24 Online News
१० मंसिर २०७७ ०८:४५

अनायोजित

अनिता पन्थी


अरुणोदयसँगै स्फुरित मनका अनेकानेक भीडहरूः यो गरौं कि त्यो गरौं, यता जाऊँ कि त्यता जाऊँ, यसो गर्दा अनुकूल होला कि उसो गर्दा, कुन मार्गले जीवनको सही मूल्यबोध गराउला … इत्यादि । यस्तो द्विविधायुक्त मनस्थितिले उत्पादन गरेको घुइँचो, हेर न जुन पथावरोधको निम्ति कुन रीतले सक्रिय भएको । त्यो, ट्राफिक लाइटको मर्यादासम्म राख्न जान्दैन । जेब्राक्रसिङ्मा कैयन् पाउहरू चलायमान छन् । दृष्टि दिँदैछु ऊ: त्यो एक जोडा के सम्झिएर हो कुन्नि बीच मार्गबाटै प्रत्यागमन भयो । हुनसक्छ भ्राम्य चेतनाले त्यसो गराएको थियो । कति पाउहरू अन्योलमा थिए, कुन दिशालाई अवलम्बन गरूँ ? अभर परिने पो हो कि ? त्यसै क्षण आफूलाई पर्गेल्दै रहेँ मेरा पनि विचरा ! अन्योलमै रहेछन् । परन्तु अघि बढिरहेँ, जसो होला । अब फर्किएर मार्ग बदल्ने समय थोरै पनि छैन, यस चिन्ताले गति बढाउन आग्रह गर्दा पक्डिएको अनिश्चित मार्गमा, थाहा छैन कहाँ पुगेर पूर्णविराम लाग्ने छ । गूगल खोज्दै थिएँ, अधिक दूरतामा थियो त्यो गन्तव्यको रातो विन्दु । हो, त्यसै दिन मेरो मार्ग समाप्त होला, जुन दिन लोकेसनको निलो थोप्लो रातो थोप्लोमा गएर प्रतिस्थापित हुनेछ । लामो गन्तव्यभित्रका अनेकन उपगन्तव्यहरू जुन हामीले नचाहेरै पनि हिंड्नु छ, कारण त्यही भोग्नको लागि हामी जन्मिएका छौँ । परन्तु हामीलाई त्यो ज्ञात हुँदैन । अदृश्य तर पूर्व नियोजित कार्य कारणका श्रृङ्खलाहरू जब घटित हुँदै जान्छन् अनि बाध्य भएर भन्ने छौँ मेरो नसिबमा यस्तै लेखिएको रहेछ ।

ग्राम्य जीवन नागर परिवेशसँग एकाकार हुन समर्थ भइसकेको थिएन । बिदाको दिन, आज धेरै ठाउँमा पुग्नु छ । पशुपतिनाथको दर्शन गर्नु, प्रिय उन्नतिलाई भेट्नु … । हाम्रो परिचयको प्रथम दिन आज बार–बार स्मरण भई रहेको छ । जीवनटारमा अवस्थित उनकी शारदा दिदीको आवास नजिकै छ मेरो निवास । बाबुका दिदी बहिनीलाई उन्नति कहिल्यै फुपू भन्न रुचाउँदिनन् । फुपू भन्ने शब्द उनलाई धेरै टाढाको सम्बन्ध जस्तो लाग्छ रे । शारदा उनै फुपू हुन् जसलाई उनी कान्छीदिदी भन्ने गर्छिन् । शारदाको छोरो आर्जन मेरो अन्तरङ्ग साथी, समवयी । एउटै कलेजको विद्यार्थी पनि । हामी प्रायः ग्रुप स्टडीमा समाहित हुन्छौं । हार्दिक र मैत्री भावले जोडिएको आर्जनको र मेरो सम्बन्ध । त्यस दिनको पूर्व सन्ध्यामा आर्जन अध्ययनको निम्ति मकहाँ आइरहेको छ ।

बेलुकीको भोजन पश्चात् आर्जनको र मेरो सानो संसार अर्कै लोकमा अवतरित हुनेगर्छ । म गणितीय सूत्रहरू एकपछि अर्को गरी मस्तिष्कीय भण्डारबाट उघाउँदै थिएँ । आर्जनको मोबाइल बजिरहेको छ । यद्यपि रिसिभ भएन । ऊ बाथरुम गएको थियो । मैले त्यसप्रति कुनै चासो राखिनँ । रिङ्टोनको आवृत्ति भइरह्यो, अझै पनि आर्जन आइपुगेन । हो, त्यसै दिन मैले उन्नतिको नाम पहिलो पल्ट सुनेँ । शायद कुनै महत्त्वपूर्ण सन्देश विनिमय गर्न आएको कल हुनुपर्छ, निश्चय । सामान्य हाई ह्यालोको निम्ति आएको फोन त्यो थिएन । किनकि फोनको पुनरावृत्तिले त्यही अर्थ सम्प्रेष गथ्र्यो । सूचना प्रवाहमा कुनै विलम्ब नहोस् भन्ठानेर फोन उठाएँ, “ हलो … ।”

मेरो आवाजले पक्कै पनि उता केही सन्देह उब्जायो होला । बन्धित स्वरमा कुनै यौवनाले भनिन्, “यो नम्बर आर्जनको होइन ?”

