24 Online News
१७ मंसिर २०७७ ०८:१०

अनायोजित -२

मनमा त भइरहेछ उन्नतिलाई अबै भेटुँ तबै भेटुँ । साँच्चि नै भनुँ हृदयको अज्ञात कुनामा उनकै नाम ध्वनित भइरहन्छ, हर निमेष । मेरो यस्तो दुरुह बेथा कसलाई सुनाऊँ ? उन्नतिलाई … ? अहँ, हुँदैन भो कत्ति पनि हुँदैन, के भन्लिन् उनले फेरि ? शायद अनेकानेक आक्षेप लगाउलिन् । तारुण्यको अन्तस्थ आग्रहले त्यसो गरायो भन्ठान्लिन् । कामना र वासनाले आसक्त प्रेमी … त्यही सोचेर क्रुद्ध हुन पनि के बेर ? यता म उनकै स्मरणमा बाँच्ने कलात्मक शिल्पी बन्दैछु । थाहा छैन उनी कसको स्मृतिमा समय व्यतीत गराउँदै छिन् । मेरो हाल सुनिन् भने उन्नतिले कस्तो प्रतिक्रिया देलिन् ? मनको सारा यथार्थ के उनलाई जताऊँ ? म कस्तो निकम्मा छु नै … । व्यर्थका कुरामा किन अल्झिँदैछु । उनी मेरी पे्रमिका हुन् भन्दैमा आन्तरिक मामिला सम्पूर्णतः पोखाएर आफैँउपर आघात पु¥याउनु कतिको मनासिब होला ?

प्रेमको जँघार तर्दै जाँदा आफैँमाथि विश्वासघात कसरी गरूँ ? म उन्नतिको पे्रमी हुँ तर मेरा दुर्बलता उनलाई कहाँ मन पर्छ ? के स्वीकार्य हुन सक्ला ? परन्तु म उनको हर दुर्बलता स्वीकार्न सक्ने स्थितिमा पुगिसकेको छु । आफ्नो वस्तुस्थिति र आफैँलाई विस्मृत गराएर प्रेमको गहिराइमा पुग्दा शायद म यति विघ्न दुर्बल भएँ हुँला । उता उनको अवस्था चाहिँ ?

म उन्नतिप्रति जति अनुरागी भए पनि, उनलाई आफ्नै ठानेर सान्निध्यको अनुभूतिमा रुझे पनि यथार्थमा मैले उनको स्वभावबारे अझै भेऊ पाउन सकिरहेको छैन । उन्नति कस्तो प्रवृत्तिकी कुमारी हुन् । जसलाई पढेर कहिल्यै पार लगाउन सकिँदैन । हर दिन उनीसँगको संवाद नवीन लाग्छ । मानौँ, उनीसँग पहिलो पटक संयोगवश भेट हुँदैछ, वार्तालाप गरिँदैछ । म जसरी आफ्नो कुरा खुलस्त भएर गर्छु । अहँ, उनी त्यसो गर्न रुचाउँदिनन् । अरूलाई रहस्यमा भुलाउनु नै उनको सौखको विषय ।

मैले कैयौं पल्ट उन्नतिबाट दीक्षित हुनु परेको छ । त्यस दिन पनि उनले भनेकी थिइन्, प्रयास ! म आफैँलाई धोका दिन चाहन्नँ । आफूलाई सम्पूर्णतः बाह्य गराउनु राम्रो हुँदैन । मान्छेको मनभित्र नितान्त निजी भावना र अनुभूतिहरू पनि हुन्छन्, जसलाई आफैँमा लुकाएर आश्रय दिनुपर्छ । त्यस्ता आन्तरिक कुरालाई निराश्रयी बनाएर अरू समक्ष उद्घाटन गर्नु कति जायज होला ? तिमी आफैँ भन, जुन कुरा सुनाउन कोही पनि योग्य हुँदैन । कुनै काम्य नर–नारी पनि त्यसको निम्ति उचित र अनुकूलित चरित्र किमार्थ हँुदैनन् । बस, आफू मात्रै त्यसको उत्तम स्रोता भइने रहेछ ।

