24 Online News
२४ मंसिर २०७७ ०८:१३

अनायोजित -३


…. त्यो औषधि नै हो तर समय कुसमयमा घातक विषादी बन्ने सम्भावना पनि उति नै हुँदोरहेछ । मेरो निम्ति उन्नति त्यस्तै भएकी छन् । औषधि ! विष !! अँ … । उनकै कारण म प्रसन्न छु र कुण्ठित पनि । मलाई उनको समीपमा रहेको कुनै पनि व्यक्ति बिलकुल मन पर्दैन । फिटिक्कै … । स्वीकार्य छैन मलाई, यतिसम्म कि उनका मित्रजनसँगको उठ, बस, आवत, जावत र निकटतामा पनि ईष्र्या जागेर आउँछ । जोसँग पनि खुलिहाल्ने, पहिलो भेटमै पूर्व परिचित व्यवहारमा प्रस्तुत हुने, निकट रहने उनको यस्तो स्वभाव मलाई निको लाग्दैन । अन्तर्हृदय उत्तप्त भई जल्न थाल्छ । मनमनै भन्छु, त्यसो नगरे पनि हुन्थ्यो नि ! तिमी त मेरी हौ, कसैको दृष्टि पर्ला, पीर लाग्छ । उन्नति घरमै रहेको समय शान्तिको श्वास फेर्नेगर्छु … उनी सबैबाट दूर छिन् ।

उन्नतिलाई हर कोही व्यक्तिसँग हिँड्डुल गर्नु, परिहासमा रमाएर आनन्दित हुनु फिक्रीको विषय नै होइन, बेफिक्री … । मान्छेको मन परिवर्तित हुन कुन समय लाग्छ र ? जतिबेला म ढुक्क हुन सक्दिनँ, देख्छु उनी मेरो छेउछाउमा जसरी प्रस्तुत हुन्छिन् त्यसरी नै ऊसँग पनि … । म प्रेमी हुँ, शुभचिन्तक हुँ, हितैषी हुँ, असल मित्र पनि । दुःखको कुरा सबै सबै भएर पनि उनी मेरी हुन भनी दावी गर्ने मसँग कुनै आधार छैन । प्रश्न उठाउन मेरो दूर्बाेध्य परिस्थितिले दिँदैन । हृदयलोकमा उनी सम्पूर्णतः मेरी नै हुन् । परन्तु बाह्य संसारमा उनी कसरी मेरी हुन सकून् । हो, मलाई यही दुरूह व्यवधानले क्रुद्ध भएर आक्रमण गरिरहन्छ । यसो भनौँ म वाणले घायल भएकी हरिणी हँु । त्यसबेला म कामना गर्छु, जुन परिस्थितिको सामना मैले गर्नु परिरहेको छ, हे प्रभु ! त्यस्तो त शत्रुलाई पनि भोग्न नलगाऊ … । कुन प्रेमीलाई स्वीकार्य होला उन्नतिको जस्तो मायावी चाल … ।

मनमा असह्य कष्ट बोध हुँदा उनीमाथि अघोषित बन्धित सीमा निर्धारण गर्थेँ । उन्नतिले मेरो भावाशय बोध गर्न सकिन् या सकिनन्, कुन्नि … ? प्रत्यक्ष रूपमा बाधित गराऊँ त त्यस उद्यानको अधिकारी म होइन । मेरो विडम्बित मनोदशा बुझ्ने को छ यहाँ ? लोकलोचनले मेरा आकाङ्क्षालाई उचित मान्दैन, मेरा चाहना कति अभिशप्त छन्, शब्दातीत … । तैपनि म उनीलाई आफ्नो हुनुबाट टाढा राख्न सक्दिनँ । साहस र हिम्मत जुटाउन मुस्किल पर्छ ।

मैलै बार–बार उनलाई प्रत्यक्ष परोक्ष रूपमा सचेत गराउँदै आएँ । त्यस दिन पनि मैले उनलाई भनेँ, “उन्नति ! तिमी समयप्रति त्यसरी बेपर्बाह नहोऊ । हेर त समय कति मूल्यवान छ, जसको पल–पललाई पक्डिन सक्नुपर्छ । बेलैमा होस् गर । जतिबेला तिमीले समयलाई उपलब्धिहीन गराउँछौ त्यतिबेला जिन्दगी बेकम्मा हुनेछ । हामीले समयको प्रत्येक डेगमा आफ्नो पदचाप छोड्दै जानुपर्छ, असल कर्ममा लीन भएर । हो, अनि मात्र मानव जीवन सार्थक होला । आफ्नो हातबाट चिप्लिरहेको समयलाई बुझ्ने चेष्टा गर । उपादेयतादेखि पर पुगेर गरिएका हर कर्म अर्थहीन हुनेछन् । निरर्थक आमोद प्रमोदमा आनन्दित हुनु पनि आफैँलाई बर्बाद गर्नु हो । त्यो आनन्द क्षणिक छ, जसले जीवनको महत्त्वलाई नगण्य बनाइदिन्छ । क्षीण कर्ममा लिप्त भएर समयको अवमूल्यन नगराऊ । यथोचित भन्दा अधिक हिँड्डुल, हासपरिहास, ख्यालठट्टामा रमाएर के गर्नु ? त्यसले जीवनको निशानी राख्न सक्तैन । तत्क्षणमै त्यस्ता कर्म मृत प्रायः हुनेछन् । आजैदेखि अठोट गर, अब यस जीवनलाई अधिक से अधिक सार्थक बनाउन सकुँ । देशकाल परिस्थितिमा कीर्तिमानी कर्म गर्न समर्थ रहुँ । मान्छेलाई सदा जीवित गराउने तत्व नै प्राज्ञिक तथा बौद्धिक कर्म हो । भाषा, साहित्य, संगीत, कला, ज्ञान, विज्ञानको क्षेत्रले नै होइन र ? आजसम्म जति पनि सजीव भएर बाँच्न सफल भएका छन् । आइन्स्टाइनको मृत्यु कहिले हुन सक्छ ? हेलन केलर, सुकरात, अरस्तु, यता हाम्रो देशका महाकविको मृत्यु कहाँ ? मेरो कुरा त बुझ्यौ होला नि ! होइन ? म तिमीप्रति अलिक चिन्तित छु, उन्नति । अब परिष्कृत हुने मार्ग अवलम्बन गर । म चाहन्छु तिम्रो जीवन सार्थक बनोस् र उपयोगी पनि ।”

मलाई थाहा छ, उन्नतिमा संवेदनाको एउटा यस्तो सागर छ, जहाँ सूक्ष्मातिसूक्ष्म विषय सन्दर्भले पनि आफ्नो प्रवाभ छोडी तरङ्गित छाल उठाइदिन्छ ।

