24 Online News
२९ असार २०७७ २१:१०

भानुजयन्तीप्रति ‘ह्रासोन्मुख दुर्नियति’ ल्याइने दुष्प्रयास

नेपाली भाषा साहित्यमा भानुभक्त आचार्यको नाम शीर्ष स्थानमा आउँछ । नेपाली भाषा र भानुभक्त आचार्य झण्डै एक–अर्काका पर्यायवाची हुन् । आजको समृद्ध नेपाली भाषालाई नेपालदेखि बाहिर प्रवासमा जहाँ–जहाँ नेपाली भाषी समाज छ ती–ती स्थानहरुमा पुर्याउन भानुभक्तीय रामायणको अहम् भूमिका रहेको देखिन्छ । भानुभक्त आचार्य कुनै एक जात, एक संस्कृति, एक भाषा वा सम्प्रदायका मात्र थिएनन् । भानुभक्त आचार्य सिंगो नेपाली समाजका एक विशिष्ठ प्रतीकका रुपमा स्थापना भएको स्वीकारिन्छ । भानुभक्तलाई कुनै एक राष्ट्रको भूगोल र राजनीतिबाट मात्र सीमांकन गर्न मिल्दैन । भानुभक्तकै कारण विश्वभरी छरिएर रहेका नेपालीहरुकाबीच सांस्कृतिक एकता सम्बद्र्धन भएको मान्न सकिन्छ ।

भानुभक्तको कालखण्डमा संचार र प्रविधि झण्डै शून्यको स्थितिमा थियो । तथापी, लेटर प्रेसजस्ता सिमित छापा माध्यमबाट पनि नेपाली भाषाको प्रकाशन, संचार र प्रसारले एउटा उल्लेखनीय गति प्राप्त गरेको थियो । सोही बमोजिम सामाजिक, सांस्कृतिक जीवनमा भानुभक्तीय रामायणले लोकप्रियता हासिल गर्दै सम्पूर्ण नेपालीलाई नेपाली भाषाप्रति अनुराग सिर्जना गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्वीकानै पर्दछ । तर, भानुभक्तको विराट व्यक्तित्वलाई नजिकबाट पहिल्याएर नेपालभित्र र नेपाल बाहिरको जनमानसमा पुर्याउने कार्य चाहिँ युवाकवि मोतीराम भट्टबाट भएको कुरा भने बिर्सन मिल्दैन । यही विषयवस्तुमा केन्द्रित भई भानु जयन्तीको सन्दर्भमा कवि महेश प्रसाईंसँग गरिएको अन्तरसंवाद यहाँ प्रस्तुत गरिएको छ ।


नेपालमा भानु जयन्तीको महत्वमाथि ह्रास आएकै हो त ?

ह्रास आएको त होइन, ‘ह्रासोन्मुख दुर्नियति’ ल्याइने दुष्प्रयास भइरहेको छ । भानुभक्तको योगदानलाई जातिवादी, परिवारवादी र नश्लवादी घेराभन्दा माथि रहेर मूल्यांकन गर्नुपर्छ । नेपालमा पछिल्लो समय आएर राजनीतिक विसंगतिको कारण भानुभक्त आचार्यको योगदानलाई अवमुल्यन गर्ने कोशिष भइरहेको देखिन्छ । भानुभक्तको महत्व कहिल्यै घट्दैन । घट्न सक्दैन ।

भानुभक्त आचार्यजस्ता बिभूतिको प्रतिष्ठाप्रति सरकारको उदासीनतालाई कसरी हेर्नु भएको छ ?

सरकार प्राय अयोग्य, भ्रष्ट, अनैतिक र विकृत व्यक्तिहरुको घेरामा रहेको छ । यो क्रम हिजो पनि थियो र आज पनि छ । सरकार साहित्य र संस्कृतिको महत्व बुझ्दैन । नेपालमा सरकार अन्धो छ, जसको कारण सरकारको उदासीनताले संस्थागत अनियमितताको रुप लिँदै गइरहेको छ । नेपालको शासनसत्ता र राजनीति विकृति उन्मुख हुँदै गइरहे पनि भानुभक्तले प्रारम्भ गरेको जागरणले नेपाल र नेपालीलाई बचाउँदैछ । नेपाल र नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्ने पहिलो विभूति भानुभक्त आचार्य नै हुन् ।

भानुजयन्तीको समय सान्दर्भिक गतिविधिलाई जनस्तरमा पुर्याउन के गर्नुपर्ला ?

