24 Online News
१४ फाल्गुन २०७७ ११:५३

पुटिनका कट्टर विरोधी नाभाल्नीलाई अज्ञात स्थानमा लगियो

काठमाडौं । रुसमा भ्रष्टाचार विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको छ । नाभाल्नीलाई कहाँ लगिएको हो भन्ने कुराको जानकारी यस पटक सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधीका रुपमा रहेका भ्रष्टाचार विरोधी अभियान्ता नाभाल्नीलाई अहिले राखिएको जेलबाट अर्को कुनै जेलमा लगिएको अनुमान गरिएको छ ।उनी राष्ट्रपति पुटिनका कट्टर आलोचक हुन् ।

फेव्रुअरी महिनाको सुरुवातमा अदालतले नाभाल्नीलाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला गरेको थियो । यसलाई विश्वभर राजनीतिक रुपमा प्रेरित फैसलाका रुपमा हेरिएको थियो । गत वर्ष उनलाई साइबेरियामा झुक्याएर विष पिलाइएको थियो र एक स्वतन्त्र जाँच आयोगले रुसी एजेन्टले नाभाल्नीको हत्या प्रयास गरेको निष्कर्ष निकालेको थियो ।

गम्भीर विरामी परेर कोमामा पुगेका उनलाई जर्मनी लगेर उपचार गरिएको थियो । यसै वर्षको जनवरीमा उनी जर्मनीबाट रुस फर्किएका थिए । रुस फर्किएलगत्तै उनलाई पक्राउ गरिएको थियो । रुसको एक अदालतले उनलाई तीन वर्षको कैद सजायँ सुनाएको थियो ।

युरोपेली युनियनका नेताहरुले नाभाल्नीसँग रुसी सरकारले गरेको व्यवहारको निन्दा गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.