24 Online News
२४ कार्तिक २०७७ २१:४९

भारतीय सहयोमा बनेको धनुषाको लक्ष्मीनियाँ जनता मा. वि.को भवन उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको भवन निर्माण भएको छ । सो भवन निर्माणका लागि भारत सरकारले ने.रु. २.६२४ करोड आर्थिक सहयोग गरेको हो ।

नव निर्मित विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु र स्थानीय प्रतिनिधिहरुद्वारा आज संयुक्त रुपमा उद्घाटन गरियो ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा १५ वटा कक्षा कोठा र सरसफाई सुविधा सहितको उक्त तीन तल्ले विद्यालय भवनको निर्माण भएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा विकास गरिएको हो ।

भारतले हालसम्म नेपालमा ४२४ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये धनुषामा १० वटा गरी प्रदेश नं २ मा ४५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । धनुषा जिल्लामा ९ वटा समेत गरी प्रदेश नं २ मा भारत सरकारको अनुदानमा सञ्चालित २१ परियोजनाहरु सम्पन्न तथा कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् । धनुषाको तुलसियाहीमा वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणार्थ मिति २०७६ चैत्र ३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय सन् १९५६ मा स्थापना भएको हो । विद्यालयमा करिब ११०७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.