“निश्चिन्त रहनोस्, आर्जनको फोनमा अरू कोही बालिरहेछ … ” मैले भनेँ ।

“ऊ अहिले कहाँ छ ? किन उसले फोन उठाएन ? यस मोबाइलसँग तपाईँको सम्बन्ध चाहिँ … ?” युवतीका यस्ता प्रश्नसँग मलाई कुनै असहज अनुभूति आवश्यक थिएन । वास्तविकतामा कुनै नाटकीय तत्वको जरूरत नपर्ने रहेछ । संशय भाव जाग्नु नै थिएन । भनेँ, “आर्जनको अभिन्न मित्र हुँ, म । ऊ बाथरुम गएको हँुदा फोन उठाएँ, जसको निम्ति क्षमा चाहन्छु ।”

उनको कोमल वाणी कति मधुर र स्निग्ध, कर्णप्रिय स्वरमा भनिन्, “त्यसमा केही आपत्ति छैन, अन्यथा नठान्नु । फोन जसलाई गरेको थिएँ, त्यसमा उसको ध्वनि नपाउँदा मैले स्पष्टीकरण मागे जस्तै भएछ । क्षमा माग्नुको अपरिहार्यता नै कहाँ ? यहाँ कसैको भूलत्रुटि छैन ।”

अपरिचित हुँदाहुँदै पनि मन भइरहेछ उनीसँग केही संवाद गरूँ । मानौँ, हामी पूर्व परिचित हाँै । म उनको नामप्रति अञ्जान थिइनँ । फोनको रिङ्टोनसँगै उनको आंशिक परिचय बोध हुँदै थियो । तथापि मैले उनीसँगको संवादलाई विलम्बित गराउन अबोधि भएर सोधेँ, “यति मीठो स्वर म कसको सुन्दैछु … ?”

सोचेको थिइनँ निष्कपट भावमा सहजै उत्तरित हुनेछु । निर्दोष बालक भएर भनिन्, “जस्तो सुन्दै हुनुहुन्छ त्यो उन्नतिको आवाज हो” उनले संक्षिप्त परिचय दिइन्, “म तपाईँको अन्तरङ्ग साथी आर्जनकी बहिनी हुँ । अर्थात मामाकी छोरी । ”

उन्नतिको एकै वाणीमा म अधिक प्रभावित भएँ । त्यस परिचयमा कुनै कृत्रिमता थिएन । मोबाइलमा जुन नाम सेभ गरिएको थियो, हो उनले त्यही नाम उल्लेख गरिन् । त्यस दिन हाम्रो संवाद त्यतिमै सीमित भयो । इच्छा थियो अरू थप कुरा गरौं । यस अघि आर्जनसँग म कहिल्यै यसरी क्रुद्ध भएको थिइनँ, जसरी यस घडी भइरहेको छु । भित्रभित्रै क्षुब्ध भएँ । तथापि मेरो क्षोभ अप्रकट थियो, उसले बोध गर्न सकेन । उन्नति र मेरो संवाद उसको प्रवेशसँगै विच्छेदित भयो ।

मेरो अन्तस्करणमा बाँचिरहेको त्यो अभीप्सा थाहा छैन पूर्ण हुन्छ या हुँदैन । त्यस दिन पनि संयोगकै खेल थियो, उन्नतिसँगको वार्तालाप । उसो त वार्तालाप पनि के भनौँ ? कति नै कुरा गर्न र ? सामान्य बोली मिसिनुदेखि अरू … । म त्यस्तै संयोगको प्रतीक्षामा बस्न थालेँ, तैपनि उन्नतिसँग फोनमा कुरा हुन सक्छ कि … । ज्ञात भनौँ या अज्ञात मेरा वाञ्छालाई आर्जन समक्ष देखाउनु छैन । बस, मनमनै कामना गरिरहेँ एक वचनमै मोहनी मन्त्र भेदेर जानेलाई ।

उन्नतिको चपलता मलाई मन परिरहेको थियो । अदृश्य वाणीमा उनीप्रति म यति आकृष्ट हुँदैछु भने स्वयंलाई प्रत्यक्ष देख्दा मेरोे कुन गति होला ? कुनै यौवनाको निम्ति म यति दुर्बल भइहाल्ने युवक त होइन । उसो भए के भइरहेछ त ? किन यसरी अञ्जान अभिलाषा पालिरहेको छु ? सामान्य एक युवतीको आवाजमा क्लान्त हुनु के मेरो परिचय यही हो ? … कतिको मनासिब होला, … ?