मेरा यस्तै त्यस्तै अभिव्यक्तिले उनमा बिस्तारै परिवर्तनहरू आउन थाले । समयप्रतिको सचेतता पनि बढ्दै गयो, उनी सिर्जनात्मक हुँदै गइन् । लाग्छ, एउटा सुन्दर सृष्टि संरचना गर्न म सफल हुँदैछु । आनन्दको सानो खोल्सी मभित्र स्निग्ध जलधारा लिएर कुल्कुलाउँदै थियो । साँच्चि नै भनौँ त मैले कुनै स्वार्थ भावले आकृष्ट भएर उनलाई त्यसो भनेको थिइनँ । म चाहन्छु हर व्यक्ति उपलब्धिपूर्ण जीवन बाँच्न सिकोस् र उन्नतिको जीवन पनि अर्थपूर्ण रहोस् भन्ने कामना गरिरहेँ, भगवानसँग । सुनेको छु, उनी अहिले कुनै उपन्यास रचनाको निम्ति आफ्नो समयलाई भूमिगत गराउँदै छिन् रे ! धेरै अघि उनले भनेकी थिइन्, “प्रयास ! तिमीलाई थाहा छ ? म कुनै दिन यस्तो उपन्यास लेख्नेछु, जहाँ कुनै युवा युवतीबीच प्रेम रचाएर त्यसैको केन्द्रीयतामा विकासको अन्तिम विन्दु विनास नै हो भन्ने आफ्नो मतलाई सार्थक गराएरै छाड्ने छु ।” शायद उन्नति अहिले यही थिममा उपन्यास लेख्दै होलिन् । अनि सुनेको छु साहित्यिक हृदयमा कलात्मक संसार निर्माण गर्दैछिन् रे ! मलाई यो भन्दा खुशीको कुरा अरू के हुन सक्छ, … ?

मलाई आज यस्तो लाग्दैछ, मान्छे सम्पूर्ण रूपमा सन्तुष्ट हुन सक्नेछैन । उन्नतिमा देखिएका परिवर्तनका लहरले मलाई सुखानुभूति गराए पनि मनको अज्ञात भय कहिल्यै बिलुप्त हुन सकेन । म चाहन्छु उनी सबैदेखि दूर रहून् । केवल मेरो समीपमा … । तर उनको मायावी चाल किमार्थ नसुध्रिने भयो । ‘उन्नति तिमीलाई अरूको निकट रहेको मलाई राम्रो लाग्दैन’ भन्नेसम्म हिम्मत र अधिकार मसँग नहुँदा मरिच आफ्नै पीरले चाउरिए जस्तो हुनु परेको छ । मेरो मनोभावना उनले नबुझेकी होइनन्, हुन त । परन्तु बुझेर पनि उनी अञ्जान भइदिन्छिन् । तब म के गरूँ ? मर्यादाको पहाड तोड्नु पनि भएन, तोडौँ पनि कसरी ? फेरि म प्रतिक्षण सपना उनकै देख्ने गर्छु ।

मेरो मनको भाषा र आन्दोलित हृदयको कल्लोलमा, नाउ बनेर डुङ्गा खियाउनमा आनन्द लिएकी उनी, मेरो सन्दिग्धतालाई मनन् गर्दै त्यस भेटमा भनेकी थिइन्, प्रयास ! तिमी किन बित्थामा सन्देहशील हुन्छौ ? मैले त कुनै सन्देह पालेको छुइनँ । तिमीले मलाई यथार्थमा किञ्चित बुझ्न सकेनौ । हृदयको ढुकढुकी बढाएर किन संशयी भावले मलाई हेर्ने गर्छौ ? तिमीलाई लाग्दो हो, मैले प्रयासलाई वास्ता गरेकै छैन, फोन पनि पातलिँदै गएको छ । मेरो स्मरण हँुदो हो त भावनाले भरिएका प्रेम पत्रहरू इमेलमा आउँदा हुन् । नढाँटी भन त के तिम्रो गुनासो यस्तै उस्तै होइन ? ठीक छ प्रयास, तिमी जसरी बुझ्छौ बुझ मैले भन्नु केही छैन र त्यसमा आपत्ति पनि म जनाउँदिनँ ।

तिमीले मलाई बुझ्नु पूर्व मेरो परिवेशलाई कहिल्यै बुझ्ने प्रयास गरेनौ । त्यसकारण तिम्रो बुझाइ गलत हुँदै आएको छ । प्रयास ! जबसम्म तिमी उन्नतिलाई आफ्नो परिस्थितिसँग दाँजेर उसको तथ्य लिने गर्छौ त्यस दिनसम्म तिमी कदाचित् त्रुटिरहित हुन सक्नेछैनौ । साँच्चि नै उसलाई उसैको परिस्थितिसँग बुझ्ने चेष्टा गर । परिस्थिति र व्यक्तिलाई अलग गराएपछि तिम्रो दृष्टि कसरी न्यायपूर्ण हुन सक्छ ?

अब बाँकी रह्यो प्रेमको कुरा । तिम्रो समझमा सँगै बस्नु, सँगै खानु, सँगै शयन कक्षमा रात बिताउनु, परिहास गर्नु, उत्सवमा सम्मिलित हुनु, सबै सँगसँगै … यही होइन त तिमीले दिँदै आएको प्रेमको परिभाषा ? जुन परिभाषा भित्र मलाई बन्धित गराएर तिमी प्रेम गर्न चाहन्छौ । हो, त्यस बेला हाम्रो पवित्र प्रेम धराशयी हुनेछ, निश्चय । तिमी भौतिक प्रेमलाई सब थोक ठानिरहेका छौ, जब कि म आत्मिक प्रेमको पुजारी हुँ । तिमीलाई लाग्ला, म जोसँग पनि प्रेम रचाउँदै हिड्नेछु । त्यसो त तिम्रो परिभाषा अनुसार यथार्थ यही थियो । होइन म भन्दिनँ । मैले एकाधिक तरुणसँग कति युग सँगैसँगै हिँडे, खुशी सांटेँ, परिहासमा आनन्दित भएँ । विगत त्यस्तै भयो, आगत यही स्थितिमा गुज्रिएको छ, मेरा अनागत पनि थाहा छ ? त्यसरी नै आउँनेछ । तिमीलाई म कति भनुँ ? मित्र र पे्रमी बिल्कुल बैग्लै कुरा हुन, जस्तो कि आत्मा र देह । मैले हर कोहीसँग भौतिक प्रेम गरे हुँला जब कि म तिमीलाई आत्मिक प्रेम गर्दैछु । अब तिमी नै निर्णय गर भौतिक प्रेम उच्च हो या आत्मिक ?

