढुङ्गेधारोतिर लागिन् । नयाँ युगलाई पटक्कै नबुझेकी बूढीलाई कस्को डर ? जुन हुलियामा उठेको हो त्यही हुलियामा पेटीकोटलाई कुमसम्म पु-याएर बाँधेकी उनलाई समयको हेक्का रहेन ।

कुनै युवक तिहारमा तास खेलेर घर फर्कंदै थियो । सडक बत्तीको मुन्तिर पुगेपछि मौनव्रतमा रहेकी बूढीले इशारा गर्दै केटोसित समय सोधिन् । केटोले पुलुक्क एक नजर हजुरआमातिर लगायो र आँखा बटा-यो । छिरलिएको सेतै कपाल, कालो वर्णको शरीर, काँधभरि थोत्रा लुगाफाटा, पेटीकोटलाई कुमसम्म लगेर बाँधेको, लाल दन्तमन्जनले रगतझैँ रातो भएको मुख बाएर आधारातमा आफ्नो अघिल्तिर ठिङ्ग उभिएको आकृति देख्दा जस्तै मै हुँ भन्नेको पनि सातो जान्छ । त्यसमाथि मुखबाट आधा दाँत गायब भएको थोते बूढीले आफूलाई कोट्याउँदा कस्तो होला ! केटो आमै र बाबै भन्दै हवाइजहाजको गतिमा बतासियो । केटो भागेपछि बूढीको मनमा, ‘यो केटो मलाई देखेर किन भाग्यो ?’ भन्ने शङ्का जागेछ । घर फर्किएर घडी हेर्दा रातको एक बज्न लागेको । अब सातो जाने पालो बूढीको थियो ।

केही दिनअघि यिनै हजुरआमाकी बहिनी पशुपतिमा सतबीज छर्न पहाडबाट काठमाडौँ आइन् । लामो समयमा दिदीबहिनीको भेट भएकोले काम सकेर केही दिन दिदीसँगै बिताउने सोचमा उनी यतै बसिन् । बूढीलाई काठमाडौँको चिसोले समातेछ, बिहानैदेखि पेटमा गडबडी सुरु भयो । बाहिरै सुन्न सकिने गरी उनको पेट गुर्र…गुर्र गर्न थाल्यो । छेउमा उभिएकी नातिनी बुहारीले पेट कराएको आवाज स्पष्ट सुनिन् । ग्यासको सिकायत हुनसक्ने आशङ्कामा तातो पानी खुवाउने, पानीको थैलोले पेट सेक्ने आदि घरायसी उपचार भयो, तर पेटको आवाज बीसबाट उन्नाइसमा झरेन । दुखेको, पोलेको, फुलेको केही हैन, एकोहोरो पेट कराएको छ…छ ।

करिब दुई घन्टाको रस्साकस्सीमा पनि कम नभएपछि आश्चर्य मानेर बूढीको पटुका खोल्ने काम भयो । हेर्दा त पटुकाभित्रबाट पुरानो ब्राण्डको नोकिया मोबाइल पो फुत्त झर्छ । ए आम्मै ! यो देखेर सबै मुखामुख गर्न थाले । बुझ्दा थाहा भयो, बूढीलाई लिन अस्ति उनकी छोरी आएकी रहिछन् । पहाडमा आमालाई सम्पर्क गर्ने साधन नभएको पीडा छोरीलाई खट्केको रहेछ । उनले आफ्नो पुरानो मोवाइल फोन आमाको पटुकीभित्र राखेर पठाइछन् । बिचराले सबै विधि सिकाइवरी फोन कराएपछि उठाउनु है भनी पठाएकी थिइन्, तर मोबाइल परेछ भाइब्रेसनमा । उता पटुकीको बन्धनभित्र फोन एकोहोरो हनुमान चढेझैँ थर्थराउने, यता सबै चिन्तित । छोरी बिहानैदेखि छिनछिनमा आमालाई फोन गर्ने रहिछन्, यता बूढीको पटुकीभित्र रहेको मोबाइलले भुँडी थर्काउने रहेछ । बिहानको महत्वपूर्ण चार घन्टाको समय यस्तैमा बित्यो । झण्डै डाक्टरको क्लिनिकतिर नकुदेको हुँदा इज्जत बच्यो ।

