24 Online News
१६ माघ २०७७ १०:५४

उच्च शिक्षाको अनुभूति

श्रीराम श्रेष्ठ

समय परिवर्तनशील छ । समयको प्रवाहलाई हामी कसैगरी पनि रोक्न सक्दैनौँ । यो ध्रुबसत्य कुरा हो । जीवन व्यतीत गर्ने क्रममा सुख–दुःखका अनेकौँ घटनाहरु घट्छन् । जो हाम्रा सम्झनाका आँखामा चलचित्रका दृश्यहरुझैँ झलझली झझल्को बनेर छाइरहन्छन् । यस्तै एउटा घटनाको स्मृतिले मलाई सदैव पिरोलिरहन्छ ।

कुरो वि.सं. २०४७ सालतिरको हो । जब मैले फलामे ढोका मानिने एसएलसी परीक्षा उत्तीर्ण गरेँ तब त्यसपछिको उच्च शिक्षा हासिल गर्न काठमाडौँ जाने निधो गरँे । हुन त यहाँ बट्टारमा पनि क्याम्पस थियो नै । तथापि मलाई राजधानीकै क्याम्पसमा पढ्ने रहर जागेको थियो ।

बालसखा नवीन्द्रमान श्रेष्ठ र म दुई भाइ उच्च शिक्षाका लागि देशको राजधानी सपनाको सहर काठमाडौँ लाग्यौँ । नवीन्द्रका ठूलो दाजु (राजेन्द्र)को पकनाजोलमा डेरा थियो । काठमाडौँ पुगेको रात हामी उहाँकै पाहुना बन्यौँ ।

घरबाहिर अन्यत्र ठाउँमा रात बस्नु पर्‍यो भने मलाई खुब असहज लाग्थ्यो । त्यो बानी यद्यपि छ । त्यो रात पनि त्यस्तै भयो । राम्रोसँग आँखामा निद्रै परेन । रातभरि मनमा अनेकन कुराहरु खेलिरहे । उज्यालो हुने बेलामा बल्ल झकाएछु ।

राजेन्द्र दाजुबाट पिपुल्स क्याम्पसमा पढ्ने सल्लाह पायौँ । किनभने त्यो क्याम्पस दाजुको डेराबाट नजिकै थियो । दाजुले भन्नुभयो, ‘कोठा पनि यतै नजिकै लिँदा राम्रो हुन्छ ।’ हामीले त्यसै गर्यौ ।

भोलिपल्ट क्याम्पस भर्ना भयौँ र अध्ययनलाई निरन्तता दिन थाल्यौँ । । हाम्रो क्याम्पस जीवन आरम्भ भएको त्यस्तै पन्ध्र–सोह्र दिन जति भएको हुँदो हो पिताजीले टेलिफोन गरेर भन्नुभयो, ‘बट्टार क्याम्पसका प्रमुख रामेश्वर उपाध्याय हाम्रो घरमा आउनुभएको थियो । भर्खर क्याम्पसमा कानुनको कक्षा सञ्चालन भएको छ । यहीँको क्याम्पसमा पढ्नुपर्छ श्रीरामले भनेर भन्नुभएको छ । त्यसैले तँ भोलि नै घर आइज है केटा ।’

पिताजीको कुराले म बहुत दोधारमा परेँ । के गर्ने के ? राति निद्रै परेन । मनमा फेरि विविध कुरा खेल्न थाल्यो । यता पढाई सुरु भइसक्यो । यता पनि घरछेकै क्याम्पस । के गर्ने के ? मनमा कुराहरु निकै खेलिरहे । मैले केही निर्णय लिन सकिनँ ।

भोलिपल्ट बिहानै घरमा फोन गरेर माइला दाजु (घनश्याम)सँग यसबारे सल्लाह–सुझाव मागेँ । उहाँले पनि बट्टारमै पढ्ने सल्लाह दिनुभयो । मलाई दाजुको सल्लाहले मनायो । म घरछेउको क्याम्पस बट्टारमै पढ्ने निधोमा पुगेँ । म बट्टारमै पढ्ने सुनेर नवीन्द्रले नमज्जा माने । मिल्ने साथीसँगै पढ्न नपाउँदा उनलाई त्यस्तो हुनु स्वाभाविक नै थियो । मेरो पनि मन खिन्न भएकै थियो । तथापि मैले घरपरिवारको सल्लाह मान्नै पर्थ्यो ।

