24 Online News
११ फाल्गुन २०७७ २३:२७

अब उमेर हेरेर मात्र पुरोहितले बिबाह गराउने

काठमाडौं । पर्वतमा पुरोहितहरुले विवाहमा केटाकेटीको उमेर हेरेर मात्र बिहावारी गराउन सहमत भएका छन्। जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो सहमति जनाएका हुन्।

बालविवाह र बहुविवाह न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा पुरोहितहरुका लागि आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उनीहरुले बेहुला र बेहुलीको उमेर २० वर्ष नाघेको छ वा छैन अथवा पहिलो विवाह हो वा दोस्रो वा तेस्रो, त्यो सोधपुछ गरेर मात्र विवाहको काम गर्न सहमत भएको बताए।

“बालविवाह र बहुविवाह न्यूनीकरणका लागि पुरोहितहरुको भूमिका महत्वपूर्ण हुने भएकाले वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाउन उहाँहरुलाई आग्रह गरिएको छ,” पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले भने, “पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पुरोहितहरूलाई पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन आग्रह गरिएको छ।”

कानूनले २० वर्ष उमेर नपुगेको विवाहलाई बदर गरेको छ। बालविवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। त्यसैगरी बहुविवाह गर्ने वा गराउनेलाई एक देखि पाँच वर्षसम्म कैद र रु १० देखि ५० हजारसम्म जरिवानाको व्यवस्था छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.