24 Online News
७ मंसिर २०७७ २२:०३

अभिनयका परिदृष्यहरू !


म नाटक हेरिरहन्छु,
अभिनयका परिदृश्यहरू
सधैँ मञ्चन भइरहन्छन् ।
भाषिक भाषण खण्डहरमा पस्छन् र
क्षेत्रीय बिखण्डन बाेकेर निस्कन्छन् ।
पाखण्डले जातीय विष ओकल्छ र
साम्प्रदायिक काटमार गराउँछन् ।

एउटै पर्दामाछन् कतै भाेक र राेगहरू
दमित भएर मानवियताहरू !
जीवन जिउन घिस्रिदैगरेका,
जिउँदा नरकङ्कालहरू !
देखिन्छन् त्यतै चरिरहेका
पाेष पाेटिला स्याल गिद्दहरू !

पर्दा हल्लिन्छ,परिदृष्य बद्लिन्छ र
सपना साँचेर बाँच्नेका नीलडामहरू !
परिदृश्यमै बिलिन…….हुँदै हराउँछन् ।

अर्काे पर्दा खुलेपछि,
कर्ण कवजका रक्तिम छिटाले,
काख रित्याई दिएर,
द्राैपदीहरू ! राेइरहेका हुन्छन् ।
दुशासन गर्जेर अनिष्ट बर्षन्छ र
पर-परिकाे चीरहरण भएर
जर्जर देखिन्छ परिवेश !

सकुनीहरू कुटिल पासाफ्याँक्छन्,
नागरिकहरू जहिल्यै हारिरहन्छन्
सार्वभाैमिकताहरू !
धृतराष्टका अन्धकारमा पस्छन् र
बाँसका आँख्ला पड्केर,
अनेकन निस्कन्छन् धुन्धुकारीहरू

तेस्राे दृश्यमा,
घडियालहरूले कङ्कालका
करङ भाँच्छन् र
गान्धीकाे मुटु छेड्छन्
शान्ति जप्छन्,लासमा टेक्छन्,
परेवा उडाउँछन् ।
बलत्कार, भ्रष्टचार,काटमार,
नगर्नुपर्ने सबै दुराचार गर्छन्
फेरि पनि बुध्दकै कुरागर्छन् ।

अर्काे परिदृष्य बद्लन्छ,
चेलाहरू मञ्चमा उक्लन्छन् ।
स्यालुट ठाेकेर नाइकेहरूलाई,
टाउकाकाे माला पहि-याइदिन्छन् ।
बिजयकाे हाैदामा बसेर,
जुलुस निकाल्छन् ।
भुइँमा खस्छन्,झसक्क झस्कन्छन् ।
खाल्डाेमा पर्छन् छट्पटाई रहन्छन् ।

अन्तिम परिदृष्यले
दर्शकहरू भयभीत हुन्छन् ।
नीलाे अनुहार लगाउँछन् ।
अभिन्न टाँसिएकाे पीडा बाेकेर,
दर्शक दीर्घाबाटै कराउँछन्-
बितृष्णा .. ! बितृष्णा .. !! बितृष्णा…!!!
बन्दगर ! तिम्रा यी सबै ईन्द्रजालहरू !
रक्तपातका सधैँ अनन्त अभिनयहरू !

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.