माइला दाजुले मलाई बट्टार क्याम्पसमा प्रविणता प्रमाणपत्र तह आइएल प्रथम वर्षमा भर्ना गराई दिनुभयो । अब उद्धव प्याकुरेल, यज्ञरथ पुडासैनी, राजाराम ढकाल, कृष्ण गजुरेल, गोविन्द उपाध्याय, गोपाल गजुरेल र तिलक तामाङलगायत मेरा साथी भए । हाम्रो पढाई बेलुकीको सत्रमा हुन्थ्यो । पढाई नियमित हुन्थ्यो । प्रथम वर्षमा आठ विषय पढ्नु पथ्र्यो । मुलुकी ऐनदेखि संविधानका भाग तथा धारा कण्ठस्थ गर्नुपर्थ्यो । मेहनतपूर्वक नै हामी पढ्थ्यौँ ।

सम्झना भएअनुसार अनिवार्य विषयतर्फ अङ्ग्रेजी विषय सुवोधकुमार झा र तिलाराम पौडलले पढाउनु हुन्थ्यो भने नेपाली होमप्रसाद गृहस्थी, इतिहास अम्बिका निरौला, कानुन रामेश्वर उपाध्याय र कृष्णप्रसाद भण्डारी लगायतका गुरुहरुले पढाउनु हुन्थ्यो ।

विद्यालय पढ्दादेखि नै राजनीतिमा संलग्न थिएँ म । अतः आफ्नो पढाईलाई कुनै अवरोध नपुग्ने गरी विद्यार्थी राजनीतितर्फ पनि मेरो संलग्नता जारी नै रह्यो । क्याम्पसमा नेविसंघ, अनेरास्ववियु लगायतका विद्यार्थी सङ्गठनका शाखा थिए । स्वतन्त्र विद्यार्थी युनियनलाई ती सबै विद्यार्थी सङ्गठनको छाता सङ्गठन मानिन्छ । दुई/दुई वर्षको अन्तरालमा स्ववियु निर्वाचन हुने गर्दथ्यो ।

२०४८ सालमा स्ववियु निर्वाचन हुने त्रिभुवन विश्वविद्यालयले घोषणा गर्‍यो । चुनावमा म पनि सदस्य पदमा उठ्ने भएँ । उम्मेदवारी दिएँ । हाम्रो (नेविसङ्घ) प्यानलबाट १० सिट र १ सदस्यमा अखिलका उम्मेदवारको विजय भयो । सायद स्थानीय भएकै कारणले हुनुपर्छ चुनावमा मैले सबैभन्दा बढी मत प्राप्त गरेँ । त्यस चुनावमा स्ववियु सभापतिमा मोहमद उसमान विजयी भएका थिए । उनी निकै मिलनसार र मेहनती थिए ।

स्ववियुमा हाम्रो सङ्गठनको बहुमतीय पकड भएपछि हामीले स्ववियुले निकाल्ने भित्तेपत्रिकाको नाम परिवर्तन गर्यौ, ‘मुक्ति सन्देश’ (अहिले पनि त्यो पत्रिका निस्कन्छ) । साहित्यप्रति सानैदेखि मेरो बढी नै लगाब थियो । यसैले भित्तेपत्रिका सञ्चालन तथा सम्पादनको जिम्मेवारी मेरै काँधमा पर्‍यो । मैले पत्रिकालाई मासिक रूपमा सञ्चालन गर्ने अठोट गरँे । दुई/चार महिना जेनतेन लेख/रचनाहरु प्राप्त भए । तर, त्यसपछिका दिनमा भित्तेपत्रिका भर्नलाई कठिन हुन थाल्यो । लेख/रचनाकै अभावले । तसर्थ मैले एउटा उपाय निकालेँ, विभिन्न उपनाममा आफैँले लेख/रचनाहरू लेखेर छाप्ने । यसैक्रममा विवशश्री, यश नेवा मेरा उपनाम जन्मिए ।

महामानव विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजना गरिने कार्यक्रममा उनकै जीवनी (राजनीतिक पाटो) सम्बन्धी निबन्ध प्रतियोगिता गराउने स्ववियुले सर्वसम्मत निर्णय गर्‍यो । यो २०४९ सालको कुरा थियो । हामीले निबन्ध आव्हान गर्यौ । आपत् पर्‍यो, जम्मा ६ जनाको मात्रै निवन्ध आयो । अब के गर्ने होला ? बढो अप्ठेरो स्थिति पैदा भयो । मैले वीपीबारेमा भेटे–पाएसम्मका पुस्तकहरू पढेको थिएँ । अतः आफूले पनि एउटा निवन्ध लेखेँ, ‘राजनीतिमा वीपी कोइराला ।’ उक्त निवन्ध प्रतियोगितामा मेरै निवन्ध प्रथम भयो ।

