24 Online News
१५ मंसिर २०७७ १८:५६

भारतसँगको सीमा विवाद सम्बन्धी छलफल अब ट्रयाकमा आएको छ : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराई

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा.राजन भट्टराईले भर्खरै दुई दिने नेपाल भ्रमण सकेर फर्किएका भारतीय विदेश सचिव श्रृंगलाले नेपालको परराष्ट्रमन्त्रीलाई भारत भ्रमणको निम्तो दिएको जानकारी दिंदै अब सीमा विवादको विषय ट्रयाकमा आएको दाबी गरेका छन् ।
राजधानीमा सोमबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. भट्टराईले मित्र राष्ट्र भारतले आउँदो डिसेम्बरमा नै परराष्ट्रमन्त्रीस्तरीय दुई देशबीचको संयुक्त आयोगको बैठक बसेर कुरा गर्ने बताएकाले अवस्था सकारात्मक भएको जानकारी दिए ।
डा.भट्टराईले भारतीय विदेश सचिवले आफ्नो कार्यभार सम्हाले पछि छिमेकी मुलुकहरुको भ्रमण गर्ने शिलसिलाका हिसाबले मात्र नेपाल भ्रमण गरेको तथा भारतीय सेनाध्यक्ष पनि परम्परागत हिसाबले मात्र नेपाल आएको दाबी गरे ।
सुगौली सन्धीले नै लिपुलेक र कालापानी नेपालको हो भन्ने पुष्टि भैसकेकाले भारतले त्यसलाई सहजै स्वीकार्नु पर्ने धारणा राख्दै डा.भट्टराईले सीमा विवाद वर्तमान सरकारको पालामा शुरु नभई धेरै पहिले देखि नै रहि आएको टिप्पणी गरे ।
डा. भट्टराईले मित्र राष्ट्र चीनका रक्षामन्त्रीद्वारा हिजो नेपाललाई प्रदान गरेको सैन्य सहायता उसले नेपाली सेनालाई वार्षिकरुपमा प्रदान गर्दैै आएको सहायता मात्र भएको स्पष्ट पार्दै उनले भने,‘जुन कुरा गत वर्ष हाम्रो उपप्रधान तथा रक्षामन्त्रीको चीन भ्रमणका बेलामा नै सहमति भैसकेको थियो’ ।
पूर्व राजा पृथ्वीनारायण शाहले नेपाललाई दुई सय पैंतालिस वर्ष पहिले नै ‘दुई ढुंगा बीचको तरुल’को भनिसके चर्चा गर्दै सल्लाहकार डा. भट्टराईले जहिल्यै पनि नेपालले दुबै छिमेकी मुलुकलाई समदूरी कायम गर्दै अगाडि बढ्ने नीति लिएको स्पष्ट पारे ।
सत्तारुढ दल नेकपा(नेकपा)मा अहिले देखिएको विवाद सचिवालय, स्थायी समिति वा केन्द्रीय समितिले वा महाधिवेशन सम्ममा पुगेर भए पनि टुंगिने दाबी गर्दै उनले भने,‘विवाद समाधानको लागि सबै भन्दा पहिले प्रचण्डले आफ्नो आरोप पत्र फिर्ता लिनु पर्छ र गत भाद्र २६ गतेको स्थायी समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्नु पर्छ ।’
साक्षात्कार कार्यक्रममा नागरिक समाजका अगुवा डा.सुन्दरमणि दिक्षितले चीन र भारतका उच्च पदस्थ व्यक्तिहरुको नेपाल भ्रमण हुनु अत्यन्त सकारात्मक पक्ष भएको बताउँदै नेपालका राजनीतिक दलले चीन र भारतलाई जुधाएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न खोजेको आरोप लगाए । सदिऔं देखिको भारतसँगको मित्रवत सम्बन्ध र चीनसँगको दौंत्य सम्बन्धबाट नेपालले तटस्थ भूमिका रहि फाइदा लिंदै मुलुक विकास गर्ने दिशातर्फ लाग्नुपर्नेमा जोड दिँदै कहिले चीनसँग र कहिले भारतसँग नजिकीन खोजिनु दुर्भाग्य भएको बताए ।
ओली सरकारको भारतसँग विग्रिएको सम्बन्ध अहिले केही सुधार भएको देखिएको बताउँदै अगुवा डा.दिक्षितले मित्र राष्ट्र चीनले पनि ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ प्रोजेक्ट मार्फत नेपाललाई धेरै नै सहुलियत प्रदान गर्न लाग्नु अत्यन्तै सकारात्मक पक्ष भएको बताए ।
डा. दिक्षितले छिमेकी मुलुकसँग सैन्य सहायता लिनु र दिनु दुबै अहिले ठिक नभएको तर्क गर्दै नेपालको विकासका निम्ति आवश्यक अन्य स्रोत र साधनको ठोष सहायता मात्र माग गरिनु पर्ने जिकिर गरे । उनले आन्तरिक शक्ति संघर्षका कारण दुई तिहाई बहुमत प्राप्त वर्तमान सरकारले कुनै पनि काम गर्न नसकेको स्पष्ट पार्दै सत्तारुढ दल नेकपा(नेकपा)का दुबै अध्यक्षले हालै प्रस्तुत गरेको प्रतिवेनहरु आरोप पत्र मात्र भएको तथा त्यस्मा जनहित र देशको निकासको लागि कुनै चिन्ता नदेखिनु ज्यादै दुःखद् भएको भन्दै आलोचना गरे । उनले भने,‘बरु राजा महेन्द्रमा देश प्रति अगाध माया थियो, उनले भनेका थिए–म मरे पनि मेरो देश बाँचिरहोस्’ ।
