24 Online News
२९ असार २०७७ २२:०२

भानुभक्तलाई नेपालीले बिर्सेका छैनन् र बिर्सिंदैनन् पनि : इतिहासविद् प्रा. पन्त

इतिहासविद्, प्राध्यापक एवं प्रज्ञा परिषद्का सदस्य दिनेशराज पन्तसँग भानुजयन्तिका अवसरमा भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदान, भानुका बारे आम नेपाली भाषा–सम्प्रदायको दृष्टिकोण, सरकारी तथा प्रज्ञा प्रतिष्ठानको दृष्टिकोणका बारेमा गरिएको संवाद अंशः


नेपालमा भानुजयन्तीको महत्व बिर्सन थालेका हुन् ?

भानु जयन्तिको महत्वमाथि ह्रास आएको, भानुलाई बिर्सन थालेको भन्न त मिल्दैन । किन मिल्दैन भने भानुभक्तका नाममा पुरस्कारहरु पनि स्थापना भएका छन् । स्वयं प्रज्ञा प्रतिष्ठानमा पनि आज लक डाउनको यस्तो महामारिको अवस्थामै पनि भानुलाई सम्झने काम भने हुन्छ । भव्य रुपमा कार्यक्रम राख्न सम्भव त रहेन यो अवस्थामा तापनि कार्यक्रम चाहिँ हुनु राम्रो हो । भानुभक्तका बारेमा विभिन्न कार्यक्रमहरु पनि भइरहेकै छन् । अब कति हुन सक्छ ? मानिसहरुको धेरैतर्फ ध्यान जाँदा बाँडिएको ध्यानका सन्दर्भमा भानुले कम महत्व पाएजस्तो लाग्न सक्छ । हाम्रो शिक्षा दीक्षा पनि बाहिर तिरको, अंग्रेजी प्रभावमा परेर भानु जयन्तीको महत्व कम भएको हो कि जस्तो लाग्छ ।

सरकारले भानुको विषयमा उदासिनता देखाएजस्तो मलाई चाहीँ लाग्दैन । अब भानुभक्तलाई पहिल्यै जनस्तरबाट पनि र नेपालको परिप्रेक्षमा भन्ने हो भने र नेपालबाहिर दार्जिलिङबाट पनि र अन्य ठाउँहरुबाट पनि उठाइएकै हो । राणा शासनमा पनि उनलाई सम्झिएकै हो । मोतीरामले पनि उनको व्यक्तित्व उजागर गरेकै हुन् । उनका बारेमा अध्ययन, अध्यापन हुने गरेकै छन् । सरकारले पनि हरेक वर्ष भानुभक्तको असार २९ गतेकै दिन जन्मजयन्ति मनाउने कार्यक्रम गर्ने गरेकै छ । सरकारको अंग संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय अन्तरगत भानभक्त सम्बन्धी पुरस्कारहरु पनि आजकै दिन बाँडिने परम्परा छ । खाली कुरो के भनेदेखि भानुभक्तको बारेमा मात्र नभएर, कुनै पनि स्रष्टाको बारेमा हामीकहाँ सच्चा ढंगले इमान्दारिता पूर्वक कार्यक्रम गर्ने भन्दा पनि त्यस्तो कार्यहरुको अध्ययन नगरिकन उनीहरुको उचाई बढाउने वा घटाउने कार्यले भ्रम चाहिँ सिर्जना भएको छ । भानुभक्तमा पनि यस्तो कतैकतै परेको हुनसक्छ । यो कार्यमा सरकारले धेरै उदासिनता देखाएको छ जस्तो मलाई चाहिँ लाग्दैन ।

भानुभक्तलाई नेपाली भाषा साहित्यको पर्यायका रुपमा पनि लिइने गरिन्छ । यहाँ त प्रज्ञा प्रतिष्ठानमै हुनुहुन्छ, यसलाई कसरी हेर्नुहुन्छ ?

निश्चय नै भानुभक्त र नेपाली भाषा पर्यायका विषय हुन् । किनभने, भानुभक्त भन्दा अगाडि पनि धेरै कविहरु थिए, धेरै विद्वानहरु थिए । तर भानुभक्तको जति जनजनमा, मनमनमा गढ्न कोही पनि सकेनन् । यसैले गर्दा उनले भानुभक्तले चाहिँ मोतीराम भट्टजस्ता समीक्षक पनि पाए । पछि दार्जिलिङ र सिक्किमका नेपालीहरुले पनि उनलाई माने । अरु विभिन्न स्थानमा रहेका नेपालीभाषी सम्प्रदायले पनि कार्यक्रमहरु गर्न थाले । यस्ता कार्यहरुले गर्दा भानुभक्त र नेपाली भाषा पर्यायवाची जस्तै हुन गयो ।

भानुभक्तको बारेमा धेरै अध्ययनहरु पनि हुन थाले । हाम्रै प्रज्ञा प्रतिष्ठानबाट पनि रामचन्द्र पौडेल लम्घालीले भानुभक्त रामायण र अर्को अध्यात्म रामायणमा प्रमाणिक ग्रन्थ निकाल्नु भएको छ । उपप्राध्यापक डा. सुवासचन्द्र अधिकारीले मेरै निर्देशकत्वमा भानुभक्तको रामायण र अध्यात्म रामायणको बारेमा तुलनात्मक ढंगले विद्यावारिधि गर्नुभएको छ । यसबाट के देखिएको छ भने अरुले भनेको जस्तो भानुभक्तको रामायण भनेको आध्यात्मिक रामायणको जस्ताको तस्तै तस्तै अनुवाद होइन । उनले त्यसमा कति ठाउँमा छोडेका छन्, कतिमा नेपाली पना ल्याएर थपेका छन् । उक्त रामायणलाई मौलिक ग्रन्थ भन्न मिल्ने भएको हुनाले भानुभक्तको महत्व नेपाली भाषा रहेसम्म हट्ने भन्ने कुरा त आउँदै आउँदैन ।

नेपाली भूमि बाहिर भानुभक्तको लोकप्रियतालाई कसरी सम्झनुहुन्छ ?

