24 Online News
४ मंसिर २०७७ १८:४८

रजिष्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको प्रथम राष्ट्रिय सम्मेलन यही मंसिर ८ र ९ मा हुने

काठमाडौं, ४ मंसिर । “सुदृढ अदालत व्यवस्थापन र न्यायिक सुशासन ः हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ न्यायपालिकाका रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई भर्चुअल प्रविधिका माध्यमबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले समुद्घाटन गर्ने भएका छन् ।
मुलुकभरका अदालतहरुका रजिष्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको प्रथम राष्ट्रिय सम्मेलन, २०७७ कोरोना भाईरसको महामारीका कारण यही मंसिर ८ र ९ गते भर्चुअल प्रविधिद्वारा आयोजा गरिएको हो ।
सम्मेलनको उद्घाटन शत्रको अध्यक्षता सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले गर्ने कार्यक्रम रहेको तथा दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा न्यायपालिकाका विभिन्न पाँच व्यवस्थापकीय आयामहरुमा कार्यपत्र समेत प्रस्तुत गरी छलफल हुने कार्यक्रम तय भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
सम्मेलनको छलफल सत्रमा उच्च अदालतका रजिष्ट्रार तथा अन्यअदालत, न्यायाधीकरण र जिल्ला अदालतका रजिष्ट्रार, स्रेस्तेदार तथा तहसिलदारहरुको अदालत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा नेतृत्वदायी भूमिका रहने भएकाले प्रशासकीय नेतृत्वको भूमिका र दायित्वका बिषयमा देखिएका समस्या र त्यस्ता समस्याको समाधान पहिल्याउने र मार्गनिर्देश गर्ने उद्देश्यले अदालत व्यवस्थापनको प्रभावकारीता, नेतृत्वको भूमिका र दायित्वको बिषय समावेश गरिएको छ ।
न्यायपालिकाको सुधारका प्रयासहरुलाई संस्थागत गर्ने उद्देश्यले गत साउन १ गते देखि जिल्ला अदालतहरुमा र भदौ १ गतेदेखि उच्च अदालतहरुमा लागु भएको फरक मुद्दा ब्यवस्थापन पद्धति कार्यान्वयनमा आईसकेको छ । यसको सफल कार्यान्वयनमा उच्च अदालतका रजिष्ट्रारहरु र जिल्ला अदालतका स्रेस्तेदारहरुको भूमिका महत्वपूर्ण रहेको छ । यस्तै संहिता कानूनको कार्यान्वयनमा समेत जिल्ला र उच्च अदालतका प्रशासकीय नेतृत्वको भूमिका महत्वपूर्ण रहेकाले त्यस्ता नयाँ कानूनको कार्यान्वयनमा देखिएका समस्याहरु निदान गरी स्पष्ट पार्ने उद्देश्यले यसलाई समेत छलफलको बिषयबस्तु बनाईएको छ ।
न्यायपालिकाभित्रका सूचना प्रवाह तथा छिटो, छरितो र पारदर्शी बनाउनका लागि सूचना प्रविधको प्रयोगलाई थप प्रभावकारी बनाउन न्यायपालिकाको व्यवस्थापनमा बस्ने नेतृत्वको भूमिका महत्वपूर्ण रहने भएकाले न्यायपालिकामा सूचना प्रविधिको प्रयोग र प्रभावकारिताको बिषयलाई छलफलको बिषय बनाईएको पनि सञ्चार विज्ञ पौडेलले बताए ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौला, रजिष्ट्रारहरु लालबहादुर कुँवर, नारायणप्रसाद पन्थी, सहरजिष्ट्रारहरु तथा उच्च अदालतका रजिष्ट्रारहरु, उपत्यकामा रहेका विभिन्न न्यायाधिकरणका रजिष्ट्रार तथा स्रेस्तेदार, जिल्ला अदालतका स्रेस्तेदार र तहसिलदारहरुको उपस्थिती रहने छ ।
यस्तै, पर्यवेक्षकको रुपमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी, नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनबाट १–१ जना पर्यवेक्षक र सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका ३ जना पर्यवेक्षकहरु सहभागी रहने छन् । सम्मेलन यही मंसिर ९ गते सर्वोच्च अदालतबाट घोषणापत्र जारी गर्दै समापन हुने कार्यक्रम तय भएको सर्वोच्च अदालतले जनाएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.