24 Online News
२९ कार्तिक २०७७ ०८:५४

महाकवि देवकोटा: अलौकिक पात्र कि असाधारण प्रतिभा ?

(महाकवि लक्ष्मी जयन्ती, २०७७ का सन्दर्भमा)


महाकवि लक्ष्मीप्रसाद देवकोटालाई अलौकिक पात्रका रूपमा चित्रण गरिन्छ । हामीहरू जसले देवकोटालाई देखेनै, चिनेनौ उनका विषयमा भनिएका र सुनिएका कुराहरूबाट लाग्छ उनी अलौकिक प्रतिभा थिए । उनका मनमा फुरेका भावनालाई उतार्न उनका कलमकार्यलाई भ्याइनभ्याई हुन्थ्यो, मनमा उर्लिएका भावहरू निमेषमा कागजभरि उठाउन कलमले कसरी सकोस् ? उनी कवितामा कुरा गर्न सक्थे, रातमै खण्डकाव्य तुर्न सक्थे, उनमा आशुकवित्व थियो । स्वच्छतामा प्रवेग उडान गर्थे । कविता लेखेका कागजका टुक्रा चुरोटसँग साट्थे रे १ कविता लेखिरहँदा सल्किएको चुरोटले औँला पोलेको थाहा पाउँदैनथे । भोक, तिर्खा, काम, क्रोध जस्ता मानव चरित्रबाट झन्डै उनी पर थिए । उनी कविता लेख्नका लागि जन्मिएका थिए, अझ भनौँ उनी स्वयम् कविता थिए, कला थिए, भावना थिए ।

देवकोटा कवि नभै स्वयम् काव्य हुन्, आफैमा महान् जीवन्त काव्य, जुन कतै कविता, कतै गद्य वा पद्य, निबन्ध वा नाटक जतासुकै छताछुल्ल पोखिएको छ । आफै नै जीवन्त कला, विशाल प्रकृति हो, रोशी र कोसी जस्तै छङ्छङाउदै, सुसाउँदै, उर्लँदै, फाँटहरूमा बयेलिँदै छ, युगौयुग यसै गरी रहने छ ।

उनी अभाव, विपत्ति, रोग, परिवार, पहिचान, प्रतिष्ठाबाट बेपर्बाह थिए । के एउटा मानिस महामानव नै भए पनि मानवीय चरित्रबाट माथि रहन सक्छ ? के देवकोटा साँच्चै तिलस्मी थिए ? वा भावका असाधारण स्वच्छन्द यात्री ? करिस्मा भएका व्यक्ति ? हामी, जसले उनलाई देखेनौँ, भोगेनौँ, कविता/सिर्जनामा पढ्यौँ मात्र, आस्वाद गर्‍यौँ, हामीलाई पनि त्यस्तो व्यक्ति भेट्न पाएको भए भन्ने लोभ लाग्छ । तर प्रश्न उठ्छ, त्यस्तो मानिस यथार्थमा हुन्छ कि हुन्न ?

देवकोटा गरिब भएर पनि धनी, सामान्य भएर पनि महान्, दुखी भएर पनि सुखी, बिपनालाई पनि सपना, यथार्थलाई निजत्वको स्वतन्त्रतामा बाइपङ्खी यात्रा गर्ने व्यक्ति १ भारतीय विद्वान डा राहुल साङ्स्कृत्यायनले समेत उनलाई त्यति वेलाका भारतका महान् प्रतिभाहरू पन्त, प्रसाद र निरालाका समष्टि मानेका थिए । उनलाई देवत्वकरण गरिएको वा उनी साँच्चै त्यस्तै थिए भन्ने प्रश्न मेरो पुस्ताका लागि अनुत्तरित छ । किनकि मेरो पुस्ताले उनलाई अक्षरमा मात्र देखेको हो, अक्षरमा मात्र भोगेको छ । तर अक्षरको आस्वादमा पनि साँच्चै अलौकिक र असाधारण नै भेटेको छ । उनी नभएको अक्षरले उनलाई बोकेको, उनको बिम्ब ल्याएको छ, विचारको असीम पौलमा हामीलाई डुवुल्क्याएको छ, कति पर कहाँ काहा भावको यात्रामा पु¥याएको छ । त्यसैले देवकोटा कवि नभै स्वयम् काव्य हुन्, आफैमा महान् जीवन्त काव्य, जुन कतै कविता, कतै गद्य वा पद्य, निबन्ध वा नाटक जतासुकै छताछुल्ल पोखिएको छ । आफै नै जीवन्त कला, विशाल प्रकृति हो, रोशी र कोसी जस्तै छङ्छङाउदै, सुसाउँदै, उर्लँदै, फाँटहरूमा बयेलिँदै छ, युगौयुग यसै गरी रहने छ ।