मलाई थाहा छ तिमी धेरै शंकालु पनि छौ । म फेरि प्रस्ट हुन चाहन्छु, तिमीले भौतिक प्रेमलाई काम वासनासँग जोडेर, मलाई पतीत भ्रष्ट युवतीको संज्ञा दिन पनि सक्छौ । यस विषयमा पनि तिमीलाई स्वतन्त्रता दिन्छु । त्यसो त तिम्रा कुनै विषय सन्दर्भलाई म निबद्ध गर्नेछैन । अघि भनिएको जुन प्रसङ्ग छ नि ! हो त्यसमा पनि मलाई कुनै चिन्ता छैन । अहँ, अलिकति सन्देह पनि ममा बाँकी हुँदैन ।

मेरो कौमार्य कति स्वच्छ र पवित्र छ त्यो मलाईदेखि अरूलाई थाहा हुनेछैन । म त्यति दुर्बल नारी होइन, कामेच्छाले वशीभूत भई क्लान्तिले शिथिल हुने । तथाकथितको व्याख्यान र कथनमा मैले दिएको प्रेमको परिभाषा अटाउन पनि सक्नेछैन । भन … काम वासनाले अनुतप्त भई गरिएको प्रेम कसरी हार्दिक हुन सक्छ ? तृष्णा र कामनाभन्दा अधिक उचाइमा रहने छ, निर्मल प्रेम । त्यसो त अधिक उच्चतामा गरिएको प्रेम, त्यहाँ वासना हुँदैन भनेको पनि होइन । हुन्छ, तर पवित्र … निस्वार्थ … ।

फेरि पनि भन्छु, काम वासना जस्ता विषय आफैँमा पतीत होइनन्, पतीत गराइएको हो । कामनाको रापिलो शिखाले यहाँ प्रेमलाई जलाउने गरिन्छ । मेरो यथार्थता यही हो, परन्तु तिमीलाई छूट दिनेछु, त्यसलाई जसरी मनन गर्छाै गर … । ”

मलाई अझै पनि उनीमाथि धेरै प्रश्न गर्नु थियो । उन्नतिले कुरा त खूबै आदर्शका गर्छिन्, व्यवहारमा के उनी त्यसरी नै उद्घाटित हुन सकेकी छिन् ? मैले उनी समक्ष कुनै प्रश्न उठाउने साहस गरिनँ, आफूले एउटा कुरा गरेर भ्याएको छैन, उनी अनन्त कुरा गर्न उत्साहित हुन्छिन् । बस, भित्रभित्रै विचारोत्तेजक बाढी उर्लिरह्यो । काम वासनाप्रति उनी खरो रूपले प्रस्तुत भइरहेको समय म कसरी आसक्तिको वशमा परूँ । आफूलाई थाम्दै रहेँ । मन भइरहेथ्यो एक पटक उन्नतिलाई चुमेर तृष्णाको ज्वाला अलिक शान्त गराऊँ …।

उन्नतिसँगको त्यो भेट मलाई उति तृप्तिकर लागेन, जति सोचेको थिएँ … । मैले आदर्शको वार्तालाप होइन, यथार्थको मौन प्रेम खोजिरहेको थिएँ, जहाँ प्रेमपाशमा एकाकार भऔँ । मेरा कुरा उनी बुझ्छिन्, नबुझ्ने होइन तर अलिक विस्तारमा ।

त्यस पश्चात् दुवै निशब्दतामा फर्किंदै थियाँै … ।

हाम्रा भेटहरू पुनः इमेलका शब्दहरूमा सार्थकता खोज्ने गर्छन् । म त्यस रात पनि इमेलको प्रतीक्षामा थिएँ । आशा छ उन्नतिले राम्रा नराम्रा सबै पक्षमा एकमुष्ट टीकाटिप्पणी सहित मेल पठाउने छिन् । मेरा जिज्ञासालाई उत्तरित गराउनकै लागि पनि उनले मेल पठाएको हुनपर्छ ।

मेरो प्रतीक्षारत समयले मूर्तरूप लिँदै थियो । इनबक्समा मलाई पर्खिबसेका दुई वटा मेल मध्ये एउटा यस्तो थियो ः–

प्रिय प्रयास !

म तिम्रै स्मृतिमा यो रात्रिकालीन समयसँग संवाद गर्दैछु

मैले पठाएको मेलमा

तिमीले कुनै अन्यथा लिनु पर्नेछ ….

जस्तो मलाई लाग्दैन

र मैले पनि तिमीले अन्यथा सोच्यौ भनेर

प्रतिउत्तरमा यो मेल पठाउँदै होइन

कुरा के भने नि, जब कुनै व्यक्ति पवित्र हृदयले

कसैलाई प्रेम गर्छ भने

उसको यथोचित मूल्याङ्कन गरिनु पर्छ

कामनाको वशमा परी हार्दिक प्रेमलाई

धमिल्याउनु राम्रो होइन

र, म पनि धमिल्याउने छैन

बस यत्ति भन्न खोजेको थिएँ

साँच्चिकै भनुँ भने जीवनमा मैले

तिमी जस्तो असल प्रेमी भेट्टाएको थिइनँ

तिमी कति उदार छौ र महान पनि

तिमीलाई लाग्यो, मैले सस्तो भावुकतामा

त्यो मेल पठाएको थिएँ

अहँ, होइन त्यस्तो नसोच

मैले त मनको कुरा गरेको हुँ

फेरि अर्को कुरा के भने

मन, भावना र चिन्तन

जोसँग पनि मिल्न सक्छ

कुनै एक व्यक्तिसँग मात्र होइन

आखिर मन यसरी एकाकार हुनु

अन्यथा पनि होइन होला

म तिमीलाई जीवनको अन्तिम क्षणसम्म

स्मरण गरिरहेको हुनेछु, निश्चय

यसमा मेरो भूल हुनेछ या छैन

त्यो त म जान्दिनँ

जुन दिनदेखि मैले तिम्रो हार्दिक संगत पाएँ

त्यस दिनदेखि म बिस्तारै परिवर्तित हुँदै गएँ

तिम्रो संगत राम्रो लाग्यो

रमाइलो लाग्यो

आनन्दकर पनि

म तिमीदेखि खुशी छु र प्रफुिल्लत पनि

यसरी खुशी हुनु उचित हो या होइन

गरे पनि

सार त्यत्ति हो,

आफूलाई भलो चिताउनेलाई म सदा

नमन गर्नेछु

जीवनको त्यस अन्तिम घडीमा पनि

तिम्रो स्मृति हराउने छैन

तिमीलाई मेरो कुरा यथार्थ लाग्छ, लाग्दैन

त्यो पनि मलाई थाहा छैन, …

उन्नति !!!