नेपाल भौगोलिक दृष्टिकोणले न्युन क्षेत्रफल भएको देश भए तापनि भाषा साहित्यका दृष्टिकोणले, धर्मको दृष्टिकोणले उर्बर भूमि हो । नेपाल बाहिर चाहिँ के छ भनेदेखि जुन भाषा बोल्ने भए पनि नेपाली जगत् सबैको मियोका रुपमा नेपाली भाषा रहिरहेको छ र नेपाली भाषाको मानकका रुपमा भानुभक्त रहेका छन् । त्यसो हुँदा भानुभक्तको कुरा गर्नु भनेकै नेपाल मुलुक बाहिरका नेपाली भाषा–भाषीको एउटा समन्वय गर्ने थलो, एकै ठाउँमा आउने थलो भएको बन्दछ । शुरुशुरुमा नेपालमा भानुभक्तको त्यति प्रचार नभएको बेलामा पनि बाहिरका नेपालीहरुको भानुभक्तकका बारेमा अध्ययन, अनुसन्धान गर्ने कुरामा ठूलो योगदान छ ।

आदिकवि भानुभक्तको नामका पुरस्कार र सम्मान स्थापनामा प्रज्ञा प्रतिष्ठान उदासिन छ भनिन्छ नि ?

भानुभक्तका नाममा प्रज्ञा प्रतिष्ठानले किन पुरस्कार स्थापना गरेन भन्ने कुरा त मलाई थाहा छैन । जहाँसम्म अहिलेको वर्तमान कालमा, पञ्चायत व्यवस्था हुँदाखेरि र पछि बहुदल कालमा आएपछि पनि श्री ५ महेन्द्र, श्री ५ त्रिभूवन, श्री ५ पृथ्वीनारायण शाह, श्री ५ ईन्द्रराज्यलक्ष्मीदेवीको नाममा पुरस्कारहरु थिए । पछि जब गणतन्त्र आइसकेपछि यी सबै पुरस्कारहरुको नाम बदल्नुपर्छ भन्ने कुरा चलेको पनि थियो र मलाई पनि त्यो कार्यक्रममा डाकिएको थियो । त्यहाँ मैले के भनेँ भने, कुनै पनि भएका पुरस्कारहरुको नाम परिवर्तन गरिनु हुँदैन । सकिन्छ भने, नयाँ–नयाँ थप्दै जानुपर्छ ।

म प्रज्ञा प्रतिष्ठानमा २०७१ साल भाद्र २० गते आएको हुँ त्यस अघि नै श्री ५ पृथ्वीनारायण शाहको बारेमा चाहिँ पृथ्वी पुरस्कार कायम भएको रहेछ । अन्य अरु सबै पुरस्कारचाहिँ प्रज्ञा भाषा पुरस्कार, प्रज्ञा सामाजिक शास्त्र दर्शन पुरस्कार र प्रज्ञा साहित्य पुरस्कार इत्यादि नाहरुका रहेजछु, जुन प्रज्ञा भवनसँग जोडिएका छन्, व्यक्तिसँग जोडिएको छैनन् । कुनैबेला पुरस्कारमा स्रष्टाहरुको नामहरु जोडेर स्थापना गर्ने प्रसंग आयो भने भानुभक्तको नाम पनि जोडिएर अवश्यै आउला । पुरस्कारको नाम नजोडिएको भए तापनि प्रज्ञा प्रतिष्ठानले पनि भानुभक्त सम्बन्धी अध्ययन÷अनुसन्धान गराउने कार्यमा पछि परेको जस्तो लाग्दैन । मैले पहिले दर्शन विभाग हेर्थें अहिले सामाजिक शास्त्र विभाग हेर्दैछु । अहिले पनि अब आउने ७८ को वर्षमा भानुभक्त सम्बन्धी नवीन दृष्टिकोणले एउटा ग्रन्थ निकाल्ने विचार गरिरहेको छु र भानुभक्त सम्बन्धी प्रामाणिक कुराचाहिँ भानुभक्तलाई देउता बनाउने पनि होइन अथवा भानुभक्तलाई दानव बनाउने पनि होइन । उनको सत्य मूल्यांकन, गर्ने र भएका कुरा प्रकाशमा ल्याउनुपर्दछ ।

इतिहास शब्दले के भन्छ भने कोही हामीलाई मन पर्नु वा नपर्नु भिन्नै कुरा हो, इतिहासमा भएका कुरा गर्ने हो, भानुभक्तका बारेमा सत्यतथ्य प्रामाणिक कुरा गर्न प्रज्ञा प्रतिष्ठान संलग्न हुनेमा म विस्वस्त छु । यसमा मेरो अहिलेको विभाग पनि संलग्न हुनेछ र म स्वयं पनि संलग्न हुनेछु ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.