विद्यार्थी हकहितका लागि स्ववियु सदैव क्रियाशील थियो । स्ववियुबाट हुने सबै कार्य संस्थागत रूपमै निर्णय हुन्थ्यो । बैठकमा पेश गरिएका प्रस्तावलाई हामी घनिभूत रूपमा छलफल गरी सर्वसम्मत निर्णयमा लान्थ्यौँ ।

शैक्षिक सत्रको अन्त्यतिर स्ववियूलाई कुनै जानकारी नै नदिई क्याम्पसले विद्यार्थीको मासिक शुल्कमा बृद्धि गर्‍यो । त्यस विषयलाई लिएर स्ववियू आन्दोलन गर्न बाध्य भयो । एक हप्ताभित्र बृद्धि गरिएको शुल्क अविलम्ब खारेज हुनुपर्ने लगायतका १३ सूत्रीय माग हामीले क्याम्पस प्रशासनसमक्ष पेस गर्यौ । तर, क्याम्पसले हाम्रो मागको कुनै सम्बोधन गरेन । तत्कालै स्ववियूको विशेष बैठक डाकियो ।

बैठकको निर्णयअनुसार क्याम्पस प्रमुख रामेश्वर उपाध्यायलाई क्याम्पस प्रशासनभित्रै थुनी हामी अनसन बस्यौँ । अनसन बसेको करिब १० घण्टा पश्चात् वार्ताको माध्यमबाटै समस्या समाधान गर्ने निष्कर्ष निस्कियो । वार्तामा पठनपाठनलाई गुणस्तरीय बनाउन क्याम्पसले आवश्यक सबै उपाय अबलम्बन गर्ने र वृद्धि भएको शुल्क खारेज गर्ने सहमति भयो ।

दोस्रो वर्षको परीक्षा पनि आइपुग्यो । राजनीतिका साथसाथै अध्ययनलाई पनि मैले सँगसँगै अगाडि बढाइरहेको थिएँ । मेहनतअनुसार नै परीक्षामा मैले राम्रो नतिजा निकालेँ । मैले आइएल पास गरेँ । अब वीएल अध्ययनका लागि काठमाडौँ नै जाने विचार आयो ।

वीएलका लागि नेपाल ल क्याम्पसमा भर्ना भएको एक महिना पनि वितेको थिएन, स्ववियू निर्वाचनको हल्ला चल्यो । बट्टार क्याम्पसमा नेविसंघ र अखिलबीच कडा प्रतिस्पर्धा थियो । चुनावमा म बट्टार जसरी पनि जानै पर्ने हुन्थ्यो ।

२०५३ सालको फागुन १४ गते स्ववियू निर्वाचन हुने भयो । अग्रज दाई तथा समवयी साथीभाइको सल्लाहअनुसार काठमाडौँको पढाइलाई थाती राखेर म बट्टार क्याम्पसमा वि.ए. प्रथम वर्षमा भर्ना भई स्ववियू निर्वाचनमा सचिव पदमा उठेँ । चुनाव जितियो । मैले पहिला जसरी नै सबैभन्दा धेरै भोट ल्याएँ ।

क्याम्पस पढ्दा सबै साथीभाइले माया, स्नेह र आदर गर्दथे । म पनि साथीभाइ भनेपछि ज्यानै दिने स्वभावको थिएँ । याद भएअनुसार भगवान थापा, देवु दाहाल, सन्तोषी वैद्य, दीपक आलेमगर, उद्धव थपलिया, गोमा वली, सन्तुमाया तामाङ, सुजित राना आदि मेरो आत्मीय साथीहरू थिए ।

स्ववियूमा रहँदा केही न केही रचनात्मक काम गर्नुपर्छ भन्ने सोच थियो ममा । खेलकुद, वनभोज, शैक्षिक भ्रमण, स्वागत तथा बिदाई तथा साहित्यिक आदि कार्यक्रम बेलाबखतमा आयोजना भइरहन्थे । यस्ता विविध कारणले पनि म साथीभाइबीच लोकप्रिय थिएँ । स्ववियूमा सचिव पद रहँदारहँदै ममाथि नेविसंघ क्याम्पस इकाइको अध्यक्षको जिम्मेवारी आयो । प्राप्त जिम्मेवारीलाई मैले इमान्दारितापूर्वक निर्वाह गरँे भन्ने लाग्छ ।