मैले सोचेको थिइनँ उन्नतिले यति गहिराइमा पुगेर मलाई प्रेम गरेकी छन् । पुनः पुनः को आवृतिमा मैले त्यस इमेलमा धेरै अर्थहरू लगाउँदै गएँ र पनि अभैm तृप्त भइसकेको थिइनँ । फेरि उसै गरी पढ्न लागेँ … । अर्थ पनि फेरि त्यसै गरी खुल्दै … ।

म नित्य भाषिक र भौतिक प्रेमको खोजिमा थिएँ । उनको आत्मिक प्रेमलाई मैले कहिल्यै बुझेको रहेनछु । त्यस रात्रिकालीन प्रहर अनिद्रामै बितेर गयो, जतिबेला मलाई उन्नतिको अनन्त र अव्यक्त प्रेमले प्रश्न गरिह्यो, प्रयास ! तिमी मबाट कुन प्रेम खोजिरहेका छौ, …?



एक साता अघिको कुरा हो, शनिबारको दिन उन्नति मेरोमा आउँछु भन्दै थिइन् । हामी दुवै त्यही समयको प्रतीक्षामा थियौँ । उनीसँग भेट नभएरै एकमास पूर्ण भएछ । आफूलाई भने उनीसँगै रहँु भइरहन्छ । तथापि उनलाई कस्तो हुन्छ कुन्नि ? घरी घरी त उनी कठोर पाषाण नै हुन् जस्तो लाग्छ । प्रेमीको भावना बुझ्ने थोरै प्रयास पनि नगर्ने त्यो कस्तो मन हो ? म भने उनको लागि कति तड्पिएको छु, के उनलाई थाहा छैन ?

उन्नतिले सुखद प्रेमको लागि प्रर्याप्त समय दिन अहँ, कहिल्यै जानिन् ? एउटै शहरमा रहेर पनि परदेशको बसाइ जस्तो कहाँ हो कहाँ ? भेट हुन पनि मुस्किल । कहिले त देखभेट नभएरै दुई तीन महीना त्यसै बित्ने गर्छन् । त्यसो त उनका पनि आफ्नै व्यवधान होलान्, जसरी मेरा हुने गर्छन् । तर त्यसैको बावजूद प्रेमको सुवास व्याप्त हुने होइन ? बाधा अड्चन मुक्त भएर कसले ज्यून सक्यो आजका दिनसम्म ? मेरो दृष्टिमा त अनेकानेक छेकबारले नै हाम्रो प्रेमको मूल्य अरू बढे जस्तो लाग्छ । व्यवधान नहोस् त विश्वबजारमा प्रेमको भाउ ह्वात्तै घट्ने थियो । उनको र मेरो पनि । जहाँ निषिद्ध त्यहाँ नै प्रवेशको अधिक इच्छा । मेरा केही गुनासा मध्ये उन्नतिले प्रेमलाई झ्याङ्गिन यथेष्ट समय नदिनु पनि एउटा थियो ।

फुर्सदको समय संयोगले त्यस दिन एकाध घण्टा मलाई बाहिर जानु परेको थियो । ग्रीष्मकालीन सूर्य अधिक तेजोमय छन् । उनको प्रभाव र उन्नतिको प्रेमले रापिएको, म । उच्चाट लाग्दो छ बाह्य परिवेश । धूवाँ, धूलो, व्यस्त रोड, गाडीको चापसँगै मान्छेको घुइँचो । शीतलताको अनुभूति गराउने यो शहरमा कुनै वृक्ष छैन । गाउँमा भए यतिबेला घामसँगै कलिला पाउला हावामा वयेली खेल्दै हुने थिए । जहाँ जाऊ लताकुञ्जले युक्त छहारीको शीतलता … आहा ! सम्झिँदा मात्रै पनि यो मन आनन्दले उचालिन्छ । तर यस शहरमा … । बस, एउटै छहारी म पाउँछु, उन्नतिको । आँखै तिरमिराउने उदेक लाग्दो परिवेश, एकतमासको शहरिया गतिविधि … ।

सुनेको छु, उन्नति सम्पन्नको घरमा केही कामले आएकी छन् रे ! सम्पन्न र मसँगै गुच्चा खेलेर हुर्किएको समवयी मित्र । सानोछँदा चार प्रहर रात छुट्टिएर बस्न पनि हामीलाई औधी मुस्किल पथ्र्यो ।

आज पनि स्मृतिका ती दिनहरू अस्ताएका छैनन् । सम्पन्न, विकल्प, आर्जन, कृति, स्मृति, धृति, पल्लाघरकी कान्छी र मलगायत हाम्रो एउटा सानो टीम थियो । हामी प्रायः दुलहा, दुलही भएर जन्त जानु, दुलही अन्माउनु, भित्र्याउनु … जस्ता खेलहरू खेल्थ्यौँ । म धेरै पटक दुलहा भएको छु, मेरी दुलही चाहिँ पल्लाघरकी कान्छी हुने गर्थी । आज ऊ अर्कैकी दुलही भइसकेकी छ । त्यस बेलाको खेललाई यथार्थ ठान्ने हो भने उसको दुलहाले के भन्दो हो ? उसलाई वरण गर्न राजी हुन्थ्यो कि हुन्थेन होला ? अनि मैले उन्नतिलाई प्रेम गर्न कहाँ पाउनु । लाग्छ, धेरैपछि आजका दिनहरू पनि केटाकेटीको खेल जस्तै हुनेछन् । त्यसो त हामी यस्तै अनित्य खेलहरू खेल्नकै निम्ति जन्मिएका हौँ । हाम्रा सम्पूर्ण कर्महरू यस्तै त्यस्तै खेल हुन् । त्यस दिन हामीलाई सबै कुरा व्यर्थ लाग्ने छन्, उपलब्धिहीन निस्सार … जुन दिन वृक्षका फूलहरू फुलेर, फलेर, पाकेर झर्दै रहेका हुनेछन् । अनि कहाँ रह्यो त्यो फलको निशानी ? कसले वास्ता गरिदिन्छ ? ऊ त झरिसक्यो । त्यसो त आजका फूलहरूको स्थिति पनि यो भन्दा बेग्लै कहाँ हुन सक्छ ? सबैको मर्म एउटै भएपछि कोसँग गुनासो पोख्नु ? अनि मलाई भन्न मन लाग्छ, हामी प्रत्येक क्षण मञ्चनमा सहभागी भएर आफूलाई व्यस्त गराउँदैछौँ अनित्य रङ्गमञ्चमा । जहाँ भोलिका दिन फेरि अरू कोही आउने छन् मञ्चित हुन् … जसको निम्ति हामीले जिन्दगीभर खाइ–नखाइ, क्षणभर फुर्सदको अनुभूतिसम्म नलिएर दुःख, कष्ट, चुनौती र दुर्भाग्यसँग भिडेर कमाएका सारा उपलब्धिहरू निर्मोही बनी च्यात्तै छोडिदिनु छ । त्यसो त हामीले जन्मिंदा के नै ल्याएका थियौँ र ? आज आएर हामीले जति पनि कुरा आफ्नो भन्ठानेका छौँ ती सबै यहीँका हुन्, यहीँ प्राप्त गरेका हौँ र यहीँ नै छोडेर जानुपर्छ । मैले आफ्नो ठान्दै आएकी उन्नति पनि यहीँकी हुन् । हाम्रा सम्पूर्ण सम्बन्धहरू यहीँ जोडिएका हुन् । यसर्थ एक दिन ती सबैलाई भुलेर हरेक व्यक्ति एक्लै एक्लै जाने छ तर थाहा छैन जाने कहाँ हो ?

