काठमाडौं । आन्तरिक विवादको गाँठोमा कस्सिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ ।
आज हुने बैठकमा अध्यक्ष केपी शर्मा ओली नै उपस्थित नहुने भएका छन् । ओलीले हिजो (मंगलबार)को बैठकबाट बाहिरिने क्रममा बैठकमा उपस्थित हुनुको अर्थ नरहेको बताए थिए ।
हिजो बसेको बैठकमा दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाझाबाझ भएको थियो । दुई अध्यक्षबीचको विवादमा सचिवालयका बहुमत सदस्यले दाहालको पक्ष लिएपछि अप्ठेरोमा परेका ओली बैठकमा उपस्थित हुनुको अर्थ छैन भन्दै बैठकबाट बाहिरिएका थिए । उनी आजको बैठकमा नजाने ओली निकट एक नेताले जानकारी दिएका छन् । अध्यक्ष नै बैठकमा उपस्थित नहुने भएपछि आजको बैठक बस्ने की रोक्ने भन्ने अन्योलता बढेको छ । यद्यपी कार्यकारी अध्यक्ष दाहालसहितका बहुमत सदस्य जो जो उपस्थित हुन्छन् उनीहरु मात्रै बसेर भएपनि बैठक अघि बढाउनु पर्ने पक्षमा छन् ।
बैठक दिउँसो १ बजेलाई बोलाइएको छ।