आर्जनको घरमा के कति कारणले हो कुन्नि त्यस दिन बिजुली बत्ती आएको थिएन । त्यसैले यता मोबाइल चार्जमा राखेर ऊ कतै गएको छ । हो, त्यही समयमा फेरि उन्नतिको फोन आएको थियो । फोनको घन्टीसँगै मलाई आत्मीयताको आभास भइरहेको थियो, निशंकोच फोन उठाएँ । आज उनलाई मेरो आवाज अवश्य पनि अपरिचित लागेन । आर्जन र मबीचको वाणी खुट्याउन सकेकी उनले अलिकति रसिकता, धेरै जिज्ञासा र बाँकी स्वाभाविकताले भरिएर भनिन्, “आर्जनको फोन उठाउने ठेक्का तपाईँले नै लिनुभएको छ कि क्या हो ?”

“त्यसरी नै भनिहाल्न त अलिक नमिल्ला कि … ” मैले भनेँ । अस्ति उन्नतिले मेरो परिचय लिन भ्याएकी नै होइनन् । त्यसो त उनी मेरो नाम जान्न इन्छुक छिन् या औपचारिकता पूरा गर्नु आफ्नो धर्म ठानिन् । सोधेकी छन्, “हजुरको शुभ नाम ?”

उनले मलाई आफ्नो वास्तविक परिचय दिएर गहिरो प्रभाव पारिसकिन् भने म किन आफ्नो परिचय छलेर उल्टो भ्रम फिंजाऊँ । म त उनीसँग निकट हुन चाहिरहेको छु, त्यस्तो मान्छेसँग फेरि कसरी झूट बोऊँ ? मेघमुक्त आकाश जस्तै उघ्रिएको स्वरमा भनेँ, “म प्रयास हुँ ।”

“प्रयास !”

“अँ, प्रयास ।”

“यति राम्रो नाम मैलै पहिलो चोटि सुन्दैछु । सरल तर गम्भीर … ।”

“साँच्चि नै राम्रो लाग्यो ?”

“अँ, मन पर्ने … ।”

“ धन्यवाद, मेरो नाम मन पराइदिनु भएकोमा ।” मैले यसो भनिसक्दा उताबाट स्मित हाँसोको मीठो गुञ्जन सुनियो, सँगै वाफिलो झोक्काले स्पर्श गरे जस्तो अनौठो अनभूति पनि । मानौँ म उनकै समीपमा छु ।

आज उन्नतिको स्वर केही खुले जस्तो लाग्छ, उन्मुक्त । आश्वस्त भइन्, निश्चय । हामी दोस्रोपल्ट दूरभाषमा कुरा गरिरहेका थियौँ । मेरो नामलाई महत्त्व दिँदै फेरि भन्न लागिन्, “कस्तो अर्थपूर्ण, गहन … नामकरण गरिएको । कुनै पनि कार्य सिद्धि नहुन्जेल भिडिरहने प्रयासशील व्यक्तिहरू बडो पौरखी हुन्छन् रे ! जीवनमा प्रगति गर्नेहरू तिनै हुन् । आफ्नो सम्बोधित नामलाई अर्थपूर्ण बनाउँदै जानु होला … ।” उनले यसो भनेको बेला मन्द हाँसोको उन्मादिलो राग प्रस्टै आइरहेको थियो ।

आजसम्म मैले आफ्नो नामको अर्थ खोजेकै रहेनछु । धन्य उन्नति ! तिमीले नै यस क्षण आएर प्रयासको अर्थ र महत्त्वलाई बोध गराइदियौ । अज्ञानमै थिएँ, यतिको समय ।

मलाई यस्तो लागिरहेछ, बल्ल चेतनाको बिर्को खुल्दै थियो । मैले पनि उन्नतिको अर्थ खोज्न लागेँ, कम अर्थपूर्ण थिएन उनको नाम । विकास, समृद्धि, प्रगति, परिवर्तन, उद्यम, अभिवृद्धि … यी सबै उन्नतिकै अभिप्राय थिए । प्रकारान्तरले अक्षुण्ण प्रयासको उपलब्धिमा आएको क्रमिकता नै के उन्नति होइन ? अर्थ लगाउँदै जाँदा मैले प्रयास र उन्नतिमा प्रशस्त समता पाएँ । एकार्काका परिपूरक जस्तै । प्रयास नगरी उन्नति के सम्भव छ ? उन्नति प्रयासकै पर्याय … । प्रयास छ र त उन्नति । उन्नतिकै सान्निध्यमा प्रयास । एकको अनुपस्थितिमा अर्कोले कसरी उच्चता भेट्टाउन सक्छ ?

