24 Online News
३ कार्तिक २०७७ ०८:२३

आजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा खसी बोका बिक्री गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज सोमबारदेखि काठमाडौं उपत्यकामा खसी बोका बिक्री गर्ने भएको छ । कम्पनीले थापाथलीस्थित प्रादेशीक कार्यालय परिसरबाट दशैंका लागि खसी बोका बिक्री वितरण गर्ने भएको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले जनाएको छ । यस्तै २ हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले जानकारी दिए ।

कम्पनीले यसअघि दशैंका लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा बिक्री गर्ने जनाएको थियो । तर कोरोना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यस वर्ष कम आपूर्ति गर्न लागिएको गौतमको भनाइ छ । पहिलो चरणमा १ हजार संख्यामा खसी बोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए ।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्ष भन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए । मूल्य निर्धारण भने आइतबार साँझ मात्रै तय हुने उनको भनाइ छ । कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण सुरु गरेको थियो । उक्त मुल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेको थियो । कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने जनाएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ ।

दसैंलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँ गाउँमा गएर खसी बोका खरिद गरेर बजारमा ल्याउन शुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसी बोका र च्याङ्ग्रा आयात हुने गर्छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.