तिमी भन्ने गर्छौ, मनका कुरा शेयरै नगर्ने हो भने प्रेमीको के अर्थ ? आत्मीयता कसरी खुल्न सक्छ ? उसले सुख–दुखमा के साथ दिन सक्ला ? ऊ कसरी नजिक आउन सक्छ ? अनि सन्दिग्धता कसरी हटोस् ? व्यवधानको निराकरण हुन सक्छ के ? कसरी आफ्नो हुनुको प्रत्याभूति गराउनु ? हो, मलाई थाहा छ तिमीभित्र यस्ता अनेकन प्रश्नहरू अनुत्तरित नै छन् । मीठो प्रतीक्षा गरिरहेका छौ निश्चय, उत्तर प्रत्युत्तरहरूको । भन त म तिमीलाई कसरी सम्झाऊँ ? विफल भइसकेको छु बार–बार । प्रयास ! तिमी निसन्देह रहू, म तिमीलाई नै प्रेम गरिरहेको छु । यस विषयमा तिमी सशंकित भएको मलाई राम्रो लाग्दैन । साँच्चि नै भनुँ म तिमीलाई कति चाहन्छु । लाखौँ चाहिरहँु परन्तु दुर्बलतावश घँुडा टेक्दिनँ । प्रत्येक व्यक्ति आफ्नो समय र परिस्थितिसँग सङ्घर्ष गरिरहेको हुन्छ । आफ्नो अनुकूल प्रतिकूल परिवेशसँग भिड्दा भिड्दै एक दिन ऊ समाप्त पनि होला । तिम्रा आफ्नै विवशताहरू छन् त्यस्तै मेरा पनि । यसकारण निजी अनुभूतिहरू आन्तरिकता रुचाउँछन् । तसर्थ प्रत्येकका वाध्यताहरू कसैसँग एकाकार हुँदैनन् ।

अझ अरू अगाडि बढेर उन्नति मलाई सम्झाउछिन् – प्रयास ! तिमी आफ्नै अनुकूलतामा अगाडि बढ र आफ्नै प्रतिकूलतासँग भिडिरहू । म पनि त्यसै गर्नेछु । यद्यपि हाम्रो प्रेममा कुनै आघात नपरोस्, जसलाई अनन्त कालसम्म बचाएर राख्नु पर्छ अनेक तुषारपातबाट । सुरक्षामा कुनै कमी नहोस् । जुन दायित्व हामी दुवैको हुनेछ । म फेरि पनि भन्दैछु, मलाई म जस्तै भएर ज्यून देऊ । तिमी पनि तिमी जस्तै भएर बाँच्न सिक । त्यसैमा हामीले आ–आफ्नो अस्तित्व भेट्टाउने छौँ । म चाहन्नँ आफ्नो अपनत्व गुमाएर तिमी मेरो प्रतिकपी बन । मेरो प्रण त्यो होइन जब कि मेरो प्रयास कसैको प्रतिमा बनोस् । बस, म तिम्रै छविको महक फैलिएको देख्न पाऊँ । तिमी पनि प्रतिज्ञा गर, उन्नति आफ्नै उद्यानको सुरभि दूरसम्म पु¥याउन सकून् । मलाई मेरै विचारमा अडिन देऊ । बस, म यत्ति चाहन्छु; तिम्रो साथ होइन मलाई आत्मा दिने गर । मेरो ऊर्जा प्रवाहिनी हौ तिमी … ।

मलाई त आफ्नी प्रेयसी भएर होला उन्नतिको हर अभिव्यक्ति सहज र अकाट्य लाग्छ । तर उनको भेऊ नपाउनेहरूले अहंकारी जिद्धी स्वभावकी केटी भन्ने गरेको मैले सुन्दै आएको छु । त्यस बेला मलाई निको लाग्दैन, उनका टीकाटिप्पणी गर्नेहरू । त्यसो त उन्नतिका सम्पूर्ण अवधारणा अरूलाई स्वीकार्य छन् भन्न खोजेको पनि होइन । प्रत्येकका आफ्नै दृष्टिकोणहरू हुन्छन् । हरेक व्यक्तिलाई आफ्नै विचारहरू यथार्थ र सत्य लाग्छन् । यसर्थ सत्य प्रायः व्यक्तिपरक हँुदोरहेछ । कसैको विचार उपर प्रत्याक्रमण गर्नु भनेको उसको व्यक्तिगत मूल्य र अस्तित्वलाई मेटाउन खोज्नु हो । मैलै उन्नतिका कुनै पनि मान्यतालाई अपमान गरिनँ । लाग्छ, उनको अपमान गर्नु भनेको म आफैँ अपमानित हुनु थियो । मैले उनलाई सम्मान दिएपछि नै उनले मलाई सम्मान दिन जानिन् ।