मनमा अनन्त इच्छा जागृत भएर आउँछ कल्पित हिसाब गर्ने । ए, साँच्चि उनले प्रयास र उन्नतिबीचको सामञ्जस्यलाई खुट्याउन सकिन् कि सकिनन् होला ? संयोगले कसरी उही अर्थ र भाव जताउने हामी दुईको अप्रत्याशित भेट गरायो । कसले रचाउँदैछ यस्तो अमञ्चनीय संयोग ? विचारोद्रेक दीर्घ सुस्केरासँगै पूर्वस्थितिमा फर्किएर उलनाई भनेँ, “उन्नति ! तिमीले आफ्नो नामका अनेकन अर्थहरू खोजिनौ ? तत्क्षणमै जो कोहीको नामार्थ विश्लेषण गर्न सक्नेलाई आफ्नो नामको अर्थान्वेषण कसरी असाध्य हुन सक्छ ? थाहा छ तिमीलाई हर क्षेत्रमा उन्नति गर्न कसको जरूरत पर्नेगर्छ ? साधनारत जीवनको फलिभूत श्रेय कसलाई जानेछ ? उही प्रयासलाई होइन ? एक पटक फर्केर हेर त उन्नति र प्रयासबीच सम्बन्धको तादात्म्य ।”

मेरो कुरा उन्नतिले कति बुझिन् या बुझिनन्, मलाई थाहा भएन । त्यसो त मैले अरू कुरा नै के गरेको थिएँ र ? बस, उन्नति र प्रयासलाई एकअर्कामा अथ्र्याएको न थिएँ, शब्द तहमा अर्थको सम्प्रेषण । उनको अनुच्चस्वर मिठासपूर्ण थियो । त्यो मृदु हाँसोसँगै प्रतिजवाफको पर्खाइमा थिएँ, त्यसै बेला आर्जन आइपुग्यो । उन्नतिसँगको दोस्रो संवाद त्यहीँ रोकियो ।

त्यस्तै एक दुई संयोग पश्चात् हामीलाई आर्जनको सान्निध्य र उसको भरोसामा रहनु परेन । उसको यन्त्र हाम्रो लागि निकम्मा भइसकेको थियो । निकटको अनुभूति गराउन हामी आफ्नै दूरभाष र सञ्जालमा जोडिई सकेका थियौँ । यौवनकालको संवेदनशील मन कति तरलित भइदिन्छ ! समय असमय कुनै पनि क्षण हाम्रो निम्ति बाधित थिएन । हाम्रा हर संवाद यसै त्यसै उन्मादित भई ब्यूँझिने गर्थे । आमोदपूर्ण वार्तालापले देहको रोम रोममा विद्युत तरङ्ग प्रवाहित हुन्थ्यो, आग्रह गर्दै थिए खै कुन्नि के के हो । लाग्छ, जतिबेला हामी एक आपस्त चुमिरहेका थियौँ, त्यसै घडी आफ्नो असंयमप्रति सचेत हुँदै जति दूर हुन खोज्थ्यौँ उति नै समीप … ।

उन्नतिसँगको प्रत्येक स्नेहपूर्ण भेट मलाई किन यति बिघ्न नवीन लाग्ने गर्छ ? प्रश्न अनुत्तरित नै छ । कलेजमा मेरा कैयन् साथीहरू थिए । परन्तु तिनीहरूको निकटतामा त्यस्तो कुनै अनुभूति हुन सकेन जस्तो उनीसँग हुनेगर्छ । यौवनले पूर्णता दिँदै थियो, आसक्तिको रापिलो शिखाले त्यसो गरायो भनौँ पनि मेरा सङ्गतमा रहेका अन्यान्य सुन्दरीहरूसँगको अनुराग र आकर्षणमा कमी थियो म कसरी भनुँ ? यद्यपि तिनीहरूप्रतिको आसक्तिले मलाई दुर्बल गराउन सकेन, जति नै अनुरागी भए पनि ।

मैले कतिलाई प्रेम प्रस्ताव राख्न सक्थेँ अहँ, राखिनँ । कति आए प्रेम प्रस्तावहरू पनि … । त्यस घडी मनमा कुनै खलबली मच्चिएन । तथापि आज उन्नतिको एक फोनले नै किन उद्वेलित गराउँदैछ यो हृदयलाई ? वासनाको वशीभूतले मलाई यसो गरायो त ? त्यसो भए अस्ति भर्खर प्रस्तावक प्रमिला सिंहको प्रेम मलाई किन स्वीकार्य भएन ? के कमी थियो र उसमा । रूप, सौन्दर्य, दीप्तिमय आभा, आकर्षक वदन । सूर्योदयसँगै फक्रिएको फूल, शीतले शोभा बढाइरहेकै थियो । सूर्य तेजलाई नै फिका गराइदिने कत्रो सौन्दर्य ।