२०५५ सालमा फेरि स्ववियू निर्वाचन हुने भयो । यसबारे सल्लाह गर्न नेविसंघ जिल्ला कार्यसमितिले क्याम्पसमा एक भेलाको आयोजना गर्‍यो । छलफलको क्रममा सभापतिमा म र ओमप्रकाश श्रेष्ठको दाबी रह्यो । सर्वसम्मत हुन नसकेपछि अर्को दिन विद्यार्थी भेला डाकेर निष्कर्ष निकाल्ने सल्लाह भयो । जिल्ला कार्य समितिका प्रायःजसो पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको त्यो भेला पनि निचोडमा पुग्न सकेन । साथीले पनि दावी छाडेनन् । मैले पनि छाडिनँ । अन्ततः निर्वाचन प्रक्रियामा गई विवाद टुङ्ग्याउने सहमति भयो । आन्तरिक निर्वाचनमा जसले जित्छ स्ववियू सभापतिको उम्मेदवारको टिकट उसैले पाउँछ भन्ने सर्वसम्मत निर्णय भयो । चुनाव भयो । खसेको कूल मत १६० मा मेरो पक्षमा ११७ र ओमजीको पक्षमा ४३ मात्र प्राप्त भयो ।

उनले उक्त परिणामलाई स्वीकार गरेनन् । स्ववियू चुनावको मनोनय दर्ता गर्दा मैले निर्वाचनको प्रतिलिपि र क्याम्पस इकाइको लेटरहेडमा लेखेर पेस गरेँ भने ओमजीलाई जिल्ला कार्य समितिको सिफारिस थियो । अन्तिममा निर्वाचन मण्डलले केन्द्रीय कार्य समितिको सिफारिसलाई मात्रै आधिकारिक मान्ने निर्णय गर्‍यो । केन्द्रीय कार्य समितिको लेटरहेडमा अध्यक्ष गोविन्दराज भट्टराईको हस्ताक्षरमा ओमजीको समूहलाई नै आधिकारिकता प्रदान गरियो र मलाई केन्द्रले दुई वर्षका लागि साधारण सदस्यबाट समेत निस्कासनको निर्णय गर्‍यो । साथै मेरो स्वतन्त्र प्यानललाई सहयोग गर्नेलाई समेत कारबाही गर्ने उर्दी जाहेर भयो । तैपनि हामीले हरेस खाएनौँ । डटेर निर्वाचनको सामाना गर्न लाग्यौँ । चुनाव प्रचारप्रसारका लागि आवश्यक आर्थिक सहयोग कहीँकतैबाट पनि प्राप्त भएन । भोकै तिर्खै चुनाव प्रचारमा लाग्यौँ । आफूसँग भएको एउटा सुनको सिक्री पनि बेचेर मैले खर्चको जोहो गरेँ ।

चुनावको मिति आयो । बिहान ७ बजेदेखि मतदान सुरू भयो । स्थानीयदेखि केन्द्रीयस्तरका नेता नेविसंघको आधिकारिक उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेका थिए तर हाम्रो पक्षमा कोही पनि थिएनन् । हामी आफू उम्मेदवारमात्रै थियौँ । हामीले आफ्नो आत्मबललाई दह्रो बनाइराख्यौँ ।

मतदान कार्य सकियो र मतगणना राति सुरू भयो । समय–समयमा मत परिणाम सुनाइन्थ्यो । राजनीतिमा चासो राख्ने नुवाकोट, रसुवा र धादिङको ठूलै जमात जम्मा भएको थियो । मतगणना समाप्त भई परिणाम सुनाउन मात्र बाँकी थियो । सबै मत परिणाम सुन्न आतुर भएर बसेका थिए ।

अन्ततः मत परिणाम घोषणा भयो । जम्मा ११ सिटमध्ये १० सिटमा अखिल (एमाले)ले जित्यो भने बाँकी १ सिट सभापति पदमा चाहिँ म विजय भएको घोषणा भयो । निर्वाचनको मतपरिणाम सुनेर नेविसंघको आधिकारिक भन्ने समूह तिलमिलायो । निमेषभरमै उछृङ्खल जमातले कोठामा पसी सबै मतपत्र च्यात्नुका साथै निर्वाचन मण्डललाई कुटपिट गर्‍यो । प्रहरीले पनि अन्धाधुन्धासँग लाठी चार्ज गर्‍यो । अश्रुग्याँस प्रहार गर्‍यो । सबै भागाभाग भए । कति त भाग्नै सकेनन् । लडेर कति घाइते भए ।

