24 Online News
५ मंसिर २०७७ १२:४८

चीनका रक्षामन्त्री जनरल वेइ फेङह नेपाल आउने

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङह नेपाल आउने भएका छन् । नेपालमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा उभिएका बेला चिनियाँ उच्च अधिकारीले नेपाल भ्रमण गर्ने भएका हुन् ।

भारतले सुरक्षा कूटनीतिलाई महत्व दिइरहेका बेला अर्को छिमेकी मुलुक चीनले पनि रक्षा मन्त्रालय र स्टेट काउन्सिलरको जिम्मेवारी सम्हालेका व्यक्तिलाई नेपाल भ्रमणका पठाउने तयारी गरेको छ । दुई वर्षयता भारतसँग चिसिएको सम्बन्धमा केही सुधार भएका बेला चीनले आफ्ना उच्च अधिकारीहरुलाई नेपाल भ्रमणमा पठाउने तयारी गरेको हो ।

राजनीतिक स्रोतले जानकारी दिएअनुसार अहिलेको १० दिनभित्रै चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङह नेपाल आउने भएका छन् । उनी नेपाल भ्रमणमा आउनुमा कुनै एजेण्डा नभए पनि अचानक उनको नेपाल भ्रमण तय भएको हो ।

नेपालमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी आन्तरिक विवादमा फसेको बेला उनको यसप्रकारको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । जनरल वेइ सन् २०१८ मार्चदेखि चीनको उपप्रधानमन्त्रीपछि पहिलो नम्बरका स्टेट काउन्सिलर र रक्षामन्त्रीको जिम्मेवारीमा छन । उनी चिनिया राष्ट्रपति सी चिनफिङका विश्वासपात्र र केन्द्रीय सैन्य आयोगका प्रमुख हुन् । भारतीय गुप्तचर प्रमुख सामान्तकुमार गोयलको अप्रत्यासित नेपाल भ्रमणपछि चिनियाँ राजदूत हाउ यान्छीले नेपालका सबै राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेकी थिइन् । त्यसपछि उनले नै चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण हुनसक्ने संभावना रहेको परराष्ट्र मन्त्रालयलाई जानकारी दिएकी थिइन् ।

यद्यपि को आउने भन्ने बारेमा केही नबताए पनि उनले उच्च अधिकारी नेपाल भ्रमणमा आउनसक्ने बताएपछि नेपाल सरकारले पनि चासो लिएको थियो । बुधबार मात्रै परराष्ट्र मन्त्रालयमा यो विषयमा छलफल भएको थियो । सरकारले अझै पनि रक्षामन्त्री आउने विषयमा आधिकारिक जानकारी दिइएको छैन ।
भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आउँदै छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.