अस्थिर चित्त उन्नतिकै स्मरणमा भुल्न चाहन्छ, उनकै समीपको कल्पित लोकमा आफूलाई राजकुमारको दावी गर्ने यो मन प्रशस्त अबूझ भइदिन्छ । आफैँआफ कल्पनाको व्यवधान उठाएर विकट परिस्थितिको सामना गर्न मञ्जुर यो मन कति अघोरी छ । शब्द पाउँदिन जसलाई प्रस्तुत गर्ने । बोध भएर पनि अबोधि बन्न राजी … जसलाई म के भनुँ ? मनोजगत्को विकलतालाई मतलब राख्दैन । किमार्थ राख्दै राख्दैन ।



काठमाडौँ प्रवेशसँगै बदली भएको मन । गाउँमा आफैँभित्रका भीडहरूले मात्र सताउँथे । तथापि यहाँ बाह्य भीडसँग पनि सामना गर्न समर्थ हुनुछ । आरम्भका दिनमा निसङ्ग ओल्लो चोक पल्लो चोक पुग्ने साहस पनि आउँदैनथ्यो कतै अभर परिन्छ कि भन्ने भयले । मनमनै सोच्थेँ, यहाँका मान्छेहरू कति निडर छन्, साहसी पनि । हेर त निराश्रित, एक्लै एक्लै भीडलाई पन्छाएर कसरी मार्ग पहिचान गर्न सकेका ? लाग्थ्यो, म पनि तिनीहरू जसरी शहरका गल्ली, चोक, व्यस्त भीडहरूमा एक्लै दुक्लै हिँड्न सकुँ तर कहिले … ? जतिबेला मनमा एउटा विचित्रको अनुभूति हुन्थ्यो, त्यसलाई वर्णन गर्न मसँग भाषा छैन ।

यस अन्योल परिस्थितिमा पनि मलाई राजधानी आफ्नै जस्तो लाग्थ्यो, यद्यपि यहाँ मेरो कुनै घर छैन । उता आत्मीय भावले छोप्थ्यो, जहाँ म कसैसँग परिचित नै छैन । मलाई यस्तो किन भइरहन्थ्यो भने यो उन्नतिको शहर हो । यहाँका कैयन् घरहरूको जङ्गलमा उन्नतिको आवासले पनि साथ दिएको थियो, घनीभूत बनाउनको निम्ति ।

म जताततै उन्नतिकै व्याप्तिमा बाँचिरहेको थिएँ । रहनसहन, रीतिरिवाज, खानपान, परिधान, यत्रतत्र सर्व ध्रुबमा उन्नतिकै सुवास पाइरहन्थेँ । प्रिय उन्नति ! तिमी सबैको प्राण हौँ । हेर न म कम गौरवान्वित छु ? जहाँ तिमी जस्ती मायावीलाई प्रेमिकाको रूपमा पाएको छु । मलाई माया, सदभाव र सदिच्छाको छहारीमा राखेर तिमीले पुण्य कमाएकी छौ । म धन्य छु । तिमी धन्य छौ । एक दिन सबैलाई ज्ञात हुनेछ, यो उन्नति र प्रयासको शहर हो । अनि उन्नति र प्रयासको त्यो प्रेम कहानी पनि अज्ञात रहने छैन ।

म उन्नतिकै भरोसामा, उनकै आग्रहमा यो घुइँचैघुइँचोको शहरमा प्रविष्टित भएको थिएँ । उनैले मलाई दिशा निर्देश गरेकी छन् । शिक्षार्जनको निम्ति यहाँ राम्रो हुन्छ भन्ने परामर्श पनि उनले नै दिएकी हुन् । प्रशस्त प्रतिस्पर्धीहरू बीचको परिष्कार र परिमार्जनले निखार ल्याउनेछ, जीवन सार्थक बन्नेछ भन्ने उनको आशय । उता दाजुको विचार पनि यही थियो ।

त्यस समयको कुरा हो, मैले कलेजमा भर्ना गरिसकेको थिएँ । सूर्योदयसँगै म हर प्रभात क्लास लिन जानेगर्छु । शुरुका दिनहरूमा फन्कैफन्का लाग्ने कलेजको बाटो पहिल्याउन दाइको हार्दिक साथ मिलेको थियो । एक दुई दिन पश्चात् आफैँ आवागमन गर्न समर्थ भएँ । विद्यार्थी राजनीतिमा मेरो कुनै रुचि थिएन । युनियन, नेविसंघप्रति मैले कुनै भेद गरिनँ । बस, उचित–अनुचित, सज्जन–दुर्जन जस्ता गुण अवगुण नै पक्ष विपक्षका चयनित आधार थिए ।