अहिलेको प्रविधि, प्रसारण र प्रकाशन सुगमता भएको भए देवकोटा कति भाषाका नक्षत्र बन्ने थिए १ तर पनि आफ्नो समयमा आफै प्रविधि र प्रसारणमा अद्वितीय देखिए । हामी कल्पनासम्म गर्न सक्छौँ महाकवि देवकोटा अलौकिक छन्, असाधारण छन् । क्षितिजजस्तै फराकिला, समुद्र जस्तै सौम्य, हिमालय जस्तै अटल, मरुभूमिजस्तै संयमित । यस्ता उपमा–उपमेय पूर्ण नहुन सक्छ तर मसँग पनि उनलाई उतार्ने बिम्ब छैन । असाधारण बिम्ब खोइ ? असाधारण प्रतिभाका लागि असाधारण उपमा खोइ ?

असाधारण प्रतिभा ‘पागल’ हो । औसतहरू असाधारणलाई पागल नै सम्झन्छन् । महाकवि देवकोटाले तीन पटक पागलपन सामना गरे रे । पारिवारिक विपत्ति, आर्थिक सङ्कट र वृत्ति सङ्कटका कारण । सर्जकका निजी भोगाई इतिहासले त्यति टिप्दैन, टिपे पनि यथार्थ त्यति भेट्टाइँदैन । आफूप्रति भएको व्यवहारको वेदना पोख्न पनि उनले सिर्जना कै सहारा लिए, राँचीबाट फर्केपछि ‘पागल’ कविता नै लेखेर मानवीय दरिद्रतालाई व्यङ्ग्य गरेछन् ।

‘जरुर साथी म पागल, यही छ मेरो हाल
म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु ।
वासनालाई संवाद लिन्छु, आकाशभन्दा पातला कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन
म देख्दछु, ढुङ्गालाई फूल ….’

तर उनलाई पागल बनाउने प्रति उनको प्रतिक्रिया छैन । उनलाई नजिकबाट चिन्ने हितैषी हरि श्रेष्ठ, श्यामदास वैष्णव वा उनका भावना राम्ररी चिन्ने शङ्कर लामिछानेलाई थाहा होला के उनी सच्चै पागल थिए ? वा सिर्जनाका शान्त सागर, कि उनका समकालीन साहित्यिक साथी झैँ केवल परिष्कारका साधक ? यी प्रश्न हाम्रा लागि, पछिल्ला पुस्ताका लागि अनुत्तरित छन्, झनै अनुत्तरित हुँदै रहने छन् । तर यति चाहिँ हो कि उनी मगजभन्दा हृदयले लेख्छन्, मन र हृदयलाई एकसाथ लेख्छन् । त्यसैले ती हार्दिक भईकन पनि प्रकृति जस्तै पवित्र लाग्छन्, स्वच्छ र चोखा लाग्छन् । त्यसैले उनलाई अलौकिक र असाधारण भनिएको हुनुपर्छ ।

