24 Online News
१८ माघ २०७७ २१:५३

अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति छैन : अधिवक्ता शर्मा

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा रिट निवेदकसमेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले ताजा जनादेशमा जान निश्चित विषय किटान गर्नुपर्ने बताएका छन् । उनले आज आइतबार संसद विघटन सम्बन्धी मुद्दामा बहस गर्दै प्रधानमन्त्रीले भनेझैं अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति नरहेको बताएका हुन् ।

‘ताजा जनादेशमा जान विषय चाहिन्छ । बेलायतमा ईयुमा रहने कि नरहने भनेर जनमत सङ्ग्रह भएको थियो । त्यस्तो अवस्था नेपालको हो र ?’ अधिवक्ता शर्माले प्रश्न गरे ‘ त्यसो भएर किन जाने ? भारतले सीमा अतिक्रमण गर्‍यो भनेर जाने कि ? त्यसो हो र ? भारतसँग युद्ध लड्नुपर्ने भएको हो र ताजा जनादेशमा जाने ?’

अधिवक्ता पौडेलले अहिले ताजा जनादेशमा जानुपर्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्रीलाई कसले असहयोग गर्‍यो भनी प्रश्न गरे । ‘प्रधानमन्त्रीलाई कसले असहयोग गर्यो ? सेनाले असहयोग गर्‍यो ? ब्युरोकेसीले असहयोग गर्‍यो कि ? दलको कुरालाई लिएर प्रधानमन्त्रीले संसदमाथि छलकपट गर्नुभयो, जालसाझी गर्नुभयो ।’

यस्तै उक्त विषयको मुद्दामा बहस गर्ने क्रममा अर्का अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्रीको दलमा समस्या भयो भन्दैमा संसद विघटन गर्न नपाइने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको दलभित्र समस्या थियो । त्यहाँ उहाँको विकल्पको कुरा भयो होला । विकल्प दिने, नदिने वा खोज्ने भनेको संसदमा हो । तर प्रधानमन्त्री छोराले अंश माग्दा बाबुले छोरै सिध्याउछु भने जस्तो गर्नुभयो ।’

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.