24 Online News
२३ माघ २०७७ ११:०८

हरिभक्त सिग्देल ‘महेश’ : जसले उतारे गौराङ्ग बाबाको पूर्ण जीवन

भर्खरैमात्र आफ्नो बयालिसौं पुस्तक ‘गौराङ्ग’ जन्माएका हरिभक्त सिग्देल ‘महेश’ले त्यसको सार्वजनिकरण भोली शनिबार गर्ने भएका छन् । धर्म, भक्ति, ज्ञान र मुक्तिका लागि पण्डित, गुरु, योगी, साधु, सन्त, पुजारी, मठाधीश, अघोरी, तपस्वी र बाबाहरुको खोजीमा गुफा, मन्दिर, मठ आदि केन्द्रहरु धाउने बानी परेका उनको मनले खाएका गुरु नपाउँदा निरन्तर तड्पिएका र छट्पटिएका दृष्टान्त धेरै छन् । सिग्देल आध्यात्मिक चिन्तनमा डुब्न खोज्ने प्रकृतिका हुन् । कविताद्वारा दक्षिणकालीको सेरोफेरो, विश्व ब्रह्माण्डपति श्रीपशुपतिनाथ जस्ता अनुसन्धनात्मक पुस्तकका साथै सप्तसती चण्डी, श्रीरामगीता, श्रीरुद्रगीता समेतलाई उनले नेपाली भाषा र लोकलयमा ढाली अर्धमौलिक शैलीमा अनुवाद गरी प्रकाशन गराएका छन् । शान्तिक्षेत्र नेपाल, रङ्गैरङ्गको जिन्दगानी कविता संग्रह, सवारी ज्ञानमणि माला, मुक्तिको बाटो र गृहस्थाश्रममै मुक्ति, सबैको प्रार्थना र भजन, गीता सार, नवरत्न, त्रिरत्न, सूर्यमाला भजनसंग्रह, धर्मसार शास्त्रासार सहितका पुस्तक यसअघिनै प्रकाशनमा ल्याइसकेका छन् । अझै उनका केही कृतिहरु प्रकाशनका लागि लाइनमा छन् ।

काठमाडौंको जीतपुरफेदीमा बिक्रमको एघार सालमा माता गंगादेवी र पिता खड्गध्वजका पुत्ररत्नका रुपमा जन्मिएका सिग्देल हिन्दु सनातनी धर्म, साहित्य र आध्यात्मिक चिन्तनबाट प्रभावित आस्तिक व्यक्तित्व हुन् । उनी वास्तविक शान्ति, वास्तविक अध्यात्मको अर्थ को खोजमा लागेका व्यक्ति हुन् ।  जीवनबृत्तीका सिलसिलामा नागरिकता नलिँदै विद्यार्थी पढाउन शुरु गरेका उनी नागरिकता पाएपछि निजामति सेवा अन्तरगत कान्ति बाल अस्पतालको प्रशासनमा काम गर्न थाले । त्यहाँ काम गर्दागर्दै कान्ति सँगैको चउरमा पुलिसलाई तालिम दिएको हेर्न लायकको दृश्य देखिन्थ्यो । त्यसबाटै उनी प्रभावित भए । त्यसो त कराते सिक्ने उत्कण्ठ इच्छाले गर्दा प्रहरी सेवातर्फ लागे । अहिले एक हस्पिटलको म्यानेजमेण्ट सम्हालिरहेका उनी आज पनि उत्तिकै उर्जावान र क्रियाशील छन्, जुन क्रियाशीलता युवावयमा थियो ।