नभन्दै एक दिन बूढी साँच्चै बिरामी परिन् । अरूची, पेट दुख्ने, छाती पोल्ने समस्या आएपछि छोरीलाई खबर गरेर अस्पताल पु-याइयो । डाक्टरले तत्कालका लागि सामान्य औषधी दिई दुई दिनपछि एक्स–रेको रिपोर्टसहित आउनु भनी पठाए । एक्स–रेको समय लिएर घर आइयो । बूढीको हेरचाहमा छोरी खटिएपछि अरुलाई हल्का भयो । मान्छेलाई आफूले नबुझेको विषयमा पनि जान्ने भएको देखाउने भूत सवार हुने रहेछ । यसले जानेको छैन, केही बुझेको छैन भनेर कसैले नहोच्याउन् भन्नेमा मान्छे सचेत हुने रहेछ । त्यसदिन बूढीको व्यवहारमा यही देखियो । बूढी खान नमान्ने छोरी खुवाउने । बूढीलाई खुवाउन छोरीले कसरत गर्दै थिइन् । यस्तैमा उनले नयाँ जुक्ति निकालिन्, “आज त अलिकति नखाई हुँदैन आमा, भोलि बिहान एक्स-रे गर्नुछ, खाली पेट भयो भने त एक्स-रेले यताबाट उता…उताबाट यता हल्लाएर मर्नु न बाँच्नु बनाइदिन्छ । अरू दिन भए त म खानु भन्ने नै थिइनँ नि !”

यहाँनिर बूढी जान्ने भइन्, “भो भो तैंले सिकाइरहन पर्दैन, एक्स-रे मिसिनले हल्लाउँछ भन्ने मलाई पनि थाहा छ, तर रूची नै नभएपछि कसरी खानु ?” बूढीलाई एक्स–रेले हल्लाउने डरले छोपेछ क्यारे फेरि भनिन्, “हुन त हो, भोलि एक्स-रेले हल्लाउँछ फेरि, दे नानी अलिकति मात्रै खान्छु ।” यो सम्वाद सुनेर हामी कुनातिर फर्केर हास्यौं । भोलिपल्ट एक्स-रे सकेर निस्केपछि बूढीलाई घर ल्याउन मुस्किल प-यो । उनी भन्न थालिन्, “यो मान्छेले एक्स-रे गर्न जानेकै छैन । एकैछिन सुतायो र ल भयो जानोस् भन्यो ।’ हिजो खाना खुवाउन निकालेको जुक्ति छोरीलाई पासो बन्यो । एक्स–रेले नहल्लाएकोले आधुनिक चिकित्सा विज्ञानप्रति बूढीको विश्वास हटेको उनको व्यवहारले देखाउँथ्यो ।

मानिसले जे जति बुझेको छ, जुन स्थितिमा बाँचेको छ, त्योभन्दा फरक स्थिति आयो भने उसले भेउ पाउन सक्दैन । साक्षर व्यक्तिले नयाँ शब्द सुन्यो भने उसले पढेर त्यसको अर्थ र सही उच्चारण विधि थाहा पाउँछ, तर गैरसाक्षरले नयाँ शब्द सुनेमा पहिल्यैदेखि सुनी आएको शब्दमा नै लगेर जोडिदिन्छ । आफूले सुन्दै आएभन्दा फरक पनि कुनै शब्द हुन्छ भनेर उसले अनुमान लगाउन सक्दैन । यसले समस्या निम्त्याइदिन्छ । यस्तो स्थितिमा शब्दको उच्चारण र त्यसको भाव मेल खाँदैन र सबै गडबड हुन पुग्छ । अर्थात् दिमागमा के कुरो घुमिरहेको छ त्यतैतिर उसको धारणा सोझिन्छ ।

हजुरआमाका दिदीबहिनी कुरा गर्दै थिए । गफलाई आस्माले ध्यानपूर्वक सुनिरहेकी थिई । हजुरआमाले बहिनीसामु नातिनीको फुर्ती लगाइन्, “यो आस्माको पढाइ राम्रो छ, अब बिहे गर्न केटो खोज्नु छ । स्कुलको सिप पढेर सानै उमेरमा नर्सनी भई । पोहोर गोलभेडा ल्याएर पास गरेकी थिई, अहिले पनि गोलभेडा नै ल्याई ।” बहिनी अलमलमा परिन्, र पनि जानेझैं सोधिन्, “गोलभेडा ल्याएको पनि राम्रो हुने है दिदी ?” राजधानीमा बसेर जान्नेसुन्ने भएकी हजुरआमाले थपिन्, “हो नि पढाइमा गोलभेडा ल्याको त कति राम्रो कति ।”

