24 Online News
१५ माघ २०७७ २०:५२

बिहिबारसम्ममा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २८ हजार बढी

काठमाडौं । कोरोना (कोभिड–१९) विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा आज बिहिबार साँझ ५ बजेसम्म २८ हजार ७३२ जनाले खोप लगाएका छन् ।

डा. गौतमका अनुसार प्रदेश १ मा तीन हजार ८४७, प्रदेश २ मा दुई हजार १७४, बागमती प्रदेशमा ११ हजार ४६१, गण्डकी प्रदेशमा चार हजार ८५३, लुम्बिनी प्रदेशमा दुई हजार ३०३, कर्णाली प्रदेशमा एक हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४१७ जनाले आज खोप लगाएका हुन् ।

उनले आजसम्म खोप लगाएका व्यक्तिमा कुनै समस्या नदेखिएको जानकारी दिए । मन्त्रालयले पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप लगाउन निर्णय गरेअनुसार व्यवस्थापन गर्न खोप समन्वय, अनुगमन तथा व्यवस्थापन केन्द्रलाई निर्देशनसमेत दिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउने छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.