अश्रुग्यासको गोलामा म आफैँ पनि परेँ । जसोतसो उपाय अपनाएर बचेँ । घटनामा सम्मिलित भएको आशङ्कमा केही व्यक्तिलाई प्रहरीले राति नै समातेर चौकीमा थुनेछ । भोलिपल्ट म आफँै जमानी बसेर तिनीहरुहरूलाई छुटाएँ ।

त्यो चुनाव रद्द गरियो । केही दिनपश्चात् स्थगित निर्वाचन सम्पन्न गराउन क्याम्पसले सर्व पक्षीय बैठक डाक्यो । मिति निश्चित गरियो । पुनः उम्मेदवारीका लागि जिल्ला कार्य समिति बैठकले मलाई सभापति र ओमलाई सचिव पदमा मिलाएर उम्मेदवारी दिन लगायो । ११ जनाको प्यानलमा मलगायत हाम्रो पक्षका ७ जनाले जिते भने ४ सिटमा अखिल आयो । ओमले हारे ।

हामीमाथि फेरि अर्को आरोप लागाइयो, आफ्नै सङ्गठनका साथीलाई असहयोग गरेको भनेर । ‘खाएको बिख लाग्छ, नखाएको बिख लाग्दैन ।’ भन्ने सोचेर हामी चुपै लाग्यौँ । त्यपछिको वनभोज कार्यक्रममा हाम्रा पक्षका साथीमाथि केही उछृङ्खलले दुव्र्यवहार गरे । हामीले सह्यौँ ।

हाम्रो कार्यकालमा क्याम्पस हाताभित्र टेबुल टेनिस बोर्ड र बास्केट बल ग्राउण्ड निर्माणको कार्य सम्पन्न गर्न सफल भयौँ । दुई पटक दार्जिलिङको शैक्षिक भ्रमण गरायौँ । मुक्ति सन्देशको प्रकाशनदेखि खेलकुद प्रतियोगिता, वनभोज, सांस्कृतिक कार्यक्रमहरु धेरै पटक आयोजना गर्यौ । निकै उपलब्धिमूलक रुपमा हामीले हाम्रो कार्यकाल सम्पन्न गर्यौ ।

क्याम्पसको भौतिक विकासको माग लिएर हामी तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतज्यूका पुग्यौँ । उहाँले ‘कम्प्युटरसहितको पक्की भवनको प्रस्तावना लेखेर भारतीय राजदूतावासमा दर्ता गराउनू, म भनिदिन्छु’ भन्नुभयो । हामीले त्यसैअनुरुप प्रस्ताव दर्ता गरायौँ । अन्ततः क्याम्पसमा कम्प्युटरसहित पक्की भवन निमार्ण भयो । त्यो हाम्रा लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।

म सभापति हुँदा क्याम्पसमा धननारायण चित्रकार अध्यक्ष र राजाराम पौडेल प्रमुख हुनु हुन्थ्यो । क्याम्पसको सञ्चालक समितिको बैठक बस्नु अगाडि नै अनौपचारिक रूपमा छलफल हुन्थ्यो । खासै मतभेद देखिँदैनथ्यो । यसलाई क्याम्पस प्रशासन र सञ्चालक समितिको चलाखी मान्थेँ म । मैले विद्यार्थी हकहित विपरित क्याम्पससँग कुनै पनि सम्झौता गरिनँ । जायज कुरामा म अडिग थिएँ ।

त्यसबेला शिक्षकहरु प्रायःजसो आङ्शिक थिए । जसकारण पठनपाठनमा बाधा पर्थ्यो । हामीले पूर्णकालीन शिक्षकको माग राखी आन्दोलमा उत्रने चेतावनी दिएपछि अङ्ग्रेजी, नेपाली र राजनीतिशास्त्रका पूर्णकालीन शिक्षकको व्यवस्था भएको थियो ।

मैले सभापतिको जिम्मेवारी बहन गर्दाकै बेलामा जनयुद्धमा लागेका रवि बोगटी आइ.ए प्रथम वर्षमा पढ्न आएका थिए । उनी पोष्टबहादुर बोगटीका एक मात्र छोरा थिए । उनी बीच मेरो गाढा सम्बन्ध थियो । तुप्चेका सागर अधिकारीमार्फत् हाम्रो परिचय भएको थियो । ‘जेजसो भए तापनि आफ्नो पढाइलाई निरन्तता देऊ’ भनेर म उनलाई सम्झाउँथँे ।

