24 Online News
२९ कार्तिक २०७७ ०९:३६

हाम्रा महाकविप्रति

विष्णुहरि पौडेल


औंशीको रात चिर्दै धप धप प्रतिभा जो झर्यो यो धरामा ।
लक्ष्मी पूजा गरेकै दिन उदित भई चम्कियौ कन्दरामा ।
नेपाली काव्य पोस्ने अप्रतिम प्रतिभा हे महाकाव्यकार ।
संझी लक्ष्मीप्रसाद प्रणति छ दिनहुँ स्नेहले वार वार ।।

जस्को छाती छ आप्लावित मधुमयता कल्पना छन् अथाह ।
दु:खी छन् किन्तु सारस्वत कवि-सुकला बग्छ धारा-प्रवाह ।
लेख्छन् तत्काल बस्ता सुकुलउपर जो ‘कुञ्जिनी’खण्ड काव्य ।
व्याख्यादेखिन् छ ‘शाकुन्तल’ अझ पर नै जो महाकाव्य भव्य ।।

शिक्षा मंत्री भएथ्यौ तलब सकिदियौ पाउँथे आर्त नोट ।
तैरिन्थ्यौ कल्पनामा हरबखत ठुटे तानिराख्थ्यौ चुरोट ।
बन्थ्यौ विक्षिप्त सामाजिक विकृति हुँदा लाग्दथ्यो चोट घाउ ।
स्रष्टा ! पोख्थ्यौ गुनासा निशिदिन ‘प्रभुजी ! बन्छु भेडो बनाऊ’ ।।

लेखेथ्यौ लोक भाकामय मदन मुना काव्य भो श्रेष्ठ ताज ।
लामा छोटा रचेथ्यौ जति कृति तिनको मूल्य को भेट्छ आज ।
शेलीका काँटभन्दा गहन कवि तिमी लाग्दछौ कालिदास ।
यस्ता मूर्धन्य स्रष्टा जब उदित भयौ धन्य हाम्रो समाज ।।

नेपाली राष्ट्र भाषा छ कवि कलमले उर्वरा काव्य फाँट ।
श्रध्दा अर्पन्छु मात्रै स्मृति दिवस बुझी राख्छु यो चित्तमाझ ।
तिम्रा सन्तान फैलून् नव कवि प्रतिभा देऊ आशीष,साथ ।
नेपाली काव्य तारा चिर अमर रहून् मान्य लक्ष्मीप्रसाद ।।

***

(छन्द:स्रग्धरा)

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.