हिन्दु धर्म, संस्कृति र अध्यात्मका कुराहरु धेरैजसो संस्कृत भाषामै हुने र त्यसको ज्ञान नेपालीभाषी सबै अध्यात्मप्रति रुची राख्ने, साधारण साक्षर नेपाली बुझ्ने महानुभावहरुलाई नहुने भएकाले आफूले त्यसको सहजीकरणका लागि लेख्ने, आफू कहिल्यै पनि चर्चा र प्रतियोगिताका लागि नलेख्ने बताउने सिग्देल हरेक व्यक्तिले हिन्दु धर्म, पुराण, निति, उपदेशका कुराहरु बुझुन् र त्यसलाई आफ्नो जीवन अनि आफ्नो समुदायमा लागू गराउन् भन्ने चाहना राख्दछन् । उनी भन्छन्, ‘जसले नेपालमा उच्च शिक्षा हासिल गरेका छन् उनीहरुलाई न बेद न त धर्म संस्कृति र आचरणका कुराहरु नै थाहा हुन्छन् ? यहाँबाट तालिम वा सेमिनारमा विश्वका अन्य देशमा हामी गयौं र नेपालीभाषी वा हिन्दु धर्म संस्कृतिप्रति आस्था राख्ने मानिस भेटियो भने उसले नेपाललाई हिन्दु धर्म, संस्कृति र दर्शनको उद्गमका रुपमा वा विशेष ठाउँका रुपमा लिएको हुन्छ र ऊ नेपालका बारेमा, हिन्दु धर्म संस्कृतिका बारेमा जिज्ञासु बन्दछ । उनीहरुलाई नेपालीबाट हिन्दु धर्म संस्कृतिका बारेमा केही नयाँ पाइन्छ भन्ने आशा हुन्छ तर यहाँबाट जानेलाई न हिन्दु धर्मसंस्कृति न त संस्कारका बारेमा नै थाहा हुन्छ ? त्यो देख्दा र भोग्दा बडो उदेक लाग्छ ।’ यसरी उनी नेपालीले नेपाललाई र यहाँको धर्म संस्कृतिलाई चिन्न नसक्दा वा चिन्ने कोसिस सम्म पनि नगर्दा नेपालीले आफू र आफ्नो देशको मुख्य धार्मिक सांस्कृतिक विशेषता नै गुम्ने खतरा रहेको महसुस गर्दछन् ।

त्यसो त विदेशमा जाँदा भोगेका केही भोगाइहरुका कारण उनलाई हिन्दु धर्म, संस्कृति र अध्यात्मका कुराहरुप्रति एक किसिमको जागरण पैदा भयो र आफूले यस सम्बन्धमा केही योगदान गर्नुपर्ने आवश्यकता महसुस गरी हिन्दु धर्म, संस्कृति र दर्शनका संस्कृत भाषामा लेखिएका पुस्तकहरुको भावानुवाद गरी प्रकाशन गराउने र बाँड्न थालेका हुन् ।

उनको पछिल्लो कृति ‘गौराङ्ग’ खण्डकाव्य गौराङ्गबाबासँग प्रभावित भई उनैको जीवनलाई आधार मानी उनकै विषयमा लेखिएको कृति हो । गौराङ्गबाबासँगको उनको सामीप्यता धेरै अघिदेखि नै थियो । अध्यात्मिक चिन्तन र हिन्दु दर्शनसँग नजिकिन चाहने सिग्देल जब गौशाला प्रहरी बिटका इन्चार्ज भए त्यसपछि पशुपति क्षेत्रका विविध गतिविधिहरुलाई मिहिन ढंगबाट नियाल्न थाले । हिन्दु धर्म दर्शन, सभ्यता र आस्थाको धरोहरका रुपमा रहेको पाशुपत क्षेत्रमा हुने विविध गतिविधिहरु, साधु, सन्त, महात्माका आचरण आदिबारे जानकार बन्न उत्सुक उनी अन्ततः गौराङ्ग बाबासँग प्रभावित भए र नजिकिए । गौराङ्ग बाबासँग सामीप्यता बढेपछि उनको जीवनमा कल्पनाभन्दा माथिका उपलब्धीहरु हासिल भएका अनेकौं घटनाहरु भएको स्वीकार्दछन् । उनी गौराङ्ग बाबाका विषयमा बताउँछन्, ‘निश्वार्थी, क्रोधरहित, धन सञ्चय नगर्ने, दुःखी, गरिब, वासरहित व्यक्तिमा आफ्नो जीवन समर्पित गर्ने निष्कलंकित, निर्भिक र समाधिमग्न नायक थिए, गौराङ्ग बाबा ।’ उनी थप्छन्, ‘पवित्र विचार भएका उनी भविष्यमा हुने कुराहरुलाई ऐनामा अनुहार हेरेझैं देखाउन सक्दथे । त्यो उनको अद्भुत खुवी थियो ।’

त्यसो त सिग्देलले गौराङ्ग खण्डकाव्यमा भौतिक मोहरहित पवित्र आत्माको उपजका रुपमा कृतिका नायक गौराङ्गबाबाको चर्चा गरेका छन् । विभिन्न मठ, मन्दिर, गुफा र एकान्त स्थानमा बस्न रुचाउने र कोही कसैसँग केही प्राप्तिको आशा नराख्ने सच्चा महर्षिका रुपमा चित्रण गरेका छन् ।

उनको यो कृति गौराङ्ग बाबाको जीवन, आचरण, अध्यात्मका विषयमा गरिएको एउटा रिसर्चजस्तै भएकाले गौराङ्ग बाबाका विषयमा, अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि गतिलो खुराकका रुपमा आएको देखिन्छ ।

 

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.