नेपालका उत्तरी नाकामा १७ अर्बको सामान अलपत्र
काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीलाई चिनभित्र फैलिन नदिन भन्दै चिनियाँ पक्षले आफ्ना नाका कडाई गरेपछि नेपालको उत्तरी नाकामा करिब १७ अर्बको सामान अलपत्र परेका छन्।
कोभिड—१९ को संक्रमण फैलिएसँगै चिनियाँ पक्षले उत्तरी नाका रसुवागढी र तातोपानीबाट आउने मालसामानको आयातमा कडाइ गरेको छ। कहिले खोल्ने, कहिले बन्द गर्ने र खोल्दा पनि निकै कठिन प्रक्रिया पूरा गरी ती दुवै नाकाबाट दैनिक ६ देखि ८ कन्टेनर मात्रै नेपालतर्फ आइरहेका छन्।
राष्ट्रिय व्यवसायि महासंघ र नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार कोभिड—१९ का कारण पछिल्लो नौ महिनादेखि करिब १७ अर्बको गार्मेन्ट, जुत्ताचप्पल, मोबाइलको एसेसरिज, इलेक्ट्रोनिक्सका सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत सामान अड्केको छ। पछिल्लो समय चिनियाँ पक्षले तातोपानी र रसुवा नाकाबाट मालसामान ल्याउने बाटो फुकाए पनि पर्याप्त परिमाणमा भने ल्याउन दिएको छैन। ती दुवै नाकाबाट अन्यन्तै थोरै परिमाणमा मालसामानसहितको कन्टेनर आउँदा व्यापारी ‘घर न घाट’ का भएका छन्।