उन्नति र मेरो प्रेमबारे सम्पन्न अनभिज्ञ थिएन । उन्नतिले कुनै दिन भनेकी थिइन्, हाम्रो निस्वार्थ प्रेममा ऊ यदाकदा व्यङ्ग्य प्रहार गर्छ रे ! सम्पन्नको निवास नजिकै छ मेरो डेरा । उन्नति कति कामले आएकी होलिन् उसको घरमा ? आशा छ घर फर्किंदा उनी यही बाटो आउनेछिन । शायद आउँदिनन् पनि … । किनकि उनले दिएको समय अनुसार भोलि उनी यहीँ आउनेछिन् ।

उष्णतासँगै मनमा अनेक कुरा खेलिरहेका थिए । हर्ष र आनन्द पनि … । सोचिरहेको छु भोलि उन्नतिको अगाडि कसरी प्रस्तुत होऊँ ? कुन प्रसाधनले मेरो सौन्दर्यमा निखार ल्याउला ? प्यारोट कलरको सर्ट लगाऊँ या क्रिम कलरको । ए … ! साँच्चि म त कति हुस्सु रहेछु नै । उन्नतिको फेब्रेट कलर ह्वाइट र स्काइ व्ल्यु होइन ? उनको मन पनि त त्यस्तै छ नि, निर्मल … ।

सम्पन्नको घरमा अरू पनि मानिस आएका होलान् । उन्नतिका निम्ति कति अनुहारहरू अपरिचित लाग्ने छन् । मध्याह्न घर्किएपश्चात्को समय, केही नरम हुँदै थिए दिनाधीश । शिथिल चाहिँ होइन, त्यसको लागि उनी पारि तर्नै पर्छ । आफू त्यहाँ जानुको निर्दिष्ट उद्देश्य पूर्ण भएपछि उन्नति प्रत्यागमनको तयारीमा थिइन् । त्यतिबेला सम्पन्नले भन्यो “के तिमी प्रयासलाई भेट्दिनौ ? ऊ हाम्रो निवासमा आउँदैछ ।”

सम्पन्नको कुरा सुनेर उन्नति क्रुद्ध भइन् । प्रयास कस्तो मान्छे हो ? उन्नतिले आफैँलाई प्रश्न गरिन् । एक त हाम्रो भेट आउँदो दिन हुने नै छ, अर्को कुरा प्रयासले अघि भर्खर मेल पठाएको थियो, “उन्नति ! सुनेको छु तिमी सम्पन्नको घरमा आएकी छौ रे ! त्यताबाट बाँकी रहेको समय मिलाएर यता आउन सम्भव थियो कि ? म विश्वस्त छु तिमी आउनेछौ । पर्खिरहेको छु तिम्रै स्वागतमा … ।”

फेरि यता सम्पन्नको कुरा अर्कै हुँदा कसको भनाइलाई विश्वास गर्नु । यथार्थ के हो ? मलाई हाँस्य पात्र बनाउन खोजेको कसले ? प्रयास या सम्पन्न । उनी आफैँसँग यसरी तर्कवितर्क गर्न लागिन् ।

उन्नतिले मनमनै आफ्नो प्रेमीलाई धिक्कारिन्, छिः … ! प्रयास कति बेकम्मा छ भने, आफ्नी प्रेयसीलाई अरूको अगाडि हेर न कसरी मञ्चन गराएको । उन्नति सम्पन्नको दृष्टिमा परिहासको पात्र बन्ने छिन्, उसले के यत्ति पनि सोच्न सकेन ? अब मैले कसको कुरा सही मान्ने ? त्यसो त प्रयासले यसअघिका दिनमा कुनै मिथ्या कुरा गरेर कष्ट दिएको थिएन । यद्यपि किन आज उसले नाटक गरिरहेछ ? सम्पन्नको निवासमा ऊ आउँदैछ भने फेरि मलाई तिम्रो प्रतीक्षामा छु किन भनेको ? उसको अभिप्राय के हो ?

सम्पन्नको कुरालाई यथार्थ मान्नु अस्वाभाविक पनि त होइन । प्रयासले आफू आउँदैछु भन्ने सन्देश नछोड्दो हो, सम्पन्नलाई कसरी थाहा हुन्थ्यो कि प्रयास बाहिर गएको छ, एकैछिनमा आउला । उन्नतिका मनमा विचारहरू जुर्मुराउन थाले, प्रयास ! तिमीले मसँग झूट बोलेर के पाउँदैछौ ? केवल अविश्वासको पात्र । हाम्रो प्रेम के यसरी नै अघि बढ्ला ? जब कि तिमी अनेक सन्दिग्धता जन्माउन मात्रै खोज्छौ । भन त सन्दिग्धताले जोड्छ या फटाउँछ ? अनि तिमी भन्ने गर्छौ, हाम्रो प्रेम अमर रहोस् । तब के सम्भव … ।

उन्नतिले फेरि मनमनै विचार गरिन्, हुन त सम्पन्नको कुरा सुनेर मैले प्रयासलाई दोषी ठह¥याउनु पनि उचित होइन । सम्पन्नले मेरो मन चोर्दै पो थियो कि ? हुन सक्छ, मेरो दुर्बलता मापन गर्न सम्पन्नले त्यसो गरेको थियो ।

उन्नतिको मन घरी सम्पन्नप्रति सन्देहशील हुनथ्यो त घरी आफ्नै प्रेमीप्रति । आफ्नो दुर्बलता छिपाउन उनलाई कठिन हुँदै गयो । उनी कसैको सामु दुर्बल भएर आत्मसमर्पण गर्न रुचाउँदिनन् । बरु हजार हण्डर खान राजी हुन्छिन् । यस्तो लाग्छ उनको तालिमी मन त्यति कमजोर छैन । उनले चाहनु मात्रै पर्छ त्यसै क्षणदेखि प्रयासलाई जिन्दगीभर स्मृतिमा नल्याउने संकल्प गर्न सक्ने छिन् । उनको संयमी मन विचित्रको छ, तर कसले चाल पाओस् । यस्तो कुरा उनीहरूलाई के थाहा ? अनन्त स्मरणको दहबाट तत्क्षणमै हर कालको निम्ति हटाइदिन सक्ने त्यो कस्तो मन हो ? मानौँ, यति कठोर हृदय त हिंस्रक जनावरको पनि हुन सक्दैन ।

सम्पन्न उन्नतिको भावभङ्गीमातिर गहिरो दृष्टि दिँदै प्रतिक्रियाको पर्खाइमा थियो । उसको यो सब कुटिलता बुझिरहेकी उनले भनिन्, “किन पर्खिनु प¥यो प्रयासलाई ? किन भेट्नु ? काम नै के छ र ? भेट्न मन भए के समय अर्को दिन भएर आउँदैन ? भो जान्छु । मलाई नरोक … । ढिलो भइसक्यो ।”

उन्नतिले अरू थपेर सम्पन्नलाई कुरा लम्ब्याउने ठाउँ नै दिइनन् । उन्नतिलाई थाहा थिएन र ? सम्पन्नले बढाइ चढाइ कुरा गरेर कोमल नारी हृदयको भावना कसरी धुत्ने गर्छ ?