के कसैले २ हातले कविता लेख्न सक्छन् ? कोही छ भाषामा काव्य सिर्जना गर्न सक्छ ? के कोही मनमा छचल्किएका भावलाई ५१ सेकेन्डमा एक श्लोकमा उतार्न सक्छ ? महाकवि फिरदौसीलाई महाकाव्य पूरा गर्न झन्डै जीवन (साठी वर्ष) लागेको थियो र । हामी उनका पारखी, त्यसैले स्वाभाविक रूपमा मनमा एउटा ज्वारभाटा आउँछ–त्यस्तो प्रतिभाले किन विश्व साहित्यलाई टक्कर दिएन ? नोबेल पुरस्कार उनलाई दिनु हुँदैनथ्यो ? कि नोबेल पाउन ठुला दायराको भाषामा जन्मनु पर्छ ? तर बाहिर मात्र होइन, स्वदेशभित्रै पनि उनलाई सम्मान भएन छ, हामीले नदेखे पनि इतिहास त्यसै भन्छ । दम्भी, ईर्ष्यालु, कुण्ठाग्रस्त पुस्ताले प्रतिभालाई पहिचान पनि गर्दैन, कदर गर्न पनि जान्दैन । विशाल प्रतिभा कदर, सम्मानमा अल्मलिदै, आशा गर्ने घृष्टता पनि गर्दैन । केवल जनताको माया पाए पुग्छ । जनस्तरबाट, जनताको मनबाट देवकोटाले पाउनुपर्ने जति पाए । एकेडेमीले तलब रोकेर के फरक भो, पत्रिकाले विरोध गरेर वा दरबार र यसको वलयले मन नपराएर केही फरक परेन । उनीहरूले मन पराएको क्षणिक हुन सक्थ्यो, मन पराइएकाहरू कालजयी भन्दा क्षणिकै त थिए । जनताको मन,माया र मान चाहिँ स्थायी हो । सबैको मनमा देवकोटा रहे । मुनामदन, पागल, यात्री, भिखारी हामी बहुधा नेपाली हौँ, ती कृति पढ्दा हामीमा सहानुभूति हुन्छ र पात्रसँग एकाकार हुन पुग्छौ । ती गाउन, पढ्न, बुझ्न मात्र मीठा होइनन्, नेपाली पाखा परखेराका बिम्ब र हाम्रै सहानुभूतिका भावचित्र, त्यो आफै जीवन हो । त्यसैले लक्ष्मीप्रसाद लक्ष्मीका प्रसाद भएनन्, तर सरस्वतीका वरद पुत्र रहे ।

देवकोटा मानवताका पुजारी हुन् । एउटै कविता ‘यात्री’ काफी छ मानवताको उदाहरण दिन । एउटा आस्तिक यात्री, जो सिँगारिएको पाल्कीमा आफूजस्तै मानिसहरूबाट बोकिएर ईश्वरको दर्शन गरी धर्म कमाउन धाइरहेको छ, लाई आह्वान गर्छन् आफूलाई सुख सयल र अरूलाई पीडा दिएर ईश्वर दर्शन (धर्म प्राप्ति) हुँदैन । मूल्यवान् पूजा सामग्रीले ईश्वर पूजा गरेर के पाइन्छ ? वास्तविक पूजा त कर्म र दुखीहरूलाई सेवा गर्नमा छ ।

‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पूजा गर्ने, साथ कसरी लाने हो ?
मानिसहरूको काँध चढी कुन देवपुरीमा जाने हो ?’

महाकवि देवकोटा मानिस स्वयम्लाई ईश्वर र भौतिक शरीरलाई मन्दिर ठान्छन् । उनको ठम्याइमा मानिसका कर्म पूजा सामग्री र सेवा धर्म हो । त्यसैले ईश्वर खोज्न अन्यत्र जानु पर्दैन । ढोँगी आफैभित्रको ईश्वर र शरीररूपी मन्दिरलाई देख्दैन र अलमलिएर मन्दिर खोज्न भौँतारिन्छ । न धर्म गर्छ, न ईश्वर पाउँछ । कविको मानवतावादी स्वर आह्वान गर्छ कर्म गर, दीनदुखीको सेवा गर र आनन्दमा रमाएर ईश्वर पाउ ।

‘भित्र छ ईश्वर छ बाहिर आँखा, खोजी हिँड्छौ कुन पुर ?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर ?
खोजी गर्छौ, हृदय उँगाऊ, बत्ती बाली तेज प्रचुर ।
…………………………………

फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराई रहेको घाउ
मानिस भई ईश्वरको यो दिव्य मुहार हसाउ ।’

सेवा, कर्म, समर्पण र आदर सबै ईश्वर प्राप्त गर्ने तरिका हुन् । प्रकृतिका आवाज, चराचुरुङ्गीका चिरचिरावट, हावाका सुसाई सबै ईश्वर हुन् । उनी सवैतिर ईश्वर देख्छन् । त्यसैले चर्म चक्षुबाट होइन, ज्ञान चक्षुले ईश्वर खोजेमा मात्र ईश्वर पाइन्छ । मानवीय सेवा गर्नु नै वास्तविक रूपमा ईश्वर प्राप्ति हो । आग्रह, आडम्वार र औपचारिकता ईश्वर प्राप्तिका मार्ग होइनन्, सेवा, समर्पण र कर्मबाट भोका नाङ्गा र दीन दुखीलाई खुसी बनाउनु ईश्व प्राप्तिको पूजा हो । त्यसो गर्नु मानवीय बन्नु हो । यसरी देवकोटा मानवताका दृष्टिमा पनि असाधारण देखिए, साधारण भन्दा साधारण रूपमा मानवताको ठुलो रूप देखाउन उनी महान् देखिए । सामान्य जीवन उठाएर मानव सेवाको मार्ग देखाउन यात्री अद्वीतीय छन् ।