मनको कुरा जहिले पनि मनमै अड्किरह्यो । उन्नतिलाई भेट्न जानु पूर्वको प्रत्येक घडी म संकल्प गर्छु, थोरै पनि बाँकी नराखी आफूलाई उनैको आँचलमा खन्याइ दिऊँ । तब के सोच्लिन् उनले ? तत्क्षणमै मनमा एउटा तिक्त भय अङ्कुराई उठ्छ । नाइँ ! नाइँ !! उनलाई आक्षेपक बनाउनु मेरो अभिप्राय होइन । म कल्पित लोकमै अधमरो भइसकेको छु ।

त्यस दिनको कुरा हो, एकान्तको रसिलो संवादपछि आ–आफ्नो गन्तव्यतर्फ फर्किंदै थियौँ । उनीबाट टाढिन यो मनले चाहिरहेको थिएन । अभिलाषाले भरिएको मन आशै आशामा जीवनको आधार खोज्ने गर्छ । त्यस अन्तिम पल चुम्बनको मधुर तृप्ति बाँकी नै थियो । मेरा अपरिभाषित नयनलाई उनको अुनुपम वदनले थामिरहेको बेला, अञ्जान आसक्तिले मलाई कतै दुर्बल गराउने त होइन ?

देख्दैछु उन्नति कहीँ हराउँदै छिन्, केही बिर्सिएर सम्झिँदै गरेकी, केही गुमाएकी पनि, अनि केही प्राप्तिले हर्ष विभोर भए जस्ती … । अनेकानेक भाव मिश्रित चेहरा, हेर न कम आकर्षक थिएन । प्रशस्त तर अव्यक्त भाव बोध गर्दै मैले सोधेँ, “उन्नति ! केही भन्न बाँकी थियो कि ?”

स्मित हाँसोले मण्डित ती अधर उन्मुक्त हुन चाहेर पनि सकिरहेका थिएनन् । कण्ठलाई केही बाधित गराउँदै अनुच्च स्वरमा भन्न लागिन्, “मनका कुरा तिमी समक्ष उद्भाषित गराउनु त कति छ, छ नि । शायद म प्रस्तुत भएरै नभ्याउँला । कदाचित् म समर्थ छैन । परन्तु भन्ने कुरा फेरि केही पाउँदिनँ । भो अब विलम्ब नगर, जाऔँ … । बाँकी केही छैन, रहेछ भने भन्दै गरौँला ।”

उन्नतिको त्यो रहस्यमयी स्वभाव म कसरी बोध गरूँ । हरे प्रभु ! कस्तो केटीसँग प्रेम विनिमय गर्न पुगेछु … । आर्जनकी प्रेमिका पनि के यस्तै होली र ? अरू साथीहरूको स्थिति कस्तो हुँदैछ कुुन्नि ? उन्नतिका प्रायः सन्दर्भहरू यस्तै उस्तै रहस्यास्पद हुने गर्छन् । घरी–घरी त उनका कुरा सुनेर क्षुब्ध भई उठ्छु । यद्यपि फेरि संयमले यो मनलाई बाँधेर राख्छु । केटीहरू प्रायः यस्तै कुटिलतामा प्रेमीहरूलाई चेसको गोटी झैँ चल्न बाध्य गराउँछन् क्यार ।

गत वर्षको कुरा हो, उन्नति आफ्नी दिदीको घर गएकी थिइन्, गोधूलीटार । मलाई उनको अनुपस्थितिमा काठमाडौँ शहर रित्तो रित्तो लागिरहेको थियो । निरीह, निर्जन भूमि । मन भइरहेछ, म पनि आफ्नै गाउँतिर प्रस्थान गरूँ । फेरि सोचेँ उन्नतिको आगमन होस् अनि … । जसरी मलाई निसङ्ग बनाएर उनी गएकी थिइन्, पख म पनि तिमीलाई त्यसै गरी छोडेर जानेछु । मेरो अनुपस्थिति अनि मात्र उनलाई खड्किएला ।

