24 Online News
२९ कार्तिक २०७७ ०९:१९

वीणाका तारहरू

( महाकविमा समर्पित )

तीर्थराज अधिकारी


छातीमा
अनन्त आगो
अनन्त भुइँचालो
र, अनन्त उज्यालो बोकेर
एउटा अविदित यात्री
सगर नियाल्दै
सागर नियाल्दै
पुष्पहरूमा
कुञ्जहरूमा
निर्झरहरूमा
शैलशिखरहरूमा
दृष्टि बिछ्याउँदै
मुस्काउँदै
गुन्गुनाउँदै
ऋतु ओछ्याउँदै
ऋतु ओढ्दै
न्याय अँगाल्दै
अन्यायसित लड्दै
अजस्रप्रवाह भावनाको भारी बोक्दै
धराधाम यतै प्रकृति आँगनमा
पाइला चल्मलायो ।

भारती-भजन
वीणाका तारतारले
विमान सिर्जिएर
व्योम-आसनमा
तारा र चन्द्रमासित संवाद ग~यो
प्रथम उषा-
आगमनको झल्मल उज्यालो
कतै श्वास- प्रश्वासमा रित्तिएन
निद्राको उसले ननिदाएरै कथा हाल्यो
अट्टालिकाका आदेश विरुद्ध
उसले आगो चोरेरै बस्ती जगायो ।

उसले सुम्सुम्याएका फूलहरू
कति सुन्दर छन् !
कति सुगन्धित छन् !
उसले रोपेका बिरुवाका
धरामा विचारका कति
उन्नत कल्पवृक्षहरू छन् !

मायाको एउटै मुटु
करोडौँमा रूपान्तरित भएको छ
विद्युत तरङ्गमा
असङ्ख्य चिमहरू बलिरहेका छन्
वीणाका उसका मीठा स्वरहरूमा
स्वर्णशिखरहरू पनि झुकेका छन् ।

ऊ आगो हो
बच्चा खाने बाघहरूमा सल्किएको छ
अभाव बस्तीमा
ऊ भावको भकारी हो
धरामा अनन्त भाव वैभव सजाएको छ ।

अनुपम आलोक
पूर्णिमाको जलधि
ऊ जीवन – गीत हो
सुने थाहा हुन्छ
कति मीठो सुसेलिएको छ !
सौन्दर्य कति फैलिएको छ !
विचित्र कति आकर्षण छ !
गहन कति अन्तरहृदय झङ्कृत छ !!
***
गोरखा , लप्सीबोट ; हाल: सरस्वतीनगर , काठमाडौँ – ६ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.