24 Online News
१८ आश्विन २०७७ ०८:१३

प्रदेश राजधानी तोक्न सकस : कांग्रेसद्वारा आज रुपन्देही बन्दको आह्वान

काठमाडौं । ५ नम्बर प्रदेशको राजधानी रुपन्देहीको बुटवलबाट दाङको भालुवाङ सार्न थालिएको भन्दै कांग्रेसले आज रुपन्देही बन्दको आह्वान गरेको छ।

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बन्दको आह्वान सम्बन्धमा भने, ‘प्रदेश सरकारको निर्णयबिरुद्ध हामीले आज जिल्ला बन्दको आह्वान गरेका छौं। प्रदेशको राजधानि रुपन्देहीबाट अन्यत्र लैजान खोज्नु गलत हो।’ उनले यहाँ राजधानी बनाउनका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी भइसकेको जिकिर गरे।

‘एकातिर पूर्वाधारमा अरबौं खर्चिने अनि राजधानी अर्कातिर लैजाने प्रस्ताव संसदमा दर्ता गर्ने प्रदेश सरकारको रबैया ठिक छैन,’ उनले भने, ‘हामी यो कार्य हुन दिदैनौँ।’

प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुबाङ क्षेत्रमा सार्ने प्रस्ताव प्रदेश संसदमा दर्ता गरिसकेको छ। सत्तारुढ दल नेकपा संसदीय दलले भालुवाङमा प्रदेश राजधानीका लागि मतदान गर्न सांसदलाई ह्वीप जारी गरिसकेको छ।

नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने पक्षमा संसदमा मतदान गर्ने निर्णय गराएका हुन्।

शुक्रबार प्रदेश सरकारले दांग जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले चर्चको राप्ती नदी किनारको मैदानी भाग र राप्ती उपत्यका (देउखुरी) प्रदेशको राजधानी तोक्ने प्रस्ताव संसदमा दर्ता गरेको छ। नेकपा संसदीय दलको निर्णयसंगै प्रदेशको राजधानी र नामाकरण अब औपचारिक रुपमा टुंगाउन मात्रै बाँकी छ। यद्यपि साविक लुम्बिनीको रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासी पश्चिमका सांसदहरुले भने रुपन्देही राजधानी बनाउनुपर्ने माग गरेका छन्।

प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, मधेसकेन्द्रित दलका ६, राजमोका १ सांसद गरि कुल ८७ सांसद छन्। यसअघि नेकपा भित्रकै विवादको कारण प्रदेश राजधानी कहा राख्ने भन्ने विषय अन्यौलमा थियो।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.