नाटक कसले किन रच्दैछ, उन्नतिले बुझ्न सकेकी थिइनन् । यदि प्रयास मित्रको आवासमा आउनु थियो भने फेरि उन्नतिलाई आफ्नोमा किन बोलाएको ? उद्वेलित मनसँगै उनी घर पुगिसकेकी छन् । तर प्रयासप्रतिको क्रोध साम्य भएको थिएन । घर फर्किंदा उनलाई आफू काठमाडौंमा छु जस्तै लागेन । यात्रु बसका कन्डक्टरले प्यासेन्जरलाई आह्वान गरेको पनि उनले सुनिनन् । सडक पेटीदेखि गाडीसम्मको खल्बली र कोलाहल पनि त्यहाँ थिएन । उच्चाट र शुष्कता आकस्मिक तवरले विलुप्त भइसकेका थिए । मनको भीडमा बाह्य जगत् नगण्य हुँदोरहेछ । उन्नतिलाई त्यस्तै भयो ।

विषय प्रसङ्ग सूक्ष्म भए तापनि त्यसले पार्ने प्रभाव के सामान्य थियो ? प्रयासले किन ख्याल गर्दैन यस्ता कुरा ? उन्नतिले फेरि आफैँसँग जवाफ खोजिन् । केही दिन यतादेखि नै उसले उन्नतिको मनलाई कष्ट दिंदै आएको थियो, अनेक तवरले । उनलाई लाग्यो, प्रयासका हर व्यवहार विचारणीय हुँदैछन् । अर्थात रहस्यमय । मानिलिउँ, अतृप्त वासनाले वशीभूत भई उसले उन्नतिलाई खेलौना ठानिरहेको छ । त्यसै क्षण उन्नतिको आँखामा क्रोधको ज्वाला लपलपाउन लागे ।

म उनकै पर्खाइमा छु । पूर्वशर्त अनुसार उन्नति मेरो कोठामा आउँदैछिन् । अघिल्लो दिनको गोधूली साँझ उनलाई फोन लगाएँ, सम्पर्क हुन सकेन । केही कारणवश मैले समयमा फोन गरिनँ भने उनी स्वयंले फोन गरेर भन्थिन्, “प्रयास ! फोन किन आएन ? बिर्सिएको त छैनौ होला नि … कि बिर्सियौ ?”

सम्पर्क नभएपछि म उनकै फोनको प्रतीक्षामा थिएँ । अहँ, आएन । उदास मन अनेक सन्देहले उद्वेलित भई उठ्यो । बालक सन्ध्या वयस्क हुँदै थियो । यता मेरो मनमा पनि पूर्वसन्ध्या, सन्ध्या हुँदै रात पर्दै थियो । निविड अन्धकार फुस्फुसाउँदै रह्यो । चखेवा पनि अब बास बसिकेका छन् । नजिकैको कपुरको रुखमा आश्रय लिएका नव पक्षी मौनतामा विलय हुँदै थिए । यता म चाहिँ अनेक संशयलाई पन्छाउन नसकी दिग्दार भएको थिएँ । इमेल बक्स पनि रित्तै छ । म्यासेन्जरमा कुनै म्यासेज थिएन ।

उन्नतिलाई मन पर्ने पहिरनमा सजिएको छु । दाह्री त बिहानै शेभ गरिसकेको थिएँ । आज अरुणोदयसँगै मेरो मनमा अनेक भाव तरङ्गहरू छुन्मुनाउन लागेका छन् । निलो आकाशमा प्रभातसँगै जात जातका पक्षीहरू माथिमाथि विचरण गर्न थालेका थिए । सूर्यलाई बाधा गराउने कुनै तत्व क्षितिजमा थिएन । कहीँ कतै सेतो टुक्रे बादलले अरू शोभा बढाइरहेको थियो । उनकै इच्छामा आजकल जँुगा काट्ने गरेको छैन । भनेकी थिइन्, “जुँगा विनाको प्रयास मलाई सुन्दर लाग्दैन ।” उनकै आग्रहमा केश अलिक बढाएको छु । केश छोटो बनाएको मलाई उति सुहाउँदैन रे ! क्याप लगाउने बानी उनैले हटाइ दिइन् । मैले भने बमोजिमको प्रसाधन र केश विन्यासमा तिमी मोडल भन्दा कम देखिँदैनौ, उनी यसै भन्ने गर्छिन् । हो, म मोडल बनिरहेको थिएँ त्यस दिन । मनमनै विमुग्ध भएँ । आज उन्नति मेरो रूप सौन्दर्यमा थप बढी मोहित हुनेछिन् ।

बिदाको दिन केटाकेटीहरू घर घरमा रमाइरहेका छन् । म बसेको घरमा पनि उसै गरी खेलिरहेका छन््, जसरी कुनै दिन मैले पनि खल्ने गरेको थिएँ । सूर्यको तेजको कुनै पर्बाह गर्न ती जान्दैनन् । कोही भाँडाकुटी खेल्दैछन् । एकापसमा मिल्न र झगडा गर्न पनि उनीहरूले कुनै समय लगाएका थिएनन् । नुहाउन नमानेका छोरा छोरीलाई आमाले हकार्दै गरेको सुन्दा मलाई फेरि आफ्नै विगतमा फर्किन मन लाग्यो । सानो छँदा मेरी आमाले मलाई कहिल्यै त्यसरी हकार्नु परेन । म धेरै ज्ञानी थिएँ हुँला । मलाई हकारेको फिटिक्कै मन पर्दैन । बरु आजका दिनमा मलाई स्नान गर्न भनेपछि अलिक आलस्य जागेर आउँछ किन हो कुन्नि ? पहिला त्यस्तो हुँदैनथ्यो । नत्र मैले कति गाली खानु पथ्र्यो होला ।

