24 Online News
२५ आश्विन २०७७ ०८:१३

नेसन्स लिग फुटबल अन्तरगत गत रातको खेलमा स्पेन र जर्मनी विजयी

काठमाडौं । युरोपेली नेसन्स लिग फुटबलमा गएरातिको खेलमा स्पेन र जर्मनी विजयी भएका छन् ।

गएरातिको खेलमा समूह ए फोरमा रहेको स्पेनले घरेलु मैदानमा स्वीट्जरल्याण्डलाई १–० ले पराजित गरेको हो । मड्रिडमा भएको खेलमा स्पेनलाई जित दिलाउन १४ औँ मिनेटमा मिकेल ओयार्जाबालले गरेको गोल नै निर्णायक बन्यो ।

यस्तै समूह ए फोर अन्तर्गतकै अर्को खेलमा जर्मनीले युक्रेनलाई २–१ ले पराजित गरेको छ। अवे मैदानमा भएको खेलको २० औं मिनेटमा गिन्टर तथा ४९ औँ मिनेटमा गोरेट्ज्काले जर्मनीका लागि गोल गरे । युक्रेनका लागि ७६ औँ मिनेटमा पाएको पेनाल्टीमा मालिनोभ्स्कीले एक गोल फर्काए ।

तीन खेलबाट सात अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा छ भने ५ अंक जोडेको जर्मनी दोस्रो स्थानमा छ ।

गएराति भएका अन्य खेलमा लग्जम्बर्गले साइप्रस तथा मोन्टेनेग्रोले अजरबैजानलाई समान २–० तथा जिब्राल्टरले लिचेस्टाइनलाई १–० ले पराजित गरेको छ । यस्तै फारोइ आइल्याण्ड र लाट्भियाले १–१ तथा एन्डोरा र माल्टाले गोलरहित बराबरी खेलेका छन्।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.