गाउँको कलेजमा विद्यार्थीलाई यति धेरै राजनीति लाग्दैनथ्यो, जति यहाँ लाग्ने गरेको छ । पहाडिया तरुनो केटो सामान्य परिधानमा थिएँ । क्लास राम्रोसँग सुचारु हुन सकिरहेको थिएन, राजनीतिक प्रभावले । बन्द, हड्ताल, नारा, जुलूस, तोडफोड के–के हो के–के ? बित्थामा कलेज आऊजाऊ मात्रै भइरहेको थियो ।

मलाई थाहा छैन तिनी को हुन् ? मेरो समीप आएर ती दिदीले नमस्कार गर्दैछिन् । परन्तु उनी मेरो परिचित होइनन् । मैले उनलाई भर्खर देख्दैछु । म अवाक् भएँ, उनले मलाई किन नमस्कार गरेकी हुन् ? उनी को हुन् ? मलाई नमस्कार गर्न आवश्यक नै के छ ? हाम्रो गाउँ घरमा अपरिचितलाई नमस्कार गर्ने कुनै संस्कार छैन । अझ भनौँ अपरिचितसँग बोल्न पनि आवश्यक ठानिँदैन । तर यहाँ ! … ।

आश्चर्यले भरिँदा मैले दाजुलाई सोधेको थिएँ, “… सुन्नु न … आज कलेजमा एउटी दिदीले निकट आएर मलाई नमस्कार गरेर गइन् । मैले चिन्न सकिनँ, उनी को हुन् कुन्नि ?”

मेरो कुरा सुनेर दाजु मज्जाले हाँस्नुभयो । वहाँ किन हाँस्दै हुनुहुन्छ ? मलाई ज्ञान भएन । विष्मयाभिभूतसँगै म लज्जित भएँ, कतै मैले भूल गरिरहेको त छैन ?

मलाई नमस्कार गर्ने ती दिदी म जस्तै सामान्य पहिरनमा थिइन् । लाग्थ्यो, उनी पनि ग्राम्य जीवनबाट भर्खर भर्खरै शहर प्रवेश गरेकी होउन् । बलजफ्ती हाँसिएको फिका अनुहार मलाई फिटिक्कै मन परेन । निको लागेन त्यो निरस हाँसो ।

दाजुले हाँसो थाम्दै भन्नुभयो, “… यसरी नै बुझ्दै जाने छौ विस्तारमा । आजका अबोधहरू भोलि ज्ञाता हुँदै जानेछन् । एकै दिनमा सम्पूर्ण विषय बुझ्न कठिन छ । धैर्य गर त्यस दिन तिमी आफैँ जानकार हुनेछौ । तिमीलाई नमस्कार गर्ने उनी अरू नभएर कलेजमा राजनीति गर्ने एक युवती हुन् ।”

चार पाँच वर्ष लागेछ मैले ती दिदीलाई सम्पूर्ण रूपमा पहिचान गर्न । त्यस समय उनमा जुन निरीहपन थियो, आज त्यो लेश पनि बाँकी थिएन । अब उनले म जस्तालाई नमस्कार गर्नु पर्नेछैन । मलाई उनको त्यो भावभङ्गीमा फिल्मको कुनै नायिका जस्तो लागिरहेछ । मानौँ, उनी हालकी चर्चित हिरोनी हुन्, भित्तामा टाँसिएका पोष्टरदेखि फिल्महलसम्म जताततै उनकै चर्चा छ । चलचित्र व्यावसायीहरू, फिल्मनिर्देशकहरू, दर्शकदीर्घामा सबै सबै उनकै प्रतीक्षामा छन् ।

शिरदेखि पाउसम्म सम्पूर्णतः ती दिदी बेग्लै भएकी थिइन् । विगतलाई स्मरण गराउने उनमा कुनै तत्व थिएन । उनको खुट्टाको तनेचप्पलले विश्राम लिइसकेछ । पयरहरू स्कुटीको सुविधामा सौखिन थिए ।

क्याम्पसमा फूलमाला र अबीरजात्राको उत्सव चलिरहेको थियो । मञ्चमा आसीन अतिथिगण र सभापति प्रसन्न मुद्रामा, संङ्गीतमय करतल ध्वनिको श्रवणमा विमुग्ध थिए । मलाई भने आजकी नेत्री कलेजकी मनोनीत सभापति उनै दिदीको विगतमा फर्किन मन भइरहेछ । प्रश्न एक पटक आफैँलाई गरेँ, यस क्षण आफ्नो अतीतलाई उनी कसरी स्मरण गर्दै होलिन् ? या त भुलिसकिन् ?