महाकवि देवकोटाको चर्चा गर्दा ‘मुनामदन’ को चर्चा नगर्दा अपूरो हुन्छ, अन्याय हुन्छ । शिल्प, श्लोक, कला र प्रस्तुतिका कोणबाट उनका शाकुन्तल, सुलोचना, महाराणा प्रताप, प्रमिथस जस्ता महाकाव्य, खण्डकाव्यहरू र अरू छसय चौसट्ठीभन्दा बढी सिर्जना उल्लेख्य होलान्, तर नेपाली जीवनलाई सर्वाशतः बोक्ने, दुखसुख र अनुभूति समेटिएको ‘मुनामदन’ सबैको हृदयमा रहेको सिर्जना हो । मुनामदन प्रेमकथा हो, प्रेमकथा मात्र होइन, नेपालीजनहरुको जीवन अनुभूति हो । त्यहाँ नेपालको प्रकृति छ, सामाजिक संस्कार र संस्कृति छ, नेपाली संस्कार र नेपाली सुस्केरा छ । त्यतिखेर नै उनले अहिले भन्ने गरिएजस्तै समावेशितालाई मानव मूल्यका साथ उद्बोध गरेका छन्:

‘क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन ।’

मुनामदनका पत्रहरू, मुना, मदन, आमा, लावा, फुचो, नैनी, भोटे, दिदी, वैद्य सबै नेपाली जनजीवनबाट उठाइएका वास्तविक पात्र हुन् । देवकोटा परिवेश र कथा टिप्न पनि औधी सिपालु छन्, पात्रमा प्राण भर्न त्यत्तिकै कुशल छन् । त्यसैले जीवन र परिवेशलाई राम्ररी अन्तरबोध गरेका छन् । मुनामदनको कथा सबै निम्नमध्यम वर्गीय नेपालीहरूको कथा हो । त्यसैले यो नेपालीहरूको कथा हो ।
मुनाको प्राकृतिकपन र सौन्दर्यको वर्णनमा पनि सरल उपमाबाट व्यक्त्याइएको छ:

‘अकेली मुना, अत्यन्तै राम्री कमल झैँ फुलेकी
बादलको चाँदी किनार छोई जून झैँ खुलेकी ।’

मुना नारी आदर्श कि पनि प्रतीक हो । दुखमा भए पनि धन, दौलत र भौतिक सुखऐसलाई वास्ता नगर्ने एक हिन्दु नारी हो । एक आदर्श बुहारी, एक आदर्श गृहिणी, सहृदयी सहेली र आदर्श पत्नी हो । समग्रमा उ मानवताको पुञ्ज हो । त्यसैले मुनाका भावना मानवीय, चेतना आत्मिक र व्यवहार आदर्श छन् । तर प्रकृति पुत्री मुना, दुखलाई खुसी प्राप्तिमा मदनको प्रतीक्षामा बसेकी मुनालाई दैवको लिलाले चुँडेर लान्छ । अव मदनसँग केही बाँकी रहेन, केवल यी भाव बाहेक:

‘दैवले हान्यो शिरमा मेरो निष्ठुरी घनले
के गरी सहूँ ? के गरी रहूँ ? जिउँदो मनले ?’
‘ईश्वर तैँले रचेर फेरि कसरी विगारिस
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ।’

त्यसैले मुनामदनको सार छ:

‘हातका मैला, सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको वेस आनन्दी मनले ।’

हिजो नेपालीहरू भोटमा गएर मदनको दुख र मुनाको पीडामा रहन्थे, आज लाखौँ मुना मदनहरू अरब र मलेसियामा मदनका पीडा र नेपालभित्र मुनाको छटपटी छ । हिजो मुना मात्र इहलीला समाप्तिमा थिइन, आज धेरै मदनहरू खाडीको तातोमा जलिरहेका छन् । नेपाली जीवनका भावना उठाउने महाकवि त्यसैले महान् हुन् । महान् सर्जक भएकैले कालजयी छन् । महान् हामीले भनिरहेका छौ, महानता उनको सिर्जनाले देखाएको छ । साग र सिस्नुको उपमा अर्को महानता हो मातृ प्रेम र जीवन बोधका लागि । त्यसैले मुनामदन गीतिकाव्य शोककाव्य पनि हो, शोककाव्य मात्र रहेन, जीवनकाव्य बन्यो ।