एकदिन क्याम्पस हाताभित्रबाट उनलाई प्रहरीले समातेर हिरासतमा लियो । स्ववियू सभापतिको हैसियतले म जिल्ला प्रहरी कार्यालय पुगेँ । जिल्ला प्रहरी इन्चार्ज प्रहरी नायव उपरीक्षक विक्रमसिंह थापा थिए । उनीसँग लामै समय छलफल भयो । ‘अब आइन्दा गलत काममा नलाग्ने र नियमित रूपमा क्याम्पस पढ्न आउने’ सर्तमा उनलाई छुटाइयो ।

रवि पढाई लेखाइमा साह्रै राम्रा विद्यार्थी थिए । एक महिना जति नियमित क्याम्पस आएपछि उनी एकाएक भूमिगत भए । गौरीबेँसी, भैरमकोटजस्ता ठाउँमा उनले मलाई डाक्थे भेट्नका लागि । हामीबीच पछिसम्म सम्पर्क थियो । धादिङको कुनै सैनिक कारबाहीमा उनले सहादत प्राप्त गरेको सुनेर मलाई अहिले पनि नरमाइलो लागिरहन्छ । एक होनाहार साथी गुमाउनु पर्दा पीडा हुन्छ ।

क्याम्पसमा मेरो सक्रियता देखेर होला पार्टीले विभिन्न गतिविधिका लागि मलाई जिम्मेवारी दिन्थ्यो । प्राप्त जिम्मेवारीलाई म इमान्दारिता र कुलशतापूर्वक निभाउँथेँ । एकताक बद्रीराम भण्डारी ‘सान्दाजु’ नेपाली काँग्रेस नुवाकोटका सभापति थिए । निकै शालीन व्यक्तित्व उनले राणाकालमा विद्रोह गरेका थिए । सबैले उनलाई आदर गर्थे । अहिले उनी हाम्रा सामु छैनन् । तर, उनको योगदान भने छँदैछ ।

२०५६ सालमा संसदीय निर्वाचनताका ममाथि गैरराजनीतिक समूहले धारिलो हतियार प्रयोग हमला गर्‍यो । एक महिना अस्पतालमा बसेर म निको भएँ । पटक पटक ममाथि हमला भइरह्यो । प्रहरी प्रशासनले पनि विभिन्न बहानामा धरपकड गरिरह्यो । तर, पनि मैले राजनीतिको यात्रामा कहिल्यै हार खाइनँ । राजनीति यात्रामा आफ्नो स्वाभिमानलाई उच्च राखी म निरन्तर लक्ष्य यात्रा हिँडिरहेको छु । मैले जीवन जिउने क्रममा आफैँबाट पनि धेरै कुरा सिकेको छु । तिनै बितेका घटना र परिवेशहरुबाट म अझ परिपक्व बनिरहेको छु ।

समय वितिरहेको थियो । २०५८ सालमा पुनः स्ववियू निर्वाचन हुने भयो । मेरो कार्यकाल समाप्त हुन लागेको थियो । आउने स्ववियू चुनावमा सभापतिका लागि नेविसंघबाट दुई जना (रमेश अर्याल र उत्सव अर्याल) दावेदार भए । मैले अर्को पटक उम्मेदवारी नदिने विचार गरेँ । अब अन्य आकाङ्क्षी साथीहरुलाई नै पद हस्तान्तरण गर्नु उपयुक्त हुने निष्कर्ष निकालेँ । मैले यसो विचार गर्दा प्रविणदास अमात्यलाई सभापति उठाइयो भने मात्रै नेविसंघले फेरि पनि जित हासिल गर्न सक्छ अन्यथा गाह्रो हुने देखेँ । मेरो कुरामा सबैले सही थापे । समर्थन गरे । अमात्यकै नेतृत्वमा प्यानल बनाइयो । आखिरमा अमात्य प्यानलले नै विजयको झण्डा फहरायो । हामीले क्याम्पसमा एक स्वागत कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वलाई स्वागत गर्यौ , बधाई ज्ञापन गर्यौ र सौहार्दपूर्ण वातावरणमा स्ववियू हस्तान्तरण गर्यौ । मलाई सबैभन्दा धेरै आनन्द र गर्वानुभूति त्यसै दिन प्राप्त भएको थियो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.