दाजुले भनेको कुरा अहिले मलाई अधिक विचारणीय लागिरहेको छ । हर प्रहर यस्तै त्यस्तै घटनाले मेरा जिज्ञासहरू अर्थिंदै गएका छन् । मजदूर दिवसको दिन थियो । राजधानीका सम्पूर्ण शैक्षिक संस्थाबाट विद्यार्थी सङ्गठनका अगुवाइहरूले मोर्चा गठन गरी टुडिखेलमा जुलूस निकाल्दै छन् । २०६२÷६३ को दशबर्षे जनयुद्ध पश्चात् २०६४ को जननिर्वाचनमा पहिलो शक्तिशाली पार्टी माओवादीका नेता बाबुराम भट्टराई र प्रचण्डको दमदार भाषण सुन्न लालायित जनसागर सानो थिएन । त्यहाँ मजदूरवर्गको हक र हितका कुरा धेरै भए । थाहा छैन त्यो भाषणमै सीमित भयो या व्यवहारमा लागु भयो । भाषणमै परिमित हुनेहरू प्रायः प्रशस्त हकहितका कुरामा जोड दिन्छन् रे ! चाहे त्यो जुन सुकै पार्टीको होस्, जुन संघ संस्थामा आवद्ध रहेको मानिस होस् ।

गाउँ–गाउँ, बस्ती–बस्तीबाट उठाइएको त्यो लहर मानौँ, भेडै भेडाको वथान थियो । मेरो कुनै रुच्य विषय थिएन इन्क्लाब र जिन्दावादको जुलूसमा सम्मिलित हुने । त्यसो त मुर्दावादको पक्षमा पनि अहँ, मेरो रुचि थिएन । परन्तु म लहलहैमा जाँदै थिएँ पब्लिक युथ क्याम्पसको प्राङ्गणबाट । बस, सामान्य दर्शक बनेर । भीडको एकांश भएर । हो, म त्यही दिनको स्मरण गर्न विगत पल्टाउँदैछु ।

आरम्भको प्रहरमा … अर्थात काठमाडौँ प्रवेशसँगैको मेरो तृतीय दिन । उन्नतिले आजै भेट गरौं भालि नै भेट गरौं भन्दै थिइन् । तर मलाई उनीसँगको भेट भन्दा पहिला उनी बसेको शहर बुझ्न आवश्यक थियो । यसर्थ केही बहानामा मैले त्यस दिन उनलाई नभेट्ने भएँ । भीडसँगै म टुडिखेल जाँदैछु, जुन मेरो पहिलो अनुभव थियो । जहाँ आफूले पछ्याई रहेको मार्ग ख्याल गर्न सक्ने कुनै स्थिति थिएन । जनमासको टाउकै टाउकाको दृश्यमा बाटाको निशानी राख्ने अर्को उपदृश्य मैले भेट्टाइनँ तथापि मेरो साथमा दिदी पनि हुनुहुन्थ्यो । जसकारण म निश्चिन्त थिएँ ।

हामी खुल्लामञ्च पुगिसकेका छौँ, अहो ! असङ्ख्य मानिसहरूको लहर । कहाँबाट एकमुष्ट भएहुन् यो विघ्न … । मान्छे नै मान्छेको यस किसिमको घन्चमन्च मैले कहिले पनि देखेको थिइनँ । एकाम्मे हुँदै थियो खुल्लामञ्च । मानौँ, जनसेनाले लालकिल्ला घोषणा गर्दैछन् । हँसिया, हथौडा, कलम र ताराहरूको रक्तरञ्जित जनसागरले आफ्नो अस्तित्व कायम गरेको होस् ।

मलाई नेताजीको भाषण सुन्नु थिएन, सुन्नकै निम्ति गएको पनि होइन । वस्तुस्थिति बोध गर्न तथा रमाइलो लागेर म गएको थिएँ । हामी खुल्लामञ्चको बीच भागमा ठूलो झण्डाको छहारीमा आश्रय लिइरहेका थियौँ । सूर्य किरण अधिक तेजिला थिए, उत्तप्त । त्यसै क्षण अकस्मात् मान्छेको छाल उठेर भीड तरङ्गीत भयो । कल्लोल, भीडको सुनामीले असुरक्षित मनहरू । खल्बली र कोलाहलमा ज¥याक जुरुक्कै उठेर सर्वजन आफ्नो सुरक्षा गर्न लागे, कति त टाउका टाउकै हाम्फालेर भीड पार गर्न खोज्दै थिए । यथार्थमा के भइरहेथ्यो कुनै ज्ञात भएन । त्यस स्थितिमा संयम गुमाइ सकेका थिए हर व्यक्तिले र मैले पनि । सुरक्षित स्थान कहाँ छ थाहा छैन र पनि सुरक्षाको प्रत्याभूति गराउन दिदी र म भीड पन्छाउन लाग्यौँ ।