माओवादी र एमाले अझैसम्म पनि एउटै पार्टी बन्न नसकेको र यो केवल भागबण्डामा मात्र सीमित हुन पुगेको भन्दै डा. दिक्षितले अहिले नेकपा(नेकपा)का अध्यक्ष प्रचण्ड शक्तिहीन भएको बताए । प्रचण्डसँग हिजो सँगै जनयुक्त लडेका सहयोद्धाहरुको साथ नहुनु, जनसेना नहुनु, वाईसिएल नहुनु आदिले उनी ज्यादै कमजोर भएको बताए । उनले भने,‘प्रचण्ड त अहिले विचरा भएका छन् ।’
राजनीतिक दलहरुले जनताको अपेक्षित आकांक्षा पुरा गर्न नसकेको कारण दलहरु प्रति जनताको वितृष्णा पैदा हुनु स्वभाविक भए तापनि राजतन्त्र नै पुनः स्थापित गर्नुपर्छ भन्ने माग अब जायज नभएको स्पष्ट पार्दै अगुवा डा. दिक्षितले भने,‘जनताले विकल्प खोज्दा पनि राजतन्त्र नभई लोकतान्त्रिक पद्धतिलाई नै अबलम्बन गर्नुपर्छ ।’
साक्षात्कार कार्यक्रममा पूर्व रक्षामन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले नेपालले नयाँ नक्सा जारी गरे पछि छिमेकी मुलुक भारतसँग वर्तमान सरकारको सम्बन्ध चिसिएको बताउँदै स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीकै अभिव्यक्तिका कारण पनि सम्बन्ध बिग्रिन पुगेको आरोप लगाए ।
कांग्रेस नेता प्रधानले प्रधानमन्त्रीले दिएका कतिपय अभिव्यक्तिहरु नेपाली जनतालाई राम्रो लागे तापनि त्यस्ले कुटनैतिक हिसाबमा भने ज्यादै नराम्रो असर पार्ने गरेको टिप्पणी गर्दै नेपाल दुबै छिमेकी मुलुकका लागि अत्यन्तै सामरिक महत्वको भूभाग भएकाले दुबै छिमेकीले बढि चासो लिनु स्वभाविक भएको स्पष्ट पारे ।
भारतीय जासुसी संस्थाका प्रमुखहरु विगतमा पनि नेपाल आउने गरेको स्वीकार्दै नेता प्रधानले पहिला भूमिगत हिसाबले आउने गरेकोमा अहिले सार्वजनिकरुपमा नै आउँदा र प्रधानमन्त्रीसम्मलाई भेट्दा समेत भएका कुराकानीको विषयलाई सार्वजनिक नगरिनुले जनतामा शंका पैदा भएको स्पष्ट पारे ।
पूर्व रक्षामन्त्री समेत रहेका प्रधानले नेपाललाई अहिले सैनिक सहयोग लिन आवश्यक नभएकाले सरकारले मित्र राष्ट्रहरुसँग सैनिक सहयोग लिनु भन्दा पनि कोराना महामारीका कारण रोग र भोगको चपेटामा परेका जनताको आवश्यकतालाई सम्बोधन गर्नेतिर ध्यानदिनु पर्ने बताए ।
छिमेकी मुुलुक चीनले पनि नेपालको भूमि मिचेको भन्ने कुरा नेपाली कांग्रेसको जनप्रतिनिधिलेले उठाए पछि पनि स्वयं प्रधानमन्त्रीले चीनले नेपाली भूमि मिचेको छैन भनी अभिव्यक्त दिन मिल्छ ? भनी प्रश्न गर्दै सांसद प्रधानले सीमा सुरक्षामा अहिले सशस्त्र प्रहरी लागि रहेकाले नेपाली सेनाको सीमाका विषयमा खासै चासो नभएको तथा सेनाको मुख्य काम भनेको अहिले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा शान्ति स्थापनाका लागि खटिनु मात्र भएको बताए ।
भारतले लगाएको नाकाबन्दीका बेलामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा लिएको अडानका कारणले नै जनताले प्रधानमन्त्रीलाई अत्यधिक मत दिएकाले वर्तमान सरकार सफल–असफल जे भए पनि पूर्ण कार्यकाल काम गर्न दिनु पर्ने धारणा पनि सांसद प्रधानले व्यक्त गरेका थिए ।
७० वर्षसम्म राजसंस्थालाई बोकेको कांग्रेसले छोड्ने वित्तिकै नेपालमा गणतन्त्र आएको दाबी गर्दै अब राजतन्त्र कसैले चाहँदैमा पुर्नस्थापित हुनै नसक्ने ठोकुवा गर्दै कांग्रेस नेता प्रधानले राजा ज्ञानेन्द्रलाई राजनीतिक पार्टी खोलेर जनताका बीचमा उत्रिन चुनौती पनि दिए ।
नेता प्रधानले दुबै छिमेकी मुलुकसँग समदूरी कायम गर्दै अगाडि बढे मात्र नेपाललाई फाइदा हुने विचार व्यक्त गर्दै अन्यथा नेपाल पनि अफगानिस्थान जस्तै बन्न पुग्ने चेतावती दिए ।
उनले चाहे कम्युनिष्ट होस् या कांग्रेस अब मुलुकको राजनीतिक बागडोर नयाँ पुस्ताले सम्हाल्न जरुरी भैसकेको बताए ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.