सर्जक शङ्कर लामिछानेका शब्दमा साहित्य बाहेक देवकोटाको मन छुने अर्को अभिरुचि केही थिएन । साहित्यमा उनी सुस्त हिँड्न होइन, बेजोड कुद्न मात्र जान्दथे । हो, उनी आफै काव्य थिए । उनी बस्दा, उठ्दा, हिड्दा, सुन्दा, खादा वा अझ चेतन र अवचेतनका सबै तहमा, सबै समय काव्यभन्दा पर हुँदैनथे । भावनाको प्रवेगमा यति दौडिए कि त्यो पढेर पनि आस्वाद गर्न भ्याइँदैन, बुझेर पनि बुभ्mन भ्याइँदैन । त्यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटा अलौकिक काव्य सर्जक मानिए ।

उनको त्यो असाधारण भावयात्रा जीवनको अन्तिम क्षणमा पनि यसरी पोखिएको थियो रे, ‘मृत्यु मेरो अगाडि छ, म आकाशमा नक्षत्रहरू खोज्छु तर भेट्दिनँ । म आफूलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भए, म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ ।’
र, पश्चात्ताप पनि गर्छन् :

‘रहेछ संसार निशा समान
आएन ज्युँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान, न भो विवेक ।’

महाकवि देवकोटा आफ्ना सिर्जना योजनामा गर्दैनन्, अस्मेलमा छोडिदिन्छन् । वाल्मीकिको कवित्व र गणेशको लेखकीय क्षमता भएका देवकोटा बायुवेगमा काव्य सिर्जना गर्ने विश्व साहित्यका थोरैमा पर्दछन् । उनका भावना खहरेजस्तै छङछङाउछन्, समुद्रजस्तै मडारिन्छन्, बिहानी किरणजस्तै झ्वार्र झर्छन्, झरनाजस्तै कञ्चन झर्झराउछन् र मरुभूमिजस्तै संयमित हुन्छन् । बयेलिने, मडारिने, छङ्छङाउने, झवारझवारिने, सौम्यिने भावबृत्ति नेपाली साहित्यले अव कसरी पाउला ? तर उनी आफ्नै सिर्जनाप्रति पनि सन्तुष्ट छैनन्:

‘भाषा भासिन जान्छ दौडेर भासहरूमा दौडेर चाँडो अलि
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कली’

तर हामी उनी टिप्न सिपालु छन् भन्छौ, भाषा भासिएको देख्दैनौ, उनी आफैप्रति सन्तुष्ट नभए पनि । महानहरु आफूलाई सामान्य मानेर नै महान् बनेका हुन् ।

कवितामा त स्वछन्द उडान गर्ने देवकोटा निबन्धमा निर्बन्ध बयेलिन किन छाड्थे ? नेपाली कवितामा स्वच्छन्दतावादको प्रथम प्रणेता जस्तै नेपाली निबन्धमा आधुनिक कालको सुरुवात गर्ने निबन्धकार देवकोटाका निबन्धमा भावको छङछङाई साथ बौद्धिकताको गहिराई छ । कला समीक्षाका परिगेलनमा सबै प्रकारका निबन्ध उनले सिर्जे पनि निजात्मक भावाविञ्जनामा देवकोटा अद्वीतीय छन् । प्रकृतिसँग मितेरी लगाएर स्वच्छन्द रमिनु देवकोटीय निजात्मक निबन्धको मौलिकता हो । लाग्छ, उनका निबन्धहरू विन्यासमा निबन्धजस्ता देखिए पनि भाव विन्यासमा कवितै हुन् । भाव, विचार र स्वच्छन्दतामा पेखिनेहरु विधालाई त्यति वास्ता नगरीकनै सिर्जना गर्छन् ।

उनले जुन विधा छोए, असाधारण प्रस्तुति दिए, जे लेखे मौलिक वैशिष्ट्य दिए । जहाँ लेखे जीवन, प्रकृति र भावको असाधारण संयोजन गरे । लाग्छ उनी आफै विशाल काव्य हुन्, त्यसैले महाकवि देवकोटा असाधारण प्रतिभा हुन् ।

(क्षितिज मार्ग, शंखमूल)

(साभार : https://www.brtnepal.com/)

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.