सडकपेटीको आवागमन हेरिरहेको छु । अब उनी आउनु पर्ने हो, किन अबेर गरिन् ? उः पर परका पैदल यात्रुलाई एकएक गर्दै निहार्न लागेँ । उनको महक भेटिन्छ कि कतै ? मेरा किताब, डायरी, कलम, कप्युटर, मोबाइल, भाँडावर्तन … सबै सबै उनको व्यग्र प्रतीक्षामा थिए । कसलाई सन्देश पठाऊँ, तिम्रो प्रेमी प्रयास तिमीलाई नै पर्खिबसेको छ । फोन अझ पनि स्विचअन गरिएको थिएन । शायद उनको मोबाइल हरायो होला, अवश्य । यद्यपि फोन गर्नको निम्ति अन्य विकल्प नभएको कहाँ ? कति निष्ठुरी, कति निर्मोही … । उषासँगै उद्भाषित आशा मध्याह्न हँुदै ढल्किरेहेको थियो । उता सूर्यको गति पनि उस्तै थियो । खण्डित मनसँग क्षीण अभिलाषा संवाद गर्न चाहेकै छैनन् । मलीन सूर्यसँगै शिथिल मन मुर्झाउँदै गयो । तैपनि उन्नतिको आगमन हुन सकेन । एकमासको पूर्ण धैर्य पश्चात्को भेट्ने योजना विफल हुने निश्चित प्रायः थियो, जसले कति यन्त्रणा र अवसाद थमाएर गए त्यो त प्रेमी हृदयले मात्र बोध सक्ने छ, अरूले होइन ।

कुनै चिन्ताजनक परिस्थितिले अवरोध पु¥यायो कि ? मनमा फेरि अनिश्चित र अज्ञात भय उदाउँदै गयो । त्यसै बेला निर्णयमा पुगेँ, अब उन्नतिको घरमा म आफैँ जानुपर्छ उनको वस्तुस्थिति बुझ्न । नत्र म कसरी निसन्देह रहन सक्छु उनीदेखि टाढा ? पहेँला घाम बाँकी नै थिए । तर उसको प्रभाव नगण्य थियो । शीतलताको अनुभूति गर्दै थिए सम्पूर्ण जीव जीवात्माहरू । दिनभर ताप र रापले जलेका सडकहरू सेलाइ सकेका थिएनन् ।

द्वार प्रवेशसँगै देख्छु उन्नति एक्लै बगानमा बसिरहेकी छिन् । अस्ताउँदो स्वर्णमय सूर्य किरणमा उनका अपलक दृष्टिहरू एकाकार भई रहेका थिए । मेरो आगमनले उनको परिवेश बदलियो । उनले त्यसरी के सोच्दै होलिन् ? मेरैबारेमा चिन्ता लिँदै पो हो कि ? मैले पहिलो पल्ट त्यस रूपाकृतिमा उन्नतिलाई देख्दै थिएँ । के भयो उनलाई ?

‘उन्नति ! …’ मेरो अनुच्च एवं क्लान्त स्वर उनी छेउ पुग्दै थियो । तथापि मेरो उपस्थितिमा उनले कुनै जिज्ञासा र प्रसन्नताको भाव व्यक्त गरिनन् । प्रेमीको आगमनले उनमा कुनै परिर्वतन ल्याएन । मानौँ, उनी भावशून्य थिइन् । दृष्टिहरू पनि उस्तै उदास, निरीह थिए । उनको निर्निमेष दृष्टिमा मेरा नयनहरू टक्क रोकिएका छन् । सोचेको थिएँ, मेरो उपस्थितिले उनी प्रसन्न हुने छिन् । अहँ, कुरा त्यसो हुन सकेन । त्यस घडीको भावानुभूति मैले सम्हाल्नै सकिनँ । आत्मविस्मृतिले भरिएँ । उन्नति किन मसँग बोल्न चाहेकी छैनन् ? उल्टो मलाई वितृष्णाको भावले हेर्दैछिन् । उनका रहस्यमय नयनहरूले यस्तैउस्तै अभिव्यक्ति सम्प्रेषण गर्दै थिए ।

उन्नतिको प्रतीक्षामा सिङ्गो दिन ढलेर गयो, त्यति नभएर उनलाई भेट्न आउँदैछु । उनले मप्रति कुनै प्रसन्न भाव नदेखाउँदा यो मन कति विरक्त भयो होला । उनको त्यो उपेक्षापूर्ण भावले विषाक्त हृदय । उन्नतिले हर पल किन मलाई असह्य दुःख दिने गर्छिन् ? संवादलाई जोड्ने बहानामा मैले भनेँ, “उन्नति के भयो तिमीलाई ? सञ्चो भएन कि ?”

उनको रुक्ष स्वर मलाई निको लाग्दैन । विरसिलो भावमा भनिन्, “ठीकै छु केही भएको छैन ।” दोहोरो वार्तालाप गर्नु उनलाई थिएन । नित्य हृयद खोलेर बोल्ने मान्छेलाई आज के हुँदैछ ? आशा थियो, उनले पनि मेरो हालखबर सोध्लिन् । मेरो आगमनलाई सम्मान गर्लिन् । अहँ, त्यसो गरिनन् । बरु उनी मेरो उपस्थितिलाई बोझ ठानिरहेकी थिइन् । उनी मकहाँ अनुपस्थित हुनुको स्पष्टीकरण देलिन् भन्ने पनि लागेको थियो । त्यो पनि दिइनन् । उनको उपहासपूर्ण व्यवहारले मेरो मन खिन्न भयो ।

उन्नतिलाई संवादमा तयार गराउनु थियो । फेरि भनेँ, “म प्रसन्न चित्तले तिम्रो प्रतीक्षामा समय गणना गरी बसेको थिएँ, तिमी आइनौ … ।”

“किन आउने ? के काम थियो र ? कुन अभिप्रायले म त्यहाँ आऊँ ?” उनको कठोर स्वर तीर जस्तै प्रहारक थियो ।

उन्नति के कारणले मबाट भड्किँदै छिन्, मैले अनुमान लगाउन सकिनँ । यद्यपि कारण त केही हुनैपर्छ । उनी अकारण रुष्ट भएकी होइनन् । मलाई त्यस्तै लाग्यो । मैले यथार्थ जताउँदै भनेँ, “उन्नति ! तिमीलाई थाहा छ ? म यहाँ किन आइपुगेँ । तिम्रो उस्थिति नहुँदा, कुनै विकट परिस्थितिमा छौ भन्ने अज्ञात भयले मलाई यहाँ ल्याइपु¥यायो । न फोन लाग्यो न त तिमीले फोन गर्न आवश्यक नै ठान्यौ । तिमीलाई त मेरोे स्मृतिले शायद सताउने छैन तर म तिम्रै स्मृतिमा दिनहरू बिताउँदै आएको छु । भन मबाट के भूल भयो ? म स्वीकार्ने छु, क्षमाप्रार्थी छु ।”

उन्नतिको क्षुद्र स्वरमा कुनै परिर्वतन थिएन । उसै गरी भनिन्, “हत्यारो भइसके पश्चात् याचनाको के अर्थ ? हत्या गर्दै रहने याचना माग्दै रहने ? … भो याचनालाई त्यति सस्तो नबनाऊ ।”