जनस्तरमै सरकारी निकाय र निजिक्षेत्रबाट पनि व्यवहारिक कार्यक्रम ल्याउनु पर्दछ । भानुभक्तको कालखण्ड र तत्कालीन नेपालको रुपरेखालाई बुझाएर जनचेतनामाथि प्राज्ञिक वहस थालनी गर्नु आवश्यक छ । अब, भानुभक्त आचार्य विश्व विद्यालय, भानुभक्त आचार्य प्रज्ञा प्रतिष्ठान र भानुभक्त आचार्य अध्ययन अनुसन्धान जस्ता सार्वजनिक महत्वका संस्थाहरुको स्थापना गर्न ढिलो भइसकेको छ । यस प्रकारका संस्थाहरु सातै प्रदेशमा स्थापना गर्न सकेका खण्डमा नेपालका वहुजाति, वहुभाषी र वहु सांस्कृतिक नेपाली जनजीवनले लाभ प्राप्त गर्न सक्ने थियो । यसप्रति तीनै तहका सरकारले ध्यान पुर्याउन सकेका अवस्थामा भाषा साहित्य र संस्कृतिको प्रवर्धन पनि हुने, राष्टिय एवं अन्तर्राष्टिय स्तरमा अनुसन्धानको कार्य गर्नेतर्फ ठूलो ढोका खुल्नेथियो ।

भानुभक्त र नेपाली भाषा पर्यायवाची विषय होइनन् र ?

नेपाली भाषाको प्रचार र प्रसारमा भानुभक्त आचार्यको योगदानले कोशेढुंगाको कार्य गरेको हुँदा भानुभक्त र नेपाली भाषा पर्यायवाची भएको कुरा स्वीकार गर्नै पर्दछ । भानुभक्त कुनै जात, नश्ल, परिवार र समूहका नीजि सम्पत्ति होइनन्, नेपाल र नेपालीका गौरवपूर्ण धरोहर हुन् । यतिमात्र होइन नेपाल बाहिरका विदेशी नागरिकनै भए पनि ती जो नेपालीभाषी हुन्, तीनका पनि भानुभक्त साझा धरोहर हुन् ।

सरकारमा जानेहरुले आफ्ना झोले कार्यकर्ता र राजनीतिक संगठनलाई मात्र प्राथमिकता नदिई नेपाली भाषाको उन्नयनका लागि भानुभक्त आचार्यको योगदानलाई कदर गर्दै सांस्कृतिक पर्यटनमाथि पनि ध्यान दिँदै आन्तरिक एवं वाह्य पर्यटन वृद्धि गर्न आवश्यक पहल गरोस् ।

महेश प्रसाईं

मुलुकबाहिर भानुभक्तको लोकप्रियतालाई कसरी हेर्नु भएको छ ?

भानुभक्तको महत्वलाई नेपालले भन्दा बढी भारतीय भूमिका दार्जिलिङ, सिक्किम, सिलिगुढी, डुअर्स, असम, देहरादुन, नैनीताल, मणीपुर, कलकत्ता, दिल्ली, मुम्बई, वनारस, गोरखपुर लगायत म्यान्मार, थाइल्यैण्ड र अमेरिकाले बढी नै बुझेको देखिन्छ । सिक्किम, दार्जिलिङमा त भानुजयन्तीका दिन महोत्सव नै गरिन्छ र राज्य स्तरिय छुट्टी पनि प्रदान गरिन्छ । यसबाट नै भानुभक्त आचार्यको कारण विश्वभरी नेपाली भाषीमा रहेको ‘सांस्कृतिक एकता’ प्रवल रुपमा विस्तारित भएको स्पष्ट हुन्छ ।

नेपाल सरकारले यस कुरालाई संवेदनशील ढंगबाट बुझेर भानुभक्त आचार्यको योगदानमाथि महत्व दिन आवश्यक छ । सरकारमा जानेहरुले आफ्ना झोले कार्यकर्ता र राजनीतिक संगठनलाई मात्र प्राथमिकता नदिई नेपाली भाषाको उन्नयनका लागि भानुभक्त आचार्यको योगदानलाई कदर गर्दै सांस्कृतिक पर्यटनमाथि पनि ध्यान दिँदै आन्तरिक एवं वाह्य पर्यटन वृद्धि गर्न आवश्यक पहल गरोस् । नेताहरुले भ्रष्टाचार, अनैतिकता, अनियमितता कम गर्ने हो भने भाषा, साहित्य, संस्कृति, गीत संगीत कलाको प्रवद्र्धन गर्न बढी ध्यान दिनु आवश्यक छ ।

थप समाचार
2 Comments
  1. keshab says

    स्वराज्य र मेलमिलापको भावनाको श्रोत भानुभक्त रामायण पनि हो।रामराज्यको अबधारणाले स्वराज्यको आदर्श लाई बलपुर्याउदछ।

  2. keshab chaulagain says

    कवि महेशप्रसाइ जी का बिचार अनुकरणीय छन।भानुभक्त का योगदान लाई कदर गर्दै सातवटा प्रदेश मा प्रतिष्ठान निर्माण गरिइनु पर्ने सुझाव महत्त्वपूर्ण छन।

कमेन्ट गर्नुहोस

Your email address will not be published.