24 Online News
६ मंसिर २०७७ ०८:५८

पसिनाका पाइला पछ्याउदा 

डा. अन्जना वस्तीभट्टराई


हास्यव्यङ्ग्यकारका रूपमा  प्रशिद्धि कमाएका  लक्ष्मण गाम्नागेकृत उपन्यास पसिनाका पाइला कोरोना कालको आश्विन पहिलो साता नै मञ्जरी प्रकाशनका प्रोपाइटर भतिज कृष्ण अविरलले बुहारी समेत आएर घरैमा छाडेका थिए । पठन शुरु गर्दा कथा त विदेशी भूमिमा घटित घटनाको संयोजन रहेछ भन्ने ठान्दा ठान्दै नाटकीय रुपमा नेपाल भित्रियो । स्वाभाविक हो आफ्नै वरपरका क्षेत्रमा कथा कुद्न थालेपछि पढ्ने जाँगर बढ्दै गयो ।

कथालाई आर्थिक विपन्नता, पारिवारिक द्वन्द्व र स्त्री पुरुष सम्वन्धको मिहिन धागोमा उनिएको छ । आफ्ना कथावाचक दुई पात्रका परिश्रमी पसिनाका पाइला नेपालकोे पूर्वी पहाडबाट तराई झरी धादिङ र काठमाण्डु उक्लँदै अमेरिकासम्म पुगेका छन् । वास्तवमा यी पात्रका दुई भेटको संयोग नै उपन्यासको केन्द्रबिन्दु हुन पुगेको छ । स्त्री–पुरुष सम्वन्धका विविध पाटाका चित्रणले उपन्यासमा रोचकता थपेको छ । यो सम्वन्ध कतै एक निमेषको क्षणिक उत्तेजनामा अडिएको छ, कतै दीर्घकालीन माया प्रेमको प्रतिफल, कतै सम्झौताले दिलाएको न्यानोपनमा हिँडेको छ भने कतै एकतर्फी आकर्षणका झिल्काले डढाएको पनि छ । यी माया प्रेमका चित्रणले युधिर थापाका उपन्यासको झझल्को ल्याए पनि तीनमा भेटिने उच्छृङ्खलता यसमा पाइन्न । बरु रुपनारायण सिंहको भ्रमरमा अनुभूत गरिने शालीन प्रेमको साक्षी बनिन्छ । त्यसर्थ भन्न सकिन्छ यस उपन्यासमा लील बहादुर क्षेत्रीको प्रशिद्ध उपन्यास बसाईँका पात्र रिकुटे र झुमाको वासनाले नजिक्याएको मिलाप र मोटे कार्कीको सच्चा र समर्पित प्रेमसँग साक्षात्कार हुन्छ ।

बेला बेला झुल्किने पारिवारिक अन्तर्द्वन्द्वले   जन्माएका कुण्ठा र विद्रोहका साथै राजनैतिक भूमिगत विद्रोहका घटनाले उपन्यासलाई चखिलो बनाएको छ । त्यसैगरी पारिवारिक सम्वन्धका समयवी भाइहरूद्वारा देखाइएको आत्मियता, निकटता, एकअर्कालाई प्रोत्साहित गर्ने र सल्लाह सुझाव दिने प्रवृत्तिले नेपाली समाजको बन्धनको कसिलो पाटो प्रस्ट्याएको छ । नेपाली समाजका युवाको अमेरिकन डाइभरसिटी भिसा (डिभी) प्रतिको आकर्षण र उत्तेजनालाई पाठक सामु ल्याउन सफल छ यो उपन्यास । नेपाली समाजको अर्कोे प्रवृत्ति ‘अरुले गरे म पनि गरिहालौँ न त’ लाई पनि डिभीको फर्म भर्ने घटनाले उजागर गरेको छ ।

यस उपन्यासको गहन पक्ष सवलीकृत नारी पात्र हुन् । हकी, आँटी र निडर कान्ति, चन्चल, साहसी र कर्मयोगी उर्मिला अनि शान्त, व्यावहारिक र कर्तव्यपरायण सुमित्रा सबै उत्तिकै सवल छन् । नारीको नेतृत्व गर्नसक्ने शक्ति र क्षमता अनि संघर्षशील आचरणको प्रतिनिधित्व यी र अरु पनि केही नारी पात्रहरूले गरेका छन् । समाजबाटै टिपिएका यी नारी पात्रले उपन्यास लेखनमा नयाँ आयाम थपेका छन् । नायक पुरुष मात्र हुन्छन् भन्ने भ्रम तोडेका छन् । समाज निर्माणमा नारी पुरुषको भूमिका सम देखाउने दृष्टान्त बनेका छन्

शैलिगत रुपमा समेत यो उपन्यास पृथक र रोचक छ । अमेकिाबाट उठान भएको कथाले नेपाली मध्यम वर्गीय जीवन संघर्षका नेपालमा घटित घटना खोतल्दै खोतल्दै फेरि अमेरिकामै पुगेर विश्राम पाएको छ । दुई पात्र (नारी–पुरुष) ले लेखेका र सुनाएका कथालाई टङ्कणकर्ताले सूत्रधारका रुपमा समानान्तर तरिकाले एउटै धागामा उन्दै गएकी छन् । उपन्यासको अन्त्य रोचक, रोमान्चक र नाटकीय हुने तथ्यकी पहिलो साक्षी पनि यिनै टङ्कणकर्ता भएकी छन् ।

सरल र सरस भाषामा लेखिएको यस उपन्यासमा प्रदेश एकमा विशेष बस्तु (झल्ला), व्यक्ति (स्याल, बजिनी, पड्के, काठा, बुइनी ) र अन्य (अगडम बगडम, ठोक्नु) जनाउने शब्दहरूको प्रयोगले आञ्चलिकताको सुवास मगमगाउँछ । दुई शब्दका सांकेतिक शीर्षक र उपशीर्षकमा दुवै शब्दका प्रथम ध्वनी प्रायः सम छन् । यिनले लेखकको शब्दचयन सतर्कता झल्काउँछ ।

‘बुइनी’ शब्दको प्रयोगले मेरो वाल्यकाल ठोकिन आइपुग्यो। धनकुटा बजारको नेवारभाषी  वाहुल्य भएको कन्या विद्यालयमा पढदा हामी आफु भन्दा साना कक्षाका केटीहरुलाई ‘ बुइनी’ सम्बोधन गर्थ्यौं। नेवार भाषी साथीहरु त्यो सम्बोधन सुनेर जिस्क्याउन लाग्थे. के भनेको त्यो  मचा भनेको “बुइनी होर ? बैनी भनन। नेवारीमा बुइनीको अर्थ  जन्मनु वा जन्माउनु भएकाले उनीहरुको प्राथमिकतामा  त्यो शब्द नपरेको तथ्य खुलेपछि हामीले ‘बैनी ‘ भन्न थालेका थियौं। वर्तमानमा त त्यो शब्द विस्मृत जस्तै भएको बेला यस उपन्यासमा फेरी पढ्न पाउदा धेरै पहिले छुटेको आफ्नो मित्र संग आकस्मिक भेट भए  जस्तो लाग्यो ।

यति सुन्दर र पठनीय उपन्यास सृजना गर्न सकेकोमा लक्ष्मण गाम्नागेलाई बधाई तथा सृजना निरन्तरताका लागि शुभकामना ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.