पश्चिमी पहाड, पोखराको छेउछाउ । काठमाडौँको खल्बली र दूषित पर्यावरण भन्दा अधिक पर, धेरै पर । उन्नतिलाई खूबै आनन्द आइरहेको छ रे ! त्यहाँ । यता मलाई भने … । प्रत्येक दिन पूर्व सन्ध्याको त्यस क्षण हिमशिखरको मनोरम दृश्यलाई चुम्दै उनले मलाई फोन गरेकी हुन्छिन् । विरही स्वरमा मैले भनेँ, “उन्नति ! अब त फर्किने समय भएन र ? … भो विलम्ब नगर । के तिमीलाई थाहा छैन ? हेर न … तिम्रो अनुपस्थितिमा मलाई यो शहर विरानो लाग्दैछ । उदास, उजाड … । विरक्ति बोधले मलाई निलिसक्यो ।”

मलाई त्यो बोध छ मेरा हर याचना निरर्थक हुनेछन्, जुन कुराले उन्नतिलाई प्रभावित गराउन सक्ने छैनन् । बरु मेरो थप विरहमा उनी आनन्दित हुनेछिन् । त्यति बेला सोच्दिहुन्, प्रयासको सम्पूर्ण खुशी र उत्साहको स्रोत मै हुँ । म कस्तो निरीह पुरुष हुँ ? आफैँलाई थाहा छैन । मेरो दुर्बलतामा उनी अरू यन्त्रणा थप्दै जानेछिन् भन्ने ज्ञान हुँदाहुँदै म फेरि किन … ? त्यसो त उनलाई मेरो माया नभएको कहाँ हो र ? बोध नभएको होइन, उनी पनि मेरो अनुपस्थितिमा उत्तप्त हुनेछिन् । उनी मलाई कष्ट दिने अनेक बहाना किन बनाउँछिन् र ।

उन्नति ! तिमीले ममाथि कत्रो अन्याय गरेकी छौ र अझै कति गर्ने इच्छा छ ? मेरो वास्तविकतालाई हाँसोमा उडाउँदै उनले भनिन्, “म नभएर के भयो तिम्रा अरू छँदैछन् नि … । थाहा छैन प्रयास, म कहिले फर्किन्छु, अनिश्चित् … । मेरोबारेमा निश्चिन्त रहू । म आफ्नै अनुकूलमा छु ।”

मलाई उनको यस अभिव्यक्तिमा अरू क्रोध थपिंदै थियो । तैपनि आफूलाई सम्हाल्दै भनेँ, “कुनै तिथि मिति त होला नि, जस्तो कि एकदिन, दुईदिन, एकहप्ता, दुईहप्ता, महीना दिन … । म कुन घडीलाई निशानी बनाएर प्रतीक्षा गरिरहुँ ? बस, मलाई त्यत्ति भनिदेऊ तिमी कहिले फिर्ती हुने हो । म आश्वस्त रहने छु त्यही समयको पर्खाइमा । तिमी कति निर्मोही छौ भने नि … आउने जाने तिथि पनि सूचित गराउन चाहन्नौ । तिमीले कहिलै सोच्यौ ? यस कुराले मलाई कति दुखित गराउँछ । तिमी जुन प्रहर पनि मलाई किन यति सन्तप्त गराउन चाहन्छ्यौ ? भन मेरो के दोष छ ? कुन दण्ड मलाई भोगाउँदैछौ ? तिमी आउने समयको अन्दाज लगाउन मलाई मुस्किल पर्दैछ । भन म के गरूँ ?”

पछिल्लो अंक छुटाउनु भयो कि ?