हजुरआमाले आफ्नो बखान गरेको सुनेर नातिनीलाई खपिसक्नु भएन, ऊ बीचैमा कराई “स्कुलको सिप होइन क्या, स्कलरसिप भन्नु न ! अनि के गोल्ड मेडललाई पनि गोलभेडा भन्नुभएको ? जानी नजानी किन अंग्रेजी बोल्नुपर्ने होला यो बूढीमाउलाई, बरु छात्रवृत्ति नै भन्नु नि !” हजुरआमाले सिसाभित्रको मेडल देखाउँदै भनिन्, “खै के हो सबैले छिटोछिटो भन्दा गोलभेडा नै भनेको सुन्छु । त्यो सिसाभित्र झुन्ड्याएर राखेको चिज क्या !”

आजभन्दा तीस वर्षअघि पनि यी कान्छी हजुरआमा काठमाडौँ आएकी थिइन् । केही दिनको काठमाडौँ बसाइमा उनी धेरै आफन्तको घरमा पुगिन् र गाउँ फर्कनुअघि दिदीलाई भेट्न आइन् । खाने समयमा उनैले जिज्ञासा राखिन्, “दिदी, आजकाल यतातिर सबैले कोपराँ खाना बनाउने रहेछन् है ! कान्छो भाइको घरमा गएँ, कोपराँ पकाए, मामाकी छोरीको घरमा पनि कोपराँ बनाउने रहेछ । तपाईंको यहाँ खाना पकाउने कोपरा छैन ? मलाई त कोपराँ पकाको मिठो लाग्छ, नरम हुने रहेछ ।” सुनेर छक्क परियो । कस्तो कोपरा रहेछ भन्ने चासो बढ्यो सबैको मनमा । पछि उनले विस्तारमा बताउँदा पो हाँसो खुस्कियो ।

त्यसताका गाउँघरतिर दाउरामा खाना बन्थ्यो । ग्यास आएको थिएन, काठमाडौँमा मट्टितेलले खाना बन्थ्यो । प्रेसर कुकरमा खाना पकाउने चलन त्यही बेलादेखि चलेको हो । भारतको नाकाबन्दीमा पर्याप्त मट्टितेल पाउन छोडेपछि इन्धन बचाउन सबैले प्रेसर कुकरमा खाना बनाउन थाले । प्रेसर कुकरलाई अधिकांशले कुकर मात्र भन्थे । छिटोछरितो उच्चारण गर्दा ‘कुकराँ पकाको’ भन्थे । यही सुनेकी बुढीले नयाँ शब्दतिर ध्यान नदिएर आफूले सानैदेखि सुन्दै आएको ‘कोपरा’ होला भनी धारणा बनाइन् र कुकरलाई ‘कोपरा’ भन्न थालिन् ।

‘रेल पुग्यो बम्बै, जता हे-यो सम्मै ।’ वास्तविकता नबुझ्नेलाई जतासुकै सम्मै हुने रहेछ । चाणक्यले अध्यात्मको प्रसङ्गमा “प्रतिमा स्वल्प बुद्धीनां सर्वत्र समदर्शिनः” भनेका थिए, संसारको प्रसङ्गमा होइन । संसारको प्रसङ्ग योभन्दा ठीक उल्टो छ । सांसारिक स्थितिमा जसले अध्ययन गरेको छ, वास्तविकतालाई बुझेको छ, उसको दृष्टि निश्चित केन्द्रमा अडिग हुन्छ । यस्तो व्यक्तिमा समदृष्टि हुन सक्दैन । तर अनपढ व्यक्तिले सबैलाई समान देख्छ । भनाइको तात्पर्य हाकिम र पियनबीच अन्तर बुझ्नेले दूरी राखेर त्यही किसिमको व्यवहार गर्छ, तर यो अन्तर बुझ्न नसक्नेले हाकिम र पियन दुवैलाई बराबर ठान्छ । यस्तोमा कुरो नबुझ्ने उल्टै समदर्शी देखिन्छ । तर अध्यात्मले ज्ञानीलाई समदर्शी ठान्छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.