मध्याह्नको सूर्य पूर्वी आकाशमा प्रभावहीन भएर पर पुगिसकेको थियो । भीडको सामुद्रिक छालले दिदी र मलाई एकार्काबाट विच्छेद गराइ सकेको छ । अब फोन नगरी भेट हुन सम्भव थिएन । पाइन्टको पकेट छामछुम गर्दै थिएँ, मेरो चेतना खल्बलिइसकेछ । एकतमासको भएर आयो, टाउको फिनिन्न घुमिरहेको थियो । ला … अब कता के गर्नु ? न त दिदीलाई भेट्टाउन सकिने छ त्यस भीडमा । उता मोबाइल हरायो, सँगै मनीपर्स पनि । एक्लै घर फिर्न सक्ने स्थिति मेरो थिएन । साँच्चि नै भनौँ भने आफू बस्दै आएको ठाउँ ठेगाना पनि मलाई थाहा थिएन । यस्तै हुन्छ भन्ने के थाहा ? नत्र केही जानकारी राख्दो हुँ हिजो अस्ति नै … बिहान प्रस्थान पूर्व पनि … । अब कुन ठाउँको खोजी गर्दै म प्रत्यागमन हुन सकौंला ।

दिदीलाई अविश्राम खोज्दैछु, उता कार्यक्रम सम्पन्न भइसकेको थियो । अघि आउँदाखेरि मैले वीर हस्पिटलको राम्रोसँग सम्झना गरेको थिएँ । त्यस दिन क्षेत्रपाटी, असन, भोटाहिटी चोक हुँदै महावौद्ध निस्किएर हस्पिटलको गेट अगाडिबाट खुल्लामञ्च पुगेका थियौँ । जुन कुरा मलाई धेरैपछि बोध हुँदै गयो । दिदीसँग भेट भइहाल्छ कि भन्ने क्षीण आशा बोकेर म रोड वारपार गरिरहेको थिएँ । कसिलो शरीरमा सेतो टिर्सट र निलो जिन्स पाइन्ट लगाएको गोरो अनुहार म जहाँ देख्थँे त्यहीँ हानिएर पुग्थेँ । अरूलाई आघात पु¥याएर मिथ्या भ्रमहरू पन्छाउँदै गर्दा कतिले मलाई गाली दिए, किनकि मैलै तिनीहरूलाई वेपर्बाह धक्का दिँदै दिदीलाई खोजिरहेको हुन्थेँ । कहिले रोडमाथिको आकाशे पुलमा गएर टाढा टाढासम्म दृष्टि दिन्थेँ । कति पटक सब–वेबाट रोड तरेर वीर हस्पिटलको गेटमा पर्खिबस्थेँ । हतास्पूर्ण मेरो आवत जावत देखेर कति भद्रजनले सोधेका थिए, “बाबु के भयो ? कसलाई खोज्दैछौ, यसरी ? किन उदास देखिन्छौ … ?”

एकाम्मे भीड कति समूहमा कति एक्लै दुक्लै छिन्नभिन्न हुँदै थियो । बाँकी रहेका पनि गन्तव्य भेट्दै थिए । लाग्छ, म बाहेक त्यहाँ अभर पर्ने कोही थिएन । मैले त्यस भीडमा आफू जस्तै निरीह कसैलाई देखिनँ । जनमानसलाई नेताजीको भाषणले राम्रै प्रभाव पारेको थियो । प्रत्यागमनको त्यस क्षण प्रायःले भाषणकै प्रसङ्गमा आफूलाई व्यस्त गराएका थिए । म ‘गुलाफको बीचमा उन्यूको रोदन’ भएर दुष्परिणाम भोग्दै थिएँ । मनमनै लाग्यो, अब यसरी कहाँ हुन्छ ? केही उपाय खोज्नु पर्छ तर … ।

खुल्लामञ्च रिक्ततामा सुसाउँदै गयो, जसरी म निर्जन भएर सुसाउँदै थिएँ । त्यसै घडी अवसादले व्याप्त बोझिल मन उन्नतिलाई स्मरण गर्न पुग्छ । म आश्वस्त भएँ त्यही पल । जे भए पनि यो उन्नतिको शहर हो, उनकै कारण भीडबाट दिदीलाई गुमाएँ । अब उनकै माध्यमबाट फेरि भेटुँला । उन्नतिले नै सन्देह मुक्त गराउने छिन् । मलाई केको फिक्री ? म त उनको प्रेमी हुँ … ।

उन्नतिलाई यो थाहा छ, म उनकै आसक्तिमा वशीभूत भई शहरीया जीवनमा एकाम्मे हुन आइपुगेको थिएँ, निर्जन भूमिदेखि अरू परबाट … । आखिर उन्नति कसको ? प्रयासको … ?



(क्रमश…)

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.