अनायोजित

उन्नतिलाई जति नै विनयी भएर यथार्थमा फर्काउन खोजे पनि उनमा कुनै सदाशयी भाव म पाउँदिनथेँ । उसै गरी उनले फेरि भनिन्, “काठमाडौँ प्रस्थानको समय अनुमान लगाउन म आफैँले सकिरहेको छैन भने तिमीले कसरी सक्छौ र प्रयास ? मलाई नै पत्तो छैन म कहिले फिर्ती हुन्छु । थाहा छैन मेरो समयले मलाई कुन दिन त्यता फिराउने छ । मेरा हर क्रियाकलापको दायी समय हुनेगर्छ, जुनै क्षण पनि । म उसैको जिम्मामा छु र उसैको भरोसामा । यसर्थ म समयको उपज हुँ । त्यसो त सबै समयका उपज हुन् । प्रयास ! तिमी पनि समयकै उपज हौ तर मैले समयलाई जति बुझेकी छु त्यति तिमीले बुझ्न सकेनौ । तिमी यसकारण दुःखी छौ कि समयको दायित्व आफैँ लिन खोज्छौ । यसकारण म तिमीभन्दा खुशी छु र निश्चिन्त पनि । किनकि समयको उत्तरदायित्त्वलाई मैले किमार्थ आफ्नो ठानिनँ । बस, यही नै प्रयास र उन्नतिबीच पृथक तत्व भएर आउँने गर्छ, जसले हामी द्वयलाई बेग्ला बेग्लै गोलाद्र्धमा राख्दै आएको म पाउँछु ।

नित्य त होइन त्यस्तै कहिलेकाहीँ उन्नतिमा एउटा यस्तो भूत सवार हुनेगर्छ । त्यस क्षण उनी विषय सन्दर्भदेखि बाहिर बहकिने गर्छिन् । अघिका दिनमा लाग्थ्यो, उनी साइको त होइनन् ? जब म उनको स्वभावप्रति परिचित हुँदै, खुल्दै गएँ, त्यस पश्चात्का दिनमा मैले उनलाई धेरै करेक्सन गरेँ । परन्तु त्यो भूत सवार चाहिँ कहिल्यै विलय हुन सकेन । आज उनको बहकिने दिन रहेछ, थप बहकिन दिनु थिएन । तसर्थ उनका कुरा सुनिरहेँ तर सवाल जवाफ गर्नु मैले मनासिब ठानिनँ ।

बस, यत्ति भनेँ, “उन्नति ! तिमी कति रहस्यमयी छौ हगी ? तिम्रा कुरा मलाई सम्पूर्ण रहस्यमय लाग्छन् ।”

मेरो त्यस वाणीमा उनी सुस्तरी हाँस्दै थिइन् । उन्नतिको सान्निध्यमा रहेको विगत स्मृतिमा ल्याउँदा मनमा आनन्दको निर्झर वर्षा फेरि शुरु हुन थाल्छ । त्यसै क्षण मैले उनलाई एउटा मेल पठाएँ—

प्रिय उन्नति ! अनेक सम्झना …

यता बिस्तारै सन्ध्या खस्दैछ

सँगै मनमा आनन्द पस्दैछ

सबै सबै सम्झना मात्र रहेछ यो जीवन

त्यसैले संपोषित र निर्देशित …

अनि त्यसैले मानिस क्लान्त हुन्छ र शान्त पनि

यता धेरै दिनदेखि यस्तै छ

त्यता कस्तो छ कुन्नि ?

उही तिम्रो प्रयास

जतिबेला उन्नति मबाट टाढा कतै गएकी हुन्छिन् हो, त्यतिबेला अन्तरङ्ग विगत नै मेरो अभिन्न मित्र हुन थाल्छ । उनीसँग बिताउँदै आएका अविस्मरणीय क्षण मसँग धेरै छन्, जसलाई भाषामा निवद्ध गर्ने हो भने एउटा कृति नै तयार हुनेछ । मनमा त्रास भइरहेछ म कतै साहित्यकार बन्न खोजिरहेको त छैन ।

उन्नतिका कुटिल चाल म कति स्मरण गरूँ ? अब त विस्मरण गर्ने प्रयासमा छु । साँझको आर्द्रता व्याप्त हुँदै थियो । त्यस सन्ध्यामा अधरपानसँगै हाम्रा विपरीत डेगहरू कसरी चलायमान भएका थिए तेज गतिमा ।

फेरि त्यस्तै अर्को दिन … भो अब नभनौँ । श्रोताले आफैँ दृश्य निर्माण गर्दै जानु होला, त्यो छूट सबैलाई छ जस्तोसुकै कल्पना गर्नुस् ।



(क्रमश…)

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.