कुन प्रसङ्गमा भन्न खोजिएको हो, यो कुरा … मैले बुझेकै होइन । प्रस्ट कुरा सिँधै राखे हुन्छ नि । म प्रतीक्षाको कुरा गर्दैछु उनी कहाँ हत्याराको सन्दर्भ जोड्दैछिन् । के म हत्यारो हुँ । त्यही भन्न खोजेकी हुन् उनले ? मैले निश्चय गरेँ, उनको यस वाणीमा कुनै गम्भीर कारण हुनुपर्छ । विनाकारण यस्तो अभिव्यक्ति दिइएको होइन । पटक पटकको विनयी आग्रह पश्चात् उन्नतिले यथार्थता खोलिन् । कुरा त्यसो पो रहेछ । सम्पन्नले यहाँ गर्नु गरेछ । उसको सानो त्रुटिले हाम्रो मधुर मिलन धमिलिएको थियो ।

यथार्थ बोध पश्चात् मैले भनेँ, “उन्नति ! अरूको कुरा सुनेर भावावेशमा आउनु राम्रो होइन । तिम्रो विश्वासिलो पात्र सम्पन्न हो या म ? तिमीले यसको उत्तर मलाई दिनु पर्नेछ । त्यसो त सम्पन्नलाई अविश्वासी गराउन खोज्नु मेरो अभिप्राय होइन । ठीक छ तिमी उसलाई पनि विश्वास गर्न सक्छ्यौ । परन्तु के तिम्रो प्रेमी अविश्वासको पात्र बन्न योग्य छ ? मैले कहिले विश्वासघात गरेँ र आज मेरो विश्वासमा प्रश्न उठाउँदैछ्यौ ? हाम्रो भेटघाट त आज हुने नै थियो, म यही समयको प्रतीक्षामा थिएँ । सम्पन्नको निवासमा आउँछु मैले भनेकै थिइनँ । बरु तिमी उसकोमा आएकी छौ भन्ने जानकारी पाउँदा यता मेरोमा पनि आउँछ्यौ कि भन्ने आशा गरेको थिएँ । किनकि उसको घरबाट मेरोमा आउन पाँच मिनेटको बाटो थियो । यसर्थ मेल पठाएको थिएँ । अब आफैँ भन मैले अघात पु¥याएँ या पु¥याइनँ । आखिर कुन ठूलो प्रसङ्ग रहेछ र बित्थामा रिसाएकी ? ”

वास्तविकता भेट्टाएपछि उन्नति मेरो कुरामा आश्वस्त हुँदै गइन् । हुन पनि यथार्थ यही थियो, उनले विश्वास गरिन् । तर … पछिल्लो वाक्यलाई जोड दिएर उनले भनिन्, “प्रयास ! तिमीलाई जुन कुरा नगण्य लाग्छ त्यही मलाई ठूलो लागिरहेछ । किनकि म नाटक अलिकति पनि रुचाउँदिनँ । बस, म यथार्थ चाहन्छु बनावटी होइन । मलाई कसैले मञ्चनीय पात्र बनाउन खोजेको किञ्चित राम्रो लाग्दैन । त्यस दिन नाटक रचेर मेरो दुर्बलतामा मज्जा लिन किन खोजियो ? त्यसो त म कहाँ दुर्बल थिएँ र ?”

उन्नतिको यस अभिव्यक्तिसँगै मेरा कुण्ठाहरू विलय हँुदै थिए । मलाई लाग्यो, उनका कुरा नाजायज थिएनन् । हामी दुवैको मन मस्तिष्क पूर्व स्थितिमा आइसकेको थियो । उन्नतिको त्यो बानी मलाई राम्रो लाग्छ, यथार्थ बोध पश्चात् उनमा केही रहँदैन । कसैले आफ्नो भूल स्वीकार्छ भने क्षमा दिनु उनको लागि दुरूह हुने छैन । बस, गल्ती स्वीकार्नुलाई उनी महान् ठान्छिन् ।

उद्यानमा भमराहरू निसन्देह फूल चुमिरहेका थिए । उस्तै निशंकोच थिए सुवासित पुष्पहरू । त्यसै क्षण अन्तश्चेतनाले मलाई सुटुक्क भन्यो, “हेर न भमरालाई रस लुटाउन दिएर पनि फूलहरू सदा पवित्र छन् । भगवानको मूर्तिमा चोखो मानेर तिनै पुष्पहरू चढाइएका छन्, सम्मानको खातिर महात्मादेखि सामान्य व्यक्ति जो कसैको गलामा टांगिएका छन्, उही बगानका फूलहरू । आजसम्म कसैले वहस गरेन त्यो फूल पवित्र थियो, थिएन ? भमराले उसलाई चुम्यो, चुमेन ? किनकि फूलको पवित्रतामा प्रश्न उठाउनु नै निरर्थक थियो । न फूल अशुद्ध थियो न त भमरो नै । न भमरो दोषी न त फूल नै । ऊ फुल्नु थियो फुलिदियो, कसैले रसपान गर्नु थियो, गरिदियो । हामी पनि प्रकृतिकै उपज होइन ? जस्तो कि फूल … । परन्तु शुद्धताको प्रश्न किन उठाइन्छ यता ? फूल र मानवमा कुन भेद थियो र भेद गराइयो ? प्रकृतिका हर विषय के सहज स्वाभाविक छैनन् ? जसरी फूलहरू … ।”

झम्के साँझ टर्दै थियो । उन्नतिले अनुरोधको स्वरमा भनिन्, “प्रयास ! केही धैर्य गर । तातो चिसो केले सत्कार गरूँ ? यस सन्जेकालमा तिमी हाम्रो घरको अतिथि हौ । जब कि तिमी आउने तिथि निश्चित् थिएन । आकस्मिक रूपमा जो आउँछ उही नै अतिथि हो, त्यही भन्छन् । कसरी विमुख पठाऊँ साँझको पाहुनालाई । माताजीले अतिथिलाई भोजन सत्कार नगराई पठाएको राम्रो मान्नु हुँदैन । हिंडमाथि जाऔँ माता पितासँग पनि भेट गर्न हुन्छ ।”

गाडी छुट्ला कि भन्ने चिन्ता ठूलो थियो । अबेला हुन लागिसक्यो, अभर परिन्छ कि फेरि । केही नखाएरै तिनै शब्दहरू पर्याप्त थिए तृप्त गराउन । प्रेमलाई उन्मादिलो गराउने उद्दीपक परिवेश । मनले भन्न चाहिरहेको थियो, प्रिय ! तातो चिसो होइन, एक प्याला अधरपानको प्यासी हुँ । बस, अधरपानको आतिथ्यले सत्कार गराऊ … ।



(क्रमश…)

भाग २ पढ्नुहोस्

भाग १ पढ्नुहोस्

 

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.