24 Online News
१७ कार्तिक २०७७ ०८:००

आईपीएल क्रिकेट : राजस्थान बाहिरियो, कोलकाता अरुको खेलमा निर्भर

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुग्नबाट राजस्थान रोयल्स बन्चित भएको छ ।

दुबईमा गएराति भएको समूह चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलबाट बाहिरिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५, राहुल टेवाटियाले ३१, बेन स्टोक्सले १८ रन बनाए भने श्रेयस गोपाल २३ रनमा अविजित रहे । राजस्थानलाई सस्तैमा समेट्नका लागि कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए भने वरुण चक्रवर्ती र शिबम माभीले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

कोलकाताको फराकिलो स्कोरमा इयान मोर्गनले अविजित ६८ रनको अर्धशतकीय इनिङ्स खेले भने राहुल त्रिपाठीले ३९, सुबमन गिलले ३६, आन्द्रे रसेलले २५ र पाट कुमिन्सले १५ रन बनाए ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिदा कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर, श्रेयस गोपालले १–१ विकेट लिए । जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेर प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राखेको छ । तालिकाको चौंथो स्थानमा उक्लिएको कोलकाताको प्ले अफ यात्रा भने अरुको खेलमा निर्भर हुनेछ ।

अब मंगलबार हुने लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई पराजित गरेमा कोलकाता प्ले अफ पुग्नेछ । हैदरावाद विजयी भएमा भने नेट रन रेटको आधारमा प्ले अफ पुग्ने टोलीको तय हुनेछ ।

यस्तै सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीचको खेल समेत प्लेअफ समीकरणका लागि महत्वपूर्ण रहनेछ । राजस्थानले भने १४ खेलमा १२ अंक जोडेर सिजनको अन्त्य गरेको छ । पुछारमा रहेको राजस्थान आईपीएलबाट बाहिरिने तेस्रो टिम बनेको छ । यसअघि चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पन्जाब प्ले अफ होडबाट बाहिरिसकेका छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.